जोगियो युरोपियन युनियन
'विरोधीहरूले दसकौंदेखि ईयूको शवयात्राको तयारी गरिरहेका छन्, तर बारम्बार उसले मृत्युवरण गर्न अस्वीकार गर्दै आएको छ' भन्ने म्याटथियास म्याटथिजस र आर. डेनियल केलमनको भनाइ पुनः सत्यापित भएको छ ।फ्रान्सको अति दक्षिणपन्थी दलकी चामत्कारिक क्षमताकी नेता मरिन ल पेनले अक्टोबर १९१३ मा घोषणा गरेकी थिइन्— युरोपियन युनियन (ईयू) सोभियत संघजस्तै भएर लोप हुनेछ । त्यसपछि जर्मनीका पूर्व विदेश मन्त्री जोस्च्का फिसरले भनेका थिए—युरोपियन युनियन समाप्तिको संघारमा छ ।
गत वर्षको जुनमा सम्पन्न जनमतसंग्रहबाट बेलायतले ईयूबाट बाहिरिने निर्णय र उक्त युनियनको राजनीतिक र नैतिक प्रेरणा र प्रवल समर्थक रहेको अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा ईयूविरोधी डोनाल्ड ट्रम्प विजयी भएपछि झन्डै समाप्तिको अवस्थामा पुगेको उक्त युनियनलाई फ्रान्सको राष्ट्रपतीय निर्वाचनले तत्कालको लागि प्राणवायु भरिदिएको छ । ब्रेग्जिट र डोनाल्ड ट्रम्पको विजयपछि स्वयं अमेरिकामा आफूलाई पराजित सम्झने अमेरिकीहरू फ्रान्समा आफूहरू विजयी भएको अनुभूतिले दंग छन् । फ्रान्सले एकैपटक ट्रम्पलाई र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पराजित गरिदिएको सन्तुष्टि अमेरिका र युरोपका ईयू पक्षधरहरूले गरिरहेका छन् ।
तर कुनै स्थापित राजनीतिक दलबाहिरका स्वतन्त्र व्यक्तिको हैसियतमा र दुई वर्षअघि 'इनमार्च' अर्थात 'अग्रगतिमा' अर्थ लाग्ने अभियानमार्फत राष्ट्रपति पदमा निर्वाचित ३९ वर्षीय इमानुएल म्याक्रोन सम्भवतः विश्वका सबैभन्दा कान्छा निर्वाचित र सरकार वा राष्ट्रप्रमुख मात्रै होइनन, आफैं परम्परागत राजनीतिविरुद्धका विद्रोहका प्रतिनिधि पनि हुन् । तीन वर्षअघिसम्म फ्रान्सका लागि अपरिचित उनी दक्षिणपन्थी विचारको मध्यमार्गको नेतृत्व गर्दै राष्ट्रपति निर्वाचित भए । उनको प्रमुख प्रतिद्वन्द्वी अति दक्षिणपन्थी नेसलन फ्रन्ट र त्यसकी नेता ल पेन हुन पुगिन् । ल पेन आफैं एउटा विद्रोहको प्रतीक थिइन् । सदर मतमध्ये एकतिहाई भन्दा थोरै बढी मत ल पेन र दुईतिहाइ भन्दा सेख्खै कम मत म्याक्रोनले पाए ।
निर्वाचनमा युरोपियन युनियनको पक्षधर मतको उक्त संख्या सानो होइन, तर युरोपियन युनियनको कट्टर विरोधी र रूससँगको घनिष्ट सम्बन्धको वकालत गर्ने मतको प्रतिनिधि संगठन फ्रान्सको दोस्रो ठूलो दल बन्न पुग्यो । राष्ट्रपतीय निर्वाचनमा विजयी र पराजित दुवै उम्मेदवारले परम्परागत राजनीतिक दलहरूलाई नगन्य हैसियतमा पुर्याएर फ्रान्समा एउटा नयाँ क्रान्तिको शंखघोष गरेका छन् ।
