मदन गोपालको ‘धेरै टाढा’
काठमाडौं : गायक तथा संगीतकार मदन गोपाल चार वर्षपछि नयाँ एल्बम लिएर प्रस्तुत भएका छन् । उनको पाँचौं एल्बम ‘धेरै टाढा’ बुधबार काठमाडौंमा विमोचन गरिएको हो ।
म्युजिक नेपालका प्रबन्ध निर्देशक सन्तोष शर्मा, शास्त्रीय गायन गुरु प्रभुराज ढकाल, फुटबलर हरि खड्का, संगीतकारहरू उद्गम परियार र राजीव शाह, गीतकारहरू रोशन भट्टराई, मनीष प्रसाईं, रमेश नेपाल, अविरल थापा र डिजाइनर अनिल स्थापितले एल्बम विमोचन गरेका हुन्।
मदनले जन्मथलो, घरपरिवार र मनको मान्छेबाट धेरै टाढा पुगेकाहरूप्रति यो एल्बम समर्पण गरेका छन् । एल्बममा ‘जान त मन छ’, ‘आफ्नै देशमा’, ‘लाग्दैन मन’, ‘जति कलम फेरे पनि’, चलचित्र खुड्किलोको ‘मनै अँध्यारो भो’, चलचित्र साँघुरोको ‘आउँदैछु कि जाँदैछु म’ गरी ६ वटा गीत समावेश छन् ।
एल्बमको पहिलो गीतका शब्द मदनले नै लेखेका हुन् । अन्य गीतहरूमा अविरल थापा, मनीष प्रसाईं, रमेश नेपाल र शेखर ज्ञवालीको शब्द रहेको छन् । संगीतमै स्नातकोत्तर गरेका मदन संगीत शिक्षक पनि हुन् । यसअघि उनका ‘अलमोस्ट’, ‘आकृति’, ‘लक्ष्मी’ र ‘कामिनी’ एल्बम आइसकेका छन् ।