छुराआतंक
२०१५-१६ सालको कुरा हो, पत्ती (ब्लेड) को जन्म भएको थिएन । जन्म भइसकेको थियो कि कुन्नि ? तर, हाम्रो गाउँमा पुगेको थिएन । समाज त अहिले पत्यारै नलाग्ने हिसाबले बदलिइसकेको छ ! सम्झँदा अनौठो लाग्छ । दमार्इं, सार्की, कामी र नाउ बालीमा राख्ने चलन पो थियो त । के हो बालीमा राख्ने भनेको ?
बालीमा राख्ने भनेको कुत (तिरो, बाली) ठेकेर काम गराउने हो । दमाईको लागि धान, गहुँ, पर्वविशेषमा सिदा (दसैं, तिहार, तीज, माघे र साउने संक्रान्ति), बिहे र बर्तुनको छुट्टै भाग, सगुन, जामा पगरी, धोती चोलो दिने सर्त हुन्थ्यो ।
दसैंको लागि चिउरा, चामल र खसीको पुच्छर दमार्इंको भाग दिनुपथ्र्यो । त्यस्तै कामीको लागि खसीको गर्दन र तोकिएको कुत दिनुपथ्र्यो । नाउको लागि तोकिएको कुत र खसीको सपेटो पनि दिनुपथ्र्यो रे ! तर मैले त नाउले कुतमात्रै लगेको देखेँ । सपेटाको चलन हटिसकेको थियो कि ! त्यस्तै सार्कीको लागि कुत ठेकिएको हुन्थ्यो । यसका अतिरिक्त बेलाबेलामा भित्रिने अन्नबाली, तिहुन तरकारी पनि उठाउन आउँथे । त्यसैले होला समाजमा उखानै प्रचलनमा थियोँ दमार्इं, कामीलाई बोलायो नुनतेलकै खति !
यसरी तोकिएका खान्कीअनुसार तिनले गर्ने काम पनि तय थिए । जस्तै : दमार्इं-बिहे, बर्तुनका साइतमा आँगनमा आएर सहनाई वा टेम्को बजाउने, परिवारका सबै सदस्यका नयाँ लुगा सिउने, पुराना मर्मत गर्ने ।
कामीँ खन्ने, खोस्रने, काट्ने भाँडाकुँडा, हातहतियारको मर्मत र अर्जाप्ने, पाइन राख्ने, सान लगाउने, नयाँ भाँडाकुँडा बनाउने (फलाम भने बिष्टले किनेर दिनुपथ्र्यो) ।
सार्कीँ तोकिएअनुसार वर्षमा (एक-दुई जोरसम्म) नयाँ जुत्ता सिएर दिने । फाटेका, पुराना जुत्ता टालटुल र मर्मत गर्ने ।
नाउ हात गोडाका नङ काट्ने, दाह्री, कपाल खौरने ।यसरी कमाउका काम गराइन्थ्यो । काम गराउने पक्षलाई दमाईं, कामी र सार्कीले बिस्ट भन्थे । भेटमा नमस्ते, सलामको सट्टा जदौ ! भनेर आफ्नो निधारमा हात पुर्याउँथे, तर नाउले जदौ गर्दैनथ्यो । बिस्टको सट्टा जजमान भन्थ्यो । यस्तै गरी नेवारवर्गले पनि आफ्ना संस्कारवश कसाई, कुसुले, दमाईं, कामी र नाउलाई पनि बाली तिरेर राख्ने चलन थियो ।
