प्रचार क्रममा दलबीच झडप
मुसिकोट : एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच बुधबार झडप भएको छ । मुसिकोट नगरपालिका-७, साँखको माथिगाउँमा झडप हुँदा एक जनपद, एक म्यादी प्रहरी र एक जना एमाले कार्यकर्ता घाइते भएका छन् ।
झडपका क्रममा प्रहरी सहायक निरीक्षक सोमबहादुर बसेल, म्यादी प्रहरी गोपाल बटाला र एमाले कार्यकर्ता सरवीर परियार घाइते भएका हुन् । प्रसनि बसेल र म्यादी बटालाको खुट्टामा तथा परियारको टाउकोमा चोट लागेको छ । परियारको रुकुमेली सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । झडपले उग्ररूप लिन थालेपछि प्रहरीले तीन राउन्ड हवाईफायर गरेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थम्मनबहादुर रजालीले झडप बढ्न नदिन ३ राउन्ड हवाईफायर गरेको जानकारी दिनुभयो ।
झडपको अवस्था निम्तनुमा दुवै पार्टीले एक-अर्कालाई दोष लगाएका छन् । एमालेले माओवादी कार्यकर्ताले बाटो रोक्न खोजेपछि झडपको स्थिति आएको बताएको छ भने माओवादीले पनि एमाले कार्यकर्ताले ढुंगा प्रहार गरेपछि झडप भएको दाबी गरेको छ । एमालेको तर्फबाट मुसिकोट ७ नम्बर वडाध्यक्षका उम्मेदवार थलबहादुर ओलीले पार्टीका नगर प्रमुखका उम्मेदवारलाई सदरमुकाम पुर्याएर फर्कंदै गरेको गाडीमा माओवादीले अवरोध गरेको बताउनुभयो । माओवादी केन्द्रको तर्फबाट सोही वडाका अध्यक्ष उम्मेदवार हिमबहादुर पाण्डेले एमालेको चुनावी कार्यक्रम सकिएपछि नजिकै रहेका आफ्ना कार्यकर्तामाथि ढुंगा हानेकाले त्यसको प्रतिकार गरिएको दाबी गर्नुभयो ।
झडपमा तीन घाइते
गोरखाः गोरखाका घ्याल्चोक र भीमसेन गाउँपालिकामा कांग्रेस, एमाले र माओवादीबीच झडप भएको छ । गण्डकी गाउँपालिका-८, माझटारमा कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । साँझ ६ बजेतिर भएको झडप नियन्त्रण गर्न दुई राउन्ड हवाईफायर गरेको उहाँले बताउनुभयो ।
नाराजुलुससहितको दुवैतर्फको प्रचार टोली जम्काभेटपछि झडप भएको माओवादीका वडाध्यक्ष उम्मेदवार तुलसी रेग्मीले जानकारी दिनुभयो । ‘हाम्रो कोणसभा भइरहेको थियो, उताबाट कांग्रेसको टोली उत्तेजित नाराजुलुस गर्दै आएपछि भनाभन र धकेलाधकेल भएको थियो', रेग्मीले भन्नुभयो, ‘प्रहरीले हवाईफायर गर्यो । अनि दुवैतिरको भीड तितरवितर भयो ।' अहिले अवस्था सामान्य भइसकेको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै, बगुवाको आमसभा सकेर फर्केका कांग्रेस कार्यकर्ता र नाराजुलुससहित प्रचारमा हिँडेका एमाले कार्यकर्ताबीच बुधबार साँझ ७ बजे भीमसेन गाउँपालिका ३ तान्द्राङमा झडप भएको छ । झडपमा कांग्रेसका तीनजना कार्यकर्ता घाइते भएको प्रहरी निरीक्षक हेमबहादुर केसीले जानकारी दिनुभयो । यदु लामिछाने, उत्तम ढकाल र रामप्रसाद पुडासैनीको आरुघाटमा उपचार गरिएको उहाँले बताउनुभयो ।