कोऽहम - सोऽहमसित जगमान
‘वैदिक कालमा तत्ववेत्ता अर्थात् तत्वव बुझेको व्यक्ति बुद्ध कहलाउँथे । जीव, जगत् र ब्रह्म यी तीन तत्वव छन् । जीव अर्थात् म को हुँ ? यो जगत् के हो ? म र यो जगत्को बीचमा के सम्बन्ध छ ? म र यो जगत्भन्दा पर अरू कुनै परम तत्वव छ कि छैन ? यो नै आत्मचिन्तन हो र आत्मचिन्तन नै ब्रह्म चिन्तन हो । यसरी कोऽहमको चिन्तन गर्दै जाँदा सोऽहमको अवस्थामा पुगिन्छ । त्यसपछि जीवलाई अहम् ब्रह्मास्मिको तत्ववबोध हुन्छ । ब्रह्मतत्वव बोध भएपछि ब्रह्मवेद ब्रह्म भवति भन्ने सिद्धान्तअनुसार जीव ब्रह्मलीन हुन्छ । अतः वेदान्त दर्शनका अनुसार ब्रह्मतत्वव बोध गरेका साधक बुद्ध हुन् ।'
पढ्दै थिएँ डा. जगमान गुरुङको रचना अन्नपूर्ण पोस्ट्मा । कोऽहम् चिन्तनले सोऽहम्को अवस्थामा तैरन पुगेछु । अनायास कोऽहम् र सोऽहम् शब्दध्वनि अनुरमण भैरह्यो कानभरि । अस्ति मात्र सोऽहम् (नारायण भट्टराई) कोऽहम् नवराज भट्टराई दुई भाइ निष्ठाछें पस्नुभएको झल्याँस्स बनाइदियो । बिना प्रसंगका पठनपाठनले पनि मनका तप्कामा लेसिएका स्मृति उप्काइदिँदो रहेछ । कोऽहम्-सोऽहम् बन्धुसित सायद, २०६९ सालतिरै परिचित भएथेँ, नेपाल प्रज्ञाप्रतिष्ठानमा । नेपालका सम्पूर्ण जिल्ला अनि ९९० गाउँस्तरीय स्थानीय निकायहरू, तत्कालीन सबै नगरपालिका घुम्नु कोऽहम्-सोऽहम्का निर्बाध नियात्रा हौसला जगायो- यो लुलो खुट्टाधारी प्राणीमा ।
आफ्ना युवा अवस्थामा नथाकीकन देश दर्शन-अध्ययन-भ्रमणका स्मृति सतहमै उतारिदिँदा रहेछन् नियात्रा विवरणले । अवस्था सधैंभरि उस्तै एक समान नरहनु प्रकृतिको शाश्वत प्रणाली हो । उहिलेका दुगर्म इलाका सुगम भएछन् । दुर्गमलाई सुगम बनाउनु विकास प्रयासको लक्ष्य रहन्छ । पुख्र्यौली मानव प्रयास अनवरत यसमै सटेका छन् । यी अनवरत प्रयत्न युगबोधि ज्ञान बनेर प्रस्फुटित हुँदा रहेछन् । पाइला सार्ने क्रममा स्थान विशेषको परिस्थिति र अवस्थिति आवश्यकता बोधका उज्यालो टीका लगाइदिँदो रै'छ । मस्तिष्कमा लागि मनका भित्री तख्तासम्मै घुसेपछि त्यही उज्यालो चेतनतत्वव बन्दो रहेछ । तिनै चेतन तत्वव जिउभरि फैलिएर हाम्रो मानवता उजागर हुनपुग्छ । त्यही बेला ब्रह्मतत्व फुरेर अनुत्तरित कोऽहम् प्रश्न सोऽहम्मा उत्तरित हुन पुग्दो रहेछ ।
मातृभूमि सुरभित लाग्छ हामी सबैलाई । यस निमित्त कि यसभित्र संसार छ । संसार यहाँ हुनुको तात्पर्य नेपाल वैविध्यपूर्ण छ । विविधता नेपाल आमाको छटा हो । सौन्दर्य हो । लालित्य हो ।
कोऽहम्का सरल पूर्वरूप कः अहम् । कः = को, अहम् = म ! म को ? को संस्कृत स्वरूप कःअहम् । क पछाडिको विसर्ग बिलाउन लाउँदा कः कोमा परिणत हुनु संस्कृत भाषाको आफ्नै स्वरूप रहेको छ, भाषिक संस्कार र संस्कृतिका सरोकार क्षेत्रमा । यसै पद्धतिअनुरूप कः अनि को बनेर कोऽअहम् बन्न पुग्छ । कः कोमा बदलिँदा को वर्ण पछाडिको डाङ्डुङे ऽ आकार लाग्दोऽकार अवतरण÷उतारेर कोऽहम् बनाउनु संस्कृत व्याकरण र भाषा विज्ञानका स्वनिर्मित स्वभाव रहेको नकार्न सक्दैनौं हामी । भाषा विज्ञानले पहिल्याएका यी र यस्तै कैयन् पक्षहरू छन् संस्कृत वाङ्मयका । यसरी नै सः अहम् पनि सोऽहम्मा रूपान्तरण हुन पुगेको छ ।
