स्थानीय चुनाव : प्रभाव र पूर्णता

स्थानीय चुनाव : प्रभाव र पूर्णता

धेरै शंका-उपशंकापछि आखिर निर्धारित मिति अर्थात् वैशाख ३१ गते तीनवटा प्रदेशमा स्थानीय चुनाव सम्पन्न भयो । केही ठाउँमा भएका दु:खद् घटनाबाहेक सबैतिर चुनाव शान्तिपूर्ण रह्यो । जहाँजहाँ मानिसकै हत्यासम्म हुने गरी घटना भयो, त्यो अपूरणीय क्षति हो र त्यसका कारक दोषीहरू सजायको भागीदार बन्नैपर्छ । त्यसो हुन नसके भोलिका दिन अर्को चुनावमा तिनका पक्षलाई मतदाताले सजायँ दिनेछन् र त्यो पक्का छ । जे होस्, सरकार, निर्वाचन आयोग र सबै राजनीतिक दलहरू (संसद्मा प्रतिनिधित्व गर्ने, नयाँ दर्ता भएका र दर्ता हुनै बाँकी) को अथक् प्रयास र सहभागिता सार्थक रह्यो ।

मुख्य कुरा, को कस्ता उम्मेदवारहरू उठे र खासगरी दलहरूले को कस्ता उम्मेदवारहरू उठाए अनि कोसँग कसरी बन्धन र गठबन्धन गरेभन्दा पनि नागरिकहरू आफ्ना जनप्रतिनिधिहरू चुन्नमै रमाए । लगभग तीनचौथाइ मतदाताले मतदान गर्नु ठूलै उपलब्धि हो । यसले देखाउँछ- नागरिकहरू कति आतुर थिए आफ्ना स्थानीय जनप्रतिनिधि चुन्न । यसको अर्थ नागरिकले आफ्नो कर्तव्य र दायित्व पूरा गरे । संविधान कार्यान्वयनको पहिलो कोसेढुंगा बन्न सफल भयो यो चुनाव ।

 

यो निर्वाचनमा केही राम्रा-नराम्रा अनि केही रमाइला-नरमाइला पक्षहरू प्रकट भए । पहिलो, उम्मेदवार बन्न भएका जागिर (विशेषत: प्राध्यापक र शिक्षक) बाट राजीनामा दिएर टिकट पाउन आआफ्ना दल धाए । तीमध्ये केहीले पाएनन् । नपाएकामध्ये केहीले स्वतन्त्र उम्मेदवारी दिए भने केहीले पछिको लागि लगानी ठानेर चित्त बुझाए । कस्तो रहेछ त राजनीतिमा मानिसको सोख, भएको जागिरै छोडेर लाग्न सक्ने । पक्कै पनि जागिरमा भन्दा ठूलो भाग राजनीतिमै भएर होला । हुन सक्छ, कोही बढी भाग पाउनेभन्दा बढी सेवा गर्ने भावले राजनीतिमा आकर्षित भएका । दोस्रो, ठूला दलहरूलाई हम्मेहम्मे भयो, उम्मेदवार छान्न ।

गुट-उपगुट र व्यक्तिवाद छताछुल्ल भयो । गुट-गुटबीच टिकट नै खोसाखोस भए, दलका कार्यालयहरू घेराउ भए । सक्नेले एकलौटी गरे । नेपाली कांग्रेस र नेकपा एमालेले त मनोनयन दर्ता गर्ने दिनको अन्तिम घडीतिर मात्रै काठमाडौं महानगरपालिकाको मेयरको लागि नाम दिन सके । तेस्रो, स्थापित दलहरू प्रमुख राजनीतिक गढहरूमा धर्मराए । तिनलाई विश्वास भएन कि जनता हाम्रो साथमा छन् भन्ने । भन्नैपर्दा, तिनीहरूले आपूmलाई परीक्षण गर्न पनि चाहेनन् ।

त्यसैले आपसबीच बन्धन र गठबन्धनमा लागे । तिनले यो मूल्यांकन गरेनन् कि भोलि आफ्नै मतदाताले त्यसलाई कसरी लिन्छन् भनेर । यसरी गठबन्धन गर्नुको पछाडि केही व्यक्तिगत र पारिवारिक अभीष्टहरू पनि देखिए । कुनैमा त्यो प्रस्ट देखिन्थ्यो भने कुनैमा लुकेको थियो । एउटा बुझ्न नसकेको कुरा के रह्यो भने कुनै गठबन्धन भनाइमा सीमित रह्यो, कार्यगतरूपमा भएन । जस्तै- नेकपा एमाले र राप्रपाको काठमाडौं महानगरपालिकामा मेयर र उपमेयर ।