यसको पछाडिको मूल कारण फ्रेन्च जनताको अत्यधिक निराशा थियो । ब्रिटिस साप्ताहिक दी इकोनोमिस्टले उल्लेख गरेअनुसार एउटा मत सर्वेक्षणले फ्रेन्च जनतालाई संसारको सबैभन्दा निराशावादी बताएको थियो । सो सर्वेक्षणअनुसार ८१ प्रतिशत फ्रेन्च मतदाताले संसार खराब हुँदै गएको उल्लेख गरेका थिए भने केबल भने तीन प्रतिशत फ्रेन्चले मात्र आफ्नो आशावादिता जनाएका थिए ।
डोनाल्ड ट्रम्पको विजयलाई स्वीकार्न र पचाउन गाह्रो मान्ने अमेरिकी र युरोपेलीहरूले विधि र प्रक्रियालाई भन्दा आफूले चाहेको परिणामलाई मात्रै प्रजातान्त्रिक मान्नमा देखाएको रुचिले प्रजातान्त्रिक मूल्य प्रणालीलाई निकै संकीर्ण बनाइदिएको देखिन्छ ।
यो चरम निराशा पछाडिको मूल कारण फ्रान्सको अर्थतन्त्रको चौपट अवस्था थियो । दी इकोनोमिस्टकै अनुसार फ्रान्समा कुल गार्हस्थ्य उत्पादनको ५७ प्रतिशत अंशलाई राज्यले नै उपभोग गर्ने गरेको छ । एक चौथाइ फ्रेन्च युवाहरू बेरोजगार छन् । थोरै रोजगारमा रहेकाहरूमध्ये पनि अधिकांश अस्थायी चरित्रको रोजगारीमा छन् । उच्च कर दर, अत्यधिक राज्य नियन्त्रणले अधिकांश उद्यमीहरू बेलायततिर पलायन भएका, जीवनस्तरमा गिरावट आइरहेको र बारबारको आतंकवादी आक्रमणको कारण युरोपको सबैभन्दा ठूलो मुस्लिम जनसंख्या भएको देशमा जातीय र सांस्कृतिक विभाजन चरम हुँदै आइरहेको अवस्थाले त्यस्तो निराशापूर्ण स्थिति निर्माण गरेको थियो ।
म्याक्रोन र ल पेन दुवैले त्यस्तो निराशालाई दोहन गरे । ल पेनले फ्रेन्चहरूको समस्या र कठिनाइको स्रोत बाह्य शक्तिहरूलाई बताइन् । भूमण्डलीकरणका अग्राह्य प्रभाव र शक्तिहरूबाट आफ्ना जनताको सुरक्षाका लागि कडा नियन्त्रणकारी उपायहरू अवलम्बन गर्ने, फ्रेन्च जनताको रोजगारीको अवसर र अधिकारको रक्षा गर्ने, अतिवादको संरक्षण गर्ने मस्जिदहरूमा रोक लगाउने, युरो मुद्राको स्थानमा साविकको फ्र्यांकलाई नै प्रचलनमा ल्याउने घोषणा उनले गरेकी थिइन् ।
युरोपियन युनियनलाई प्रजातन्त्रविरोधी महाराक्षस बताउँदै आफू निर्वाचित भएमा युरोपियन युनियनमा रहने वा छोड्नेबारे जनमतसंग्रह गराउने उनको घोषणा थियो।उता म्याक्रोनले खुला आर्थिक र मुक्त व्यापार नीति अवलम्बन गर्ने, प्रतिष्पर्धालाई प्रोत्साहन गर्ने, आप्रवासनलाई समर्थन गर्ने र युरोपियन युनियनमा रहेरै फ्रान्सले आफ्नो समृद्धिका अवसरलाई विस्तार र सम्बर्धन गर्नसक्ने बताउँदै आएका थिए ।
१. युरोपियन युनियनको चरित्र र चुनौती
