किन चाहिन्छ स्थानीय सरकार ?

किन चाहिन्छ स्थानीय सरकार ?

नेपाली समाजमा स्थानीय शासन


संसारभरि नै राजनीति, अर्थतन्त्र एवं संस्कृति भनेकै स्थानीय हुन्थ्यो । त्यसको अर्थ राजनीतिले स्थानीयको घेरा नाघ्दै नाघ्दैनथ्यो भन्ने होइन । तर, अधिकांश उत्पादन र वितरण स्थानीय रूपमै हुन्थ्यो । त्यतिखेर संसारमा ठूलो राजनीतिक, आर्थिक संगठन बनेकै थिएन । संसारका अधिकांश बस्तीमा लामो कालसम्म आफूलाई चाहिने सामग्री आफैंले उत्पादन गरिन्थ्यो । कपास वा लुगाका लागि आवश्यक कच्चा पदार्थको उत्पादन गाउँमै हुन्थ्यो । गाउँमा भएन भने त्यो नजिकैको अर्को गाउँबाट सट्टापट्टा गरेर ल्याइन्थ्यो । नेपालका प्रायः सबै गाउँमा कपडा बन्थ्यो । अलिअलि बन्द व्यापार पनि हुन्थ्यो ।

तर, त्यसको दायरा निकै साँघुरो थियो । त्यस्तो उत्पादन प्रणालीलाई गुजारामुखी भन्ने गर्छन् कसैले । अहिलेको भाषामा गुजारामुखी भन्न त मिल्ला तर अहिले गुजारामुखी भन्दा गरिबजस्तो बुझिन्छ । त्यस्तो गरिबी होइन । गरिबको परिभाषा उति बेला अर्कै थियो । त्यति बेला स्थानीयप्रधान शासनव्यवस्था थियो । गाउँमा मुखिया, प्रधान आदि हुन्थे । राज्यव्यवस्था विस्तारित हुँदै गएपछि, खासगरी ठूलाठूला जमिनदार निर्माण भएपछि र सामन्तवाद स्थापित भएपछि शासनसत्ता स्थानीयवासीको परिधिबाट बाहिर निस्क्यो, फराकिलो भयो । जस्तै लोकगीत गाउँको गीत हो । राज्यको परिधि फराकिलो भएपछि ती गीत पनि फैलिन थाले र राष्ट्रिय बने । राजनीति र अर्थतन्त्रको घेरा स्थानीयबाट फराकिलो भएको छ । अहिले विश्वव्यापी विनिमय हुन्छ ।


शासन स्वरूप


राज्यव्यवस्था स्थापित नहुँदासम्म नेतृत्व अनौपचारिक हुन्थ्यो । यो कसमेकम १० हजार वर्ष पहिलेको संरचना हो । पछि दिगो, दरिलो र आमनागरिकका लागि अलि थिचोमिचोसहितको शासनव्यवस्था बन्दै गयो । खासगरी १० हजार वर्षपछि कृषिप्रधान समाज बन्न थाले । यसले सम्पन्नता बढायो । जनसंख्या र असमानता पनि बढ्यो । त्यसलाई नियमन गर्न राज्य, प्रहरी र सेना बने । त्यसकारण समाजले कति अतिरिक्त पुँजी निर्माण गर्नसक्छ, असमानता छ भन्ने आधारमा नेतृत्व निर्माण हुँदै जान्छ ।

हामीकहाँ पनि बाइसे/चौबीसे राज्य ससाना थिए । त्योभन्दा पहिलाको अझ सानो हुँदो हो । कुनै कुनै बेला सेन राज्य र मल्ल राज्य आदि फुकेको पनि पाइन्छ । कहिले फुक्दै, कहिले सुक्दै नै राज्यहरू बनेका हुन् ।


नेपाल-अंग्रेज युद्धपछि नेपालमा एउटा निश्चित स्वरूपको शासनप्रणाली बन्यो । त्यो मूलतः केन्द्रीकृत थियो । त्यसो त नेपालमा कहिल्यै पनि सामन्तवाद भएन । महेशचन्द्र रेग्मीले पनि त्यस्तै लेख्नुभएको छ । उहाँ त राज्य सञ्चालित सामन्तवाद भन्नुहुन्छ । युरोपतिरको सामन्तवाद फरक थियो । त्यहाँ कुनै व्यक्तिले मात्र शासन चलाउँथ्यो । यहाँ त्यस्तो भएन । हो, जमिनदारहरू थिए तर त्यो अधिकार राज्यले दिएको हो । निश्चित कर बुझाउने सर्तमा राज्यले उसलाई जमिन र शक्ति दिएको हुन्थ्यो । पुख्र्यौली जमिन भएर जमिनदार भएको हुँदैनथ्यो । त्यसैले नेपालका जमिनदार केन्द्र मातहत हुन्थे । युरोपमा चाहिँ त्योभन्दा फरक थियो । त्यहाँका जमिनदारहरू नै शक्तिशाली हुन्थे ।

