समृद्धिसहितको लोकतान्त्रिक जग
देश आज स्थानीय निकाय निर्वाचनको प्रक्रियामा छ । देशवासीहरू आज विभिन्न पक्ष र विपक्षमा विभक्त भएर आफ्ना प्रतिनिधि चुन्ने दौरानमा छन् । लोकतन्त्रको एकदसकपछि बल्ल हामीले आफ्ना घर वरिपरि रहने र हाम्रो सेवा गर्ने प्रतिनिधि छान्ने अवसर पाएका छौं । यसर्थ पनि यो ऐतिहासिक छ । यो निर्वाचनमा नयाँ मतदाताको संख्या उल्लेख्य छ । यसो भएकाले यसले चुन्ने नेतृत्व पनि सापेक्षिक रूपमा विगतको भन्दा राम्रो र कामकाजी हुनेछ, किनभने नयाँ पुस्ताको प्रभावका कारण पनि अहिलेका मतदाताले बुझेका छन् कि उनीहरूको आवश्यकता के हो भन्ने ।
अहिलेका मतदाता विश्वका विकसित मुलुक बेलायत, अमेरिका, अस्ट्रेलियाको जीवनस्तरसँग सिधै आफ्नो जीवनस्तरको तुलना गर्ने अवस्थामा पुगेका छन्, जसले उनीहरूमा विकास र समृद्धिको भोक जागेको छ । सामाजिक सञ्जालको प्रयोग, आफ्ना विदेशिएका सन्तान र आफन्त, उनीहरूको आफ्नै शिक्षा र अनुभवका कारण पनि उनीहरूले विगतमा गरेका गल्ती दोहोर्याउने छैनन् भन्ने अपेक्षा गर्न सकिन्छ । लोकतन्त्रमा मतदाताको स्तरले नै नेतृत्वको स्तरलाई पनि इmल्काउँछ, यो साँचो वास्तविकता हो । त्यसैले यो निर्वाचनमा मतदाताले मतदान गर्नुअघि निम्न विषयलाई लक्ष बनाउने अठोट गरेमा हामीले समृद्धिसहितको लोकतान्त्रिक नेपालको जग खडा गर्न सक्नेछौं ।
अस्थिरताका कारकलाई बिदा गरौं
यो निर्वाचनले गर्नैपर्ने सबैभन्दा महत्ववपूर्ण काम भनेको यसले स्थानीय तह र राष्ट्रियस्तरमै देखिएको अस्थिरतालाई धक्का दिनैपर्छ । अब हामीले छान्ने नेताबाटै आफू प्रताडित बन्ने परम्परालाई सदाका लागि बिदा गर्नैपर्छ । हामीलाई पटकपटक राजनीतिक आन्दोलनका लागि वाध्य पार्नेहरू अब हाम्रा नायक हुन सक्दैनन् र तिनका मतियारहरू जित होइन पराजितका लागि योग्य छन् । देशमा अस्थिरताका कारक को हुन् भन्ने छुट्याउन वि.सं. २००७ पछि आजसम्मका राजनीतिक घटनाक्रम हेर्दा थाहा हुन्छ । सचेत मतदातालाई हामीले भनिरहन आवश्यक छैन ।
हाम्रा भन्दा राम्रा छानौं
स्थानीय निकाय भनेको हाम्रा दिनानुदिनका कामसँग सरोकार राख्ने संस्था हो । त्यसैले त्यहाँ कोही जागिर खान मात्र गएर हाम्रा आवश्यकता पूरा हुँदैनन् । आफ्ना अयोग्य र नराम्रा भन्दा पराइका राम्रा र योग्यले राम्रोसँग समाजको सेवा गर्न सक्छन् । त्यसैले त भन्ने गरिन्छ ‘मूर्ख मित्र भन्दा विद्वान् शत्रु राम्रो ।' सही र राम्रा मानिस जिताए परिणाम राम्रो हुन्छ, नजिताए उस्तै । गलत उम्मेदवार छान्दा हामी फेरि अर्को राजनीतिक आन्दोलन गर्ने वाध्यताबाट उम्कन सक्दैनौं । गलत मानिसलाई मतदान गरेर आशा जगाउन, समृद्धि हासिल गर्न वा समाज बनाउन सकिन्न । विकासको सपना नै नभएका मानिसबाट अपेक्षा पनि गर्न सकिँदैन । त्यस्ता मानिसलाई नेतृत्व जिम्मा लगाउँदा हामी झन् पछि पर्न सक्छौं । हाम्रा भन्दा राम्रा छानेर नै हामी सबैको कल्याण सम्भव छ ।
