श्री आनन्दमयी माँको सन्देश
मानिसले आश्चर्यजनक भौतिक उन्नति गर्यो । हिमालयका दुर्गम चुचुराहरू चढ्यो, चन्द्रमा र मंगल ग्रहमा पाइला टेक्यो, विध्वंशकारी परमाणु बमहरू बनायो । तर के मानिसले शान्ति र सुख पायो त ? अहँ । समस्त मानव समाज काम, क्रोध, लोभ, मोह, मद, मात्सर्यको ज्वालामा पिल्सिरहेको छ । अशान्ति, दुःख र पीडा हाहाकार र चित्कार जताततै सुनिन्छ । यस्तो विषम परिस्थितिमा कसरी शान्ति र आनन्द प्राप्त गर्न सकिन्छ ? यो प्रश्नको सही उत्तर श्री श्री आनन्दमयी माँको शान्ति र आनन्दको सन्देशमा पाइन्छ ।
सन् १८९६, ३० अप्रिल तदनुसार विसं १९५३ नेष्ठ कृष्ण चतुर्थी, वृहस्पतिबारका दिन पूर्व बंगालको (हाल बंगलादेशको) त्रिपुरा जिल्लाको खेवरा नामको गाउँमा धार्मिक ब्राह्मण दम्पती श्री विपिन बिराही भट्टाचार्य र मोक्षदा सुन्दरी देवीको दोस्रो सन्तानका रूपमा एउटा बालिकाको आविर्भाव भयो जसको नाम राखियो निर्मला सुन्दरी । कालान्तरमा यिनै बालिका भारतमा मात्र होइन, विश्वभरि नै श्री श्री माँ आनन्दमयीको नामले सुप्रसिद्ध हुनुभयो । माँ जन्मकालमा रुनुभएन । धेरै वर्षपछि प्रसंगवश चर्चा चल्दा उहाँले भन्नुभयो, ‘किन रुने ? यो शरीरले त त्यस बेला बाहिरको आँपको बोट हरिरहेको थियो ।'
बालककालदेखि नै उहाँको सरलता, सेवाभाव र सदा प्रसन्न रहने स्वभावले गाउँका हिन्दु, मुसलमान सबैले उहाँलाई धेरै स्नेह गर्थे । बाह्र वर्षको उमेरमा उहाँको विवाह आटपाराका श्री रमनी मोहन चक्रवर्तीसित भयो जसलाई भक्तहरूले बाबा भोलानाथ भन्न थाले । सन् १९१० देखि १९१४ सम्म उहाँको गृहस्थ आ श्रमको कार्यभार सम्भाल्नुभयो । पकाउने, खुवाउने, भाँडा माझ्ने, सफाइ गर्ने, जेठानीका छोराछोरीको हेरविचार गर्नेजस्ता काम उहाँले ‘नरको सेवा नै नारायणको सेवा हो' भन्ने ज्ञानले अभिप्रेरित भएर प्रसन्न चित्तले गर्नुहुन्थ्यो ।
अष्टग्राममा हर कुमार नामका एकजना छिमेकीले उहाँलाई ‘माँ' भनेर बोलाउँथे । उनी भन्थे, ‘आज म तपार्इंलाई माँ भनेर बोलाउँछु । पछि त्यो दिन आउनेछ जब संसारले नै तपाईंलाई चिनेर माँ भनेर बोलाउनेछ ।' कालान्तरमा हर कुमारको भविष्यवाणी सत्य प्रमाणित भयो । भोलानाथ जागिरे भएर बाजितपुरमा गए जहाँ सन् १९१८ देखि १९२४ को छ वर्षको अवधिमा माँको साधनाको लीला चल्यो । यहाँनिर एउटा तथ्य स्पष्ट पार्नुपर्ने देखिन्छ । धेरैजसो सन्तहरूको जीवनमा पहिलो अवस्थामा अज्ञान, अनि साधना काल र त्यसपछि आत्म साक्षात्कार भएको हामी पाउँछौं ।
