बुर्काबाहिरको रंगीन संसार

बुर्काबाहिरको रंगीन संसार

बिहान अलहिलाल जाँदा समुद्रमा भर्खर नुहाउन पसेको थियो-सूर्य । हावाले सूर्य थुमथुम्याइरह्यो । लहरमा लहरिइरह्यो सूर्य । लामो अन्तरालपछि भेट भएका प्रेमीप्रेमिकाको जोडी आलिंगनबद्ध बनेर एकले अर्कोलाई पिएजस्तो घाम र सागरबीच सौन्दर्यको रसपान गर्ने होड चलिरह्यो ।समुद्र र सडकपेटीका खजुरका बोटहरू खुसीले मन्द मुस्कान छरिरहेथे । फर्फर फैलिएको चरीका प्वाँखजस्तै हावा घरि समुद्रसरि खजुरका बोटमा र घरि प्राणीका शीर-पाइतालामा पल्टा खेलिरहेथे । मान्छेहरू थकाइ, विस्मात् र बेचैन छोडेर जोडीको खोजीमा हिँडेको एक्लो चखेवा बनिरहेथे । घाम ओर्लेको केही बेरमा बडेमाको आगोको खली बनिहाल्यो । त्यसपछि शीतल र सौम्यताका सारा सजीव चित्रहरू खजमजिन थाल्थे ।

Damodar-Pudasainai-kishorकतारमा ९९ प्रतिशत जनतासँग आफ्नै सवारीसाधन हुन्छ । पैदल हिँड्ने भन्ने निकै टाढाको कुरा रहेछ । सबैसँग गाडी, सबै सम्पन्न । सवारीको अत्यधिक चापले बाटो काट्नै मुस्किल पर्ने रहेछ । कम्तीमा सय किलोमिटर प्रतिघन्टा भन्दा कम दरमा गाडी हुइँक्यायो भने कत्ति सवारीसाधनको सर्वस्व स्वाहा हुन्छ अत्तोपत्तो छैन । अधिकांश नेपाली बाटो काट्न नजानेर अकालमा ज्यान गुमाउँछन् । नेपालमा भए कयौं ठाउँमा गाडी देख्नै मुस्किल पर्छ । सडक सवारीसाधनको मात्र हुँदैन । हाम्रो सडक गाईबस्तुको पनि हो, मान्छेको पनि हो । अतिक्रमण गर्न चाहने सबैको हो, जुलुस, बन्द र हडतालको मूल थलो पनि सडक नै हो । त्यसैले हाम्रा सडकमा प्रणाली हुँदैन, गति हँदैन, केवल फक्रन्छ अराजकता । जता गए पनि नेपालीसँग ठोक्किन पुगिन्छ । राजधानी दोहा समुद्रछेउमा छ । त्यसैले यो घामजस्तो कठोर र पानीजस्तो निर्मल पनि छ ।

कतारमा शुक्रबार सार्वजनिक बिदा हुन्छ । त्यस दिन नेपालीहरू 'नेपाल' खोज्दै बिस्मिल्लाह चोकमा भेला हुने रहेछन् । शुक्रवार विस्मिल्लाहले पूरै नेपालको झल्को दिन्छ । बिस्मिल्लाह नेपालीको एकताको अडान भएर बाँचेको छ कतारमा । नेपालीहरू लमजुङ चोक, तनहँ चोक झापा चोक आदि नाममा विभाजित छन् । फिलिपिनो र बंगालीको पनि आफ्नो चोक छ । कतारका कुनाकुनाबाट नेपाली त्यहाँ भेला भएर आफ्ना दुःखसुख साट्छन् । जोसुकै नेपाली पनि आफ्ना दाजुभाइको को पनि छेमकुशल सुनेर शान्त बन्छन् । दोहा दिनमा सुनसान देखिन्छ । जब साँझ पर्दै जान्छ, कमिलाका ताँतीजस्तै सडकमा गुडिरहेका हुन्छन्, सवारीसाधन।

