मोनिकाको हत्या
एकोहोरो चिच्याउँदै थिए, भूतपूर्व सेना रोहित गुरुङ, 'प्लिज नीलिमा, यसरी नमार न मेरी मोनिकालाई । उसले तिम्रो के बिगारिदिएकी छ र आखिर ! प्लिज, मेरो बिन्ती । छाडिदेऊ उसलाई ।'श्रीमती नीलिमा गुरुङले मोनिकाको घाँटी छिनाइन् । उनले कम्मर पनि छिनाइन् । खुट्टा पनि टुक्र्याइन् । एकपछि अर्को गर्दै हातहरूलाई पनि अलग पारिन् शरीरबाट ।नीलिमा यति बेला रिसले काँपिरहेकी थिइन् । भन्दै थिइन्, 'मेरोअगाडि सौता हाल्ने ! म तँलाई पनि टुक्राटुक्रा पार्छु ।'
क्षणभरमै आफ्नी सौतालाई टुक्र्याएकी नीलिमा यति बेला रोहितलाई टुक्र्याउने रूपमा थिइन् ।रोहितले नीलिमालाई अर्कै रूपमा देखे । आफ्नोअगाडि काल आएको महसुस गरे । अनि रोहित भाग्न थाले । भाग्ने क्रममा आँगनको पेटीमा अल्झेर लडे ।रोहितलाई नीलिमाले प्रहार गरिन् । रोहितले आफूलाई बचाउने क्रममा नांगो खुकुरी समाते हातले । गहिरोसँग काटियो उनको हत्केला । रगतको धारा बग्न थाल्यो । उनी उठेर आँगनको वल्लो छेउ र पल्लो छेउ दौडिरहे।
छिमेकीहरू बचाउन आए । खुकुरी खोस्न खोज्दा एकजना छिमेकीको पनि हातमा चोट लाग्यो ।
टोलवासीले प्रहरीलाई बोलाए । पाँच सय मिटर पर थियो प्रहरी प्रभाग । एकछिनमै प्रहरी भ्यान आयो ।
हातमा खुकुरी लिएर आँगनमा उभिएकी थिइन् नीलिमा । प्रहरी देखेपछि खुकुरी भुइँमा फाल्दै थचक्क बसिन् । काठमाडौं शान्तिनगरको घटना थियो त्यो । क्षणभरमै टोलमा चर्चा पायो घटनाले । वल्लो घर, पल्लो घरका मानिसको भीड जम्यो ।
आँगनमा मोनिकाको शरीरको टुक्रा यत्रतत्र छरिएका थिए । रोहितको हत्केला चिरिएको थियो । छिमेकीको हात पनि खुकुरीले केही काटिएको थियो ।
रगत यत्रतत्र बगेको थियो । रमिते थिए सबै । भएको के हो ? पत्तो पाएका थिएनन् धेरैले । मोनिकाको शरीरको टुक्राको फोटो खिच्यो प्रहरीले । ती टुक्रालाई प्याक गर्यो । उपचारका लागि नजिकको अस्पताल पठाइयो रोहितलाई ।
बानेश्वर हेर्ने महानगरीय प्रहरी प्रभाग, मीनभवन ल्याइयो नीलिमालाई नांगो खुकुरीसहित ।
प्रहरी नायब निरीक्षकद्वारा बयान लिन थालियो । सोधपुछ सुरु भयो ।
'नीलिमाजी ! अघि हात काटिएका व्यक्ति तपाईंको श्रीमान् हो ? '
'हो ।'
'उहाँलाई खुकुरी प्रहार गर्नुको कारण ? '
'किन नकाट्नु त ? मेरो अगाडि सौता ल्याएर सुताएपछि । तपाईंको घरमा तपाईंकी श्रीमतीले पनि यस्तै काम गरिन् भने तपार्इं बाँकी राख्नुहुन्छ त ? '
'तर मान्छे मार्ने काम नै त गर्नु हुँदैन नि !'
'लोग्नेले सौता ल्याएर घोडा चढेपछि रमिता हेरेर बस्नु त ? कि ठीक गरिस् भनेर स्याबासी दिनु ? '
'त्यो त हो । उहाँले त्यसो गर्न नहुने हो । उहाँविरुद्ध कानुनी कारबाही पनि त गर्न सक्नुहुन्थ्यो नि, तपाईंले प्रहरीलाई खबर गरेर !'