तर, माँको साधना अद्वितीय छ अर्थात् अज्ञानको पर्दा हटाउन माँले साधना गर्नुभएको होइन । उहाँको आफ्नै शब्दमा ‘एक दिन नुहाउन लागेको बेला अकस्मात् ख्याल आयो- साधकको भूमिका खेल्दा कस्तो होला ? ' र यसरी सुरु भयो ‘साधनाको लीला' दिनभरिको कामकाज सिध्याएपछि कोठा सफा पारेर, धुप बालेर माँ भगवान्को नाममा मग्न हुनुहुन्थ्यो । अनि उहाँका अंगहरूको स्वतः पद्मासन, सिद्धासन आदि आसनहरूमा समायोजन हुन्थ्यो । भोलानाथ यी सबै अलौकिक घटना हेरेर आश्चर्यचकित हुन्थे ।
माँ जहाँजहाँ जानुहुन्थ्यो, त्यहाँत्यहाँका साधक, जिज्ञासु र भक्तहरूको आध्यात्मिक तिर्खालाई शान्ति र आनन्दको जलले मेटाउने कार्य गर्नहुन्थ्यो । उहाँ प्रवचन दिनु हुँदैनथ्यो तर प्रश्नहरूको जवाफ दिनुहुन्थ्यो ।
यहाँनिर श्री रामकृष्ण परमहंस र श्री आनन्दमयी माँको जीवनमा सामञ्जस्य पाइन्छ । श्री रामकृष्णको अलौकिक दाम्पत्य जीवनको चरम स्थिति त्यो बेला देखियो जुन बेला उहाँले श्री शारदा देवीलाई साक्षात् जगदम्बा मानेर षोडशोपचारले पूजा गर्नुभयो । त्यस्तै सन् १९२६ मा ढाकाको रमना आश्रममा भोलानाथले माँलाई काली मानेर कालीपूजा गर्नुभयो । धन्य छ, ती दम्पतीको उच्चतम अध्यापत्मक स्थितिको दिव्य मिलन । सन् १९२२ साउन पूर्णिमाको मध्यरातमा उद्यमा दीक्षाको औपचारिक संस्कार स्वतःस्फूर्त भयो । मन्त्र आफूदेखि भिन्न रहेनछ, र गुरु, मन्त्र र इष्ट एकै हुन् भन्ने अनुभूतिमा उघं मग्न हुनुभयो । केही महिनापछि माले भोलानाथजीलाई दीक्षा दिनुभयो । उनी साधनामा तल्लीन भएर उच्च आध्यात्मिक स्थितिमा पुगे र पछि सन्न्यासी बने ।
श्रीमानको श्रीमुखबाट मन्त्र सुन्ने सौभाग्य सायद अर्को एकजना भक्तलाई मात्र प्राप्त भयो । उनको नाम हो श्री ज्योतिष चन्द्र राय जो पछि ‘भाइजी' को नामले परिचित भए । एक दिन सिद्धेश्वरीको काली मन्दिर नजिकैको जंगलमा माँको प्रसन्न, आनन्दमय मुहार हेर्दाहेर्दै भाइजीले भोलानाथजीलाई भने, ‘आजदेखि माँलाई हामी श्री आनन्दमयी माँ भनेर बोलाऊँ ।' सन् १९२४ मा भोलानाथ नबाबजादी प्यारी बानुको शाहबाग बगैंचाको मेनेजर भए । त्यहाँ भजन, कीर्तन हुँदा माँको शरीरमा वैष्णव साहित्यमा वर्णन गरिएको चैतन्य महाप्रभुको जस्तो महाभावको प्रकाश भयो । माँकी परम भक्त एवं जीवनी लेखिका गुरुप्रिया विदिले आफ्नो दैन्दिनीमा लेखेकी छन्, ‘ श्रीमाँको शरीर हावाले उडाएको सुक्खा पातजस्तो उड्न र खस्न थाल्यो ।' अनपदक सुशिक्षितहरू, विद्वान्हरू माँको निकट आए र प्रभावित भए । सन् १९३२ मा माँ ढाका छाडेर देहरादुन नजिकै रायपुरमा बस्नुभयो । सन् १९३६ मा किसनपुर आश्रम बन्यो । यहीँ हो सन् १९८२ मा श्री माँ ब्रह्मलीन हुनुभएको । कनखल आश्रमको चोकमा माँको समाधि मन्दिर रहेको छ ।
