ट्रम्पविरुद्ध खनिए आफ्नै दलका सांसद

ट्रम्पविरुद्ध खनिए आफ्नै दलका सांसद

वासिङटन : अमेरिकी राष्ट्रपतिले रुससँग गोप्य जासुसी सूचना चुहाएको समाचार सार्वजनिक भएपछि उहाँको आफ्नै दल रिपब्लिकनका सांसद पनि राष्ट्रपतिविरुद्ध खनिएका छन् ।अमेरिकाको दैनिक वासिङटन पोस्टमा राष्ट्रपति डोनल्ड ट्रम्पले रुसलाई गोप्य सूचनाहरू चुहाएको समाचार प्रकाशित भएको थियो । वासिङटन पोस्टको समाचारपछि अमेरिकाको राजनीतिमा ठूलै खैलाबैला मच्चिएको छ ।

राष्ट्रपति ट्रम्प र कैयौं वरिष्ठ सरकारी अधिकारीहरूले पोस्टको समाचार सत्य नभएको भन्दै ह्वाइट हाउसमा रुसी विदेशमन्त्रीसँगको कुराकानीमा राष्ट्रपतिले यस्तो कुनै सूचना नचुहाएको दाबी गरिरहेका छन् । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा ट्विट गर्दै रुसी विदेशमन्त्री सर्गेई लाभ्रोवसँग कट्टरपन्थी धार्मीक लडाकु समूह इस्लामिक स्टेट (आईएस)को सम्भावित आतंकवादी आक्रमणसम्बन्धमा कुराकानी भएको उल्लेख गर्नुभएको छ ।

तर यो मामिलामा अमेरिकामा तात्तातो बहस सुरु भएको छ र प्रतिपक्षी डेमोक्रेट्स सांसदसँगै राष्ट्रपति ट्रम्पको आफ्नै दल रिपब्लिकनका सांसदले समेत ट्रम्पसँग स्पष्टिकरण मागिरहेका छन् ।डेमोक्रेट नेता चक सुमरले ह्वाइट हाउसमा भएको ट्रम्प-लाभ्रोव बैठकको विस्तृत विवरण सार्वजनिक गर्न माग गर्नुभएको छ ।

सुमरले भन्नुभयो, 'सबै डेमोक्रेट नेताको माग छ- राष्ट्रपतिले त्यो बैठकमा भएका कुराकानीको विवरण सिनेटको इन्टेलिजेन्स कमिटीलाई उपलब्ध गराउनुपर्छ ।' उहाँका अनुसार राष्ट्रपतिले कुनै नाइँनास्ती नगरी बैठकको विवरण तलमाथि नपारी जस्ताको तस्तै सिनेटको कमिटीलाई दिनुपर्ने बताउनुभयो । उहाँल भन्नुभयो, 'राष्ट्रपतिले कतै हाम्रो देशका सुरक्षा र गुप्तचर अभियानको सुरक्षा जोखिममा पार्नुुभएको छ छैन, यो थाहा पाउने अधिकार संसदसँग छ ।'

 

इजरायलले आफूले दिएका गोप्य जानकारी अमेरिकाले रुसलाई दिएका कारणले इजरायल-अमेरिका सम्बन्धमा कुनै असर नपर्ने बताएको छ । अमेरिकाका लागि इजरायली राजदूत रन डर्मरले अमेरिकालाई दिइरहेका गोप्य सूचनासम्बन्धमा इजरायललाई अमेरिकामाथि पूर्ण विश्वास भएको बताउनुभएको छ ।सञ्चारमाध्यमहरूले जुन गोपनीय सूचना रुससँग चुहाएको आरोप ट्रम्पमाथि लागिरहेको छ, ती सूचना इजरायलले अमेरिकालाई दिएकाले ती सूचना रुसलाई दिने अधिकार नभएको उल्लेख गरेका छन् ।