ठूला पार्टीबाटै विकल्प छानौं
विधिको शासन र स्थानीय समस्यासँग जुध्न सक्ने, तिनको समाधान दिन सक्ने गुण भएको नेता अहिलेको आवश्यकता हो । बलियो राजनीतिक पार्टीको नेता निर्वाचित हुँदा उसले समयसमयमा गर्ने गल्ती सच्चाउने र मार्गदर्शन गर्ने सम्भावना बढी हुन्छ । पार्टीको प्रतिष्ठाको कारण पनि त्यसको जिम्मेवारी पार्टीले बोक्छ । गलत विचार बोकेको र विगतमा पटकपटक गल्ती गरेको दल र त्यस्तो दलको उम्मेदवार छान्दा आफू पनि प्रकारान्तले फेरि प्रताडित हुने डर हुन्छ । समाजको अग्रगमन रोकिन्छ । विगतमा भएको पनि यही हो ।
पार्टीहरू धेरै भएर हाम्रो राजनीतिलाई नै प्रदूषित गरिरहेका बेला हामीले हेक्का राख्नैपर्ने कुरा के हो भने मौसमी राजनीतिज्ञलाई जिताउँदा उनीहरू निर्वाचन जितिसकेपछि कुहिरोको कागजस्तै बन्छन् र उनीहरूले न काम गर्न जान्दछन् न त उनीहरूलाई मार्गदर्शन गर्ने नै कोही हुन्छ । फेरि साना पार्टीहरू जसका न माथिल्लो निकायमा प्रतिनिधि नै रहन्छन् न त उनीहरूले आफ्नो पहुँच स्थापित गर्न सक्छन् । यी दुवैको अभावमा केवल भावनामा मात्र बगेर कसरी स्थानीयस्तरमा विकास सम्भव हुन सक्छ र ?
सफल भन्दा असल छानौं
अहिलेको संविधानले व्यवस्था गरेअनुसार स्थानीय निकाय भनेको भोलि गाउँका सानातिना झगडा मिलाउने वा न्याय दिने निकाय पनि हो । त्यस निकायमा हुने विद्यालय, स्वास्थ्य संस्था र अन्य सरकारी निकायको परिचालन गर्ने जिम्मा पनि यस निर्वाचनमा विजय हुने व्यक्तिहरूको समूहलाई नै दिँदैछौं । त्यसैले जित्ने व्यक्ति नेता मात्र भएर अब पुग्दैन उनीहरू कुशल व्यवस्थापक, विकासका योजनाकार, न्यायका पक्षपाती र विशेष समाजसेवाको भावनाले अभिप्रेरित भएको हुनुपर्छ ।
सुशासन कायम हुन सके मात्र स्थानीय निकायमा लगानी बढ्ने, हामीले प्राप्त गर्ने सेवासुविधा वृद्धि हुने र स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना हुन सक्छ । सुशासनको माध्यमबाट नै स्थानीय निकायले आफ्नो विकास आफैं गर्ने हो । त्यसैले सुशासन कायम गर्न सक्ने नेतृत्व छानौं । यसैबाट मुलुकको काँचुली फेर्न सक्छ ।