यहाँ जमिनदारले मालपोतमात्र उठाएनन् नियम, कानुन लागू गर्ने काम पनि गर्थे । पछि बडाहाकिमको अभ्यास सुरु भयो । स्थानीय जमिनदारले रैतीलाई दुःख नदिऊन् भनेर केन्द्रले बारम्बार चिठ्ठी पठाउँथ्यो । रैती नबसी मालपोत उठ्दैनथ्यो । नेपाल-अंग्रेज युद्ध हुनुअघि धेरै मालपोत लिने गरिन्थ्यो । कहिलेकाहीँ उत्पादनको आधा तिर्नुपर्ने पनि हुन सक्थ्यो । लामो समयसम्म एक तिहाइ थियो । युद्ध भइरहेकाले धेरै मालपोत दिइन्थ्यो । त्यसैले धेरै दुःख पाए भने रैतीले छोड्छन् भनेर केन्द्र सतर्क हुन्थ्यो । रैतीले छोडेपछि मालपोतको मुहान पनि सुक्थ्यो । राणा व्यवस्था साह्रै केन्द्रीकृत हुँदाहुँदै पनि २००४ सालबाट अलिकति विकेन्द्रीकरणको अभ्यास सुरु भयो । सोही अभ्यासअन्तर्गत काठमाडौंमा नगरपालिकाको निर्वाचन भयो । यसलाई विकेन्द्रीकरणको संकेतका रूपमा लिइनुपर्छ ।

किन चाहियो स्थानीय शासन ?


आपसी सहयोगलाई मूर्त गराउन स्थानीय शासनको आवश्यकता बोध गरिएको हो । त्यो आपसी सहयोग सबैभन्दा सुरुमा व्यक्ति अनि परिवार, समाज, गाउँपालिका वा नगरपालिका, प्रान्त र केन्द्रबीचको हो । यही मान्यताको चुरोमा व्यक्तिले गर्नसक्ने काम व्यक्तिले गर्ने भन्ने छ । व्यक्तिले नसकेको काम परिवार, नभए समाज, नभए समुदाय, नभए गाउँ वा नगरले गर्छ । सकेसम्म तल्लो तहले आफ्नो काम आफैं गर्ने, उसले नसकेमा माथिल्लो तहले सहयोग गर्ने भन्ने मान्यता स्थानीय शासनको चुरो हो ।

स्थानीय शासन लोकतान्त्रिक नै हुन्छ भन्ने होइन । त्यसो भयो भने सरकारी कर्मचारीले शासन गर्छ । जनतामा अपनत्वबोध हुँदैन । आवधिक निर्वाचनसहितको स्थानीय शासन लोकतन्त्रको आधार हो । स्थानीय शासन सधैं लोकतान्त्रिक हुँदैन । लोकतन्त्रले स्थानीय शासन भने सुरु गर्छ ।

०४६ पछिको शासन

०४६ पछि नेपालमा वास्तविक स्थानीय शासन अभ्यास सुरु भएको हो । त्यति बेला स्थानीय शासन धेरै राम्रो थियो । अरू मुलुकले पनि नेपालबाट सिकेका थिए । हाम्रै छिमेकी मुलुक भारतमा पनि स्थानीय शासन जनप्रतिनिधिमूलक छैन । त्यहाँ कर्मचारीले चलाउँछ । त्यसैले अपनत्वबोध छैन । ०४६ पछाडि ०५४ सालको निर्वाचनसम्मको स्थानीय शासन व्यवस्थालाई सुनौलो काल भने पनि हुन्छ । खासगरी ‘आफ्नो गाउँ आफैं बनाऊँ' कार्यक्रमले स्थानीय शासनमा आमूल परिवर्तन ल्यायो । त्यति बेला म योजना आयोगमा थिएँ । मेरै विभागबाट त्यो कार्यक्रम लागू गरिएको थियो ।