राष्ट्रपति ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार एचआर म्याकमास्टरले रुसलाई गोपनीय सूचना चुहाएको आरोप अस्विकार गर्दै बैठकमा गोपनीय सूचनाको स्रोत वा पाएको तरिकासम्बन्धमा कुनै कुराकानी नभएको दाबी गर्नुभएको छ ।यो मामिलामा सत्तारुढ रिपब्लिकन पार्टीका सांसदसमेत विभाजित भएका छन् । रिपब्लिकन नेता मिच म्याककोनेलले भने यो मामिलालाई बिना कारण ठूलो बनाइएको बताउनुभयो । उहाँले ब्लुमबर्ग टेलिभिजनसँग भन्नुभयो, 'ह्वाइट हाउसमा के भयो भनेर हामीले नौटंकी गर्नुभन्दा योभन्दा महत्वपूर्ण मामिलामा हामीले आफ्नो ध्यान केन्द्रीत गर्नुपर्छ, जस्तोकि कर सुधार र ओबामाकेयरको साटो कुन नयाँ नीति ल्याउने ।'

रिपब्लिकन पार्टीकै अर्का नेता जोन म्याक्केनले भने यो मामिलाले अमेरिकाका सहयोगी र मित्र राष्ट्रहरूका लागि एउटा चेतावनी पनि हो । अब भविष्यमा उनीहरू अमेरिकासँग यस्ता गोपनीय सूचना साटासाट गर्न चाहन्छन् वा चाहँदैनन्-त्यसमा पनि असर पर्नसक्छ ।'रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने अमेरिकी राष्ट्रपति ट्रम्पले दिएका सूचनाबारे जानकारी दिन आफू तयार रहेको बताउनुभएको छ ।

'ट्रम्पले फ्लिनविरुद्धको छानबिन रोक्न आदेश दिनुभयो'

यसैबीच अमेरिकी सञ्चारमाध्यमले राष्ट्रपति डोनल्ड ट्रम्पले पूर्वसुरक्षा सल्लाहकार माइकल फ्लिनविरुद्ध एफबीआईको छानबिन रोक्न गत फेब्रुअरीमा तत्कालीन एफबीआई प्रमुख जेम्स कोमीलाई आदेश दिएको सार्वजनिक गरेका छन् ।एफबीआईका पूर्वनिर्देशक कोमीको एउटा मेमो उद्धृत गर्दै सञ्चारमाध्यमले उहाँसँग राष्ट्रपति ट्रम्पले 'मलाई आशा छ, तपाईंले यो मामिला (छानबिन) रोक्नु हुनेछ' भन्नुभएको उल्लेख गरेका छन् ।

सञ्चारमाध्यमहरूका अनुसार कोमीले यो मेमो राष्ट्रपति ट्रम्पसँगको भेटलगत्तै लेख्नुभएको थियो । ट्रम्प-कोमी भेटको अघिल्लो दिन जनरल फ्लिनले सुरक्षा सल्लाहकार पदबाट राजीनामा दिनुभएको थियो । कोमीले राष्ट्रपति ट्रम्पसँग गरेका सबै भेटघाटको मेमो तयार पारेको बताइएको छ ।

राष्ट्रपति ट्रम्पले गएसाता कोमीलाई एफबीआईको निर्देशकबाट बर्खास्त गर्नुभएको थियो । एफबीआईले राष्ट्रपति ट्रम्पको रुसी राष्ट्रपति पुटिनसँगको सम्बन्धबारे छानबिन गरिरहेको थियो ।राष्ट्रपति कार्यालयले भने वक्तव्य जारी गर्दै सञ्चारमाध्यमका सबै आरोप अस्विकार गरेको छ । राष्ट्रपतिले जनरल फ्लिन देशको सेवा र रक्षा गरेका एक असल अमेरिकी भएको बारम्बार भनेको तर उहाँविरुद्ध छानबिन नगर्न वा रोक्न कोमी वा अरु कसैलाई आदेश नदिएको ह्वाइट हाउसको वक्तव्यमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.