'संगीतकर्मले बाँचेकी छु'
नेपाली संगीत क्षेत्रमा गायिका प्राश्ना शाक्य परिचित नाम हो । गायन र रेडियो उद्घोष दुवै विधामा उनी उत्तिकै परिचित छन् । डेढ दशक लामो संगीत यात्रामा श्रोताको मनमा बसेकी उनले चलचित्रका गीत पनि गाएकी छन् । जुन गीत निकै रुचाइए पनि । 'आवाज' एल्बमले उनको परिचय स्थापित गरिदियो । प्राश्नासँग अन्नपूर्णका लागि विनीता मरहट्टाले गरेको कुराकानी :
पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?
दुईतीनवटा गीतमा आवाज भर्न बाँकी छ । यी डान्सिङ, आइटम र क्लब नम्बर हुन् । अरू केही गीतमा पनि काम भइरहेको छ । बीचमा केही समय सांगीतिक भ्रमण गरेँ ।
सांगीतिक वातावरण कत्तिको उत्साहजनक छ ?
कस्तो गीत कति बेला चल्छ थाहा हुँदैन । श्रोताको रुचिको अनुमान गर्नै सकिँदैन । जोखिम मोलेर गीत निकाल्ने हो । मलाई नयाँ ट्राई गर्न मन पर्छ । अहिलेसम्म फरक गीत पस्किरहेकी छु ।
आम्दानी छैन भन्छन् नि ?
पैसा कमाइएन भने यो क्षेत्रमा टिक्न गाह्रो छ । कसैले धेरै कमाएका छन्, कसैलाई कमाइ नभएर निकै गाह्रो छ । मचाहिँ मध्यममा पर्छु । १५ वर्षदेखि राजधानीमा छु । संगीतले नै बाँचेकी छु । रेडियोमा काम गर्छु, विज्ञापनमा बोल्छु, कार्यक्रममा जान्छु । संगीतसम्बन्धी काम गरेरै बाँचेकी छु ।
स्टेज कार्यक्रम खुब चलेको समय छ, दर्शक श्रोताले कस्ता गीत मन पराउँछन् ?
पहिला दर्शक श्रोताले स्टेज कार्यक्रममा मेलोडियस गीतहरू सुन्न मन पराउँथे । अहिले नाच्ने गीत रुचाउँछन् । हामी नेपाली रमाइलो गर्न खोज्छौं । सुरुसुरुमा मेलोडियस गीत गाए पनि अन्तिममा चाहिँ नचाउनैपर्छ ।
स्वदेश र विदेशका स्टेज कार्यक्रममा श्रोताको रुचिमा के फरक पाउनुभयो ?
स्वदेशमा भएका श्रोताले कसको कुन गीत भनेर थाहा पाएका हुन्छन् । विदेशमा हुनेलाई एकदुईवटा चलेको गीत थाहा भए पनि सबै गीत थाहा हुँदैन । उनीहरू पुराना कलाकारका गीत सुन्न मन पराउँछन् । मलगायत अरू कलाकारले पनि आफ्नो गीतसँगै पुराना कलाकारका गीत गाउँछौं ।