रातको दुई-तीन बजेसम्म मानिसको चहलपहल आफ्नै प्रकारको रहिरहन्छ । सुरक्षाव्यवस्था अति राम्रो छ । न चोरी, न डकैती, जताजतै शान्ति र सुव्यवस्था मात्र । विश्वकै राम्रो सुरक्षा व्यवस्था भएको देशमध्ये कतार पनि एक हो । क्षणक्षणमा चोरी, डकौती र अपहरण, पाइला पाइलामा भ्रष्टाचार, व्यभिचार र ठगीको संस्कार च्यापेर बस्न बाध्य हामी नेपालीका लागि त्यो वातावरण उगुज निको भएपछिको आनन्द भेटिइरहेथ्यो ।

सडकहरू फराकिला, सफा र अत्यन्त आकर्षक देखिन्छन् । ६ लेनसम्मका सडकमा पनि बीचबीचमा बगैंचा छन् । सडकमा गुड्दा सकस होइन सुवास भेटिन्छ, जटिलता होइन सरलता हात पर्छ । अधिकांश सडकका त्यहाँ भइरहेका गतिविधि निरीक्षण गर्न सीसी टीभी र स्पटलाइट जडान गरिएकाले सवारी दुर्घटना हुने सम्भावना कम छ, भइहाल्यो भने दोषी उम्कने सम्भावना झन् कम हुन्छ । प्रहरीहरू वातानुकूलित कारबाट शान्ति र जनताको अमनचैनको निरीक्षण गर्छन् । रातमा बल्ने दीपपुञ्जले ज्वालामुखी फुटेपछि बगिरहेको अग्निनदी झैं चहकिलो र सुन्दर देखिन्छ सडक । कतै दुई र कतै तीन तला भएको सडक व्यवस्थाले सवारीसाधन बिनाअवरोध अग्रगति बढिरहन्छन् ।

हामी चढेको गाडी वायुवेगमा बत्तिइरह्यो । कतारलाई कुनाकुना चिनाउन हैसिइरहे पाण्डेजी । कतारको तापक्रम जुन, जुलाई र अगस्टमा करिब ५० डिग्री सेल्सियसको हाराहारीमा हुन्छ । खुला आकाशमुनि निर्माण काममा जुट्नेमध्ये कतिपय बेहोश भएर लड्छन् । जाडो महिनामा भने चिसो हावा चल्ने गर्छ । ओमसइद, दुखान, समाल, रस्लाफान दोहाबाट टाढा रहेका ससाना सहर हुन् । ओमसइद बालुवाको पहाड भएको ठाउँ हो । एक छेउमा बालुवा अर्कोतिर समुद्र-निकै आकर्षक देखिने ओमसइदमा ग्यास निकाल्ने ठूलो कम्पनी पनि छ । बालुवाको पहाड हावाको बेगसँग जुध्दै नयाँनयाँ आकारमा परिवर्तन भइरहने गर्छ । त्यहाँ पहाडको टुप्पासम्म गाडी दोडाउने सोखिनहरू भेला भई आफ्नो कला प्रस्तुत गरिहन्छन् ।

कतारको कुनै ठाउँमा पनि महिलाहरू बुर्का नपहिरिई पाइला सार्न पाउँदैनन् । ओइसिसभित्र भने पूरै युरोप उदाएको थियो । पातला र छोटा वस्त्रधारी युवती साँझपख चिच्याउँदै बाँसको हाँगाहाँगा चहारिरहेका चराजस्ता देखिन्थे ।

दोहाबाट १० किलोमिटर टाढा छ-दुखान । त्यहाँ तेल निकाल्ने ठूलो कम्पनी छ । समाल बहराइनको सिमाना नजिक पर्छ । प्रचण्ड गर्मीसँग पौंठेजोरी खेलिरहेथे अरबी घोडाहरू । दोहामा होस् या दुखानमा, समालमा होस् या रस्लाफानमा कतारमा जतासुकै सडक सञ्जाल माकुरेजालो बनेको छ । जति सडक छन्, सडकका हरेक किनारहरू खजुरको सौन्दर्यले ढाकिएको छ, बेगमवेलीका चमकधमक चुलिएको छ । सडक र बस्तीबाहिर जतासुकै मरुभूमि र बालुवाबाहेक आँखामा केही सुहाएन ।