यी कुरा किन उठाइयो भने त्योबेला मानिसका दैनिकी पनि आत्मनिर्भर थिएन । अँ त ! पत्तीको जन्मै भएको थिएन । बर्तुन गरेपछि बखत-बखतमा टुपी छोडेर कपाल खौरिनु पथ्र्याे । बखत-बखत भनेको कस्तो ? श्राद्ध गर्ने कर्ता भएमा श्राद्धको अघिल्लो दिन (हविष्य बसेको दिन) दाह्री, जुँगा र कपाल खौरनु पथ्र्यो । श्राद्ध नगर्ने, तर कर्म चलेका अरू पुरुष जातिले बेलाबेलामा कपाल खौरिन्थे, दाह्रीजुँगा काट्थेँ आफ्नो इच्छाअनुसार । तर, मुण्डन गर्नुपर्ने अनिवार्य दिन र अवस्था पनि हुन्थेँ जनैंपूर्णिमा, गैडुपूजा, छोरीको कन्यादान गर्दा र जुठो बार्नुपर्ने आफन्त मरेका बेलामा । यी अवस्थामा नाउलाई घरमै बोलाइन्थ्यो-पहिलेपहिले । नाउको जनसंख्या कम भएर होला उसलाई भ्याइनभ्याई हुन थाल्यो । त्यसपछि भने घरमा नाउ नआउने भयो । रुण्डनमुण्डन गर्नुपर्नेले नाउकै घरमा जानुपर्ने भयो ।
अनेकौं आतंकको सामना गर्दै आएको छु जीवनमा । त्यस्तै आतंकमध्ये छुराआतंक पनि स्मृतिमा बसिरहेको छ-ढुंगाको अक्षर भएर।
हाम्रो पनि नाउ थियो । उसलाई सुकुचा भन्थे । थानकोट गाउँको माझमा उसको घर थियो । मेरो बर्तुन गरेपछि बाको पछि लागेर म पनि सुकु दाइको घरमा गएको छु । असाध्यै भीड हुन्थ्यो । कपाल खौरने पालो कुरेर बस्नुपर्ने । कुनै बंगाली काट्न पनि लगाउँथे । पर्व विशेष नपरेका बेलामा भने हाम्रा बाले पनि बंगाली काट्न लगाउनुहुन्थ्यो । कपाल त छँदै थिएन भने पनि हुनेँ कानका जरबुटा र गर्दनको भुँडीखोप्री वरपर फुलेको घेरोमात्रै थियो । यस्तो भीड भएको बेलामा सुकु दाइ र उनकी श्रीमतीले पनि मुण्डन गरिदिन्थे । सुकु दाइलाई बिसन्चो भएको बेला र बाहिरफेर निस्केका बेला उनकी श्रीमतीले नै खौरने काम गर्थिन् । खौरने साधन भने छुरा नै हो, पत्तीको चलनै थिएन । निकैपछि, २०१८, १९ सालतिर बल्ल पत्ती देखियोँ भारत ब्लेट, मूल्य १० पैसा । ब्लेड भएर के गर्नु ? मिसिन थिएन ।
सुरुमा बुधे लामाले अक्कल झिक्योँ निगालाको टुक्रालाई आधा जति चिर्ने, त्यसमा पत्ती छिराउने र धागाले टम्म कस्ने, भएन त मेसिन ? यसरी बुधेले कपाल खौरिन थालेपछि मात्रै मुण्डनको क्षेत्रमा क्रान्तिकारी परिवर्तन आयो । त्यसपूर्वका कुरा अत्यतै दु:खदायी छन् । मेरा पीडालाई कृपया महसुस गरिदिनोस् ! नहाँस्नोस् !
