के बाबुआमा कसिंगर हुन् ?
नयाँ पुस्ता सामाजिक मूल्यमान्यता र आदर्शबाट क्रमशः विमुख हुँदैछन् । विशेषगरी ज्येष्ठ नागरिकप्रतिको परम कर्तव्य र जिम्मेवारीबाट बिस्तारै पन्छिने प्रवृत्ति बढेको छ नयाँ पुस्तामा । यही प्रवृत्तिलाई निरुत्साहित गर्न कानुनी झापड हान्ने दाउमा छ, सरकार । आफ्नो आम्दानीको १० प्रतिशत बाबुआमाको नाममा छुट्याउनुपर्ने कानुन ल्याएर ‘ज्येष्ठ नागरिकलाई नबिर्स' भन्न खोज्दैछ सरकारले । यही कानुनले झापड हानेको महसुस गर्न बाध्य हुँदैछ नयाँ पुस्ता । यस्तो कानुन ल्याउनुपर्ने अवस्था आउनु वास्तवमै छोराछोरीका लागि लज्जाको विषय हो र चुनौती पनि ।
वृद्ध बाबुआमालाई छोराछोरीले आवश्यक हेरचाह नगर्ने, बिरामी पर्दा औषधोपचार नगर्ने, राम्रोसँग खानलाउन नदिने, मीठो वचन नबोल्ने र वृद्धा श्रममै लगेर राख्ने प्रवृत्ति बढेपछि वृद्धवृद्धाको जीवनयापनलाई केही हदसम्म भए पनि सुरक्षित बनाउन यस्तो कानुन ल्याउनु परेको पुष्ट्याइँले छोराछोरीको शिर झुकाएको छ । हुन त यो आजको वास्तविकता पनि हो । नयाँ पुस्ता सामाजिक मूल्यमान्यता र आदर्शबाट क्रमशः विमुख हुँदै जानुको परिणतिले यस्तो बाध्यकारी कानुनको आवश्यकतालाई जन्म दिएको हो ।
विद्यमान परिस्थितिलाई दृष्टिगत गर्दा यस्तो कानुनको आवश्यकता पुष्टि पनि हुन्छ । तर, भावना र कर्तव्यलाई पनि कानुनले नै बाँध्नुपर्ने अवस्था आउनु भनेको पक्कै राम्रो होइन । यस अर्थमा यो कानुन बनाउनुपर्ने अवस्था सिर्जना हुनु पक्कै राम्रो होइन । वास्तवमा यस्तो परिस्थिति सिर्जना हुनु भनेको हाम्रो सामाजिक मूल्य, मान्यता र हाम्रो संस्कारमा विचलन आउनु हो । हुन त जन्म दिने, हुर्काउने, बढाउने, पढाउने र समाजमा लायक बन्ने र नायक बन्ने सामथ्र्य दिलाउने बाबुआमाको हेरचाह गर्नका लागि कुनै प्रकारको कानुनको जरुरत नै नपर्नुपर्ने हो । बाबुआमाको हेरचाह गर् भनेर कानुनले भन्नु छोराछोरीको गालामा थप्पड हानेसरह नै हो ।
छोराछोरीले बाबुआमालाई आफ्नो सारा कमाइ खुसी र सुखी राख्न खर्च गरे पनि त्यो थोरै नै हुन्छ । जन्मको ऋणभन्दा ठूलो अरू ऋण हुनै सक्दैन । अरू ऋण तिरे पनि जन्मको ऋण कसैगरी तिर्न सकिँदैन । कुनै पनि आमाले आफूले दिएको जन्म र आफूले पिलाएको दूधको मूल्य कहिल्यै माग्दिनन् । तर, मागिन् भने संसारमा त्योभन्दा ठूलो मूल्य र त्योभन्दा ठूलो ऋण अरू कुनै हुन सक्दैन । यो ऋण सन्तानले कसैगरी पनि चुकाउन सक्दैनन् । यति ठूलो गुणको बदलामा केही नमाग्ने महान् बाबुआमालाई छोराछोरीले जति दिए पनि त्यो कमै हुन्छ । त्यसैले छोराछोरीले आफ्नो कमाइको १० प्रतिशतमात्रै होइन, सम्पूर्ण कमाइ नै बाबुआमालाई सुम्पे पनि त्यो थोरै नै हुन्छ । तर, आफ्नो सन्तानले प्रेमपूर्वक दिएको थोरैले पनि धेरै खुसी हुने बाबुआमाबाट प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सन्तानले भने धेरै नै पाएका हुन्छन् । यो विषयलाई हरेक सन्तानले महसुस र अनुभूत गर्न सक्नुपर्छ । यस्तो महसुस र अनुभूत गर्न सकियो भने बाबुआमाप्रतिको कर्तव्यबाट विमुख हुने सोच भुलेर पनि कहिल्यै आउने छैन ।
