९ महिनाको व्यापार : भारतबाट पाैने पाँच खर्बकाे आयात
काठमाडौं : भारतसँगको व्यापार घाटा उच्च वृद्धि भएको छ । चालू आर्थिक वर्षको पहिलो नौ महिनामा भारतबाट चार खर्ब ७३ अर्ब रुपैयाँको वस्तु आयात भएको छ । सोही अवधिमा नेपालबाट ३२ अर्बको मात्र वस्तु भारततर्फ निर्यात भएको छ । निर्यातको तुलनामा आयात उच्च भएपछि भारतसँगको व्यापार घाटा बढेर चार खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ । नेपाल व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार निर्यात १५.८ प्रतिशतले बढ्दा आयात ४८ प्रतिशतले बढेको हो ।
भारतबाट पेट्रोलियम पदार्थ, फलाम तथा तिनका उत्पादन, यातायातका साधन, मेसिनरी तथा पाटपुर्जा र खाद्यन्न प्रशस्त मात्रामा आयात भएको देखिन्छ । नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार चीनबाट ९५ अर्ब रुपैयाँको वस्तु आयात भएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तलनमा १५.४ प्रतिशतले बढी हो । यस अवधिमा नेपालबाट सात अर्बकोमात्र वस्तु निर्यात भएको देखिन्छ । छिमेकी मुलुक भारत र चीन नेपालका दुई ठूला व्यापार साझेदार मुलुक हुन् । कुल वैदेशिक व्यापारको दुई तिहाई हिस्सा भारतसँग हुन्छ ।
नौ महिनामा कुल वैदेशिक व्यापार ३५.९ प्रतिशतले बढेर सात खर्ब ८१ अर्ब २८ करोड पुगेको छ । कुल व्यापारमा निकासी हिस्सा ७.१ प्रतिशत र आयात हिस्सा ९२.९ प्रतिशत छ । यस अवधिमा नेपालको कुल निकासी ९.९ प्रतिशतले बढेर ५५ अर्ब २६ करोड पुगेको छ भने कुल आयात ३८.४ प्रतिशतले बढेर सात खर्ब २६ अर्ब पुगेको छ । भारतबाट आयात उच्च दरले बढेपछि नौ महिनाको अवधिमा कुल व्यापार घाटा ४१.४ प्रतिशतले बढेर ६ खर्ब ७० अर्ब ७६ करोड पुगेको केन्द्रले जनाएको छ ।
आयात व्यापार
नेपालमा सबैभन्दा बढी वस्तु भित्रिने देशमा भारत, चीन, यूएई, फ्रान्स, इन्डोनेसिया, थाइल्यान्ड, अर्जेन्टिना, संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया, साउदी अरेबिया, क्यानडा, जापान, मलेसिया, भियतनाम छन् । नौ महिनामा फलाम तथा स्टिल र तिनका उत्पादन ७६.९० अर्ब, पेट्रोलियम पदार्थमा ८७.३९ अर्ब, सवारी तथा पार्टपुर्जा ६३.३० अर्ब, इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्री २९.४७ अर्ब, औषधि १७.४२ अर्ब, मेसिनरी तथा पार्ट्स ६१.०२ अर्ब, पोलिथिन ग्रेन्युल्स ११.८९ अर्ब, कच्चा पाम आयल ३.५६ अर्ब , दूरसञ्चारका सामग्री २२.८९ अर्ब, रसायन ७.०८ अर्बको आयात भएको छ ।
यसैगरी १९.२५ अर्ब बराबरको सुन, ६.७० अर्ब बराबरको चाँदी, ६.५३ अर्ब बराबरको रासायनिक मल तथा १७.७० अर्ब बराबरको हवाईजहाज तथा पार्ट्स आयात गरिएको छ । यस अवधिमा सिमेन्ट क्लिंकर १४.६१ अर्ब, भटमासको कच्चातेल ९.९० अर्ब, तयारी पोसाक ९.८७ अर्ब, अन्न २९.४२ अर्ब, ऊन २.५० अर्बको आयात भएको केन्द्रले जनाएको छ ।
निर्यात व्यापार
नेपालबाट ऊनी गलैंचा, तयारी पोसाक, मुसुरोको दाल, पोलिस्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टिल र तिनका उत्पादन, हस्तकलाका सामान, चाउचाउ, टुथपेस्ट, अलैंची, चिया, अदुवा, नेपाली हातेकागज, छाला, पश्मिना सल, जडीवुटी बढी निर्यात हुने वस्तुमा पर्छन् । नेपालबाट सबैभन्दा बढी भारत, संयुक्त राज्य अमेरिका, टर्की, जर्मनी, यूके, चीन, फ्रान्स, इटाली, जापान, क्यानडा, बंगलादेश, अस्ट्रेलिया, नेदरलेन्ड्स र भियतनाममा निर्यात हुने गर्छ ।
नौ महिनाको अवधिमा निर्यात हुने प्रमुख वस्तुमा ऊनी गलैंचा ५.६६ अर्ब, तयारी पोसाक ३.९७ अर्ब, फलाम तथा स्टिल उत्पादन ४.२७ अर्ब, पोलिस्टर तथा अन्य धागो ४.८१ अर्ब, मुसुरोको दाल ६३ करोडको निर्यात भएको केन्द्रले जनाएको छ ।