'त्यति गर्न कसलाई फुर्सद छ र ? '
यसैबीच रोहित पनि हातमा पट्टी बाँधेर त्यहाँ आइपुगे । उनीसँग पनि प्रहरीले सोधपुछ सुरु गर्यो ।
' श्रीमतीकै अगाडि तपाईंले पनि अर्की महिलासँग यौनसम्बन्ध राख्नुभयो रे नि । कुरा सत्य हो ? '
'हो सर ।'
'यसो गर्नु त कानुनी अपराध हो । सामाजिक दृष्टिकोणले पनि राम्रो होइन ।'
'पाँच वर्ष भयो मसँग स्वास्नी नसुतेको । के गर्नु त ? मन हुँदैन र मेरोचाहिँ ? '
नीलिमा च्याँट्ठिइन्, 'मन हुन्छ भन्दैमा मनपरी, जे पनि गर्न पाइन्छ त सर ! लौ भन्नुस् त । तपाईं यहाँ हुनुहुन्छ । तपाईंकी श्रीमती कतै हुनुहुन्छ होला । उहाँलाई मन लाग्यो भन्दैमा तपाईं हुँदाहुँदै परपुरुष ल्याएर सुत्न मिल्छ त ? '
'त्यो त मिल्दैन ।'
'त्यसैले मैले गल्ती गरेको छैन । मलाई बेकारमा तपार्इंहरूले यहाँ ल्याउनुभयो । अब म घर जान्छु ।'
'कहाँको घर जाने भन्या ! इन्स्पेक्टर साब ! यसलाई ठिँगुरामा हाल्नुस् त खुरुक्क । यो हत्यारा हो । यसलाई जेलसजाय हुनुपर्छ ।'
उनीहरूलाई मिलाउने कोसिस गर्यो प्रहरीले । तर, नीलिमालाई सजाय दिलाउने अड्डी कस्यो रोहितले ।
घरको झगडा घरमै मिलाउन प्रहरीले अनुरोध गर्यो । अब यस्तो नगर्न नीलिमालाई सम्झाइयो । उनलाई छाडिदियो प्रहरीले ।
तर, रोहित किन चुप बस्थे र ! उनले न्यायका लागि जिल्ला अदालत काठमाडौंमा मुद्दा ठोके । महानगरीय प्रहरी प्रभाग बानेश्वरविरुद्ध । हत्यारा दाबी गर्दै श्रीमती नीलिमा गुरुङविरुद्ध पनि ।
रोहितको वादी मुद्दा बन्यो । उनले सरकारी वकिल पाए ।
नीलिमा यो मुद्दामा प्रतिवादी बनिन् ।
छोरो रोनित अस्ट्रेलियामा थियो । नीलिमाले यो घटनाबारे जानकारी गराइन् रोनितलाई ।
रोनितले बुबा रोहितलाई सम्झायो । तर, रोहितले मुद्दा फिर्ता लिन मानेनन् । आफूले न्याय पाउनुपर्ने अडान बारम्बार दोहोर्याए ।
अन्त्यमा उनीहरू मुद्दा लड्ने नै भए । वकिल राख्न रोनितसँग पैसा मागिन् आमाले । उसले आवश्यक पैसा पठाइदियो । आमाले मुद्दाका लागि वकिल तयार गरिन् ।
आखिर घर त एउटै थियो नीलिमा र रोहितको । यी दुई एउटै घरमा झगडिया भएर बसे । एउटै छानामुनि बस्थे । तैपनि बोलचाल हुन छाड्यो ।
श्रीमती नीलिमा गुरुङले मोनिकाको घाँटी छिनाइन् । उनले कम्मर पनि छिनाइन् । खुट्टा पनि टुक्र्याइन् । एकपछि अर्को गर्दै हातहरूलाई पनि अलग पारिन् शरीरबाट ।
अलग भयो भान्सा । अलग भयो बेडरुम पनि । वास्ता नै गर्न छाडे एकले अर्कालाई ।
यसै क्रममा १८ दिनपछि मुद्दाको पालो आयो । सरकारी वकिलले आफ्नो भनाइ राख्यो ।
' श्रीमान्, प्रमाण हेर्दा नीलिमा गुरुङले मोनिकाको हत्या गरेको देखिन्छ । निजले ज्यान मार्ने उद्देश्यले आफ्ना श्रीमान् रोहित गुरुङमाथि पनि खुकुरी प्रहार गरेको देखिन्छ । अभियुक्त नीलिमा गुरुङलाई कानुनबमोजिम सजाय हुनुपर्यो ।'
