सागको साइनो

सागको साइनो

चिनियाँ गाउँ वा सहरको यात्रा गर्दा तरकारी बजार भ्रमणको छुट्टै आनन्द आउँछ । सहरका व्यवस्थित ठूला तरकारी बजार हुन् वा गाउँका ससाना बजार, नेपालमा जस्तै सधैंजसो भीड लाग्ने गर्छ । चिनियाँँहरू आफ्नो भान्छामा धेरै थरीका तरकारी पकाउँछन् । हिँड्ने सबै जीव र उड्ने सबै चराको मासु खाने चिनियाँँको भान्छामा हरियो सागका पनि अनेक प्रकार पाइनु अस्वाभाविक होइन । चिनियाँहरूको साग खाने तरिका भने नेपालीको भन्दा फरक छ । जुनसुकै हरियो सागलाई पनि सुपको रूपमा प्रयोग गर्छन् उनीहरू । जमघट वा भोजमा उनीहरू खानाको अन्तिममा सागको सुप खाने गर्छन् । यो चलन काठमाडौं उपत्यकाका नेवाहरूको झो भोयः (सुकुल भोज)सँग मिल्छ ।

चीनका सामान्य तरकारी बजारमा पनि १५ देखि २० प्रकारका हरियो सागको बिक्री भइरहेको देख्न सकिन्छ । चीनका सहर र गाउँको भ्रमण गर्दा हरेकपटक नयाँ स्वादको हरियो साग खान पाइन्छ । यति धेरै हरियो तरकारीको बीचमा एउटा साग भने कहिल्यै छुट्दैन, त्यो हो पालुंगो । नेपालीले पालुंगोलाई सागको राजाका रूपमा लिन्छन् । नेपालमा जस्तै चीनमा पनि पालुंगो निकै रुचाइन्छ । रोचक त, चिनियाँ भाषामा पोः छाई भनिने यो साग नेपाल-चीन मित्रता र ऐतिहासिक सम्बन्धको प्रतीक पनि हो ।

इस्वी संवत्को सातौं शताब्दीमा चीन विश्वका शक्तिशाली देशमध्ये एक थियो । त्यति बेला थाङ वंशको साम्राज्य थियो चीनमा । चिनियाँहरू त्यति बेला पनि व्यापारमा अगाडि थिए । चिनियाँ व्यापार तत्कालीन चीनको राजधानी छाङ् आन (अहिलेको सिआन सहर)बाट तत्कालीन युरोप, पूर्वी अफ्रिका र पूर्वी एसियासम्म रेशम मार्गमार्फत हुन्थ्यो ।

त्यति बेलै करिब १० लाख मानिस बसोबास गर्ने छाङ् आन सहर विश्वकै राजधानीका रूपमा विकसित भएको थियो । चिनियाँँहरू छाङ् आनबाट नेपाल हुँदै दक्षिण एसियामा व्यापार गर्थे । यही बाटो भएर उनीहरू अरबका देशहरूसम्म पुग्थे ।

 

चिनियाँ लेखक वाङ होङवेईका अनुसार त्यति बेला नेपाल र चीनको सम्बन्ध निकै प्रगाढ थियो । दुई देशबीच बाक्लै कूटनीतिक एवं सांस्कृतिक भ्रमण हुन्थ्यो । मित्रता र सांस्कृतिक आदानप्रदान उच्च बिन्दुमा थियो । सोही समयमा सन् ६४७ तिर राजा नरेन्द्र देवको एक भ्रमण टोलीले पालुंगोको बीउ उपहारस्वरूप चिनियाँ सम्राट्समक्ष पुर्‍याएका थिए ।

पालुंगोको यो इतिहास संस्कृतिविद् सत्यमोहन जोशीको पुस्तक ‘कलाकार अरनिको'मा पनि उल्लेख छ । सत्यमोहन जोशीले उक्त पुस्तकमा चिनियाँ भाषामा पालुंगोलाई ‘पोः छाई' भने शब्द पनि नेवारी नाम ‘पलाः चा'बाट आएको दाबी गर्नुभएको छ । यद्यपि चिनियाँहरू यो सागलाई पहिला इतिहासमा ‘पो सी छाई' भन्ने गर्थे जसको अर्थ हो— पर्सियाको साग । चिनियाँहरू यो साग पर्सियाबाट सयौं वर्षअगाडि नेपाल आएको र सातौं शताब्दीमा नेपालबाट चीन पुगेको विश्वास गर्छन् । अमेरिकी लेखक भिक्टर बोसवेलले नेसनल जोग्राफी म्यागजिनको १९४९ मा प्रकाशित ‘भेजिटेबल ट्राभल'मा पनि यो तथ्यलाई जोड दिएका छन् ।

हिमालयको दक्षिणी पहाडदेखि समथर भूमिसम्म उम्रिएर होस् वा हिमालको उत्तर पठारदेखि समुद्र र तालको किनार वा मरुभूमिको छेउछाउका मलिलो माटोमा उम्रिएर होस्, पालुंगो नेपाल-चीनबीचको ऐतिहासिक सम्बन्ध र रेशममार्गको निशानीका रूपमा रहिरहेछ । यसले दुई देशबीचको मित्रतालाई जनताको भान्सासम्म पुर्‍याएको छ ।

ऐतिहासिक रेशममार्गलाई नयाँ स्वरूपमा पुनर्जीवन दिँदैछ अहिले चीन । चिनियाँ भूगोलबाट निकै टाढा भएका देशहरू पनि यसमा सहभागी भइरहेछन् । ऐतिहासिक रेशममार्गको दक्षिणी द्वार नेपाल हो । ऐतिहासिक कालखण्डमा जस्तै नेपाल वर्तमान रेशममार्ग (ओबीओआर)को चीन र मध्य एसियाको दक्षिण द्वार बन्नसक्छ । यो नेपालको ऐतिहासिक स्वर्ण युगको पुनरागमनको मार्गचित्र पनि बन्नसक्छ । हिजो नुन, आलु, लिची, नुन-सुनको व्यापारसँगै कागज बनाउने प्रविधि यही बाटो भएर दक्षिण एसिया आएको थियो ।

विभिन्न मसला र बौद्ध शिक्षा नेपाल हुँदै चीन पुगेको थियो । नयाँ रेशममार्गले आधुनिक ज्ञान, सीप, शिक्षा, पर्यटन र व्यापारको सम्भावनालाई फेरि चीनबाट नेपाल हुँदै दक्षिण एसिया र दक्षिणबाट नेपाल हुँदै चीन र मध्य एसियामा विस्तार र विकासको आशा पलाएको छ । त्यसको साक्षी बनिबसेको छ— पालुंगो । पालुंगोले दुवै देशका जनताको भान्छाबीच जोडेको साइनो नयाँ उचाइमा उठ्नेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.