निर्वाचन र मुलुकको भविष्य

निर्वाचन र मुलुकको भविष्य

मुलुकमा २० वर्षपछि भइरहेको स्थानीय तह निर्वाचन (पहिलो चरण) को परिणाम आउने क्रम जारी छ । होला, नहोला भन्ने शंकामै उम्मेदवारको मनोनयन भएपछि निर्वाचनको खास वातावरण बनेको हो । प्रचारको लागि अत्यन्त कम समय भएर पनि ७० प्रतिशतभन्दा बढी मतदान हुन पुग्यो । हतारको व्यवस्थापनबीच कतिपय पक्षमा तयारी र सोच नपुगेको देखियो । यसकारण मतगणनाले सोचिएभन्दा निकै लामो समय लाग्ने अवस्था रह्यो । यस्तोमा पनि जनताले निर्वाचनको समग्र प्रक्रियामा देखाएको चासो र सहभागिता सराहनीय छ ।

Dhurbabahadur-Pradhanनयाँ संविधान बनेपछि त्यसको कार्यान्वयन गर्दै मुलुकलाई संक्रमणकालीन अवस्थाबाट स्थिरता, विकास र समृद्धितर्फ उन्मुख गराउने जिम्मा राजनीतिक शक्तिहरूको हो । उनीहरूको अगुवाइमा हुने राजनीतिक क्रियाकलापमा जनताले साथ दिने हो । वास्तवमा नेपालको राजनीति जति कमजोर र अल्पदृष्टिले ग्रसित भए पनि जनताले ऐनमौकामा दिने सहयोग समर्थन उच्चकोटीको छ । स्थानीय तह निर्वाचनमा यही जनप्रवृत्ति पुनरावृत भएको छ ।

सन्तुलित र समयानुकूल राजनीतिक विश्लेषण गर्दा स्थानीय तह निर्वाचनले अल्पविकसित मुलुक नेपाललाई आधारभूत रूपमै धेरै भलो गर्ने देखिन्छ । स्थानीय निकाय प्रतिनिधिविहीन भएर निस्क्रिय हुँदा मुलुकमा जनस्तरको प्रजातन्त्र नै सुषुप्त भएको थियो, छ । प्रजातन्त्र शक्तिशाली दल र केन्द्रीकृत सत्ताबीचको सम्बन्ध र अन्तरसंघर्षमा सीमित भएको छ । आधारभूत तहमा हुनुपर्ने राज्यका गतिविधि कर्मचारीतन्त्रले थेग्नुपर्दा भ्रष्टाचार बढ्यो । राजनीतिक दलहरूले जनताको लागि 'बिजनेस' नपाउँदा र जवाफदेहिताको आवश्यकता नै नपर्दा कर्मचारीतन्त्रसँग मिलेर राज्यकोषमा मात्रै आँखा लगाउने स्थिति बन्यो । यसले गर्दा अविकास चर्कंदै गयो, असन्तुष्टि चुलिँदै गयो । त्यसैबीच सशस्त्र द्वन्द्वले आम जनमानसलाई विचलित र दिग्भ्रमित बनायो ।

सामान्य कामकाजी मानिस गाउँमै बस्न नसक्ने अवस्था बन्यो । लाखौं युवा बिदेसिए, खेतखेलियान बाँझिए, उद्योगधन्दा सुक्यो । दसक लामो यो नियतिबीच १५ हजार नेपाली आपसी लडाइँमै मारिए । धन्न, शान्तिसम्झौताले यो क्रम त रोक्यो तर त्यसका पनि उपयुक्त विधिहरू अनुशरण गरिएनन् ।द्वन्द्वको जड अविकास हो भन्नेतिर भन्दा पनि परम्परालाई मात्र दोष दिने काम भयो । त्यसको मूल्य समयचक्रसँगै अहिले चुकाइरहनुपरेको छ ।

अनिश्चितताबीच विषय उठान भए पनि सौहार्दपूर्ण ढंगमा सम्पन्न भइरहेको स्थानीय तह निर्वाचनप्रति देखिएको अन्तर्राष्ट्रिय समर्थन एवं छिमेकी मुलुकहरूको सहयोग सरहानीय पक्ष हुन् । नेपालको स्थिरता र विकासमा यति नै समर्थन पर्याप्त छ ।