प्रतिवादी वकिलको बोल्ने पालो आयो । ती वकिलले आफ्नो भनाइ राखे, ' श्रीमान् ! श्रीमती नीलिमा गुरुङ हत्यारा होइनन् । उनले कसैको पनि हत्या गरेकी छैनन् । उनले हत्या गरेको मोनिकाको मृत शरीर कहाँ राखिएको छ ? पहिला त्यो प्रमाण ल्याएर देखाउन म अनुरोध गर्छु ? '
मोनिकाको हत्या भएको प्रमाण पेस गर्न सो इजलासले प्रहरीलाई आदेश दियो । अर्को दिन फेरि बहस सुरु भयो । अदालतको आदेश प्रहरीले पालना गर्यो ।
वादी वकिलको चाहनाबमोजिम इजलासमै प्रहरीले मोनिकाको लास ल्यायो । प्रहरीले बोराबाट लास खन्यायो । काटेर टुक्र्याइएका हात, खुट्टा, टाउको, जीउका टुक्राहरू भुइँमा खन्याइए । त्यहाँ भएका सबैजना गलल हाँसे।
प्रतिवादी वकिलले व्यंग्य गर्दै भने, 'मोनिका कुनै मानिस होइन । ऊ रबरको महिलारूपी पुत्ला हो । आफ्नो घरमा आफ्नैअगाडि रबरको महिला ल्याउँछ आफ्नो श्रीमान्ले । अनि आफ्नै अगाडि सर्वांग हुन्छ । त्यो रबरको पुत्लारूपी मोनिकासँग सहबास गर्छ । यस्तो दृश्य कुनचाहिँ नेपाली महिलालाई मन पर्छ ? त्यसैले नीलिमा गुरुङले त्यो रबरको पुत्ला काट्नु कुनै अपराध होइन । मेरो क्लाइन्ट नीलिमा गुरुङ बेकसुर भएकाले उहाँलाई निर्दोष घोषणा गर्न म श्रीमान्समक्ष निवेदन गर्छु ।'
न्यायाधीशले रोहित गुरुङलाई आफ्नो भनाइ राख्ने अवसर दिए । रोहित बयानका लागि कठघरामा उभिए ।
' श्रीमान् ! मेरी श्रीमतीसँग मेरो शारीरिक सम्बन्ध नभएको पाँच वर्ष भयो । उनी मसँग सम्बन्धविच्छेद पनि गर्न चाहँदिनन् । यसो भन्दैमा मैले आफ्नो चाहना त मार्नुभएन नि ! त्यही भएर मैले मोनिकालाई विदेशबाट झिकाएको हुँ । मोनिकाले मलाई यौनसुख दिएकी छ । तर, मोनिकाको हत्या भयो । मेरो पनि हत्याको प्रयास भयो । न्याय पाऊँ श्रीमान् ।'
एकछिन रोकिएका रोहित कठघराबाट बाहिरिनुको सट्टा फेरि बोल्न थाले, 'आफ्नी पत्नी र सन्तानको सुखी जीवनका लागि मैले के गरिनँ ? परिवारबाट टाढा रहेर, यौनचाहना मारेर । आफ्नो सारा जोबन विदेशमा बिताएको छु । म रहरले होइन, बाध्यताले बिदेसिएको हुँ । भारतीय सेनामा काम गरेको हुँ । मजस्ता लाखौं नेपाली विदेशमा छन् । मजस्ता पुरुषले आफ्नो यौनचाहना सुकाएर सारा जीवन रोजगारीका लागि दिएका छौं । अवकाशप्राप्त जीवनमा भए पनि । हामीले यौन चाहना पूरा गर्न पाउनुपर्छ । श्रीमान् न्याय पाऊँ । या त मैले अर्की श्रीमती विवाह गर्न पाऊँ । या त मलाई क्षतिपूर्तिका लागि अर्की मोनिका विदेशबाट मगाइदिनुपर्यो । म अन्यायमा परेको छु हजुर । न्याय माग्छु ।'