शुष्कताको सागर बनेर मरणासन्न छ-मरुभूमि । मरुभूमिमा रहेका होचा काँडेदार झाडीलाई पनि त्यहाँका मान्छेहरू जंगल भन्दा रहेछन् । हाम्रो घना जंगलमा दिनैभर घुमाउने हो भने मरुभूमिले आत्तिएका 'हामी' बन्थे होलान् त्यहाँका विचराहरू । कतारलाई तीनतिरबाट साउदी अरबले र एकातिरबाट सुमुद्रले घेरेको छ । दोहाभन्दा करिब ३० किलोमिटर टाढा सनैयामा उद्योग कलकारखानाको जगजगी देखियो । हजारौं उद्योग तथा कलखारखाना रहेको सनइया अत्यधिक संख्याका नेपालीको गुजाराको थलो रहेछ । नेपालीहरू तेल कारखानाहरूमा तेल बनेर पेलिइरहेथे, फलाम कारखानामा लोहालेदो बनिरहेथे ।

कतारको मुख्य व्यवसाय ग्यास उद्योग विश्वको दोस्रो वरीयतामा आउँछ । इस्लाम धर्मको अनुयायी कतारमा एउटा पुरुषले चारवटीसम्म पत्नी बिहे गर्न पाउने भएकाले सन्तान धेरै हुनु स्वाभाविक हो । यहाँ चर्को घाममा पनि महिलाहरू कालो बुर्काले सम्पूर्ण शरीर ढाकेर हिँड्छन् ।

दिउँसो १ बजेर तेइस मिनेट जाँदा ओमसइद पुग्यौं । दोहाबाट करिब ३० किलोमिटर दक्षिणमा छ-ओमसइद । त्यहाँ, समुद्र छ र समुद्रको छेउमा बालुवाका अनगिन्ती पहाड छन् । नीलो समुद्रको बिछट्टै मनमोहक सौन्दर्यले मन पूरै नीलो र सफामा बदलिने समुद्रमा छाल बनेर पानीका पहाडहरू उठ्थे र क्षणक्षणमा बिलाउँथे।

अलिजी, पाण्डेजी र म पूरै कपडा खोलेर समुद्रमा पौडियौं । एकातिर समुद्रको छाल निरन्तर आइरहेको थियो । अर्कोतिर किनारमा रहेको बालुवालाई हावाले छालजस्तै लहरमा परिणत गरिरहेको थियो । हावाको बेगले बालुवाका ठूलाठूला पहाडको आकार बेलाबेलामा परिवर्तन भइरहेको आश्चर्यलाग्दो दृश्यले मनमा उमंगको ज्वारभाटा फैलिन्थ्यो । बालुवाका पहाडमा हामी तीनैजना नांगै उफ्रियौं, नाच्यौं । समुद्र पूरै आकाश बनेर उर्लियो, आकाश पूरै समुद्र बनेर फैलियो । निर्जन किनारमा उभिएका बालुवाका पहाडले ठाउँ सार्दै हाम्रो नांगो शरीर नियालिरहे । नांगो समुद्र, नांगो बालुवाको बीचमा हामी नांगै लडिबुडी गर्‍यौं । समुद्र आकाशसँग इतिरन्थ्यो नांगो आकाश समुद्रलाई म्वाइँ खाएर मात्तिएको थियो । हामी उभिएको छेउबाहेक सर्वत्र नीलो थियो।

त्यो नांगोपन, त्यो प्रेमको प्रयोगशाला र त्यो अद्वितीय सौन्दर्यको मातमा म मात्तिएँ । समुद्रका लहरसँगै अनन्तसम्म लहरिरहूँझैं लाग्यो । लहरमा माछा बनेर लहरिएँ । फलामका लाभाजस्ता ताता बालुवामा लडिबुडी गरेर सारा शरीर सेकाएँ । भूपरिवेष्टित देशमा बस्ने मजस्ता मान्छेका लागि समुद्रको दर्शन पाउनु साँच्चै समुद्रमा रुपान्तरण हुनु रहेछ; सर्वत्र सफा, सर्वांग सुकिलो, चम्किलो, न मनमा मैलो न तनमा आलस्य, आकारैआकारको निराकार बीचको एउटै सुन्दर, शान्त, आकार ओमसइदलाई छोडेर फर्कन मनले मानेन । शरीरमात्रै फर्कियो ।
बीचमा वकरा मुसुक्क मुस्कुरायो । ओमसइदमा छुटेको मेरो मनलाई सुटुक्क तान्यो वकराले । वकरा समुद्री किनारमा अवस्थित अर्को स्वर्ग हो । घाम लजाएर डुब्दै थियो । वकरामा समुद्र झन्झन् खुल्दै र पानीका नीला फूल फक्राउँदै सर्वत्र रुपौलो बनिरहेथ्यो ।