अनुहार, स्वरूपको परिवर्तनले मात्र नेपाली जनताको जीवनस्तरमा कुनै उल्लेख्य रूपान्तरण देखिएको छैन । त्यसको साटो पहिचानका नाममा द्वेष र विग्रह बढाउने काम भइरहेको छ एवं मुलुकको दीर्घकालीन भविष्यमा ठूला संकट आउन सक्ने संकेत देखिँदैछ । त्यसलाई रोक्न मुलुकको सार्वभौमसत्ता र अखण्डतालाई पहिलो प्राथमिकता बनाएर काम गर्ने परिपाटीतर्फ कमैको ध्यान छ । तात्कालिक सत्ता प्राप्तितर्फको होडले हाम्रो भूमिमा बाह्य स्वार्थ हावी बन्दै गएको छ ।

यी यावत् परिवेशबीच पनि नेपाली जनताले राख्ने आशावादिता गज्जबै छ । नोक्सानी, मूल्यपतन र निराशाको हरेक कालखण्डपछि आउने जुनसुकै सानाठूला प्रजातान्त्रिक अवसरमा जनता यस्तो आशावादिता प्रकट गर्छन् । यसअघि दुईपटकको संविधानसभा निर्वाचनमा समग्रमा जनताको मतादेशको 'प्याट्रन' ले आशवादिता नै झल्काएको थियो । स्थानीय तह निर्वाचन यही हिसाबमा अगाडि बढ्ने निश्चित देखिन्छ ।

सूचना क्रान्तिमा एकसमान मुछिएको वर्तमान दुनियाँमा संस्थापनका कमजोरी लुकिरहन सक्दैनन् र जनताले त्यसको मूल्यांकन उच्च चेतनाबाट गरेको पाइन्छ । विकसित पश्चिमा समाजमा देखिने चुनावी आश्चर्यहरू यसका उदाहरण हुन् । अल्पविकसित देशहरूमा पनि सूचना प्रविधिको पहुँच सरोबर भएका कारण त्यस्ता आश्चर्यहरूको अनुमान गर्न सकिन्छ । स्केलमा फरक पर्ला, तर सामाजिक सञ्जालबाट बढीभन्दा बढी बहुआयामिक अन्तरक्रिया गर्ने युवा पुस्ताले आफ्ना मतभिन्नता देखाइछोड्छन् । यसपटकको स्थानीय तह निर्वाचनमा यो पक्ष द्रटव्य बन्दैछ ।

पहिलो चरणको स्थानीय तह निर्वाचनले निर्माण गर्ने दलीय नेतृत्वको अनुपात यो लेख प्रकाशित हुँदासम्म करिब अनुमान गर्न सकिने अवस्थामा देखिएला । निर्वाचन नतिजाले सालाखाला पुरानै राजनीतिक परिपाटीकै निरन्तरतामा शक्ति बाँडफाँटको स्केललाई थोरै मात्र फरक पार्ला । सहरिया र सचेत समाजमा चलेको नयाँ लहरले राजनीतिक संस्थापनलाई चुनौती दिने काममा कसर बाँकी नराख्ला । त्यसबाट के बुझिनुपर्छ भने स्थानीय तहको अबको पाँच वर्षले राजनीतिक दलहरूको पुरानै संस्कृतिलाई स्वीकृत गर्नेवाला छैन । यस अवधिमा दलहरूले गएका १५ वर्षमा हुन नसकी खात लागेका काम र आकांक्षाहरूलाई सम्बोधन गर्ने चुनौतीको सामना गर्नुपर्नेछ । जुन कर्मचारीतन्त्रमा तहत पाएको सजिलो र लाभसँग कुनै हिसाबले दाँजिन मिल्ने छैन ।

स्थानीय तह निर्वाचन ०४६ यताको प्रजातन्त्रकालको राजनीतिक ग्राफमा दलहरूले पाएको केही दुर्लभ 'क्लाइमेक्स' मा पर्छ, जहाँ उनीहरूको सामथ्र्यको खास परीक्षा हुँदैछ । यतिबेला नयाँ संविधानले सर्वस्वीकार्यको हकमा अझै संघर्ष गर्नुपरेको छ । यो परिवेशमा भएको यो निर्वाचनले मुलुकमा राजनीतिक, सामाजिक तथा आर्थिक थिति बसाल्ने प्रक्रियामा समेत सार्थक भूमिका खेल्न सक्छ । आमजनता वास्तवमा यतिखेर सहभागितामूलक भूमिका र विकासका मूल्यहरूमा एकाएक हुन नपाएर बढी राजनीतिकेन्द्रित भएका छन् ।