एउटा साझा राजनीतिक र आर्थिक संरचनामा आवद्ध युरोप दोस्रो विश्व युद्धपछिको उसको एकता, स्थिरता र समृद्धिको आधार थियो र त्यसैले युरोपियन युनियनको रूपमा एउटा नयाँ संघीय अभ्यास युरोपले गर्यो ।विख्यात अमेरिकी रणनीतिक चिन्तक ए विश्लेषक रोबर्ट कागनले 'दी रिटर्न अफ हिस्ट्री एन्ड दी इन्ड अफ ड्रिम्ज' नामको पुस्तकमा उल्लेख गरेअनुसार युरोपियन युनियनले सुरुदेखि नै आफूले पक्षपोषण गरेको नयाँ विश्व व्यवस्था अन्तर्गत भूराजनीतिमाथि भूअर्थतन्त्रको प्रभुतालाई स्वीकार गर्यो । अमेरिका र चीनको विराट र उत्पादक अर्थतन्त्रको प्रतिष्पर्धी अर्थतन्त्रको रूपमा युनियनको अर्थतन्त्रलाई स्थापना गर्ने लक्षले युरोपियन राष्ट्रहरूले आफ्ना कतिपय राजनीतिक र आर्थिक प्रभुसत्तालाई ब्रसेल्सस्थित ईयूका संस्था र संरचनालाई समर्पण गरे ।
आफ्ना प्रतिरक्षा बजेटहरूमा व्यापक कटौती र सेना र हतियारहरूको आधुनिकीकरणमा अत्यन्त कम लगानी सुरु गरे । विश्वको सफ्टपावर हाउसको रूपमा युरोपियन युनियन स्थापना भएपछि विश्वभर युरोपियन युनियनको प्रभावमा वृद्धि हुन्छ र त्यो स्वयं युरोपको शक्ति र सामथ्र्यमा रुपान्तरण हुन्छ भन्ने युरोपियन युनियनका अति उत्साही नेतृत्व समुदायको विश्वासअनुरूप त्यसो भएको थियो ।
समग्रमा ईयूले एउटा साझा र संगतिपूर्ण भूराजनीतिक दृष्टि र दर्शन नै विकास गरेन । त्यो उसको प्राथमिकतामा नै परेन । त्यसैले ईयूको भूमिका र उद्देश्यबारे ईयू राष्ट्रहरूमाझ कुनै साझा राजनीतिक समझदारी विकास भएन र विदेश नीतिबारे त्यस्ता भिन्नताहरू अझ जटिल रूपमा विकास हुँदै गए । फरक इतिहास, राजनीतिक संस्कृति र ईयू सदस्य राष्ट्रहरूबीचको विगतको सम्बन्धको चरित्र, पूर्व उपनिवेशको रूपमा रहेका राष्ट्रहरूमाथिको फरक दृष्टिकोणले पनि त्यस्तो साझा भूराजनीतिक, रणनीतिक र विदेश मामिलासम्बन्धी नीति निर्माण हुन सकेन । त्यसैले मूलतः बेलायतले युरोपका राष्ट्रहरू र अमेरिकालाई, जर्मनीले पूर्वी र दक्षिण पूर्वी युरोपलाई र फ्रान्सले भूमध्य सागर क्षेत्रलाई हेर्ने दृष्टिकोणमा विराट अन्तर आइरह्यो । ईयूले रूसलाई हेर्ने दृष्टिकोणमा पनि पूर्वी युरोपका पूर्व साम्यवादी राष्ट्रहरू र विगतमा सोभियत संघअन्तर्गत रहेका र हाल स्वतन्त्र रहेका राष्ट्रहरू बाँकी युरोपका राष्ट्रहरू बीच ठूलो अन्तर देखिन्छ ।