एउटै शब्दमा खचाखच खाँदिएका छन् निखिल दर्शन र सिद्धान्त शास्त्रहरू संस्कृत वाङ्मयमा । यिनका यस्ता प्राथमिक उपयोगका सामान्य प्रसंग पनि नबुझेर, नबुझाएर वा बुझ्ने, बुझाउने पाठ्यक्रम र पाठ्यसामग्री नभएर अहिले हामीहरू चर्मचक्षुधारी अन्धा बनिरहेका छौं । बुद्धजयन्तीका अवसरमा मै क्रूर बुद्ध र निर्मम गिद्ध बनिरहेझैं लाग्छ अचेल ! यसलाई वर्तमानको भुक्तमानले बक्न अठ्याउँछ— निरीह विवशता यस्तै आम नेपाली जनजीवनको पनि अत्यधिक बहुसंख्याको हविगत अवस्था यो । म को हुँ ? कोऽहम् को सोऽहम् पर्याय बन्छ । विश्लेषण र विवेचनाका फराकिलो फाँटमा टेकेर÷टेक्दा म को हुँ ? आफैसित सोध्छु । परिस्थिति र परिवेश घोक्रो माथ गर्छ - तँ त्यही होस् जस्तो परिस्थिति र परिवेश छ तेरो । मान्छेको परिवेश मान्छेको परिस्थिति । परिस्थितिले निमोठिएका मानिस र केही मानिसका जमातले अज्याएका धेरै मानिस नेपाली । नेपाली मानिसका निरीह स्थिति । यतिन्जेल सहिष्णुता नेपालीपन बनिदिन्छ । नेपालीपन नै सहिष्णुताको पर्याय भइदिन्छ । कोऽहम् र सोऽहम्को सिलसिला तन्किँदै गर्छ । मानौं यो एउटा लचक्क लच्किँदो रबरको त्यान्द्रो हो !
नेपाल भ्रमणका ७३० दिन निकै मोटो आकारमा छापिएर पनि सोऽहम्-कोऽहम् बान्धवका रोचक दैनान्दैनिक रहेको छ । छोटोछोटो दैनिकी अनुभव र अनुभूतिभित्र आफ्ना युवा अवस्थाका ६८ जिल्लाका अनुभूति स्थल हेर्दै गएँ । भोजपुर यात्रा बराह क्षेत्र हुँदै अक्कर भीर पहरामा कापेको ढुंगे अक्कर हिँडेको ठाउँ सम्झँदा अहिले सर्वांग सिरिंगिन्छ । यो बैंसमा लाग्नु परे त सहजै अरुण नदीको नीलो दहजस्तो प्रवाहमा बग्न पुग्छु— लाग्न थाल्छ । बैंस र उमेरका छाप जीवन गतिमा यसरी विचित्रिँदो अनुभूति बटुलेँ, ग्रहण गरेँ । नौलो कुराका ज्ञान र जानकारीले बाँच्नुमा नयाँ अनुभूति उद्भव गरिदिँदा रै'छन् । आजीवन शिक्षाका क्षितिज दिगन्त फैलिएको हुँदो रहेछ । सिक्न कहिल्यै चुकिनँ झैं लागिरहेछ अझै ।
यी सबै मनको सोच रहेछ । जस्तो सोच्थेँ उस्तै गर्न सकिँदो रहेछ- प्रयासरत जीवन यात्रा- निरवछिन्न- लगातार इच्छाशक्ति यसको साधना-साधन । कोऽहम्-सोऽहम्को शब्दानुभूति यस्तै रहेछ- सामान्य जीवन गतिका क्रियाकलापमा । उनका अथक नियात्रा त्यस्तै अगाडि बढेको अनुभूति सँगालेँ जसरी मैले नि भोगेथेँ यात्रा क्रममा । अक्कर भीर पहरे बाटोको वर्णन पढ्ने अवसर पाइनँ त्यसमा । मनमा लाग्यो मेरो नियात्रा ४० वर्ष अगाडिको थियो । त्यस अवधिभित्र नेपालका दुर्गम-प्राकृत अवस्थामा परिवर्तन आइसकेर चक्रेटो बाटो निकै उन्नत विकसित अवस्थामा आइसकेका छन् । तिनका दैनानदैनिकी अनुभूतिसित बग्दाबग्दै परिवर्तित परिवेशमा देश दर्शन गर्न पुगेँ । अरूको पनि अनुभूति सँगाल्ने सकारात्मक सोचले पाठक लाभान्वित भइँदो यथार्थ त्यसमा विचरण गर्दै सिकेँ, बुझेँ ।
