तलाकको विरोधमा मुस्लिमद्वारा हनुमान चालीसा पाठ
नयाँदिल्ली: तीन तलाकबारे भारतीय सर्वोच्च अदालतमा बिहीबारदेखि सुनुवाइ हुँदा मुस्लिम महिलाले सामूहिक हनुमान चालीसा पाठ गरेका छन् । मुस्लिम महिला फाउन्डेशनको नेतृत्वमा उनीहरूले वाराणसीस्थित पतालपुरी मठमा १ सयपटक हनुमान चालीसा पाठ गरेका हुन् ।
करिब ५० मुस्लिम महिलाले दक्षिणमुखी हनुमान मन्दिरमा आरति पनि गरेका थिए । भारतमा मे १० तारिखलाई स्वतन्त्रता आन्दोलनको सुरुवाती दिनको रूपमा मानिन्छ । सन् १८५७ मे १० तारिखमा अंग्रेजबाट स्वतन्त्रताका लागि आन्दोलन सुरु गरिएको थियो । तीन तलाकजस्ता सामाजिक कुप्रथाविरुद्ध सामाजिक क्रान्तिको सुरुवात गरेको उनीहरूको भनाइ थियो ।
मुस्लिम महिला फाउन्डेशनकी सदर नाजनीत अन्सारीले मुस्लिम दिदीबहिनीको संकट हटाउन आफूहरूले यस्तो प्रार्थना गर्नुपरेको बताइन् । यसबाट सर्वोच्च अदालतको ध्यान आकर्षण हुने उनीहरूको कथन छ । कार्यक्रममा तलाक दिएर पीडित बनेका मुस्लिम महिलालाई पुनःस्थापना र उनीहरूका बालबालिकालाई शिक्षाको व्यवस्था गरिनुपर्ने माग गरिएको थियो ।