बाबुआमा गाईभैंसी हुन् र पाल्नलाई ? अनि कसिंगर हुन् र फाल्नलाई ? बाबुआमालाई पाल्ने र फाल्नेबारे सोच्नु नै महापाप हो भने त्यस्तो गर्नु महाअपराध नै हो ।
अहिले परिस्थिति निकै बदलिइसकेको छ । हिजोकै जस्तो थोरै व्यस्तता अथवा थोरै मेहनतले परिवारको जीवनयापन सहज हुनसक्ने अवस्था छैन । त्यसैले परिवारका आर्थिक दृष्टिले सक्रिय अथवा कामकाजी छोराबुहारी प्रायःजसो समय व्यस्त हुनुपर्ने र धेरैजसो समय आयआर्जनका गतिविधिमा खर्चनुपर्ने बाध्यात्मक परिस्थितिले गर्दा वृद्ध बाबुआमाको हेरचाहमा उति समय दिन नसक्नु स्वाभाविक हो । त्यसमाथि अहिलेको ग्लोबलाइजेसन र मोडर्नाइजेसनको युगमा छोराबुहारी तथा नातिनातिनीको आधुनिक जीवनशैलीले गर्दा परिवारका वृद्ध बाबुआमा स्वयं उपेक्षित हुनुपर्ने अवस्था पनि छ । व्यस्त जीवनशैलीकै कारण वृद्ध बाबुआमाले पहिलाझैं अहिले पनि छोराबुहारीले आफूलाई समय दिऊन्, आफ्नो खानपान र स्वास्थ्य अवस्थाबारे चासो लिइदिऊन् भन्ने अपेक्षा राख्नु पनि केही हदसम्म अस्वाभाविक र असान्दर्भिक पनि लाग्छ । हिजोका दिनमा पो दिनभरि खेतबारीको काम गरे पनि साँझ परेपछि घरमा आएर वृद्ध बाबुआमासँगै बसेर खाने, पिउने, दुःखसुखका भलाकुसारी गर्ने समय हुन्थ्यो । वृद्ध बाबुआमाले पनि दिनभरि नातिनातिनी स्याहारिदिन्थे । नातिनातिनी पनि हजुरबा हजुरआमासँगै रमाउँथे । उनीहरूको खेलकुद र मनोरञ्जनका अरू साधन हुँदैनथे । हजुरबा हजुरआमाले सुनाउने परीकथा र नीतिकथा नै उनीहरूको मनोरञ्जनको आधार थियो । अनि वृद्ध हजुरबा हजुरआमा पनि नातिनातिनीसँगै बस्न पाउँदा एक्लो र पट्यार महसुस गर्दैनथे ।
आज परिस्थिति निकै बदलिएको छ । कामको प्रकृति बदलिएको छ । व्यवहार र संस्कृति बदलिएको छ । छोराबुहारी रोजगारीका सिलसिलामा बिहानैदेखि घरबाट निस्कनुपर्ने अवस्था छ । कतिपयको त घरै छोडेर सहरमा डेरा गरी बस्नुपर्न अवस्था पनि छ । कतिपयलाई चाहिँ देशै छोडेर बिदेसिनुपर्ने बाध्यता पनि छ । अनि नातिनातिनी पनि अध्ययनको सिलसिलामा बिहानैदेखि निस्कने अथवा सहरमा बाबुआमासँगै बस्नुपर्ने अवस्था छ । यसो हुँदा परिवारका वृद्ध बाबुआमाहरू घरमा एक्लै बस्नुपर्ने अवस्था छ । यसले गर्दा वृद्ध बाबुआमाले पट्यार मान्नुपर्ने र एक्लो महसुस गर्नुपर्ने अवस्था छ । बदलिँदो परिस्थितिअनुसार आइपरेको यस्तो परिस्थितिजन्य बाध्यताले पनि संयुक्त परिवार एकल परिवारमा परिणत हुने अवस्था सिर्जना भएको छ । तर, यसको अर्थ यो होइन कि यसरी कार्यव्यस्तता र व्यस्त जीवनशैलीकै कारण परिवारका वृद्ध बाबुआमा उपेक्षित हुनुपर्छ ।
कर्तब्यवोध छ भने जतिसुकै व्यस्त जीवनशैली भए पनि वृद्ध बाबुआमाको हेरचाहको व्यवस्थापन गर्नुपर्छ र गर्न पनि सकिन्छ । कर्तव्यबाट विमुख हुने प्रवृत्तिले गर्दामात्रै परिवारका ज्येष्ठ नागरिकले उपेक्षित जीवनयापन गर्नुपर्ने अवस्था सिर्जना भएको हो । छोराछोरी आफ्नो कर्तब्यबाट च्युत हुनुको परिणति नै वृद्ध बाबुआमाको जीवन असुरक्षित र दुःखदायी हुनु हो । छोराछोरीले आफ्ना वृद्ध बाबुआमाप्रति अनिवार्य निर्वाह गर्नैपर्ने भूमिकालाई बेवास्ता गरेपछि र नातिपुस्तासमेत आफ्ना वृद्ध हजुरबा हजुरआमाबाट विमुख बनेपछि परिवारमा वृद्धवृद्धाको जीवनयापन असुरक्षित र अमर्यादित बन्न पुगेको हो।
