चलचित्र : कविताजस्तै अभिव्यक्तिको माध्यम

 चलचित्र : कविताजस्तै अभिव्यक्तिको माध्यम

नागराज पोपटराव मन्जुले कवि पनि हुन्, सुरुमा कवि नै हुन् । मराठी भाषाका उनका कविताहरू ‘उन्हाच्या कटाविरुद्ध' शीर्षकको संग्रहमा प्रकाशित छन् । भैरुरतन दमाणी साहित्य पुरस्कार, अनिल अवचट संघर्ष पुरस्कार तथा वाग्यज्ञे पुरस्कार प्राप्त यस संग्रहका कविताले उनलाई कविका रूपमा स्थापित गरे । तर, पछिका दिनहरूमा कविताले भन्दा पनि उनलाई चलचित्रहरूले ज्यादा चिनाए । भारतको मुम्बई सहर महाराष्ट्रको मात्रै होइन, बलिउड चलचित्रको पनि राजधानी सहर हो । त्यहाँबाट देशविदेशका लागि ठूला बजेटका हिन्दी चलचित्रहरू निर्माण गरिन्छन् । सार्वजनिक प्रदर्शनका लागि नेपाल आइपुग्ने चलचित्रहरू प्रायः त्यहीँका उत्पादन हुन् । त्यसैले मुम्बई भनेपछि हाम्रा दिमागमा बलिउडका चलचित्रको छाप छ ।

तर, मुम्मईमा बलिउडमात्रै छैन । बलिउडभन्दा नितान्त भिन्न शैली र उद्देश्यका साथ निर्माण गरिएका मराठी भाषाका अर्थपूर्ण चलचित्रहरूले अहिले धेरैको ध्यान तानेका छन् । दलित पृष्ठभूमिबाट आएका कवि तथा चलचित्रकर्मी नागराज मन्जुलेको ‘सैराट' यस्तै प्रकारको प्रतिनिधि चलचित्र हो । ‘सैराट' (फिचर, सन् २०१६) मराठी भाषामा बनेको मन्जुलेको पछिल्लो चलचित्र हो । यसअघि यिनका ‘पिस्तुल्या' (लघु चलचित्र, सन् २०१०) र ‘पैन्ड्री' (फिचर, सन् २०१३) बनिसकेका छन् । यी चलचित्रहरूमा अनुभूतिको काव्यिक तीव्रता छ । संवेदनाका दृष्टिले ती चोटिला र मार्मिक छन् । अभिव्यक्तिका दृष्टिले अर्थपूर्ण र गहिरा छन् ।

पहिलो सिर्जनाका रूपमा रहेको ‘पिस्तुल्या' लघुचलचित्रमा पैसाको अभावमा विद्यालय शिक्षाबाट वञ्चित दलित बालकको मार्मिक कथा छ । पहिलो चलचित्रका रूपमा रहेको यस लघुचलचित्रले राष्ट्रिय चलचित्र पुरस्कार जितेपछि मन्जुलेले आफ्नो माध्यमका रूपमा चलचित्रलाई छाने र २०१३ मा ‘फैन्ड्री' बनाए । महाराष्ट्रको एक अल्पसंख्यक समुदायको भाषामा फैन्ड्री भनेको सुँगुर हो । दलितहरूलाई त्यहाँका स्थानीय गैरदलितहरूले हेपेर बोल्दा प्रयोग गर्ने गरेको अपशब्द हो । आफ्नो बाल्यकालमा मन्जुले यस शब्दबाट बारम्बार अपमानित र लज्जित हुनु परेको थियो । आफ्नो पहिलो कथानक चलचित्रका लागि उनले त्यही नाम रोजे र करिब आफ्नै बाल्यकालीन जीवन संघर्षलाई चलचित्रमा उतार्ने काम गरे । चलचित्रले सन् २०१४ को राष्ट्रिय चलचित्र पुरस्कारमात्रै होइन, इन्दिरा गान्धी पुरस्कार तथा बेस्ट फस्र्ट फिल्म अवार्ड पनि जित्यो । दलित समुदायको चेतना र सौन्दर्यशास्त्रमाथि काम गर्ने गम्भीर निर्देशकका रूपमा उनी देखा परे ।