यति बेला रोहित गुरुङका आँखा रसाएका थिए । आफ्नो खुसी र सुख श्रीमतीले नचाहेकोमा उनलाई दुःख लागेको थियो ।यसैगरी नीलिमा गुरुङलाई पनि आफ्नो सफाइको अवसर न्यायाधीशद्वारा दिइयो । नीलिमा कठघरमा उभिइन् । उनले निकै भावुक भएर आफ्नो भनाइ राख्न थालिन्, ' श्रीमान्ज्यू ! मेरा श्रीमान् रोहित गुरुङ भारतीय सेनाको जमदारबाट रिटाएर भएको दुई महिनामात्र भयो । हाम्रो बिहे भएको ३२ वर्ष भयो । यो ३२ वर्षमा हामी गनेर सय रात पनि सँगै सुतेनांै होला । मलाई पनि श्रीमान्सँग सुत्ने चाहना हुन्थ्यो । तर, उहाँ सधैं भारतको गोर्खा राइफल्समा हुनुहुन्थ्यो । यता मैले आफ्नो चाहना सधैं मारेँ । कोही परपुरुषलाई पनि यस्तो दृष्टिले हेरिनँ ।'
उनी एकछिन भक्कानिएर रोइन् । न्यायाधीशले नीलिमालाई संयमित हुँदै आफ्नो भनाइ निरन्तर राख्नुस् भने ।
आँसु पुछ्दै उनी बोल्न थालिन्, 'मैले आफ्ना चाहना धेरै नै दबाएँ । यतिसम्म दबाएँ कि त्यस्तो चाहना नै हराउँदै गयो । केही वर्ष यताबाट मलाई यस्तो चाहना नै आउँदैन । यसअघि उहाँलाई जहिले पनि जागिरमात्र चाहियो । कहिल्यै यो स्वास्नी चाहिएन । आज जागिरबाट अवकाश पाएपछि बल्ल स्वास्नी चाहियो । स्वास्नी त म छँदै छु नि । उहाँलाई स्वास्नीको बैंस चाहियो । मलाई त्यस्तो चाहना नै हुँदैन । अनि मैले कसरी उहाँलाई सन्तुष्ट पारूँ । मैले ३२ वर्ष आफ्नो चाहना मारेँ । आफूलाई सुकाएँ । उहाँले यसअघि मेरो चाहना कहिल्यै बझ्नुभएन । घर आउँदा पनि सधैं रममा मात्तिएर एक्लै सुत्नुहुन्थ्यो । अहिले बुढेसकालमा, उहाँलाई मेरो बैंस चाहिने । ६२ वर्ष पुगेको मेरा श्रीमान्ले केही वर्ष अरू खप्दा के फरक पथ्र्यो ? छोराबुहारी, नातिनातिना भइसकेको मान्छे ! यस्तो बेइज्जती काम गर्ने ? '
नीलिमाको फेरि आँखा रसायो । आँसु पुछ्दै उनले भनिन्, 'पत्नीलाई ३२ वर्षसम्म श्रीमान्को सुख दिन नसक्ने । अब ५२ वर्ष पुगेकी यो स्वास्नीसँग बैंसको जस्तो चाहना खोज्ने ? इनारमा पानी भए पो पानी आउँछ । पानी नभएको इनारमा जबर्जस्ती बाल्टिन डुबाएर कहाँको पानी आउँछ ? म सुकेको इनार भइसकेकी छु । त्यसैले मबाट त्यस्तो काम हुँदैन भन्दा मलाई देखाउन उहाँले त्यस्तो हर्कत गर्नुभएको हो ।'
फेरि आँखामा आँसु भरियो । पुछ्दै नीलिमाले भनिन्, 'मैले कसैको हत्या गरेको छैन । त्यो रबरको पुत्ला काटेकी हुँ । उहाँले मेरो हातबाट खुकुरी तान्दा उहाँको हत्केला काटिएको हो । मैले उहाँको हत्या गर्न खोजेको होइन । मैले कसैको पनि हत्या गरेको छैन ।'सरकारी वकिलले रोहित गुरुङको भनाइलाई प्रस्ट पार्दै भने, 'मानिसको नजरमा यो रबरको पुत्ला होला । रोहितको नजरमा यी मोनिका हुन् । मोनिकालाई टुक्राटुक्रा पारेर अभियुक्त नीलिमा गुरुङद्वारा काटिएको छ । घरमा श्रीमती हुँदाहुँदै अर्की नारीसँग विवाह गर्न कानुनले रोहित गुरुङलाई रोकेको छ । उनलाई श्रीमतीले पनि पत्नीसुख दिन सकेकी छैनन् ।'