बदलिँदो परिस्थिति र सूचनाप्रविधिको विकासअनुसार ज्येष्ठ नागरिकहरू अपडेट हुन नसकेको कारणले पनि स्वयं ज्येष्ठ नागरिकहरू नै प्रभावित हुनुपर्ने अवस्था छ । ज्येष्ठ नागरिकहरूको सोचमा समयअनुसार परिवर्तन हुन नसक्नु र सूचनाप्रविधिको प्रयोगमा रमेको पुस्ताले त्यो पुरानो सोचलाई उचित ढंगले सम्बोधन गर्ने प्रयत्न गर्न नसक्नुले बीचमा केही ग्याप सिर्जना भएको छ । यसलाई पुस्तान्तरणको समस्याको रूपमा पनि लिने गरिन्छ । सासूससुराको सामु घुम्टोले मुख छोपेर बोल्ने संस्कार पार गरेका सासू र त्यस्तो संस्कारलाई पालन गर्न नसक्ने र सासूलाई हाई हेल्लो गर्ने संस्कारमा हुर्केका बुहारीबीचको ग्यापले पनि असमझदारी उत्पन्न भई अन्ततः एकल परिवारप्रति आकर्षण बढेको छ । यसले गर्दा वृद्ध बाबुआमाले सन्तानबाट पाउनुपर्ने नैसर्गिक सेवासु श्रुषाबाट वञ्चित हुँदैछन् ।
पछिल्लो समय नितान्त व्यक्तिवादी सोचको विकासले गर्दा व्यक्तिगत फाइदा र बेफाइदाका बारेमा मात्रै बढी सजग र सचेत हुने प्रवृत्तिको पनि विकास भएको छ । यसले गर्दा परिवारमा दाजुभाइबीच पनि वृद्ध बाबुआमालाई कसले पाल्ने भन्ने समस्या उत्पन्न हुँदै गएको छ । विशेषगरी बाबुआमाबाट सम्पत्ति हात लागिसकेपछि बाबुआमालाई कसले पाल्ने भन्ने विषयमा दाजुभाइबीच यस्तो समस्या उत्पन्न हुने गरेको छ ।
यद्यपि यो समस्या भनेको कर्तव्यबाट च्यूत हुनुको उपजमात्रै हो । बाबुआमा गाईभैंसी हुन् र पाल्नलाई ? अनि कसिंगर हुन् र फाल्नलाई ? गर्भको पीडा सहेर जन्म दिने र भनिनसक्नु दुःखकष्ट सहेर सन्तानलाई हुर्काउने बढाउने बाबुआमालाई पाल्ने र फाल्ने कुरा नै फाल्तु हो । बाबुआमालाई पाल्ने र फाल्नेबारे सोच्नु नै महापाप हो भने त्यस्तो गर्नु महाअपराध नै हो । त्यस्तो गर्ने सन्तानले नैतिक रूपमै दण्डित हुनुपर्छ भने कानुनले पनि दण्डित गर्ने प्रावधान हुनुपर्छ ।
बाबुआमालाई पाल्ने होइन, बाबुआमासँग बस्ने हो अथवा आफूसँगै राख्ने हो । अनि बाबुआमालाई फाल्ने होइन, भगवान् सम्झेर पूजा गर्ने हो । सन्तानका लागि आफ्ना बाबुआमा भगवान् नै हुन् । त्यसैले बाबुआमालाई पाल्ने र फाल्ने होइन, बाबुआमासँगै बसेका छौं भनेर गर्व गर्ने परिस्थितिको सिर्जनामा समाजले प्रेरक भूमिका निर्वाह गर्न सक्नुपर्छ । बाबुआमासँगै बस्न पाउनु सौभाग्य पनि हो । त्यसैले बाबुआमाको लामो आयुका लागि भगवान्सँग प्रार्थना गर्नुपर्छ । बाबुआमासँग छुट्टिएर आनन्दले बसौं भनेर सोच्ने होइन, बाबुआमासँगै बसेर गर्वले बाँचौं र बाबुआमालाई पनि आनन्दले बाँच्न दिऔं भन्ने सोचको विकास गर्नुपर्छ । भुल्नै नसकिने तथ्य के हो भने जसले बाबुआमालाई आदर, सम्मान र श्रद्धा गर्दछ ऊ आफैं पनि सम्मानित भइरहेको हुन्छ ।