एक टेलिभिजन अन्तर्वार्तामा मन्जुलेले भनेका छन्, ‘दलितका विषयमा चलचित्र बनाउनुभन्दा कठिन काम दलित भएर बाँच्नु हो । मलाई केही शुभचिन्तक र साथीहरूले आफ्नो दलित परिचय नखुलाउनका लागि सल्लाह दिए । परिचय खुल्यो भने चलचित्र क्षेत्रबाट विस्थापित हुनुपर्ला भन्ने चिन्ता उनीहरूलाई थियो । त्यसपछि मैले सोचेँ, म के गरूँ ? मैले अनुभव गरेँ, मसँग अर्को परिचय नै के छ ? जुन अनुभवबाट मेरो व्यक्तित्व बनेको छ, त्यही लुकाएर मैले कस्तो परिचय खोज्ने ? त्यसलाई छोडेर चलचित्रमार्फत मैले बाँड्नसक्ने बाँकी के नै हुन्छ ? पूरा दुई दिन सोचेपछि मैले निर्णय लिएँ, दलित हुनु नै मेरो परिचय हो । मेरो अभिव्यक्तिको संसार यही हो । यसैलाई लुकाउने गल्ती गर्नु हुँदैन ।'


महाराष्ट्रको एक अल्पसंख्यक समुदायको भाषामा फैन्ड्री भनेको सुँगुर हो । दलितहरूलाई त्यहाँका स्थानीय गैरदलितहरूले हेपेर बोल्दा प्रयोग गर्ने गरेको अपशब्द हो । आफ्नो बाल्यकालमा मन्जुले यस शब्दबाट बारम्बार अपमानित र लज्जित हुनु परेको थियो । आफ्नो पहिलो कथानक चलचित्रका लागि उनले त्यही नाम रोजे ।

मन्जुलेका चलचित्रहरूमा दलित जीवनको पेचिलो अभिव्यक्ति छ । पछिल्लो सैराट (सन् २०१६) जो सय दिनभन्दा बढी प्रदर्शन भयो र सय करोडभन्दा बढीको कलेक्सन गर्‍यो, दलित मुद्दाभन्दा बाहिर छैन । ‘फैन्ड्री'का बाल चरित्रहरू सैराटमा आइपुग्दा भिन्न नाम र प्रवृत्तिमा जवान भएर आएका छन् । ‘फैन्ड्री'को मध्यमवर्गीय गैरदलित पाटिल परिवार ‘सैराट'मा आउँदा उच्चवर्गीय घरानामा बदलिएको छ ।

‘फैन्ड्री'को सुक्खा जमिन ‘सैराट'मा हराभरा भएको छ । झुपडीहरूकै बीचमा पक्की घरहरू बनेका छन्, गाउँमा मोटरगाडी र ट्र्याक्टरहरू थपिएका छन् । दलित तन्नेरीहरू पनि पढाइलेखाइ गर्न थालेका छन्, आत्मविश्वासी बन्न थालेका छन् तर अर्थव्यवस्थाको चोट उही छ । पहिरन र पोसाकहरू फेरिएका छन् । ‘फैन्ड्री'मा देखिने कालो चरो, सुकेको रूख र इनारका विम्बहरू ‘सैराट'मा विकसित भएर आएका छन् । मानौं आवरणमा धेरै परिवर्तन देखिँदादेखिँदै पनि अन्तस्करणमा दलित जीवन उही नै छ । पहिलेकै निरन्तरतामा छ ।

 

