तलाकबारे सर्वोच्चमा अदालतमा सुनुवाइ
नयाँ दिल्ली : भारतको सर्वोच्च अदालतले मुस्लिम धर्मावलम्बीमा प्रचलित ‘तीन तलाक’, ‘निकाह हलाला’ र बहुपत्नी प्रथाको विरोधमा परेको मुद्दामा बिहीबारदेखि सुनुवाइ सुरु गरेको छ । प्रधानन्यायाधीश जगदीश सिंह खेहको अध्यक्षतामा भइरहेको सुनुवाइ १० दिनसम्म चल्नेछ । अदालतले यो धर्मको विषय हो कि होइन भन्ने विषय बुझ्न खोजेको बताएको छ ।
यदि मुस्लिमको यो धार्मिक अधिकार भएमा यसमा हस्तक्षेप नगर्ने अदालतको भनाइ छ । यदि यो धार्मिक विषय नठहरिएमा सुनुवाइ गर्ने अदालतले स्पष्ट पारेको छ । तीन तलाकबाट मौलिक अधिकारको हनन भएको वा नभएको अदालतले बझ्नेछ ।
बहुविवाहमाथि भने अदालतले सुनुवाइ नगर्ने जानकारी दिएको छ । सुरुका तीन दिनसम्म तीन तलाकका विरोधीको बहस हुनेछ भने त्यसपछिका तीन दिनसम्म प्रतिवादी पक्षले बहस गर्नेछ । सिख, इसाई, पारसी, हिन्दु र मुस्लिमसहित विभिन्न धर्मावलम्बी न्यायाधीश कुरियन जोसेफ, आरएफ नरिमन, उदय उमेश ललित र अब्दुल नजिरले मुद्दाको सुनुवाइ गरिरहेका छन् ।
सर्वोच्च अदालतले तीन तलाकमाथि प्रतिबन्ध लगाइएका मुस्लिम धर्मावलम्बी देशका कानुनको पनि अध्ययन गर्ने बताएको छ । तीन तलाकविरुद्ध मुद्दा दायर गर्ने मुस्लिम धर्मावलम्बीले यो इस्लामको भावनाअनुसार भएको भए कैयौं मुस्लिम देशले प्रतिबन्ध नगर्ने दाबी गरेका छन् । तीन तलाकबाट मुस्लिम महिला पीडित भएको भन्दै पाँचजना मुस्लिम महिलाले मुद्दा दायर गरेका थिए ।
अदालतले यो मुद्दा निकै पेचिलो भएकाले विशेष सुनुवाइ गर्नुपर्ने बताएको छ । उनीहरूले तीन तलाक धार्मिक स्वतन्त्रताअन्तर्गत नपर्ने पुष्टि गर्नुपर्नेछ । प्रतिवादीले तीन तलाक धर्मकै भाग भएको तर्क पुष्टि गर्नुपर्नेछ ।
भारतका पूर्वविदेशमन्त्री एवं वरिष्ठ अधिवक्ता सलमान खुर्सिदले तीन तलाकलाई वैध मान्नुपर्ने बताएका छन् । न्यायाधीश रोहङटनको प्रश्नमा उनले यस्तो जवाफ दिएका थिए । पर्सनल ल बोर्डका तर्फबाट पूर्वमन्त्री कपिल सिब्बलले पनि खुर्सिदको समर्थन गरेका थिए । केन्द्र सरकारले भने तीन तलाक लैंगिक समानता र महिलाअधिकारको विपक्षमा भएको तर्क पेश गरेको छ । केन्द्र सरकारले यसबाट अधिकार हनन भएको बताउँदै आएको छ । धर्मनिरपेक्ष मुलुक भारतमा कानुनले दिएको अधिकारबाट महिलालाई वञ्चित गर्नु उचित नभएको स्पष्ट पारेको छ ।
सरकारले पाकिस्तान जस्ता कैयौं मुस्लिम देशमा तलाक र बहुविवाहमा भएका सुधार र प्रतिबन्ध लगाइएका कानुनको स्मरण गराएको छ । तीन तलाकका कारण आफू पीडित भएको भन्दै मुस्लिम महिला फाउन्डेशनको नेतृत्वमा बुधबार पचासजना मुस्लिम महिलाले वाराणसीस्थित हनुमान मन्दिरमा एक सयपल्ट हनुमान चालीसा पाठ गरेका थिए । फाउन्डेशनकी प्रमुख नाजनीत अन्सारीले मुस्लिम दिदीबहिनीको संकट हटाउन आफूहरूले यस्तो प्रार्थना गर्नुपरेको बताएकी थिइन् ।