सामाजिक मूल्य र मान्यतामा आएको विचलनसँगै ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा पनि चुनौतीपूर्ण बन्दै गएकाले ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा हेतु ‘ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३' नै बनेको छ । यो ऐनले ‘ज्येष्ठ नागरिकलाई सम्मान गर्नु सबैको कर्तव्य हुनेछ' भनेको छ । यसैगरी ऐनको दफा ४ मा ‘ज्येष्ठ नागरिकको पालनपोषण तथा हेरचाह' शीर्षकमा ज्येष्ठ नागरिकको पालनपोषण र हेरचाह सम्बन्धमा विभिन्न व्यवस्था गरिएका छन् । तर, ऐनले व्यवस्था गरेअनुसार प्रभावकारी कार्यान्वयन हुन नसक्दा ज्येष्ठ नागरिकहरूले पूर्ण रूपमा सुरक्षित महसुस गर्न भने पाएका छैनन् । ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाका लागि ऐनले बाध्य पार्नुपर्ने अथवा कर्तव्यबोध गराउनुपर्ने आवश्यकता नहुनुपर्ने हो । तर, मानिसले यही कर्तव्यबोध गर्न नसक्नाले नै ऐनको जरुरत परेको हो ।
संस्कृतिविद् सत्यमोहन जोशीले भनेझैं बुढेसकालमा दुःख नपाउनु नै रामराज्य हो । यस्तो रामराज्य बनाउनमा परिवारका सदस्यकै मुख्य भूमिका हुन्छ, विशेषगरी युवापुस्ताको । हामी बर्सेनि हजारौंको संख्यामा केयर गिभरका रूपमा विदेश गई अर्काका बाबुआमालाई स्याहार्न तयार छौं भने आफूलाई जन्म दिने बाबुआमालाई स्याहार्न किन तयार नहुने ? युवापुस्ताले सोच्नैपर्ने विषय हो यो ।
ज्येष्ठ नागरिकलाई सम्मान गर्ने हाम्रो परम्परा नै छ । सानालाई माया र प्रेम गर्नुपर्छ अनि ठूलालाई आदर र सम्मान गर्नुपर्छ भन्ने मान्यता नै हाम्रो सामाजिकीकरणको मूल विशेषता पनि हो । यही विशेषतासहितको सामाजिकीकरणलाई निरन्तरता दिन र हाम्रो वैदिक परम्परालाई कायम राख्न सक्यौं भने कुनै पनि घरका वृद्ध बाबुआमाले दुखी जीवनयापन गर्नुपर्ने छैन । आधुनिक युगका छोराछोरीले प्राविधिक मेसिनजस्तो नबनेर साँच्चै मानिसजस्तो भएर व्यवहार गर्ने हो भने पनि वृद्ध बाबुआमाको जीवनयापन सहज र सुखी हुन्छ र कुनै पनि घरका वृद्ध बाबुआमाले आँसुसँग भातको गाँस निल्नुपर्ने छैन र रोएर र पीडा सहेर बाँच्नुपर्ने छैन ।
आधुनिक प्रविधिले दिएको सुविधा उपभोगमै रमाउने नाति पुस्ताले पनि हजुरबा पुस्तालाई ख्याल गर्ने र सम्मान गर्ने अनि उनीहरूबाट जीवनोपयोगी ज्ञान सिक्ने हो भने सामाजिक मूल्य र मान्यताको संरक्षण हुन्छ र समाजमा खराब आचरण र अनुशासनहीनतामा पनि कमी आउँछ ।
ऐनकानुन र नियमावली बनाएर लागू गर्दैमा मात्र ज्येष्ठ नागरिकको कल्याण हुन सक्दैन । प्रथमतः घरैबाट ज्येष्ठ नागरिकले यथेष्ट सेवासु श्रुषा र आदरसम्मान पाउने वातावरण सिर्जना हुनुपर्छ । यसका लागि पनि युवापुस्ताकै अगुवाइ अपेक्षित छ । वृद्धा श्रम र वृद्ध स्याहार केन्द्र तपसिलका कुरा हुन् र विकल्पका कुरामात्रै हुन्, अनिवार्य होइनन् । यद्यपि ज्येष्ठ नागरिकको दीर्घकालीन सामाजिक सुरक्षाका लागि भने नीतिगत रूपमा राज्यले आवश्यक व्यवस्था गरी लागू गर्नुपर्छ । अनिमात्रै सबै ज्येष्ठ नागरिकको जीवनयापन सुरक्षित र मर्यादित हुनेछ र बाबुआमालाई नहेरेको भनेर कुनै छोराबुहारीलाई कानुनले थप्पड हान्नुपर्ने छैन ।