तर ‘फैन्ड्री' र ‘सैराट'को प्रस्तुतिमा भिन्नता छ । ‘फैन्ड्री' रूप र कथ्य दुवैमा नवयथार्थवादी वा नयाँ लहरको शैलीमा छ । दोस्रो विश्वयुद्धपछिका इटालियन वा फ्रान्सेली चलचित्र तथा समसामयिक इरानी चलचित्रको शैलीगत प्रभाव छ । आत्मा र शरीरको भेद छैन । बाहिरभित्र एकनासको छ । ‘सैराट' यस्तो छैन । बलिउडका चलचित्र हेरेर हुर्किएका ‘सैराट'का चरित्रहरूमा बलिउडीय रोमान्सको उन्माद छ । आत्मा रोमान्टिक र शरीर यथार्थिक । नायकनायिकाको जीउडाल एकदम सामान्य छ । तिनको पहिरन सामान्य छ, तिनका काम र गतिविधिहरू सामान्य छन् तर हृदय सामान्य छैन । उनीहरूको मस्ती सामान्य छैन । ‘स्लो मोसन'मा कुद्छन्, आफ्नै तालको ‘स्टाइल' दिन्छन् । नाच्छन् पनि तर नाचको स्टेप मिलाएर होइन । भावना पोखेर उन्मुक्त चालमा मनमौजी तरिकाले नाच्छन् । तर, बलिउडका नायक नायिकाझैं यी पहलमान छैनन्, रोमान्समै भुलिरहने ‘बिन्दास'मात्रै पनि छैनन् ।

नायक पढाइमा राम्रो छ, क्रिकेट खेल्छ, कविता लेख्छ । प्रतिभाशाली छ तर नायिका उसभन्दा ज्यादा बोल्ड देखिन्छे । ऊ घोडा चढ्छे, बुलेट चढ्छे र ट्र्याक्टर चलाएर प्रेमीलाई भेट्न दलित बस्तीमा जान्छे । कठोर निर्णय गर्नसक्ने आँट उसमा छ । गोली नै चलाउने साहस पनि उसले गरेकी छ, प्रहरी थानामा लेखिएको कागज बाबु र पुलिसकै सामुन्ने च्यातेर फाल्छे । डराउँदिन । नायकले पिटाइ खुबै खान्छ तर अरूलाई पिट्न सक्दैन । चलचित्रको प्रारम्भ हेर्दा बलिउडको प्रभावले खिचिएको र फेरि त्यहाँबाट उम्किन कोसिस गरेको देखिन्छ ।

तपाईंले व्यावसायिक सफलताका लागि यसो गर्नुभएको हो भन्ने प्रश्नमा निर्देशक मन्जुलेले भनेका छन्, ‘पैन्ड्रीले मलाई यो सिकायो । ‘फैन्ड्री' धेरै दर्शकसम्म पुगोस्, यो हेरियोस् भन्ने म चाहन्थेँ तर धेरैले हेरेनन् । यसले मलाई अर्को बाटो छान्न प्रेरित गर्‍यो । ‘सैराट'को कथालाई धेरैसम्म पुर्‍याउन यो गर्नुपर्‍यो । मैले के सोचेँ भने बलिउडका फर्मुलालाई पनि प्रयोग गर्छु तर भिन्न बनाएर गर्छु । ‘सैराट'मा यो सम्भव थियो । धेरैलाई हेराउनका लागि यो गरेको हुँ । धेरैले हेर्दा व्यवसाय त त्यसै भइहाल्छ ।'

बलिउडका चलचित्रहरूले भारतीय आधुनिकताका सतही उपलब्धिलाई वास्तविक तुल्याएर पेस गरिराखेका सन्दर्भमा मन्जुलेका चलचित्रहरूले त्यसको रहस्योद्घाटन गरिदिएका छन् । बाहिरको विकास र चकमदमकलाई निर्वस्त्र तुल्याइदिएका छन् । चलचित्रले कहीँ कतै सैद्धान्तिक कुरा गर्दैन । न उत्पीडन, न शोषण, न त राजनीतिक तर्कहरू । पात्रको संवादमा पनि सिद्धान्तका कुरा कतै आउँदैनन् । तैपनि सामाजिक अन्तर्विरोधका दुष्चक्रहरू चलचित्रमा सर्वत्र प्रकट हुन्छन् । सामन्तवाद, पितृसत्ता र उत्पीडनका भयावह चित्रहरू खिच्नका लागि वृत्तचित्र नै चाहिन्छ भन्ने होइन रहेछ भन्ने बोध मन्जुलेका चलचित्रहरूले गराइदिएका छन् । सच्चाइलाई अभिव्यक्त गर्ने यसको भाषा भारतीय गाउँ र सहरको ल्यान्डस्केपबाट बनेको छ । संकेतहरूको प्राचुर्य छ र गूढ अर्थहरूले कसिएको छ । विषय चयनभित्र लुकेको राजनीतिक अर्थदेखि त्यसको अभिव्यक्तिसम्ममा जुन आधिकारिकता र औचित्य छ, त्यसको मिठासले चलचित्रलाई अनुपम तुल्याएको छ ।