त्यसले मूलधारको राजनीतिमाथि चरम मनोवैज्ञानिक दबाब पार्ने काम गरेको छ । अभावमा बढी द्वन्द्व हुनु, बेथितिमा अविश्वास बढनु र गैरजिम्मेवारीपनले प्रगति रोकिनु स्वाभाविक हो ।समाज समृद्ध र सचेत बन्नको लागि समाज स्वयंको मेहनत र राजनीतिक स्तरीकरणबीच अन्योन्याश्रित सम्बन्ध रहन्छ ।

स्थानीय तहका अबका पाँच वर्षलाई आर्थिक र सामाजिक विकासका आंकाक्षाहरूको नजरबाट हेर्ने पक्ष छँदैछ । ती सबैको समष्टि पाँच वर्षको अवधिले हाम्रो राष्ट्रिय चरित्र निर्माणमा पार्ने प्रभाव वा योगदान हो । स्थानीय तहदेखिको सम्पन्नताले हाम्रो राष्ट्रियता बलियो हुने ठोकुवा गर्न सकिन्छ । एक्काईसौं शताब्दीमा राष्ट्रियताको सबैभन्दा ठूलो शत्रु गरिबी र अशिक्षा हो । जनताले चुनेका प्रतिनिधिले जनताको पक्षमा पाँच वर्ष इमानदारीपूर्वक काम गर्नु भनेको रूपान्तरणको लागि काफी छ । यसै पनि नेपालजस्तो अथाह प्राकृतिक स्रोतसाधनले भरिपूर्ण देश सम्पन्न बन्न केही वर्ष लाग्ने हो ।

स्थानीय तह पुनर्संरचनाले यो निर्वाचनलाई निकै रोचक बनाइदिएको छ । विकेन्द्रीकरणको अत्यधिक अभ्यास स्थानीय तहमा हुने देखिन्छ । दूरदराजको एउटा गाउँपालिका सार्वभौम मुलुकको अधिकारसम्पन्न एकाइ बन्न पुगेको छ । आफ्नो भाग्य आफैं बनाउने व्यवस्थापकीय तथा कानुनी अधिकारसमेत गाउँपालिका तथा नगरपालिकालाई दिइएको छ । विकेन्द्रित विकासको यो अवसर सदुपयोग हुँदा कतिपय पहिचानजन्य अस्पष्टता र गुनासासमेत समयक्रममा हट्दै जाने देखिन्छ । हामीकहाँ विकेन्द्रीकरणको यो अभ्यास केही वर्ष पहिल्यै लागू भएको भए सायद आज मुलुक खतरनाक मापदण्डमा आधारित संघीयतातिर उन्मुख हुनुपर्ने नै थिएन ।

जनताले अत्यधिक रुचाएको स्थानीय तह निर्वाचनमा मुख्य दलका पार्टी नेतृत्व तहबाट गैरजिम्मेवारीको पराकाष्ठा प्रकट गर्ने काम भयो । आधारभूत सैद्धान्तिक पक्षलाई समेत नजरअन्दाज गरी तालमेलका खेलमा जनतालाई होम्दा फेरि पनि नेतृत्वप्रति नै अविश्वासको वातावरण पैदा भएको छ । नेता जनताका सेवक हुन कि ठेकेदार हुन् भन्ने प्रश्न यसले उठाएको छ । वास्तवमा निर्वाचनमा जनताले निर्विघ्न र इमानदारीपूर्वक मतदान गर्ने वातावरण बनाउने काम पनि दलहरूकै हो । त्यसो त दलभित्रकै प्रजातन्त्र कतिको बलियो छ भन्ने विषय लामो समयदेखि बहसमा छ ।

अनिश्चितताबीच विषय उठान भए पनि सौहार्दपूर्ण ढंगमा सम्पन्न भइरहेको स्थानीय तह निर्वाचनप्रति देखिएको अन्तर्राष्ट्रिय समर्थन एवं छिमेकी मुलुकहरूको सहयोग सरहानीय पक्ष हुन् । नेपालको स्थिरता र विकासमा यति नै समर्थन पर्याप्त छ । बाँकी सबै त हामी आफैं मिलेर गर्ने हो ।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.