माँले आफूलाई ‘उडेकी चरी' भन्नुहुन्थ्यो । हुन पनि उहाँ लगभग ५० वर्षसम्म भारतका विभिन्न स्थानमा भ्रमण गर्नुभयो । माँ जहाँजहाँ जानुहुन्थ्यो, त्यहाँ त्यहाँका साधकहरू, जिज्ञासुहरू र भक्तहरूको आध्यात्मिक तिर्खालाई शान्ति र आनन्दको जलले मेटाउने कार्य गर्नहुन्थ्यो । उहाँले प्रचवन दिनु हुँदैनथ्यो । तर प्रश्नहरूको जवाफ दिनुहुन्थ्यो । माँले भजन, कीर्तनलाई प्रोत्साहन गर्नुहुन्थ्यो र कहिलेकाहीँ आफैं दिव्य सुरले गाउनुहुथ्यो उहाँको शब्दमा, ‘यो शरीर एउटा वाद्यवादक यन्त्रजस्तो छ । जस्तो बजाउछौं, उस्तै सुन्छौं ।' सत्यको खोजमा आएका हरेक व्यक्तिलाई माँले सही समयमा सही उत्तर दिनुहुन्थ्यो । आफ्नो जिज्ञासा शब्दमा प्रकट गर्न नसक्ने व्यक्तिहरूले माँले अरूहरूलाई उत्तर दिँदा अथवा आफ्नो मनमा नै समाधान भेट्टाए । कस्तो अन्तरयामी माँ ।
दिव्य जीवन संघ, ऋषिकेशका संस्थापक अध्यक्ष स्वामी शिवानन्द महाराजले माँबारे आफ्नो विचार यसरी प्रकट गर्नुभएको थियो, ‘ श्री माँ आनन्दमयी भारतको माटोमा फुलेको सबभन्दा पवित्र फुल हुन् ।' पण्डीचेरीको प्रसिद्ध सन्त श्री अरबिन्दोले भन्नुभएको थियो, ‘ श्री आनन्दमयी माँ सधैं सत्चित् आन्दको स्थितिमा रहनुहुन्छ ।' महात्मा गान्धीले आफ्नो अनुयायी जमनालाल बजाजका आध्यात्मिक प्रश्नहरूको उत्तर दिन नसकेर उनलाई श्रीमाँकहाँ पठाए जहाँ बजाजले शान्ति प्राप्त गरे । साधु सन्तहरू, विद्वान्हरू, दार्शनिकहरू, लेखकहरू, राजारानीहरू, समाजका हरेक वर्गका मानिसहरू श्रीमाँको दर्शन गर्न र अमृत वाणी सुन्न धाउँथे । श्रीमाँको सान्निध्यमा एउटा अपूर्व आनन्दमय वातावरण हुन्थ्यो । जहाँ सांसारिक समस्याहरूले निसास्एिका मानिसहरू चयनको सास फेर्थे र शान्ति एवं आनन्दको अनुभव गर्थे । आफूलाई ‘छोटी अनपद बच्ची' भन्नुहुने माँलाई उच्चतम धार्मिक व्यक्तिहरू विद्वान्हरू, साधकहरू आदिले सर्व श्रेष्ठ आध्यात्मिक विभूति मानेर श्रद्धा गर्थे ।
श्रीमाँको सन्देश सत्यका अनुसन्धानकर्ताहरू, विद्वान्हरूका लागि मात्र होइन; अनपढहरू, पतितहरू, मानसिक रूपले असन्तुलितहरू सबै मानिसका लागि हो । ब्रह्मचर्य आ श्रमको सही ढंगले पालना भएमात्र मानव जीवन उन्नतितिर लाग्छ भन्ने श्रीमाँको धारणा थियो । माँको वाणी ‘आदर्श चरित्र गठन'को मूल उद्देश्य लिएर प्राचीन गुरुकुल पद्धतिमा आधारित कन्या विद्यापीठ वाराणसीमा र कुमार विद्यापीठ देहरादुनमा खुले । श्रीमाँको सन्देश यस प्रकारको छ, ‘प्रत्येक मनुष्यको प्रमुख कर्तव्य आत्मा-साक्षात्कार गर्नु हो । अरू दायित्वहरू गौण हुन् । माँले संसारमै बसेर पनि भगवत केन्द्रित जीवन बाँच्न सकिन्छ भनेर देखाउनुभयो र आफ्नो पावन जीवनको ज्वलन्त उदाहरणले आत्म साक्षात्कारको आकांक्षा कायम राखेर श्रेयको पथमा हिँड्ने प्रेरणा दिनुभयो । गृहस्थीहरूलाई भोगमा चुर्लुम्म नडुबेर प्राचीन ऋषिमुनिहरूले जस्तो धर्म गृहस्थी चलाउने पति, पत्नी, पुत्र, पुत्रीहरू सबैलाई भगवान्का विभिन्न रूप मानेर सेवा गर्ने मार्ग देखाउनुभयो ।