दाङ देउखुरीको बेलझुन्डीमा निर्मित संस्कृत विश्वविद्यालय आदिको भ्रमण अनुभूति बटुल्दै गएँ । त्यसै क्रममा संस्कृत विश्वविद्यालयको उद्घाटनपछि केही दिन÷हप्तामै त्यस परिसर प्रवेश-भ्रमणको सम्झना पत्र मनभित्र पल्टँदै गयो । स्थान विशेषको प्रसंगहरूले तत्स्थानका पूर्वसंस्मरण उकासिदिँदो पाठ आफैंसित सिकेँ । सोहम् कोहम् नामलाई यसप्रकार सोऽहम् कोऽहम् लेखेर विश्वभ्रमणमा जानुभए संस्कृत भाषा र नेपालको सांस्कृतिक पहिचान दिन सफल हुनुहुने थियो ।' संस्कृत विश्वविद्यालयको सुझाव पढ्दा मनग्य सन्तोषको अनुभूति चाख्दै पढ्दाको आनन्द सरोवरमा पौडेँ । कोऽहम्-सोऽहम्का दाँग डायरीमा कुनै कटु अनुभव व्यक्त भएको पाइनँ ।
दंगेली नेपाली असीम आतिथ्यपूर्ण भइसकेकोमा सन्तोषी अनुभव सास फेरेँ । २०३४ साल मेरो दाङदेउखुरी नियात्रा अवसरमा पनि मेरो अनुभूति त्यस्तै रहेर पनि एउटा रमाइलो प्रसंग रहेथ्यो । घुम्दै जाँदा एउटा गाउँमा बास बस्दा खाटजस्तो एक ठाउँमा सेतो कपडा बिछ्याइएको थियो । स्लिपिङ ब्यागभित्र पसिसक्दा सक्दै भुसुक्किएँ । आधा रातपछि बिउँझँदा जीउ सुलसुलाएको आभास भयो । के रहेछ ? यसो हेरेको त्यो खाटजस्तो ठाउँ त चल्ला-खोर पो पाइयो । फरक समय, फरक परिवेश, फरक व्यवहार, फरक अनुभव ! यस्तै हुँदा रैछन् ठानेँ । उहाँहरूको खल्लो भोगाइ मुस्ताङको कासकेली कपडा पसलकी होटल साहुनीले बस्ने दिनको दैनिक रु. एक सय ३० लाग्छ भनेर पनि पैसा लिने बेलामा रु. एक सय ५० का दरले हिसाब गरी असुलेकी पढ्दा इमान-धर्म चुँडेको पाएँ ।
कोऽहम्-सोऽहम् बन्धुका विश्वमा प्रेस स्वतन्त्रता, प्राथमिकतामा सकारात्मक पत्रकारिताका लागि विश्वभ्रमण अभियानअन्तर्गत छारधा भोटमा डुल्न चाहेर पनि पाइनँ । छारधाभोट बसाइँ खवाइका अनुभव आपसमा बाँड्ने रहर थियो । २०३४ मा आर्जेको आत्मानुभूति घतलाग्दो थियो । १५ हजार फिट समुद्री सतहमाथिको चिसो मरुस्थल देखिने छारधाभोट उच्च शिखरे खाल्डोझैं देखिन्थ्यो । बासस्थान त अँध्यारो कोठा थियो । एउटा काठको फल्याके खापा झ्यालको ढकिना थियो । भुइँमा अँगेना, चारैतिर ढुंगामाटाहरूले सीमाबद्ध । त्यसै त अक्सिजन÷अम्लाजनको अनुपात न्यून हुने उचाइ त्यसमा नि अगेनाका धुवाँ खरानी । निस्सासिँदो वातावरण । ४० वर्ष पुरानो आत्मानुभूति । त्यो बैंसको वातावरण उमेर अनुकूल थियो । यो बैंसको उमेरका लागि सुमेरु भ्रमण जत्तिकै बन्छ— शिवले गणेशलाई दिएको निर्दिष्ट गन्तव्य- ! बढ्दो युगको प्रगतिसित अहिले कुन हदसम्म फड्को मारेछ ? जिज्ञासा थियो— मनको धोको । उमेर नभएर मनको इच्छा मर्दो रैनछ । उमेर चाहना भनूँ इच्छाशक्तिको तगारो बन्दो रहेछ । इच्छाशक्तिको टेकोमा टेकेर यी अक्षरहरूका जुलुस प्रदर्शित छन् यहाँ !