धेरै मानिसले त्यति बेला कति पैसा आयो भन्नेमा जोड दिए । म भने फरक हिसाबले हेर्छु । त्यो कार्यक्रम लागू भएपछि राज्यमा मानिसहरूको अपनत्व बढ्यो । त्यो लोकतान्त्रिकीकरणको पहिलो बिन्दु थियो । त्यसले मानिसमा आफ्नो गाउँको योजना आफैं बनाउने अधिकार दियो । त्यो अभ्यासमा पनि केही कमजोरी थिए । व्यावहारिक रूपमा दलहरू केन्द्रीकृत थिए । अर्कोतर्फ योजना निर्माण र नियमन कमजोर थियो । गल्ती भएमा त्यसबाट सिक्ने संरचना थिएन । चार/पाँच तहमा सरकारी कर्मचारीमार्फत काम गर्नुपर्ने भएकाले जनताको भनाइ लागू हुने सम्भावना कमजोर थियो । बजेट पनि निकै कम जान्थ्यो । उपभोक्ता समूहमार्फत काम गर्नुपथ्र्यो । त्यति बेला स्थानीय निकाय थियो । त्यो केन्द्रको हाँगा थियो । त्यो केन्द्रसँग टाक्सिएको अवस्थामा थियो । अहिले स्थानीय सरकार नै हो । यो भने केन्द्रको हाँगा होइन ।

प्रतिनिधिबिनाका १५ वर्ष

यत्रो समयसम्म निर्वाचन नहुनुका खासै नदेखिने कारणहरू हुन्छन् भन्ने लाग्दैन । माओवादी विद्रोह कालमा युद्धकै कारण हुन सकेन । ०६२/०६३ पछि भने यसको स्वरूप के हुने भन्नेमा नै विवाद भयो । संघीयताको आधार के हुने ? कस्तो संरचना बनाउने आदिमा विवाद भइरहेकाले स्थानीय सत्तामा जनप्रतिनिधि सुनिश्चित हुन सकेन । जनप्रतिनिधि नहुँदा केन्द्र हावी भयो । तल बोल्ने मानिस भएन । तलको समस्या बुझ्ने भन्ने नै भएन । केन्द्र नै हावी भयो । केन्द्रको पनि दुई/चारजना मानिस हावी भए । केन्द्रमा पनि केन्द्र हावी भयो । स्थानीय स्तरले बोल्ने ठाउँ नै पाएन । स्थानीय स्तरको केही झुण्डले केन्द्रको नेतासँग सम्बन्ध बनाए पुग्ने भयो । त्यसैले स्थानीयस्तरमा पनि केही मानिसमात्र हावी भए ।

 

स्थानीयस्तरमा स्थानीय नेतृत्व नै कमजोर भयो । केन्द्रबाट खटाइएका नै नेता बने । केन्द्रमा स्थापित भागबन्डाको संस्कृति स्थानीय शासनसम्म पुग्यो । यसले गर्दा भ्रष्टाचार बढ्यो । अहिले २० वर्षपछि निर्वाचन हुँदैछ । स्थानीय स्वायत्तता भने अझै सुरु भइसकेको छैन । सबै पार्टीका केन्द्रले घोषणापत्र तयार गरेका छन् । उम्मेदवार पनि केन्द्रले छानेको छ । केन्द्रीय कार्यक्रमको शाखाका रूपमा नै बुझिएको छ अहिले पनि । सरकारी तवरमा नभए पनि हरेक पार्टीमा केन्द्र हावी छ । अर्कोतर्फ सामाजिक एकात्मकतामा पनि असर पर्‍यो । निर्वाचन भएको भए एकात्मकता कायम रहन्थ्यो । चुनावमा जाने भएपछि नेतृत्वले जातजाति र एथ्निक ग्रुपलाई मिलाएर राख्थ्यो । चुनावी प्रक्रियाले एक्स्ट्रिमिज्मलाई रोक्नसक्छ । चुनाव नहुँदा एक्टिभिस्ट बढी भए । एकपटक नेता बनिसकेपछि भइरहने भयो । चुनावमा जानु नपर्ने तर अखबार, रेडियो, टीभीमा भने छाइरहने ।