श्रीमाँको विशेष सन्देश ‘संयम ब्रत पालन गर्नु हो भन्ने मैले बुझेको छु । श्रीमाँको शब्दमा ‘संयमीत जीवनबिना श्रेयको पथ खुल्दैन ।' श्रीमाँ भन्नुहुन्थ्यो, ‘भगवान्को नाम औषधि हो, संयम सुपथ्य हो र सन्तहरू चिकित्सक हुन् ।' संयम दिवसमा सादा जीवन र उच्च विचार राख्ने, सत्य, अहिंसा र ब्रह्मचर्य पालन गर्ने, सकेसम्मम नरिसाउने, कसैले अन्याय गरे पनि माफ दिने, सबैलाई भगवान्को विभिन्न रूप सम्झेर सेवा गर्ने, जे जस्तो आइपर्छ प्रभुको इच्छा सम्झेर समचित रहने आदि माँको शिक्षा थियो । हरेक वर्ष कनखत आश्रममा कार्तिक शुक्ल अष्टमीदेखि पूर्णिमासम्म संयम सप्ताह महाव्रत मनाइन्छ र श्रद्धालुजनले आ-आफ्नो घरमा पनि संयम व्रत पालना गर्छन् । महिनामा एक दिन अथवा पन्ध्र दिनमा एक दिन वा हप्तामा एक दिन संयम व्रत पालना गरे साधकको प्रगति छिटो हुन्छ । उच्च स्थितिका साधकहरूका लागि त हरेक दिन नै संयम दिवस हुन्छ ।
श्रीमान्को उपदेशको अर्को विशेषता हो— जस्तोसुकै व्यस्त भए पनि भगवद् स्मरणका लागि एउटा निर्दिष्ट समय छुट्याउने आग्रह । श्रीमान्को शब्दमा-यो सानी बच्ची तपार्इंहरूसित हरेक दिन भगवत् स्मरणका लागि केवल दस वा पन्ध्र मिनेटको भिक्षा माग्छे ।' त्यसरी श्रीमाँले साधारण मानिसलाई पनि भगवद् प्राप्तिको उच्चतम, कठिन आदर्शलाई सरल र व्यावहारिक रूपमा प्रस्तुत गर्नुभयो । श्रीमाँले सनातन बौद्धिक धर्मको संस्कार र संस्कृतिको सम्वर्धन गर्नुका साथै भगवद्प्रेम, पारस्परिक प्रेम, भ्रातृत्व, दया, धार्मिक, समझदारी, सत्य र अहिंसामा आधारित विश्व धर्मतिर पनि इंगित गर्नुभयो । हिन्दुहरू, मुसलमानहरू, जैनहरू, बौद्ध धर्मावलम्बीहरू, क्रिस्चियनहरू, बहाईहरू, विभिन्न धर्मावलम्बीहरू आध्यात्मिक प्रकाश प्राप्त गर्न श्रीमाँकहाँ आउँथे र माले उनीहरूको शंका समाधान गरिदिनुहुँदा आश्चर्यचकित हुन्थे ।
ज्ञान योग, भक्ति योग र कर्मयोगको सहज समन्वय उहाँको थियो । सम्पूर्ण चराचर जगतमा श्रीमाँको एक सिवाय दोस्रो हुँदैनथ्यो । पूजामा, भजन, कीर्तनमा माँ भक्तिको मूर्तिमान रूप देखिनुहुन्थ्यो । फेरि हरेक कार्यमा कुशलता र कार्यको फलमा उदासीनता हेर्दा उहाँ कर्मयोगी हुनुहुन्थ्यो । माँ अनन्त आकाशजस्तै निर्मल, निर्लिप्त हुनुहुन्थ्यो तापनि सबैजना माँप्रति आकर्षित हुन्थे । सफा, सेतो वस्त्र पहिरनुहुने श्रीमाँको अलौकिक मुस्कान र करुणापूर्ण दृष्टि एकैचोटि देखे पनि बिर्सन नसकिने थियो । उहाँ सबै जातिका मानिसहरू, पशुपक्षी, वृक्षलताहरूमा एक अखण्ड भावलीलाको सञ्चार देखेर सबैप्रति समान भावले स्नेह, श्रद्धा र सम्मान प्रकट गर्नुहुन्थ्यो ।