युरोपियन युनियन एउटा परस्परविरोधी रणनीतिक लक्ष बोकेर जन्मियो । युरोपका मुलुकहरूले भूराजनीतिमाथि आर्थिक हित र समृद्धिलाई प्राधान्यता दिने उद्देश्यले यसको स्थापना गरे, तर अमेरिकाले सोभियत संघको विराट शक्ति र प्रभावबाट युरोपका राष्ट्रहरूलाई मुक्त राख्न र युरोपका राष्ट्र हरूलाई अलग अलग राष्ट्रिय एकाइको रूपमा भन्दा एउटा खुकुलो संयुक्त संघीय राज्यको राजधानीमार्फत युरोपसँगको सम्बन्ध विकास र व्यवस्थापन गर्दा स्वयं युरोपको र युरोपमा अमेरिकी हितहरूको रक्षा गर्न सजिलो हुने उसको ठहर थियो । त्यसले विश्व मामिलामा युरोपको शक्ति र प्रभावमा वृद्धि हुने र अमेरिकाको सहयोगी भूराजनीतिक र रणनीतिक संरचनाको रूपमा अमेरिकी मूल्य हित र सुरक्षालाई पनि प्रवर्धन गर्ने अमेरिकाको उद्देश्य थियो ।
तर हजारौं वर्ष लामो गौरवशाली इतिहास र परम्परा बोकेका स्वतन्त्र राष्ट्रहरू ईयूको रूपमा एउटै भूराजनीतिक एकाइअन्तर्गत कुनै रणनीतिक साधनको रूपमा उपयोग हुँदै आएको अनुभूति र आफ्ना मुलुकहरूका निर्वाचित पद र संस्थाहरूमाथि ईयूअन्तर्गतका अनिर्वाचित पद र संस्थाहरूको प्रभुत्वविरुद्धको असन्तोष कहिले ब्रेग्जिट र कहिले सम्भावित फ्रेग्जिटको रूपमा अभिव्यक्त हुन पुगेको हो । र यो जर्मनी, नेदरल्यान्ड, अस्ट्रियालगायतका मुलुकमा पनि शक्तिशाली प्रतिप्रवाहको रूपमा रहिरहेको छ ।
२. नयाँ युरोप र नयाँ युरोपियन युनियनको परिकल्पना
दोस्रो विश्व युद्ध र सो भन्दा अगाडि सयौं वर्षसम्म युद्ध र शत्रुता खेपेका तर शीतयुद्धले फरक राजनीतिक र आर्थिक प्रणालीको अजंगको सोभियत संघबाट ठूलो असुरक्षा अनुभव गरेका पश्चिम जर्मनी र फ्रान्स सुरक्षाकै लागि अमेरिकी नेतृत्वको नाटो र अमेरिकी प्रेरणाको युरोपियन युनियनमा जोडिए । शीत युद्धको अन्त्य र सोभियत संघको अवश्यंम्भावी विघटन दृष्टिगोचर भएपछि पूर्वी र पश्चिम जर्मनीको एकीकरण भयो । जर्मनी युरोपको सबैभन्दा ठूलो र शक्तिशाली अर्थतन्त्रको नेतृत्व गर्दै निरन्तर अघि बढिरह्यो । जर्मनी र फ्रान्सको ईयू र युरोको पक्षमा रहेको दृढ अडानले युरोपियन युनियनको अर्थतन्त्रलाई पनि गति दियो । राजनीतिक र आर्थिक दुवै सवालमा ईयू एउटा एकाइको रूपमा संसारकै ठूलो अर्थतन्त्र बन्न सफल भयो ।
१९८२ मा तत्कालीन युरोपियन आर्थिक समुदायको पच्चीसौं स्थापना दिवसको अवसर पारेर प्रकाशित गरेको दी इकोनोमिस्टको आवरण शीर्षकको नाम थियो – '२५ मार्च १९५७ मा जन्म र २५ मार्च १९८२ मा जीवनको उत्तरार्धतिर ।' १९८२ को सोही अंकमा इकोनोमिस्टले युरोपियन आर्थिक समुदायको सँस्थागत असक्षमता र आम जनताको अनिच्छा र युरोपको एकीकरणकाप्रति जनताको बढ्दो अरुचिका कारण उक्त समुदायबाट बेलायतको बहिर्गमनको भविष्यवाणी गरेको थियो । फरेन अफियर्स पत्रिकाको जनवरी फ्रेबुअरी २०१५को अंकमा म्याटथियास म्याटथिजस र आर. डेनियल केलमनले युरोपियन युनियनको सन्दर्भमा 'एउटै हुने प्रयास नगरुन्जेल सशक्त र प्रभावशाली' भनेर प्राचीन रोमन साम्राज्यको इतिहासकार ट्यासिटसको एउटा उक्तिलाई प्रस्तुत गरेका छन् ।