सफल व्यक्तिले आफूलाई मात्र हेरेर स्थानीय निकायको डाडुपन्यू चलायो भने त्यसले हाम्रा गाउँठाउँलाई अगाडि होइन पछाडि धकेल्छ । हो, सकेसम्म हामीले सफल र असल दुवै खोज्नुपर्छ, तर त्यो सम्भव भएन भने हामीले छान्ने असल व्यक्ति नै हो जसले स्थानीयबासी सबैलाई सही अर्थमा अभिभावकत्व प्रदान गर्न सकोस् ।
सुशासनसहितको लोकतन्त्र
राजनीतिक स्थिरताविना समाजको परिर्वतन र विकास सम्भव छैन । त्यसका लागि लोकतन्त्र बलियो हुनुपर्छ । लोकतन्त्र बलियो हुन दलहरू बलियो र इमान्दार हुनुपर्छ । दलहरू बलियो हुन उनीहरूलाई धेरै जनताको समर्थन हुनु जरुरी छ । विभाजित जनमतले लोकतन्त्र बलियो हुन सक्दैन । नेपालको सन्दर्भमा हेर्ने हो भने जनमत विभाजित छ । दलहरू धेरै छन् । धेरथोर मत पाएकै छन् । कुनै पनि दलले बहुमत पाउन छोडेको लामो समय भयो । जसले अस्थिरता निम्त्याउन मद्दत गर्यो । अतः राजनीतिक ध्रवीकरण अहिलेको आवश्यकता हो । आवश्यकता भन्दा बढी राजनीतिक दल हुनु अस्थितताको कारक हो । जसलाई मलजल गर्ने काम हाम्रो संविधान र त्यसमा रहेको समानुपातिकसहितको मि िश्रत निर्वाचन प्रणाली पनि हो ।
सुशासन कायम हुन सके मात्र स्थानीय निकायमा लगानी बढ्ने, हामीले प्राप्त गर्ने सेवासुविधा वृद्धि हुने र स्थानीय स्तरमै रोजगारीका असवसर सिर्जना हुन सक्छ । सुशासनको माध्यमबाट नै स्थानीय निकायले आफ्नो विकास आफैं गर्ने हो । त्यसैले उम्मेदवारहरू निर्वाचित गर्ने एउटा आधार त त्यो पार्टीका स्थानीय र माथिल्लो अंगहरू कत्तिको प्रजातान्त्रिक भावनाका साथ चलेका छन् ? उनीहरू आफूभित्रैको सुशासनको आधार कतिको बलियो छ, त्यस पार्टीका अन्यत्र र त्यहीं पनि पहिला निर्वाचन जितेका प्रतिनिधिहरूले कस्तो काम गरेका थिए भन्ने एउटा बलियो आधार बन्न सक्छ, राम्रो प्रतिनिधि छनोटका लागि ।
अन्त्यमा
स्थानीय तहले प्रत्यक्ष रूपमा जनतासँग सम्पर्क र सम्बन्ध राख्छ । सेवा र सुविधालाई जनतासम्म पुर्याउँछ । राजनीतिक संरचनालाई बलियो बनाउँछ । जनता र नेतृत्वबीचको सेतुको काम गर्छ । जनतामा आशा र भरोशा जगाउँछ । समग्रमा लोकतन्त्रप्रतिको जनतामा जागेको वितृष्णालाई यसले कम गर्छ । राजनीतिक व्यवस्थापनको दृष्टिले निर्वाचन अर्को सशक्त मञ्च हो जहाँ एउटा नेतृत्वको परीक्षण हुन्छ, तालिम हुन्छ र नेतृत्व विकासको अभ्यासमा उ अभ्यस्त हुन्छ र राष्ट्रिय राजनीतिको लागि प्रशिक्षित हुन्छ । यस्तो महत्ववपूर्ण जिम्मेवारी यतिबेला मतदातामा छ । जसलाई हामीले जिम्मेवारीपूर्वक निर्वाह गर्न सक्यौं भने यो समृद्धिसहितको नेपालको जगहाल्ने अवसर हो । यसैबाट मुलुकको काँचुली फेर्ने आधार तय गर्न सकिन्छ । त्यसैले योग्य मानिसहरूको छनोट नै यी सबैको प्रस्थान विन्दु हो ।