यो कस्तो किसिमको साँठगाँठ हो, जहाँ राप्रपाले आफ्नो साख गिरायो र एमालेले उपमेयर हाफ्यो । अर्कोतिर, नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको भरतपुर महानगरपालिकामा मेयर र उपमेयरको गठबन्धन, जुन उम्मेदवारी दिनुअघि भइदिएको भए सायद त्यसको प्रभाव बेग्लै पर्न सक्थ्यो । जे होस्, यो गठबन्धनका पक्षमा दुवै दलका शीर्षस्थ नेताहरू, जो क्रमश: वर्तमान प्रधानमन्त्री र हुनेवाला प्रधानमन्त्री पनि हुन्, इमानदारीपूर्वक आफ्नो वचन र कर्मले लागे । दुवैले सँगसँगै एउटै हवाईजहाजमा यात्रा गरेर एउटै मञ्चबाट एकले अर्कोलाई मत मागे । गठबन्धनको नियत जस्तै भए पनि त्यो तहसम्मको कार्यगत एकता सराहनीय मान्नैपर्छ । यो आलेख तयार गर्दासम्म परिणामचाहिँ के हुने हो थाहा छैन ।

कुरा उठाइहालें, नियतको । नियत प्रस्ट छ, माओवादी-केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई आफ्नो छोरी रेणु दाहाललाई मेयरमा जिताउनु छ, त्यसमा कुनै खोट छैन । सबैले आआफ्नै पक्ष लिने हो । यसमा थपिएको छोरीको नाता मात्रै हो । उनी छोरी मात्र होइन, दलको नेता पनि हुन् । तर पनि चितवनजस्तो ठाउँमा दलको लागि मरिमेट्नेले नपाउँदा केहीले चित्त दुखाए होलान् । कसैले चित्त दुखाए पनि त्यसको मलहमपट्टि भइहाल्छ । चुनावको अघिल्लो दिन चितवनमा भएको चुनावी सभामा प्रचण्डले माओवादी-केन्द्रको समर्थनमा उम्मेदवारी फिर्ता लिने कांग्रेसका मेयरका प्रत्याशी दिनेश कोइरालालाई त उचित न्याय दिने भरोसा दिएका छन्, आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने वचन दिएका छन् भने आफ्नै दलकाले नपाउने त कुरै भएन ।

ठिकै छ, प्रचण्डले त आफ्नो छोरीको लागि अरू तीनवटा महानगरपालिका (काठमाडौं, ललितपुर र पोखरा) हाफे रे । कांग्रेसका सभापति शेरबहादुर देउवाले कसको लागि चितवन हाफे त ? उनका त छोरा वा पत्नी उठेका छैनन् । कसको लागि भन्दा मुखैमा आइसकेको प्रधानमन्त्री पदको लागि । भोलि राजनीतिको नयाँ समीकरण बनिहाल्यो भने त प्रधानमन्त्री गयो । राजनीतिमा जे पनि सम्भव छ र जायज हुन्छ ।

यो आलेख तयार गर्दासम्मको चुनावी नतिजा हेर्दा अब नेपाली राजनीतिले नयाँ बाटो लिने स्पष्ट संकेत दिएको छ । कुरा हो, काठमाडौं महानगरपालिकाको मेयरमा पूर्व प्रशासक र आर्किटेक्ट किशोर थापा तथा जुझारु युवा रञ्जु दर्शनाले पाएको अहिलेसम्मको मत । हुन त पञ्चायतकालमा काठमाडौंवासीले तत्कालीन नगरपञ्चायतको प्रधानपञ्चमा गोल्चे सार्कीलाई मत नदिएको होइन । त्यसअघि तत्कालीन राष्ट्रिय पञ्चायतको सदस्यमा नानीमैयाँ दाहाललाई अत्यधिक मत (७० हजारभन्दा बढी) ले नजिताएको होइन । त्यो परिवेश र यो नितान्त फरक छ । अहिलेको मत तिनका योग्यतामा विश्वास र केही गर्छन् भन्ने भरोसामा दिएका हुन् । कुरा त्योभन्दा पनि अब नागरिकहरू भरपर्दा र सक्षम आए भने पुरानै दल भनेर बस्नेवाला छैनन् । कांग्रेस, एमाले र माओवादीले यो बुझ्दा हुन्छ ।