त्यही निराशाकै बीच १९८५मा फ्रान्सका पूर्व अर्थमन्त्री ज्याक्स देलर्स युरोपियन आयोगका अध्यक्ष बने र उनले एउटा गतिहीन संस्थाको रूपमा रहेको उक्त संगठनमा नयाँ रक्तसञ्चार गराए । युरोपीय आर्थिक समुदायलाई एउटै बजारको रूपमा विकास गर्नमा उनले देखाएको प्रयासमा ब्रिटिस प्रधानमन्त्री मार्गरेट थ्याचरको उत्साहपूर्ण सहयोग, समर्थन र प्रतिवद्धताले १९९२ मा मास्ट्रिच्ट सन्धिलाई सम्भव गरायो र युरोपियन युनियनको जन्म भयो ।फरेन अफियर्सको सोही अंकमा उल्लेख भएअनुसार १९९० को सुरुका वर्षहरूमा युरोपका ७० प्रतिशत जनता युरोपियन युनियनका कट्टर समर्थक थिए र १० प्रतिशत भन्दा कम मात्रै त्यसको विरोधमा थिए ।
जतिखेर युरोपीय आर्थिक समुदायको जन्म भयो, युरोपियन युनियनको रूप लियो त्यतिखेरको भन्दा ज्यादै जटील र गम्भीर चुनौती र समस्या अहिले युरोपियन युनियन समक्ष छ । युनियनका सदस्य राष्ट्रहरूको वृद्धिसँगै समस्या र चुनौतीका चरित्रहरूले विभिन्न आयाम ग्रहण गरिरहेका छन् । ईयू राष्ट्रहरूको अर्थतन्त्रमा निरन्तर संकट र आर्थिक अवसरहरूमा संकुचन आइरहेको तर ती संकुचित र सीमित आर्थिक अवसरहरू पनि पूर्वी युरोपका कम विकसित राष्ट्रका श्रमिक र साना उद्यमीहरूको हातमा गएको देखेर उनीहरू क्षुब्ध छन् । ईयूमा आवद्ध राष्ट्रका सरकारहरू आफ्ना जनताका प्रमुख आर्थिक हितका सवालमा आफैं निर्णय गर्नसक्ने अवस्थामा नरहेका र आफूहरूमाथि ईयूको ब्रसेल्सस्थित नोकरशाहहरूको शासन रहने गरेकोमा पनि असन्तुष्ट रहने गरेका छन् ।
बेलायत युरोपको सबैभन्दा शक्तिशाली सैनिक शक्ति हो । विश्वमा बेलायतको राजनीतिक र आर्थिक प्रभाव र क्षमता अन्य सबै ईयू सदस्य राष्ट्रहरूको भन्दा बढी छ । आफ्नो सुरक्षाका लागि युरोपले बढी दायित्व ग्रहण गर्नुपर्छ भनेर अमेरिकाले युरोपका राष्ट्रहरूमाथि दबाब दिँदै आएकोमा राष्ट्रपति ट्रम्पले त्यस सवालमा निकै कठोर नीति अवलम्बन गर्ने घोषणा गरेको सन्दर्भमा ईयूले बेलायतसमेतको साझेदारीमा आफ्नो सामूहिक सुरक्षाबारे नयाँ विन्दुबाट सोच्न प्रारम्भ गर्न र आर्थिक एकीकरणको सवाललाई राजनीतिक र रणनीतिक एकताको बलबाट पुष्ट पार्ने प्रयास नगरुन्जेल ईयूको अस्तित्व रक्षा र विश्वसनीयतामा वृद्धि हुने अवस्था सम्भवतः नआउला ।