समुद्र, प्रेमको चरमोत्कर्ष बनेरब्यूँझिरहेथ्यो । प्रेममा चुर्लुम्म डुबेपछि कोही पनि पागल हुनसक्छ । समुद्र आफैं समाधिको सूत्रधार बनिरहेथ्यो । प्रेममा चुर्लुम्म डुबेपछि कोही पनि पागल हुनसक्छ । समुद्र आफैं समाधिको सूत्रधार बनिरहेथ्यो । समुद्रमा एक्लै बस्न पाए कसरी सहजै खुल्थे सिर्जनाका तोरीबारी ! वकरामा पनि कपडा खोलेर समुद्री छालसँग चुम्बनमा चुलिऊँजस्तो लाग्दैथ्यो । पूरै समुद्र पिइसक्दा पनि सायद धीत मर्दैनथ्यो । केही बेर माछा बनौं भन्ने सोच के आएथ्यो, झन्डै कपडा खोलेर फालहालेको म । सन्ध्याको पसर नजिक आइसकेकाले साथीहरूले मानेनन् । मैले ओमसाइद र वकरा दुवैलाई आफ्नो मनको रेशारेशामा पुर्‍याउँदै बिदा मागेँ ।

म हजुरहरूलाई अलि बेग्लै वातावरणमा पुर्‍याउँछु । अब फर्कंदा पाण्डेजीले आफ्नो योजना अपूरो सुनाउनुभयो । ओइसिस होटलमा विदेशीलाई मात्र प्रवेश अनुमति भनिए पनि कतारी युवासमेत घुसेका देखिन्थे । हाम्रा पाँचतारे होटलका जुवाघरमा कुर्ता-पाइजामाको भेषमा पान चपाउँदै कनी-कनी हिन्दी बोलेर गैरनेपालीको अभिनयमा जुवा, सुरा र सुन्दरीमा मनमस्त बन्ने नेपालीजस्तै होटलभित्रको संसार कतारभन्दा फरक थियो ।
कतारको कुनै ठाउँमा पनि महिलाहरू बुर्का नपहिरिई पाइला सार्न पाउँदैनन् । ओइसिसभित्र भने पूरै युरोप उदाएको थियो । पातला र छोटा वस्त्रधारी युवती साँझपख चिच्याउँदै बाँसको हाँगाहाँगा चहारिरहेका चराजस्ता देखिन्थे । मान्छेहरू निर्बाध रूपमा चुरोटको धूवाँमा लहरिइरहेथे । ढोकाभित्र छिर्नेबित्तिकै आफ्नै अन्दाजमा आँखाको इशाराले आमन्त्रण गर्ने त कति हो कति । थाई, एसियाली, मेक्सिकी, अफ्रिकी सबै किसिमका युवतीको कुम्भमेला नै थियो त्यो ।

पाण्डेजी र म एउटा टेबुललाई बीच पारेर बस्यौं । अलि पर्तिर उभिएकी एउटी धम्मरधुस काली पाण्डेजीतिर फर्केर मुस्कुराई । पाण्डेजीले फूलको जवाफ फूलैले फर्काउनुभयो । ऊ खुरुखुरु आई र पाण्डेजीसँगैको सिटमा थचक्क बस्दै बोली-माई नेम इज सास्था । पाण्डेजीले परिचय दिन भ्याइनसक्दै आन्दाजी ६ फिट अग्ली अर्की रातो खुर्सानीले मेरो आँखामा आँखा टाँसी । उसका सुनका रेशाजस्ता घुंग्रिएका कपालको फैलावट हिमालयको टाकुरामा पहेँलो लहरे फूलको बगैंचाजस्तो थियो । रातो रङको मिड्डी र सर्टले शरीरको एक चौथाइ भाग पनि ढाक्न सकेका थिएनन् । नौनीजस्तो गोरो शरीरमा रातो वस्त्र हिमालमाथि फक्रेको लालीगुराँस भइरहेथ्यो ।