यो मातृभूमि सुरभित लाग्छ हामी सबैलाई । यस निमित्त कि यसभित्र संसार छ । संसार यहाँ हुनुको तात्पर्य नेपाल वैविध्यपूर्ण छ । विविधता नेपाल आमाको छटा हो । सौन्दर्य हो । लालित्य हो । तिनै छटा, सौन्दर्य र लालित्य नेपाल माताको ललित प्रथा रहेको छ । आकर्षण बनेको छ । आम नेपालीको ढुकढुकी रहेको छ— यिनै छताछुल्ल छटाहरूमा... ! हिमशिखर, पर्वत शृंखला, झरझर-निर्झर-झरना वक्षस्थलझैं रहेका पर्वत शृंखला, शश्य श्यामला दक्षिण फाँट र समथल भूमि हाम्री मातृभूमि । नेपालका सन्तति हामी गौरवान्वित आमाको मातृस्नेहले स्निग्ध सिञ्चित । यी त भूतलका सतहवर्ती सम्पदा ! गर्भभित्रका खनिज सम्पदा अझै उत्खनन् भएकै छैनन् । दैलेख, मुस्ताङ र यस्तै कतिपय जिल्लामा ग्यास भण्डार छन् । अत्तोपत्तो छैनन् । सोऽहम्-कोऽहम् बन्धुका अनुभूति पनि उस्तै उस्तै लाग्छ । मुक्तिनाथ र पादुका, नाभी अनि शिरस्थानका ज्वालाहरू भूगर्भका हरियापात बेरी सलाई कोर्दा दीपक बनेको साझा अनुभूति बनेका छन्— हाम्रा । दैलेख त एकै पर्वत शृंखलामा सल्ला, सुन्तला, कागती, आँप, साल हुर्कंदो वातावरण बनेको वातावरण आँखैदेखि साक्ष बनेको अनुभूति यो जीवन्त श्वासप्रश्वास बनेको छ ।
चालीस वर्षको अन्तरालमा नेपालले अनेक अन्तर भोगचलन गरिसकेका छन् । यस अन्तरालले अनेकौं भूतलमा सतही स्वरूपमा रूपान्तरण ल्याएका छन् । सही गुढ परिवर्तन भौगर्भिक सम्पदाका प्रयोगका प्रयोजनले अभिषेक गर्दा हुन्— हाम्रा मातृ आस्थाका सार्थक सम्वरणमा... ! ती दिनहरू भविष्यका गर्भमा छन् । प्रजातन्त्रपछिका २००७ सालले जन्माएको मोहनशमशेर जबराको प्रधानमन्त्रित्वमा गठित सबैभन्दा पहिलो राणा-कांग्रेस संयुक्त मन्त्रिमण्डलदेखि आजसम्मका दुई मन्त्रिमण्डल÷मन्त्रिपरिषद्बाहेक कुनै पनि नौ महिना बढी आयुका नबन्नु, नहुनु अस्थिर नेपाली जीवन जगत्को राजनीतिक यथार्थ बनेको छ । यसो हुनुको मूल जरो हाम्रा मातृभूमिको भौगोलिक अवस्थाजन्य भूराजनीतिक स्थिति बनेको छ ।
जति नै क्रान्तिकारी राजनीतिक आन्दोलनहरू मच्चिए मित्रराष्ट्रका भूभागमा आधारित आ श्रयमूलक रहे, बने । हाम्रा राजनीतिक स्थिरताका जरा अन्त गढेकाले हामी सदाबहार अस्थिरताका चंगुलमा अल्झेका छौं । पराश्रित पहलकर्मी परामुखापेक्षी नै रहन्छन्; रहनु अस्वाभाविक सत्य नहुन सक्छ । अहिले यत्रा लोकतान्त्रिक, संघीयता मुखी चुनावको अवसर भएर पनि जुम्ला, डोल्पा, मुस्ताङ सेरोफेरोमा निर्वाचनमय वातावरण र माहोलले नछाएको सूचना सन्देश प्रवाहित छन् । यार्चागुम्बा संकलन र वैदेशिक रोजगार उन्मुख हाम्रा आर्थिक जीवनस्थिति रहेको यथार्थ हो । नेपाल भ्रमणको ७३० दिनमध्येका केही अंश पढ्दा ओकल्दा सल्बलाएका यी छाप लोकलाई समर्पण गर्छु । अनेक भ्रमण र राजनीतिक संकल्पले दरो पाइला हालून् ! कोऽहम-सोऽहम बन्धु ... शुभेच्छा !