फेरिनेछ शक्ति-सम्बन्ध

नेपाली समाजको शक्ति-सम्बन्धको इतिहास केलाउँदा जातले नै शक्तिसम्पन्न बनाउन भूमिका खेलेको पाइन्छ । ब्राह्मण-क्षत्री नै शक्ति समूहका रूपमा पाइन्छन् । यसको पहिलो कारण भाषा हो । अर्को हो, उनीहरूको बसाइँसराइ । बसाइँ सरिरहनेहरू एकै स्थानमा बस्नेभन्दा बढी चलाख हुन्छन् । पछि हिन्दु धर्म नै राज्यको धर्म भएपछि ब्राह्मण-क्षत्री पुरुषलाई शक्तिसम्पन्न हुन सजिलो भयो । ठूला जात भनिएकाले खासगरी दलितलाई र कतिपय स्थानमा जनजातीतिलाई पनि दमन गरेकै हुन् । त्यसैले नेतृत्वमा मूलतः ब्राह्मण क्षत्री नै स्थापित भए । कतिपय स्थानमा अरू पनि भएजस्तै थारू समाजमा चौधरीहरू, किरात-लिम्बूमा स्थानीय राई-लिम्बू नै नेतृत्वमा स्थापित भए ।

नेतृत्व स्थापनामा भूमिमा स्वामित्वले पनि ठूलो भूमिका खेल्छ । विभिन्न अध्ययन-अनुसन्धानले भूमिको स्वामित्वमा ब्राह्मण-क्षत्री र जनजातिमा खासै धेरै फरक नभएको देखाउँछ । खास फरक जागिर र शिक्षामा पाइन्छ । त्यसैले म कहिलेकाहीँ भन्ने गर्छु, ब्राह्मण-क्षत्री कसरी शक्तिसम्पन्न भए भनेर खोज्न मनुस्मृतिसम्म पुग्नै पर्दैन । सन् १९५० पछि नेपालमा लिइएको विकासे नीतिहरूले नेपाली समाजमा भएको असमानतालाई ठोसकरण गर्न सघाउ पुर्‍याए । त्यति बेला सही विकासनीति लिन सकेको भए असमानता घटाउन सकिन्थ्यो ।

सारमा जग्गाको स्वामित्व, भाषा र लिंगले शक्ति निर्माणमा ठूलो भूमिका खेल्छ । त्यसमा पनि जग्गाको स्वामित्वले प्रमुख भूमिका खेल्छ । उदाहरणका लागि लिम्बुवानमा हेरौं, सुब्बा अरू लिम्बूभन्दा फरक हो । त्यस्तै गुरुङमा पनि चार थरी र ६ थरी गरी दुई समूहका छन् । नेतृत्व आउने त त्यही सुब्बा वा चार थरीबाट हो ।

सात सालको परिवर्तनपछि परिवर्तन हुन थालेको नेपालको स्थानीय शक्ति-सम्बन्धले ०४६ को परिवर्तनबाट ठूलो फड्को मार्‍यो । यो परिवर्तनले चुनिनुपर्ने मान्यता स्थापित गर्‍यो । पहिला दरबार वा अन्य शक्तिकेन्द्रबाट नियुक्ति हुन्थ्यो । अब निर्वाचनमा जानुपर्ने भयो । निर्वाचनले समावेशीकरणलाई पनि सुनिश्चित गर्‍यो । राष्ट्रिय पञ्चायत सदस्यको निर्वाचनदेखिकै अभ्यास हेर्ने हो भने पूर्वी पहाडमा एकजना ब्राह्मण-क्षत्री वा अरू उठाए अर्को लिम्बूलाई उठाउनैपथ्र्यो, नभए हारिन्थ्यो । त्यससँगै आएको आर्थिक परिवर्तनले पनि शक्ति-सम्बन्धमा प्रभाव पार्‍यो । खेती र जमिनमात्र अब शक्तिको स्रोत हुन छोड्यो । कृषिबाट अरू आर्थिक स्रोतहरूतिर छरिनेहरू शक्तिसम्पन्न हुन थाले ।

यद्यपि अहिले पनि स्थानीय तहदेखि केन्द्रीय तहसम्म जात नै हावी छ । म जातीय राज्यको पक्षमा छैन । यसको अर्थ जातीय विभेद छैन भन्ने होइन । अहिले पनि छ । लैंगिक विभेद पनि छ । त्यसलाई सम्बोधन गर्न आरक्षण ल्याइएको छ । समावेशीकरणलाई स्थापित गरेको द्वन्द्वले हो । द्वन्द्वको सबैभन्दा ठूलो देन गणतन्त्र र समावेशीकरण नै हो । अहिले संविधानले स्थानीय तहको हरेक वडामा एकजना महिला र एकजना दलित महिला राख्नैपर्ने प्रावधान बनाएको छ । त्यो सकारात्मक छ ।संविधानले गरेको परिकल्पनाले यो पुरानो शक्ति-सम्बन्धमा परिवर्तन ल्याउनेछ । सबैलाई समेट्नेछ । कम्तीमा हामी पनि नेतृत्वमा स्थापित हुन सक्छौं भन्ने आशा दिनेछ ।