'आई एम सारापोभा, मे आई सिट हियर ? ' मैले जवाफ नफर्काउँदै ऊ मसँगैको सिटमा थुचुक्क बसी । उसको नामबाटै ऊ रसियाली थिई भन्ने थाहा पाउन कुनै अप्ठेरो परेन । 'तिमीले त यहीँ रसिया निम्त्याइछ्यौ नि ? ' मैले उसका नाम मात्रका छोटा कपडातर्फ इंगित गरेँ । 'होटलका भित्ताभन्दा बाहिर हामी पनि काला बुर्काले ढाकिन्छौं । होटलभित्रको यो कक्ष भने स्वतन्त्रताको सुरुङ हो, जहाँ बुर्का हेर्दाहेर्दै वाक्क भएकाहरू स्वतन्त्र शरीर चाख्न भित्रिने गर्छन् ।' सारापोभाले यथार्थ ओकली । सास्था र सारापोभा आम्नेसाम्ने बस्नु औंसी र पूर्णे एकै ठाउँमा भेला भएझैं भएको थियो । पाण्डेजी त्यहाँको परिस्थितिसँग परिचित थिए । उनले कालीलाई बियर मगाइदिए । 'त्यसले के माग्छे, सोध्नुहोस् न', पाण्डेजीको आग्रह । 'एक बोतल चिसो', उसले प्रस्ताव राखी । 'तपार्इं यहाँ किन आउनुभएको ? ' उसको प्रश्नले म झस्किएँ । 'हामी खान खान पसेका थियौं, यहाँ त वातावरण अर्कै रहेछ ।' मैले भनेँ । उसले हाँस्दै भनी, 'बाहिरबाट होटल हेर्नेहरू रंगीन दुनियाँको कल्पना गर्दैनन् । तर यहाँको स्थिति अर्कै छ ।'

त्यसैबीच जनार्दनजीको छेउमा एउटी थलथले सिलमाछा अडेस लागिसकेकी थिई र धमाधम काजु चपाइरहेकी थिई । जनार्दनजीको खल्बाट टाउको हिउँमा सूर्य किरण परेझैं टल्किरहेको थियो । 'आजको रात तपाईंको कस्तो योजना छ ? ' सारोपोभा छिट्टै ग्राहक बनाउन आतुर बनी । 'दाफ्नामा पुगेर सुत्ने', मेरो जवाफ थियो । 'म रातकी रानी हुँ, म तपाईंलाईं यो रातको राजा बनाउन सक्छु ? ' ऊ अलि उत्तेजित बनी । 'माफ गर, श्रीमतीबाहेक अरू केटीसँग रात बिताउने मेरो आदत छैन', मेरो जवाफ ।

ऊ मजाले झानेका खुर्सानीजस्तै खार छोड्ने खालको बनी । ऊ जुरुक्क उठी र सरासर हिँडी । नकिन्ने ग्राहकले सामान ओल्टाइपल्टाई मोलमोलाइ गरिरहनु पसलेलाई झिँजो पार्नुमात्र हो । साँच्चै खेलाडी सारापोभाजस्तै थिई मोरी । यस्तरी रिसाई, मानौं जून एकाएक कालो मोसोभित्र डुब्यो । ऊ हिँडेकोमा मलाई बाघको पञ्जाबाट मुक्त भएजस्तो आनन्द मिल्यो । तीनवटा काजु एकैपटक कुटुकुटु चपाएँ ।

त्यहाँ सयौं जोडी मस्किँदैथे, कयौं जोडी सम्झौता गरेर निस्किँदैथे । हामी भने जसरी पस्यौं त्यसरी निस्कियौं ।त्यो 'रंगीन सुरुङ'बाट बाहिरिँदा रातको ११ बजेर बाइस मिनेट गएको थियो ।कहाँ सुन्दर अनुहारलाई कालो बोक्राले बेरिरहनुपर्ने बाध्यता, कहाँ अंगअंगको उदांगता ! घरको चमेली र बेगमबेलीलाई अँध्यारो ढक्कनले ढाकेर विदेशी जूनलाई खोतल्न उद्यत कतारी कामदेवको कारोबारमा दिनानुदिन नयाँ पाटाहरू थपिँदै जानु आशा वा निराशा हो, टुंगो लागिसकेको छैन । .


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.