शरीरलाई ठिक राख्न श्री शङ्कराचार्य ( श्रृंगेरी)को प्रार्थनाको उत्तरमा माँले भन्नुभएको थियो, ‘यो शरीरमा कुनै रोग छैन । जे देख्नुहुन्छ त्यो सबै अव्यक्तको क्रिया ।' बिनाभेदभाव सबैमा अविरल मातृस्नेक वर्षाउने श्रीमाँ अगस्ट २९, सन् १९८२ मा ब्रह्मलिन हुनुभयो । तर भक्तले साधकको श्रीमाँलाई आर्त पुकार गरेमा विचित्र तरिकाले उत्तर पाउँछन् अहिले पनि ।
महामहोपाध्या पं. गोपीनाथ कविराजले लेख्नुभएको छ, ‘ श्रीमाँको स्वरूप भावातीत छ, महाभावस्वरुपिणी माँ अनन्त प्रकारले अनन्त भावहरूको संगम उद्गम भएर पनि वास्वतमा समस्त भावहरूबाट पर हुनुहुन्छ ।' श्रीमाँ कालातीत हुनुहुन्छ म र अरू धेरै भक्तको अनुभवले यो सिद्ध भएको छ । यो छोटो लेखमा अनुभवहरूको वर्णन सम्भव छैन । श्रीमाँको मार्ग दर्शन असत्लाई छोडेर सत्यतर्फ लाग्ने, अन्धकारबाट उज्यालोतर्फ जाने, मृत्युको पथ छाडेर अमृत पथमा लाग्ने आह्वान हो, शान्ति र आनन्द प्राप्त गर्ने मार्ग हो ।
हाल श्रीमाँका आ श्रमहरू भारतमा ३२ वटा, बंगलादेशमा दुईवटा, अमेरिका, होनोलुलु, फ्रान्स, इटाली आदि देशमा छन् । बेलायतका डा. कलिन टर्नबुत (प्रेमानन्द) भन्छन्, ‘उहाँकहाँ आउने प्रत्येकलाई श्रीमाँको सन्देश छ तर उहाँ आफैं समस्त मानव जातिका लागि एउटा सन्देश हुनुहुन्छ ।' श्रीमाँको जीवन र सन्देशबारे अंग्रेजी, हिन्दी, फ्रेन्च, जर्मन, इटालियन, नेपाली आदि भाषामा पुस्तकहरू प्रकाशित भएका छन् । क्यालिफोर्निया विश्वविद्यालयका धार्मिक अध्ययनका डारेक्टर डा. अलेक्जान्डर लिप्स्कीले श्री आनन्दमयी माँको जीवन र उपदेश पुस्तकमा लेख्नुभएको छ, ‘केवल भौतिक जीवनको खोक्रोपना देखेर वाक्क भएका मानिसहरूलाई श्रीमाँको मार्ग दर्शनले जीवनमा सही बाटो देखाउनेछ ।'
वृहस्पतिबार नोभेम्बर पहिलो तारिख सन् १९९३ मा वृन्दावन आ श्रममा स्व. कुवरानी लक्ष्मीदेवी (गोन्डल)ले आयोजना गरेको संयम सप्ताह अनुष्ठानमा मैले श्री श्री आनन्दमयी माँको पहिलो दर्शन पाएँ । आज मलाई आध्यात्मिक फिल्मका निर्माता र आध्यात्मिक पुस्तकहरूका लेखक आर्नड डेस्जार्डिनले भनेजस्तै भन्न मन लाग्छ । ‘मैले माताजीबाट पाएको के हो भने आफैं हो । म मृत थिए, जीवित भएँ । मलाई पुनर्जन्म मिल्यो ।'
नेपाल र नेपालीलाई श्रीमाँको धेरै स्नेह गर्नुहुन्थ्यो । आज हाम्रो माृतभूमि नेपाल विषम परिस्थितिमा अल्झेको छ । श्रीमाँले सबैलाई सद्बुद्धि प्रदान गरून् भनी कर जोरी प्रार्थना गर्छु । अन्तमा श्री श्री आनन्दमयी माँको १२२औं जयन्तीको शुभउपलक्ष्यमा सबैले रागद्वेष त्यागेर श्रीमाँको मार्गदर्शनअनुसार श्रेयको पथमा लम्केर मातृकृपा लाभ गर्न सकून् । हरिओम् तत्सत् ।