हाललाई ईयू तत्काल मृत्युवरणको अवस्थामा पुग्नबाट जोगियो । तर आर्थिक वृद्धि र समृद्धिका साझा सपनाहरूलाई चरितार्थ गराउन यसका संरचनाहरूलाई लक्ष केन्द्रित, उत्तरदायी र पारदर्शी बनाउन र ईयूबाट बाहिरिएको बेलायतमाथि रिस पोख्न भन्दा उसलाई ईयू मैत्री बनाउन र ईयूका मूल्य र विश्वास प्रणालीहरूमा बेलायतकै राजनीतिक सुविधाअनुसार सहकार्य गर्न प्रेरित गर्ने सवालमा ईयूको राजनीतिक नेतृत्वले दूरदर्शिता देखाउन सकेन भने म्याक्रोनको विजयले ईयूकाबारे उमारेको आशा निराशामा परिणत हुन कुनै समय लाग्ने छैन । युरोपियन युनियनको नेतृत्व चयनको विधि र पद्धतिले पनि केही समस्या र जटिलता थपेको देखिएको छ । जस्तो हालका युरोपियन काउन्सिलका अध्यक्ष तथा पोल्यान्डका पूर्व प्रधानमन्त्री डोनाल्ड टस्कको पुनर्निर्वाचनलाई स्वयं पोल्यान्डको सरकारले अस्वीकार गरेको थियो तर पोल्यान्डको वर्तमान राजनीतिक नेतृत्वसँग असहमत युरोपियन युनियनका शक्तिशाली राष्ट्रहरूको समर्थन र सहयोगमा टस्क नै सो काउन्सिलको अध्यक्षमा पुनः निर्वाचित भए । यो कुनै जित हार भन्दा पनि ईयू र यसका सदस्य राष्ट्रहरूबीचको सम्बन्धको चरित्र र संस्कृतिको एउटा झलक हो ।
अर्कोतिर ईयू राष्ट्रहरूले आफ्नो भूराजनीतिक अवस्थिति र भविष्यको सुरक्षाबारे बढी परिपक्व र गतिशील हुन नसकेको बताइन्छ । आफैंभित्र आन्तरिक असमझदारीसँगै रूसनिकटका जर्जिया र युक्रेन जस्ता राष्ट्रहरूमा ईयूले आफ्नो राजनीतिक र रणनीतिक महत्वाकांक्षा थोपर्न खोज्दा युक्रेनले भोगेको नियति सबैसामू छर्लंग छ । ईयूमा आवद्ध हंगेरी चीन, रूस, सिंगापुर र टर्कीलाई आफ्नो राजनीतिक आदर्शको रूपमा ग्रहण गर्न लागेको छ । डोनाल्ड ट्रम्पको विजयलाई स्वीकार्न र पचाउन गाह्रो मान्ने अमेरिकी र युरोपेलीहरूले विधि र प्रक्रियालाई भन्दा आफूले चाहेको परिणामलाई मात्रै प्रजातान्त्रिक मान्नमा देखाएको रुचिले प्रजातान्त्रिक मूल्य प्रणालीलाई निकै संकीर्ण बनाइदिएको देखिन्छ ।
ग्रीस र पोर्चुगलका आर्थिक संकटको सामनामा आर्थिक अनुशासनको नाउमा ईयू उदार नदेखिएको धारणा ती मुलुकमा मात्र नभएर अन्य मुलुकमा पनि अनुभव गरियो । स्वयं आर्थिक अनुशासनका मामिलामा कट्टर मानिने अन्तर्राष्ट्रिय मुद्रा कोषले ईयूका मितव्ययिता र आर्थिक अनुशासनका नीतिहरूलाई २०१२को आफ्नो प्रतिवेदनमा कठोर र पुरातनवादी भनेर आलोचना गरेको थियो ।त्यसैले ईयूको जीवनको सफलता र निरन्तरता भनेको स्वयं उसले अवलम्बन गर्ने व्यापक नीतिगत र संरचनात्मक सुधार मात्र हो भन्नेमा विश्लेषकहरू एकमत छन् ।