'तर श्रीमान् रबरको पुत्लालाई आफ्नो कोठामा ल्याएर रोहित गुरुङले आफ्नो यौन चाहना पूरा गर्नु त कानुनी अपराध पक्कै पनि होइन । रबरको पुत्लासँग यौन चाहना पूरा गर्न नपाइने त हाम्रो कानुनमा लेखेको छैन । फेरि समाजमा अरूलाई असर नपरोस्, यौन सुखभोगका मान अधिकार पनि हनन नहोस् भनेर आजकाल यौन सुखभोग गर्न महिला र पुरुषहरूका लागि छुट्टाछुट्टै यस्ता मानवरूपी रबरका पुत्ला बनाइएका हुन् । आखिर रोहितले मोनिकालाई राख्नु उनको अधिकार हुँदाहुँदै त्यसलाई श्रीमती नीलिमा गुरुङद्वारा टुक्राटुक्रा पारेर काट्ने, अंगभंग पार्ने काम भएको छ । त्यसैले श्रीमान् रोहित गुरुङलाई न्याय दिलाउन र निज श्रीमती नीलिमा गुरुङलाई कारबाही गर्न यो आदलतसामु अनुरोध गर्छु ।'
नीलिमाको पक्षबाट उनका वकिलले आफ्ना भनाइ राख्ने क्रममा भने, ' श्रीमान् ! कानुनी दृष्टिकोणले नीलिमा गुरुङ निर्दोष देखिन्छ । मुलुकी ऐनको करणीसम्बन्धी महलमा अप्राकृतिक करणीलाई पनि अपराध मानिएको छ । श्रीमान् रोहित गुरुङले मोनिका भनेर दाबी गरेको यो टुक्रा पारिएका पुत्ला ठ्याक्कै महिला देखिने, महिलाकै जस्तो स्तन, योनीसमेत भए पनि यो आखिर रबर हो । यो रबरको पुत्लासँग गरेको यौनसम्बन्ध मुलुकी ऐनको करणीसम्बन्धी महलको व्याख्याअनुसार अप्राकृतिक यौनसम्बन्ध अर्थात् करणी हो । यस्तो करणी गरेर निज श्रीमान् रोहित गुरुङले पतिव्रता आफ्नी पत्नी नीलिमा गुरुङमाथि मानहानिमात्र गरेका छैनन्, श्रीमती नीलिमाको प्रतिष्ठा, सम्मान र इज्जतमा पनि बाधा पुर्याएका छन् । उनलाई मानसिक तनाव दिएका छन् । यो यौन विकृति पनि हो ।'
एकछिन रोकिएर ती वकिलले फेरि भने, 'त्यसैले, नीलिमा गुरुङले यो रबरको पुत्ला काट्नु अपराध होइन श्रीमान् । यसरी निज श्रीमान् रोहित गुरुङबाट अप्राकृतिक करणी गरेर हाम्रोजस्तो पूर्वीय समाजमा यौन विकृति ल्याउने काम भएको छ । यो सामाजिक अपराध पनि हो । यो आफैंमा यौन अपराध नै हो । त्यसैले श्रीमती नीलिमा गुरुङलाई निर्दोष घोषणा गर्दै अप्राकृतिक करणी तथा यौनसम्बन्ध तथा सामाजिक अपराधविरुद्ध निज श्रीमान् रोहित गुरुङलाई कानुनअनुसार सजाय तोक्न म श्रीमान्समक्ष अनुरोध गर्छु ।'
यसरी दुवै पक्षका वकिलले आफ्नो पक्षलाई निर्दोष र प्रतिवादीलाई अपराधी साबित गर्न बहस गरिरहे । यो मुद्दा निरन्तर अदालतमा लम्बियो ।
यो अवधिसम्म श्रीमान् रोहित गुरुङको बुझाइमा उनी यौन सुखभोग गर्न पाउने मानव अधिकारबाट वञ्चित भए । नेपालको अन्तरिम संविधानले दिएको मानवअधिकारको उपयोग गर्न उनले पाएनन् ।
मुद्दा अदालतमा जारी थियो । पेसी चढ्थ्यो । कहिले बहसै नभई टुंगिन्थ्यो । कहिले बहस भएर पनि मुद्दा किनारा लाग्दैन थियो । रोहित गुरुङले आखिर सो मुद्दालाई असर पर्ने कुनै काम पनि गर्न सक्ने अवस्था भएन ।