सैराटको पहिलो हिस्सा संगीत र रङहरूले भरिएको छ । चलचित्रमा प्रयोग भएका चारवटा गीतहरू सुरुका एक तिहाइ भागमा आएका छन् । पछिल्लो भागतिर आइपुग्दासम्म त्यहाँ कुनै संगीत छैन, कुनै भव्य लाग्ने दृश्यहरू छैनन्, क्रमशः ती हट्दै जान्छन्, संगीत सुनिन छोड्छ र बाँकी रहन्छ केवल सन्नाटा, एकतमासको स्तब्धता ।

चलचित्रको शैली स्थुलबाट क्रमशः सूक्ष्मतातिर जाने र दर्शकको भित्रैसम्म पुगेर उथलपुथल ल्याइदिने प्रकारको छ । महत्ववपूर्ण विम्बको रचना गर्दा सानातिना विम्बहरूलाई उपेक्षा गरिएको छैन । ‘डिटेलिङ'को सौन्दर्य चलचित्रभरि नै व्याप्त छ । घरको बनावट, वरिपरिका दृश्य र गतिविधि तथा चरित्रको हिँडाइ, लवाइ, खुवाइबाटै चरित्रहरूको वर्गस्रोत र सामाजिक हैसियत प्रकट हुन्छ । सबै नै कलाकारहरू नयाँ छन्, अनुभवहीन छन् । चलचित्रमा तिनले अभिनय गर्दैनन्, देखाउन खोज्दैनन्, आफैं चरित्र भएर बाँच्छन् ।

चलचित्र सकिएपछि चरित्रको दुःख त सकिन्छ तर अब दर्शकको दुःख सुरु हुन्छ । खास गरी अन्तिम दृश्यले दर्शकलाई सोच्न बाध्य पार्छ । आफ्नै आदर्श र जीवनमूल्यमाथि पुनर्विचार गर्न प्रेरित गर्छ । आफू बसेको समाज कस्तो छ, सामाजिक मूल्यहरू कतिसम्म मानवीय छन्, सामाजिक संरचना र सभ्यता कतिसम्म गर्व गर्न वा निन्दा गर्न लायक छ भनी फेरि मूल्यांकन गर्न प्रेरित गर्छ ।

गजबको कुरा त के छ भने निर्देशक नागराज मन्जुलेले औपचारिक रूपमा चलचित्र पढेका होइनन् । घरमा चरम गरिबी थियो । दलित समुदायमा पढ्ने वातावरण पनि थिएन । सानैमा चुरोट रक्सीको लत लाग्यो । पढाइका लागि भनेर काकाको घरमा पठाइए । बढ्दै र पढ्दै जाने क्रममा गरेका अनेक अनुभव यिनीसँग छन् । पुलिसको जागिर खाएर पनि छोड्नु परेको, स्टेसनरी पसल थापेर चलाउन नसकेको, सेक्युरिटी गार्डमा जागिर खाएको, कपडामा आइरन गर्ने काम गरेको, टेलिफोन बुथ चलाउँदा पनि विफल रहेको, ड्राइभर भएर बाँचेको अनेक अनुभव यिनीसँग छन् जसले यिनलाई स्पष्ट सोच र दृष्टि निर्माणमा ठूलो सहयोग गरेको छ । सानैमा लागेको लत त्याग्न यिनले पुस्तकको सहयोग लिए र मराठी साहित्यमा एमए गरे । एमफिल पढ्दै गर्दा मिडिया अध्ययनतिर लागे । लघुचलचित्र ‘पिस्तुल्या' यही क्रममा बनेको थियो ।