भारतको नयाँदिल्लीमा अरविन्द केजरीवालको आम आदमी पार्टीले पनि यो देखाइसकेको छ भने भर्खरै फ्रान्सको राष्ट्रपतिमा निर्वाचित इमान्युयल म्याक्रोंको नयाँ दलले पनि प्रमाणित गरिसकेको छ । यसो भनिरहँदा नयाँ शक्तिको नाममा आएको डा. बाबुराम भट्टराईको पार्टीको चर्चा अलिकति पनि गरिएन भने अन्याय हुन्छ । यो चुनावमा अहिलेसम्म नयाँ शक्तिको खासै चर्चा परिचर्चा छैन, पाएको मतको आधारमा । यसो हुनुमा दलको नाम नयाँ भए पनि व्यक्तिहरू तिनै पुराना हुन् भन्ने जनतामा परेको हुन सक्छ । अर्थात्, नयाँ बोतलमा पुरानै रक्सी । म त भन्छु, बाबुराम भट्टराईको जग भनेको माओवादी हो । माओवादीभन्दा बाहिर उनको सुरक्षित आधार निर्माण हुन सकेको छैन ।

अन्त्यमा अब कुरा छ, निर्वाचन हुन बाँकी चार प्रदेशको । ती प्रदेशका मतदाता पनि आफ्ना जनप्रतिनिधिहरू चुन्न यसरी नै आतुर छन्, जसरी निर्वाचन सम्पन्न भएका तीन प्रदेशका मतदाताहरू थिए । यो सबैले बुझ्नुपर्छ । दोस्रो चरणको चुनावको लागि मिति तोकिएको छ, तर चुनाव हुने निश्चितता सरकारले दिन सकेको छैन । त्यसमाथि प्रधानमन्त्रीले यही हप्ता राजीनामा दिने भएको छ । राजीनामा दिएपछि बाँकी स्थानीय चुनावसम्म यही सरकार कामचलाउको हैसियतमा रहने हो वा पहिलेको समझदारीअनुरूप कांग्रेसको नेतृत्वमा सरकार बन्ने हो, स्पष्ट छैन । समाचारमा आएअनुसार कामचलाउ सरकारले बजेट ल्याउनेछ । त्यसको अर्थ, बजेट पनि काम चलाउ हुनेछ र चुनावअघि बजेट ल्याउन पाइन्न भन्ने प्रमुख विपक्षी दलको मागलाई आंशिक सम्बोधन हुने देखिन्छ।

यसले यो पनि संकेत गरेको छ कि आउने चुनाव पनि वर्तमान सरकारले कामचलाउकै हैसियतमा गर्नेछ । यसको अर्थ चुनावअघि कांग्रेसको नेतृत्वमा सरकार बन्दैन । यो पनि हुन सक्छ, यही सरकारले चुनावअघि बजेट ल्याउनकै लागि प्रधानमन्त्रीले राजीनामा दिने । त्यो जे भए पनि सत्तारुढ र विपक्षी दलकाबीच कुरा मिले पुग्छ । कुरा त्योभन्दा पनि संविधान संशोधनको सहमति र असहमतिमा छ । कथंकदाचित संविधान संशोधन प्रस्ताव पारित भएन भने मधेसी मोर्चा (अहिले राष्ट्रिय जनता पार्टी, नेपाल) चुनावमा आउन नमान्लान् । चुनाव भएन भने बाँकी चार प्रदेश जनप्रतिनिधिविहीन हुनेछन् । कुनै प्रदेशमा जनप्रतिनिधि हुने कुनैमा नहुने अवस्था मुलुकको लागि स्वस्थकर हुन्न ।

यसको प्रभाव प्रदेश र संघको चुनावमा पर्नेछ । त्यसो हुनु भनेको नेपालको संविधान २०७२ को कार्यान्वयनमा ढिलाइ हुनु हो । जति ढिलाइ हुँदै गयो त्यति संक्रमणकाल लम्बिने हो । त्यसो भयो भने मुलुकले निर्दिष्ट दिशामा गति लिन सक्दैन र नयाँ मोडको सिर्जना हुन सक्छ । त्यो नयाँ मोडले मुलुकलाई कुन दिशामा डोत्याउँछ, अहिल्यै भन्न सकिन्न ।हाइलाइट अहिले जनताले उम्मेदवारका योग्यता र केही गर्छन् भन्ने भरोसाका आधारमा उनीहरूलाई मत दिएका हुन् । कुरा त्योभन्दा पनि अब नागरिकहरू भरपर्दा र सक्षम आए भने पुरानै दल भनेर बस्नेवाला छैनन् । कांग्रेस, एमाले र माओवादीले यो कुरो बुझ्दा हुन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.