अमूल्य मत दियौं अमूल्य काम गरून्
काठमाडौं : दुई दशकपछि भएको स्थानीय तह निर्वाचन शान्तिपूर्वक सम्पन्न भएको छ । नयाँ संविधानले व्यवस्था गरेअनुरूप यो निर्वाचन नेपालकै इतिहासमा पहिलोपटक भएको हो । आइतबार सम्पन्न पहिलो चरणको निर्वाचनमा पहिलोपटक मतदान गर्ने युवायुवतीको संख्या उल्लेख्य रह्यो । बिहान ७ बजेदेखि लाइनमा बसेर अमूल्य मतदान गर्नेको लाममा चलचित्रकर्मी, रंगकर्मी, साहित्यकारदेखि गायकगायिकासम्म देखिए ।पर्दाका नायक, आवाजका सारथिदेखि शब्दका खेलाडीहरू स्थानीय सरकारको नेतृत्व आफैं चयन गर्न उत्साहका साथ सहभागी भए ।
चर्चित गायक राजेशपायल राईले काठमाडौंको बानेश्वर क्याम्पसमा रहेको निर्वाचन केन्द्रबाट मतदान गरे । 'यो मेरो पहिलो अनुभव हो', उनले भने, 'जीवनमा स्थानीय सरकार चयनका लागि भाग लिएको थिएन । यसपटक रमाइलो मात्रै लागेन आफ्नो नेतृत्व गर्ने नायकको छनोट गर्दा विवेक पनि प्रयोग गरेँ ।' उनले मतदाता परिचत्रपत्रका कारण निर्वाचन प्रक्रिया निकै व्यवस्थित रहेको प्रतिक्रिया दिए । शान्त वातावरणमा भएको निर्वाचनले सबैतिर उत्साह छाएको उनको भनाइ छ ।
गायिका मिङ्स लामा लामो लाइनमा बसेर मतदानमा सहभागी भइन् । यो निर्वाचन उनका लागि यसकारण पनि विशेष थियो कि उनका भाइ वडाध्यक्षका उम्मेदवार हुन । उनले बौद्ध ६ बाट मतदान गरिन् । 'निर्वाचन हुन्छ कि हुँदैन शंकै थियो', उनले भनिन्, 'आखिरमा यति सौहार्द वातावरणमा निर्वाचन भयो, यो खुसीको कुरा हो ।'
आफ्नो जनप्रतिनिधि चयन गर्ने मतदाताको पंक्तिमा नायक राजेश हमाल, नायिका प्रियंका कार्की, केकी अधिकारीलगायत धेरै देखिए । अभिनेता दीपकराज गिरीले चन्द्रागिरि, आर्यन सिग्देलले थानकोटबाट मतदान गरे । त्यसैगरी नायक राज घिमिरेले गोदावरीमा आफ्ना लागि आफैं मतदान गरे । '२० वर्षपछि आम नेपालीले स्थानीय सरकार आफैं चयन गर्ने अधिकार प्रयोग गर्न पाए । निर्वाचन शान्त वातावरणमा सम्पन्न हुनु लोकतन्त्रको परिपक्वता हो', राजले भने।
करिश्माको असन्तुष्टि
सदाबहार नायिका एवं नयाँ शक्ति पार्टीकी नेत्री करिश्मा मानन्धर स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाइनन् । मतदान गर्न नपाएपछि उनले फेसबुकमार्फत पति विनोद मानन्धरसँग असन्तुष्टि पोखेकी छन् । विनोदलाई 'हरेक कुराको तिमी मालिक हौ, तर मेरो नैसर्गिक अधिकारमाथि नै खेलबाड गरिदिँदा अति भो' भन्दै सामाजिक सञ्जालमार्फत असन्तुष्टि पोखेकी हुन् । 'मेरो अधिकारमाथि लापरबाही भएको कुराबारेको असन्तुष्टि हो', अन्नपूर्णसँग करिश्माले भनिन, 'मैले राजनीति सुरु नगर्दै उहाँलाई मतदाता सूचीमा नाम लेखाउन भनेको थिएँ । उहाँले त छोरीको र आफ्नो बनाउनु भएछ, मेरै छुटाउनुभयो ।'
करिश्माले पतिलाई आफू नयाँ शक्ति पार्टीमा लागेदेखि दिनैपिच्छेभन्दा पनि लापरबाही गरेपछि केही समयअघि नाम लेखाउन तीन घन्टा लाइनसमेत बसेको बताइन् । 'तीन घन्टा लाइन बसेँ, नाम लेखाउने बेला बसाइँसराइ माग्यो, त्यो पनि विनोदले मलाई दिनुभएन, भन्न पनि भन्नु भएन, त्यसैले असन्तुष्टि जनाएकी हुँ', करिश्माले भनिन् । आफू पार्टीको केन्द्रीय सदस्य भए पनि मतदान गर्न नपाउँदाको अप्ठेरो आफूले पोखेको तर यसमा पारिवारिक र निजी जीवनबारे कुनै गुनासो नपोखेको समेत स्पष्ट पारेकी छन् ।