आठ वर्ष बित्यो । मुद्दा बल्ल टुंगो लाग्यो । निर्णय सुनाइयो ।आफ्नो यौनचाहना पूरा गर्ने क्रममा पत्नी नीलिमा गुरुङको सम्मानमा आँच ल्याउन नपाउने । उनको पतिप्रतिको विश्वासलाई श्रीमान् रोहित गुरुङले तोड्न नपाउने तर श्रीमान् रोहित गुरुङले बन्द कोठाभित्र कसैलाई असर नपार्ने गरी रबरको अर्को मोनिका ल्याएर गोप्य रूपमा राख्न र गोप्य ढंगले शारीरिक सम्बन्ध गर्न पाउने निर्णय अदालतले गर्यो ।
पत्नी नीलिमालाई निर्दोष साबित गरियो ।तैपनि रोहित खुसी भए । उनले फेरि न्युरोडको व्यापारीमार्फत सांघाईबाट अर्को मोनिका मगाए । चार लाख ६० हजार रुपैयाँ तिरेर । रबरको होइन यी मोनिका रोबर्ट थिइन् ।
पहिलाको मोनिकाभन्दा यी मोनिकामा यौनसुख दिने धेरै सुविधा थियो । यी मोनिकाले चुम्बन गर्ने, उनलाई उत्तेजित तुल्याइदिनेसम्म गरिन् ।
अदालतको निर्णयअनुसार रोहितले मध्यरातसम्म कुरे । आफ्नो बन्द कोठाभित्र बत्ती निभाए । प्याकिङबाट मोनिकालाई निकाले । अँगालो मारेर सुते ।
यी मोनिकाले चुम्बन गरिन् । टङ किस पनि गरिन् । रोहितलाई उत्तेजित तुल्याइन् । रोबर्टसँग रोहितको सहबास गजबै भयो ।
यो क्रम बढ्यो । केही दिन रोहित मोनिकासँग रमाए । यौनसुख त दिई मोनिकाले । तर पनि रोहित सुखी रहन सकेनन् ।
आखिर मेसिन न थिई मोनिका । त्यसैले विगतमा पत्नी नीलिमाको जस्तो मानवीय माया, संवेग, स्पर्श, प्रेम पाएनन् रोहितले ।
उनले केही रात मोनिकासँग यौन सुखभोगको प्रयास गरे । तर, उनलाई पटक्कै चित्त बुझेन । बिस्तारै यौनचाहना पनि जागेन । उनी दिक्क भए ।
रोहित उमेरले ७० वर्ष पुगेका थिए । आफू नै बूढो भएको जस्तो महसुस भयो उनलाई ।
उनी ओछ्यानबाट उठे । त्यो मोनिकालाई कार्टुनमा पुनः प्याक गरे । घरपछाडि केही पर बागमती किनारमा लगे । घर आए ।
आफ्नो कोठामा सुतिरहेकी थिइन् नीलिमा । उनले पत्नी नीलिमालाई उठाए । ग्यालिनमा दुई लिटर मट्टितेल भरे ।
सलाई र मट्टितेल बोकेर श्रीमती लिएर उनी बाग्मती किनार पुगे । कार्टुनबाट मोनिकालाई झिके ।
रोहितले अर्को मोनिका मगाएको नीलिमालाई थाहा थिएन । उनी छक्क परिन् ।
रोहितले दोस्रो मोनिकामाथि मट्टितेल छर्किए । त्यसलाई सल्काउन नीलिमालाई सलाई दिए ।
नीलिमाले सलाई बालेर दोस्रो मोनिकामाथि आगो लगाइन् ।
क्षणभरमै यी मोनिकारूपी यौन पुत्ला (रोबर्ट) जलेर राख भइन् ।
रोहित र नीलिमा घर आए ।
रातको ३ बज्न लागेको थियो । रोहित आफ्नो कोठामा पसे र सुते ।
नीलिमा पनि सँगै ओछ्यानमा आइन् । रोहितको अँगोलोमा बेरिएर सुतिन् ।
रोहितले नीलिमाको निधार चुमे । उनले नीलिमामा माया, संवेग, स्पर्श, प्रेम सबै पाए ।
नीलिमाले पनि रोहितबाट माया, संवेग, स्पर्श, प्रेम सबै पाइन् ।
दुवै एकअर्काको अँगालोमा पूर्ण रूपमा बाँधिए, रमाए । एकअर्काको अँगालोमा हराए ।
उनीहरूको बुढ्यौली बैंसमा परिणत भयो । एकले अर्कालाई तृप्त तुल्याए ।
(आज सार्वजनिक हुने क्षत्रीको कथासंग्रह 'नमस्ते काठमान्डु'बाट ।)