महाराष्ट्रका अन्य बौद्धिकहरूमा झैं निर्देशक मन्जुलेमा पनि फुले तथा अम्बेडकरहरूद्वारा चलाइएको जातिविरोधी आन्दोलन अथवा सन् १९७०-८० को दशकमा देखिएको दलित बहुजनको सामाजिक राजनीतिक संघर्षका अनुभवहरू थिए, आफ्नै जीवनबोध र तिनको सैद्धान्तिक अध्ययन थियो । यही ज्ञान तथा अनुभवको विरासतमा उनका चलचित्रहरूलाई हेर्नुपर्ने हुन्छ ।

दलित र गैरदलितबीचको सम्बन्धलाई सुमधुर बनाउने सूत्रका रूपमा मन्जुलेले प्रेमलाई अपनाएका छन् । यी दुईथरीका बीचको अलगावको स्थितिलाई न्यूनीकरण गर्ने एकमात्रै अचुक औषधि प्रेम नै हो भन्ने उनलाई लाग्छ । ‘द हिन्दू' मा नम्रतासँगको साक्षात्कारमा उनले भनेका छन्, ‘प्रेम एकमात्रै सम्भावना हो । प्रेमले नै त्यस हत्कडीलाई खोलिदिन सक्छ जसबाट हामी बाँधिएका छौं । यस्तो कुरा गर्ने म एक्लो व्यक्ति होइन । प्रत्येक कवि र सन्तहरूले आफ्ना साहित्यमा यो भन्दै आएका छन् । मराठी कवि कुसुमाग्रजले त प्रेमले मात्रै संसारलाई सुन्दर अस्तित्व दिनसक्छ भनी दाबी नै गरेका छन् ।'

बलिउडका चलचित्र हेरेर हुर्किएका भए पनि मन्जुलेमा आज ती चलचित्रप्रति आदरभाव छैन । स्टारडमलाई यिनी अभिव्यक्तिको बाधक मान्छन् । यिनका अनुसार त्यस्ता चलचित्रका दर्शकहरू चलचित्र हेर्न होइन, स्टारलाई हेर्न हलमा छिरिदिन्छन् र विषयवस्तुबाट विमुख रहन्छन् । ‘म चाहेर पनि कुनै स्टारलाई एक सामान्य मानिस बनाउन सक्दिनँ' भन्दै एक अन्तर्वार्तामा उनले बोलेका छन्, ‘कुनै ठूलो स्टारले आफ्नो चलचित्रको निर्देशन गर्ने जिम्मेवारी दियो भने म गरूँला पनि तर मेरो चलचित्रमा आजसम्म मैले कुनै स्टारलाई राख्न सकेको छैन र सायद राख्नेछैन पनि ।'

मन्जुलेका लागि चलचित्र पनि कविताजस्तै अभिव्यक्तिको माध्यम हो । आफ्नो अनुकूलताअनुसार कहिले कविता र कहिले चलचित्रलाई यिनले अभिव्यक्तिका लागि उपयोग गर्दै आएका छन् । दुवैतिर यिनको सक्रियता छ र त्यसो हुँदा यिनका चलचित्रमा कविताको प्रभाव छ । फिचर लेन्थका दुवै चलचित्रमा यिनले दलित स्रष्टाद्वारा रचित कविताहरूको उपयोग पनि गरेका छन् ।
मन्जुले अभिव्यक्तिका लागि चलचित्र बनाउने पछिल्लो पुस्ताका प्रतिनिधि स्रष्टा हुन् । यिनी मानव जीवनलाई मूल्यवान् ठान्छन् र त्यहाँ आत्मसम्मानको खोजी गर्छन् । सामाजिक राजनीतिक चेतनाले यिनका चलचित्रलाई अर्थपूर्ण बनाएका छन् । सर्जकीय जीवनबोधका बारेमा थोरै अनुमान गर्न यिनको ‘मित्र' शीर्षकको कविता (मराठीबाट हिन्दीमा अनुवाद टिकम सेखावत) को यस अंशले पनि सहयोग गर्ला ः
एकै स्वभावका
हामी मित्रहरू
एक-अर्काबाट कायल
एउटै ध्येय
एउटै स्वप्न लिएर बाँचेका
कालान्तरमा उसले आत्महत्या गर्‍यो
र मैले कविता लेखेँ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.