कहाँकहाँबाट गर्दैछन् कलाकारले मतदान ?

कहाँकहाँबाट गर्दैछन् कलाकारले मतदान ?

काठमाडौं :  लामो समयपछि हुन लागेको स्थानीय तहको चुनावका कारण कलाकार पनि उत्साहित छन् । मतदानका लागि तयार छन् । अभिनेता हरिवंश आचार्य भक्तपुर बालकोटका मतदाता हुन् । मतदानका लागि आचार्य पनि उत्साहित छन् । जननिर्वाचित प्रतिनिधिलाई स्थानीय तह जिम्मा लगाएको हेर्न आतुर छन् । अहिलेसम्म कर्मचारीले धानेको स्थानीय निकायमा अब आफंैले रोजेको मान्छे पुगेपछि विपत् पर्दा गएर भन्ने ठाउँ पाइने उनको भनाइ छ । ‘दुई दशकपछि यो उमंग महसुस गर्न पाइएको छ । म यो चुनावबाट धेरै आशावादी छु', उनले भने ।

अभिनेत्री एवं निर्देशक झरना थापाको मतदाता परिचयपत्र काठमाडौं महानगरपालिका-१० को रहेको छ । नयाँ बानेश्वरस्थित स्वर्णवाटिका स्कुलमा रहेको बुथमा झरना मतदान गर्दैछिन् । ‘मतदानका लागि म उत्साहित छु', उनले भनिन् । चलचित्र निर्माता केशव भट्टराई पनि काठमाडौं महानगरपालिकाकै मतदाता हुन् । उनी कामपा-२९ स्थित मिलन विद्या मन्दिरमा रहेको बुथबाट मतदान गर्दैछन् । जनपक्षीय चलचित्रकर्मी संघका अध्यक्षसमेत रहेका भट्टराई नेकपा एमालेका लागि चुनाव प्रचारमा पनि खटिएका थिए ।

पपगायक धीरज राई पनि मतदान गर्न आतुर छन् । ‘मताधिकार प्रयोग नगरेको वर्षौं भयो । यसपटकको चुनावले जनतामा उत्साह ल्याएको छ', धीरजले भने, ‘मलाई पनि यसपटकको चुनाव निकै उत्साहपूर्ण लागेको छ ।' उनी काठमाडौं महानगरपालिका-२९ स्थित मिलन विद्या मन्दिरमा रहेको बुथबाट मतदान गर्दैछन् । गायिका रेखा शाह पनि मताधिकार प्रयोग विकास र सुशासनको सूचक मान्छिन् । तर उनी यसपटक मतदान गर्नबाट वञ्चित भएकी छन् । ‘मतदाता परिचयपत्रमा नाम छुटेछ ।

नरमाइलो लागिरहेको छ', रेखाले भनिन्, ‘म चुनावको दिन समाचार हेर्दै, पुस्तक पढ्दै घरमै बस्छु । नामावलीमा नाम हुने सबैलाई मतदानमा सहभागी हुन आग्रह गर्छु ।' अभिनेत्री दीपा श्री निरौला विराटनगरकी मतदाता हुन् । चलचित्र ‘छक्कापन्जा २' को छायांकन चलिरहेकाले भोट हाल्न जाने फुर्सद उनलाई पनि छैन । ‘चुनावको महत्वव बुझे पनि जान सकिनँ', उनले भनिन् । भोट हाल्न जान नपाए पनि उनमा चुनावको उत्साह निकै छ । यसपालि जनताले पार्टीभन्दा पनि व्यक्ति हेर्ने देखिएकाले उनी खुसी छिन् । ‘यो सोचले परिवर्तन ल्याउँछ । सुन्दर र सुदृढ नेपालको कल्पना गर्न वातावरण बनाउँछ', दीपा श्रीले थपिन् ।

 

अभिनेता कृष्ण मल्लको पनि मतदाता परिचयपत्रमा नाम छुटेको छ । ‘मतदाता नामावलीमा नाम छुटेछ । आफूले मतदान गर्न नपाए पनि चुनावको गतिविधि नियाल्न बाहिर निस्कन्छु', अभिनेता मल्लले भने । मिस नेपाल २०१६ अश्मी श्रेष्ठले पनि यसपटकको चुनावमा मतदान गर्न नपाउने भएकी छन् । चितवनको टाँडीमा हुनुपर्ने उनको पनि मतदाता परिचयपत्रमा नाम छुटेको छ ।

विवाहपछि भारत गएकी अभिनेत्री विपना थापा चुनावकै लागि नेपाल आएकी छन् । दैलेख जिल्लाबाट उपमेयरको उम्मेदवार बहिनी वास्ना थापालाई सहयोग गर्न उनी नेपाल आएकी हुन् । वास्ना कांग्रेसको तर्फबाट उपमेयरको उम्मेदवार हुन् । नागरिकता यहीँको भए पनि विपनाको भने मतदाता नामावलीमा नाम छैन । आमा नेपालमै छिन् । नेपाललाई पनि विपना आमा ठान्छिन् ।

आमाको मुहार फेर्न उनी चुनावको समयमा नेपाल अएकी हुन् । भन्छिन्, ‘हरेकपटक नेताको मुख हेर्‍यौं, यसपालि आफ्नो अधिकारका लागि जनता आफैं अग्रसर हुनुपर्छ भनेर चुनावमा लागेकी छु ।' जनआन्दोलनमा पनि अग्रपंक्तिमा देखिएकी विपनालाई विवाहपूर्व काठमाडौंबाट उम्मेदवारका लागि टिकट मिलेको थियो । तर, उनको राजनीति गर्ने रुचि होइन । केही दिनदेखि दैलेखमा बहिनीको चुनावी प्रचारमा हिँडेकी विपना चुनाव सकिनासाथ फर्किनेछिन् ।

अभिनेता अनुपविक्रम शाही भोट कसलाई हाल्ने भन्ने निर्णयमा पुगेका छैनन् । उनी काठमाडौं महानगरपालिका-३२ का मतदाता हुन् । पुराना नेताको काम देखेर दिक्क भएका उनी नयाँ पुस्तालाई साथ दिने सोचमा छन् । ‘भोट नयाँ पुस्तालाई नै दिन्छु', उनले भने । नयाँ शक्ति पार्टीकी केन्द्रीय सदस्य अभिनेत्री करिश्मा मानन्धर सप्तरीकी मतदाता हुन् । विनोद मानन्धरसँग विवाह भएपछि सप्तरीबाट नागरिकता बनाएकी उनको बसाइँसराइ भएको छैन । विनोद र छोरी भने काठमाडौं लाजिम्पाटका मतदाता हुन् ।

खुलेर पार्टीलाई सहयोग गरिरहेकी करिश्मा भोट हाल्न सप्तरीसम्म नजाने भएकी छन् । काठमाडौंमै बसेर पार्टीलाई सहयोग गर्ने उनले बताएकी छन् । सोही पार्टीका केन्द्रीय सदस्य अभिनेता अशोक शर्मा स्थानीय चुनावमा पार्टीभन्दा योग्य उम्मेदवार हेरेर भोट हाल्ने सोचमा छन् । ‘कलाकारले पार्टीभन्दा माथि उठेर हेर्न जरुरी छ', शर्माले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.