परिवर्तनका वाहक

संघीय संरचनाको परिकल्पना ०६२/०६३ मै भएको थियो । मधेस आन्दोलनले त्यसलाई स्थापित गर्‍यो । राजनीतिक परिवर्तनले नै यो संरचनासम्म पुर्‍याएको हो । तर, आर्थिक पक्षहरूले प्रभाव नै नपारेको होइन ।

लोकतान्त्रिक परिवर्तनमा आर्थिक समृद्धिले निकै ठूलो भूमिका खेल्छ । आर्थिक सबलीकरणसँगै लोकतान्त्रिक परिवर्तन हुन्छ । धेरैले लोकतान्त्रिक परिवर्तनको कारकका रूपमा ०६२/०६३ को आन्दोलनलाई लिएका छन् । म भने लामो क्रमदेखि हेर्छु । यो परिवर्तन २०२१ सालमा महेन्द्रले ल्याएको भूमिसुधारसँग जोडिन्छ ।

भूमिसुधारले मानिसहरूले लालपुर्जा पाउने अधिकार स्थापित गर्‍यो । त्यो सबैभन्दा ठूलो देन थियो । लालपुर्जा भएपछि साना किसानको खुट्टा दरिलो भयो । साना किसान लोकतन्त्रका हिमायती हुन्छन् भनिन्छ नै । नेपाल पनि साना किसानको देश हो । यहाँ ८०/९० प्रतिशतको आफ्नो जग्गा छ । यो लोकतन्त्रको आधारमध्ये एक हो । पछिल्लो समय नेपाली समाज आर्थिक रूपमा तल्लो तहबाटै सबल भएको छ । भारतमा जस्तो फराकिलो आर्थिक असमानता हाम्रोमा छैन । आर्थिक रूपमा सबल हुनु भनेको राजनीतिक रूपमा पनि बलियो हुने हो । अब सिद्धान्ततः कुलीनतन्त्र सकिइसकेको छ । अहिले भइरहेको संरचनात्मक परिवर्तन यो परिवर्तनलाई व्यावहारिक रूपमा स्थापित गर्ने अभ्यास हो ।

यो संरचनात्मक परिवर्तनले सम्पूर्ण परिवर्तन ल्याउने भने होइन । अहिलेजस्तो दलका केही नेताले कब्जा गर्ने प्रवृत्ति स्थानीय स्तरमा सर्ने र त्यहाँका जनताले प्रतिरोध गर्न नसक्ने हो भने तातात्विक परिवर्तन हुनेछैन । त्यसैले संरचना मात्रले केही गर्न सक्दैन । यो आवरण बन्नसक्छ । यसमा प्राण भर्नुपर्छ । लोकतान्त्रिक संस्थाहरू जीवित भइरहन आममानिसको स्वामित्व स्थापित भइरहनुपर्छ । तिनलाई जवाफदेही बनाइराख्नुपर्छ । त्यसका लागि जनता सचेत भइरहनुपर्छ । मनको मात्र सचेत भएर हुँदैन, कर्मको पनि सचेत हुनुपर्छ । जुझारु जनता नभई साँचो लोकतन्त्र स्थापना नहुनसक्छ ।

छन् सम्भावना

यो संरचनाले समृद्धिको सम्भावना खुलाउँछ तर खुलेको सम्भावना हासिल हुन्छ भन्ने छैन । त्यो सम्भावनालाई मूर्तीकरण गर्न धेरै अभ्यास गर्नुपर्छ । पुराना राजनीतिक दलमात्र होइन, नयाँ आएका दलहरू पनि पुरानै फ्रेमवर्कमा काम गरिरहेछन् । उनीहरू काठमाडौंको धुलो, धुवाँ, मेट्रो रेलजस्ता पूर्वाधारका मात्र कुरा गर्दैछन् । तर, मूल विषय त रोजगारी कसरी बढाउने भन्ने हो । सरकारी स्कुलको शिक्षा कसरी राम्रो बनाउने भन्ने हो । स्थानीय सरकार भएपछि त रोजगार, तलब, ज्याला बढाउनु पर्‍यो । त्यतातिर ध्यान गएकै छैन ।

