लुम्बिनी गुरुयोजना साढे दुई वर्षभित्र पूरा हुने
बुटवल : चार दशकअघि सुरु भएको लुम्बिनी गुरुयोजनाको काम साढे दुई वर्षभित्र सकिने दाबी गरिएको छ । लुम्बिनी विकास कोषले गुरुयोजनाको काम २०७५ सालमा सकिने गरी सञ्चालन भइरहेको जनाएको हो । ‘एकमुष्ठ बजेटबाट एकै पटक काम सक्ने गरी निर्माण कम्पनीलाई जिम्मेवारी दिइँदैछ', विकास कोषका सदस्यसचिव अजितमान तामाङले भन्नुभयो ।
विकास कोषले ४० वर्षअघि बनाइएको गुरुयोजना परिमार्जन गर्ने विषयमा समेत छलफल चलाएको छ । कतिपय भौतिक संरचना निर्माण गर्दा अधिक खर्च भएको भन्दै त्यस्ता योजना परिवर्तन गर्ने कोषले बताएको छ । गुरुयोजनाअन्तर्गतका १६ वटा पूर्वाधारका काम निर्माण गर्न बाँकी छन् । ती योजना पूरा गर्न पाँच अर्ब ९० करोड लाग्ने अनुमान गरिएको छ । तीमध्ये दुई अर्ब ६५ करोड लागतमा निर्माण हुने १० वटा संरचना बनाउन ठेक्का सम्झौता भएको छ ।
एक सय ८० करोडको लागतमा हुने सांस्कृतिक केन्द्रका ६ वटा भवनका लागि भने अहिले टेन्डर गरिएको छैन । ढल निकास, वाटर टावर, पानी वितरण प्रणाली, विहार क्षेत्रमा पदमार्ग निर्माण, कालोपत्रेलगायत काम अहिलेको सम्झौताबाट हुनेछन् । गुरुयोजनाको काम एकमुष्ठ रूपमा सम्पन्न गर्न अर्थमन्त्रालयले रकम विनियोजन गरेकाले दुई आर्थिक वर्षभित्र गुरुयोजनाको काम सकिने विकास कोषले जनाएको छ । चालू आर्थिक वर्षमा नियमिततर्फ भने ७१ करोडको काम भइरहेको छ ।
सन् १९७८ मा जापनिज वास्तुकलाविद् प्रोफेसर केन्जो टांगेले तयार पारेको लुम्बिनी गुरुयोजनाको करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको
केपी शर्मा ओली नेतृत्वको सरकारले आवश्यक बजेट उपलब्ध गराइने र तीन वर्षमा गुरुयोजना सक्ने गरी काम गर्न विकास कोषलाई निर्देशन दिएको थियो । ‘निर्देशनबमोजिम नै काम गर्न सकिन्छ', कोषका सदस्य सचिव तामाङले भन्नुभयो । कोषले निर्देशन पाएको ६ महिनापछि निर्माण कम्पनीसँग सम्झौता गरेको हो ।
‘बाँकी तीन अर्ब ३५ करोडको काम अर्काे आर्थिक वर्षमा सुरु गर्ने योजना बनाएका छौं', तामाङले भन्नुभयो । चालू आर्थिक वर्षमा ४५ प्रतिशत प्रगति भएको भन्दै असारसम्म धेरै काम हुने उहाँले बताउनुभयो ।
पाँच हजार क्षमताको सभाहल, विद्युत्, टेलिकम्युनिकेसनको काम गर्न बाँकी छन् । त्यस्तै विहार अगाडिको क्षेत्रमा फूल बगैंचा निर्माण गरिनेछ । कतिपय विहारले बगैंचा क्षेत्रमा संरचना बनाएकाले त्यसलाई हटाउन विकास कोषले आग्रह गरेको छ । एउटै विहारलाई दुई÷तीनवटा प्लट दिइएका कारण गुरुयोजना मिचेर काम भएको हो । यसअघिका पर्यटनमन्त्री जीवनबहादुर शाहीको ठाडो निर्देशनमा कोरियन मन्दिर पछाडि तीनवटा प्लट बाडिएको थियो ।
सन् १९७८ मा जापनिज वास्तुकलाविद् प्रोफेसर केन्जो टांगेले तयार पारेको लुम्बिनी गुरुयोजनाको करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । यद्यपि लुम्बिनीलाई सुन्दरता भर्ने केही ठूला आयोजना अझै बाँकी छन् । ‘सौन्दर्यता देखिने काम पनि तत्काल गर्छौं', तामाङले भन्नुभयो ।
हालसम्म लुम्बिनीको सबैभन्दा बढी सुन्दर, आकर्षक र महत्ववपूर्ण मानिने पवित्र उद्यान क्षेत्रमा ३८ करोड ८१ लाख रुपैयाँ लगानी भएको छ । यो क्षेत्रमा परिक्रमा पोखरी निर्माणका लागि १३ करोड ३७ लाख लगानी गरिएको छ । मायादेवी मन्दिर निर्माणका लागि सात करोड रुपियाँ लगानी भएको थियो । गुरुयोजनाअनुसार पवित्र उद्यानको सुन्दरता थप्न र केही उत्खननका लागि ५२ करोड रुपयाँ लाग्नेछ । त्यस्तै लुम्बिनीको मेरुदण्ड मानिने केन्द्रीय नहर क्षेत्रमा २९ करोड ७३ लाख रुपैयाँ लगानी गरिएको छ । यो क्षेत्रमा नहर निर्माणमा मात्रै २४ करोड खर्च भएको थियो ।
विकास कोषमा पर्याप्त जनशक्ति नभएकाले योजनाअनुरूप काम हुन नसकेको कोषका सूचना अधिकृत राजन बस्नेतले जानकारी दिनुभयो । कोषमा केही वर्षयता कर्मचारी पदपूर्ति भएको छैन । कोषले गुरुयोजना अनुरूपका काम सम्पन्न गर्न मजदुर पनि निजी कम्पनीबाट माग गर्ने तयारी भएको छ । कोषमा कार्यरत ज्यालादारी कर्मचारीले कामभन्दा आन्दोलन धेरै गरेपछि बाहिरबाट जनशक्ति व्यवस्थापन गरिन लागेको हो ।