सबैभन्दा ठूलो पुँजीकै समस्या हो । तर म त्योभन्दा ठूलो चुनौती व्यवस्थापनको देख्छु । पुँजी त ऋण खोजेर भए पनि ल्याऊँला तर व्यवस्थित सञ्चालन प्रमुख आवश्यकता हो । यो स्कुले दिनमा पुस्तकालय खोलेजस्तै हो । किताब खोजखाज पारेर पुस्तकालय त खोलिन्छ तर त्यसको नियमित सञ्चालन हुँदैन र बन्द हुन पुग्छ । त्यसैले निरन्तर व्यवस्थापन ठूलो चुनौती हो । मरो विचारमा हरेक स्थानीय सरकार मुख्य पाँच विषयमा केन्द्रित हुनुपर्छ । ती हुन्— रोजगार, शिक्षा, स्वास्थ्य, आय र समानता निर्माण ।

सम्भावित समस्या

हाम्रो संरचना प्रशासकीय हिसाबले बढी खर्चिलो बनेको छ । अहिले स्थानीय तहका पदाधिकारीको तलब केन्द्रबाट तोकिएको छ । पछि दैनिक प्रशासन खर्च जुटाउनै समस्या आउनसक्छ ।
त्यस्तै गाउँपालिका र नगरपालिका वा नगरपालिका र महानगरपालिका बीचमै असमानता उत्पन्न हुनसक्छ । भारतमै पनि त्यस्तो भएको छ । धनी प्रान्त धनी र गरिब प्रान्त गरिब बन्दै गएको देखिन्छ । उत्तर प्रदेश र बिहारले धेरै बजेट पाउने कि महाराष्ट्र, चेन्नई वा आन्ध्र प्रान्तले भन्ने विवाद पहिलेदेखि नै छ । हाम्रोमा पनि तराई र राजमार्ग करिडोरका गाउँ वा नगरपालिका अरूभन्दा सम्पन्न हुने सम्भावना छ । यसले विवाद निम्त्याउन सक्छ ।

अभ्यास गर्दै जाँदा यस्ता सम्भावना निराकरण हुँदै जाला । विशेषज्ञहरूको एउटा समूह भने चाहिन्छ । निर्वाचनपछिका पाँच वर्षमा कसले राम्रोसँग काम गर्न सक्यो, कसले सकेन र त्यसका कारणहरू के के हुन् भनेर विश्लेषण गर्न विशेषज्ञहरूको समूह आवश्यक पर्छ । त्यसबाट पाएको शिक्षा लागू गर्दै जानुपर्छ ।

चाहिन्छ वैकल्पिक शक्ति

अहिले स्थापित दलहरू धेरै खराब गतिविधिमा जोडिएका छन् । ती बदनाम भइसकेका छन् । त्यसैले तिनीहरूलाई सुधार्न पनि नयाँ पार्टीको आवश्यकता छ । त्यसले प्रतिस्पर्धा बढाउँछ । अहिले चर्चामा आइरहेका नयाँ पार्टीको सम्भावना वडा र गाउँमा देख्छु । एकदमै बढी सम्भावना त होइन । धेरै मानिसले नयाँ पार्टीहरूको नाम सुनेका पनि छैनन् । म भने यी पार्टीले एक तिहाइ भए पनि जिते हुन्थ्यो भन्ने ठान्छु । त्यसो भए प्रतिस्पर्धा बढ्थ्यो ।

सहर फर्केका गाउँ

भूगोलशास्त्रीले जनसंख्या, व्यवसाय आदि आधारमा गाउँ र सहर छुट्ट्याउने गर्छन् । म भने त्यसमा फरक मत राख्छु । पहिलेजस्तो यो सहर, यो गाउँ भन्ने छैन । गाउँमा बस्ने मानिसको पनि जीविकाको स्रोत सहर नै छ । गाउँ भने पनि आत्मामा सहर नै छ । ग्रामीण जीवन साँघुरो हुँदै गएको छ । गाउँ भनिएको छ तर त्यो सहरतिर फर्किएको छ । सहरिया मन, सहरिया कल्पना, सहरिया तन बोकेको गाउँ छ । गाउँपालिका भने पनि अधिकांश त आत्मामा सहर नै हुन् । (प्रध्यापक मिश्रसँग दीपक सापकोटा र लक्ष्मण श्रेष्ठले गरेको कुराकानीमा आधारित)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.