जनैपूर्णिमाको हप्ता सुरु भएपछि ठूलाबडाहरू कपाल खौरिन थाल्थे । कुन्नि कताकताबाट खौरेर आउँथे । समस्या मजस्ता सात-आठ वर्षका बच्चालाई पथ्र्यो । नाउको घरमा एक्लै-दोक्लै जान डर पनि लाग्थ्यो । साथी मिलेरै गए पनि यस्ता पर्वअघि त पालो कुर्दा दिनै बित्ने । त्यो पिरले होला नाउको घरमा सितिमिति गइन्नथ्यो । यता कपाल खौरने समस्याले मन पाक्दापाक्दै पूर्णिमाको अघिल्लो दिन भइसक्थ्यो । अनि आमाहरू कराइहाल्नेँ 'ए ! भोलि जनै लाउने दिन भइसक्यो । कपाल खौरिनु पर्दैन ? '
'कहाँ जानु खै ? नाउको घरमा जान सकिन्न । भीड त्यस्तो हुन्छ ? '
'किन थानकोटसम्म जानु ? जा दिवाकरका बाले खौरिदिन्छन् । उनीसँग छुरा छ । जा जा अहिले घरै होलान्।'
म दिवाकरका बा (टंकनाथ काका) को घरतिर दगुर्छु । उनी घरमा हुँदैनन् । म लोब्रेकान लगाएर घरै फर्किन्छु । आमोईको प्रश्न आइहाल्छ, 'ए खोइ त ? तँ ता त्यसै आइस्, काका घरमा छैनन् कि कसो ? '
'अँ, हुनुहुन्न रे, काकीले भन्या ।'
'कहाँ गएछन् त ? सोधिनस् ? '
'अहँ ।'
'कस्तो केटो होला । सोध्नु पर्दैन त ? जा उनकै पिँडीमा गएर बसिराख् ! खाना खाने बेला भो । आएपछि खौरिदिन्छन् ।'
म फेरि टंकनाथ काकाको पिँडीमा पुग्छु र थ्याच्च बस्छु । गर्मी सुरु भएपछि मेरो कपाल खौरिएको थियो-चैततिर । अब चार-पाँच महिनाको जगल्टो बनेको थियो त्यो कपाल । बेलाबेलामा जुम्रा रुगरुगाउने भन्या । लिसो पनि जमेको हुनुपथ्र्यो । चायाँ बुरबुर झथ्र्यो । फेरि मेरो कपाल पनि कपालै थियोँ अति कडा । ठूलाबडाले त भन्थे पनि, 'छ्या ! यसको कपाल हो कि थाकलको जरा हो ? '
निकैबेर कुर्नुपर्यो काकालाई । बल्ल आए । उनलाई आँगनमा देख्नासाथ म कराइहालेँ, 'काका ! काका ! कपाल खौरन आएको म ता ।'
'हुन्छ, हुन्छ, म भात खान्छु । तँ कोलाधारोमा गएर माटोले बेसरी नुहा ! अनि राम्रोसँग पखालेर आइज है त !' काकाले भने । म कोलाधारोतिर कुदेँ । वर्षामा त्यहाँ मूल फुट्थ्यो र त्यसैलाई धारो हालिने गरिन्थ्यो । मूल पनि ठूलैँ गटट ।
म नुहाएर काकाको घरमा फर्केँ । काका आँगनको ढुंगामा छुरा उध्याउँदै थिए । म आएको देखेर भने, 'ल आइज यो ढुंगामा बस् ! कपाल सुक्यो भने दुख्छ बाबै ।'
म ढुंगामा टुसुक्क बसेँ । काकाले सजिलैसित कपाल खौरिदिए । बेसै भो । मैले टुपीतिर छामेँ, 'सकियो काका? ''ल जा ! सकियो ।' काकाले भने ।
म गर्दनतिरका कपाल झार्दै घरतिर कुदेँ । राम्रोसँग हातमुख धोएर खाना खान भान्छामा गएँ । बा खाना खाइसकेर उठ्तै हुनुहुन्थ्यो । सोध्नुभोँ 'कहाँ गएर खौरिस् हँ कपाल ? ए जरबुटानिर ता बुच्कै छ त ।'
'यी टंकनाथ उटुङया मान्छे छन् । के गरेको होला यस्तो ? खाना खाएर जा ! हेर बुच्कै पो राखिदिएछन् । दुईवटा टुपी बनाएका होलान् । के भन्नु र ? ' म नबोल्दै आमोईले भन्नुभएको कुरा हो यो । म खाना खान थालेँ । बर्तुन गरेपछि खाना खान औसनी हाल्नुपर्ने । औसनी हालेर खाना खाइसकेपछि मात्रै बोल्न मिल्थ्यो, त्यो पनि पानी अचाएर । नत्र बोल्नै नपाइने कानुन सुनाएका थिए पण्डितबालेँ बर्तुनको काम सकेर देशान्तर सुनाउँदा ।
मैले छिटै खाएर उठेँ । चुठेँ । हात कानको जरबुटातिर पुग्यो । त्यहाँ अर्को टुपी भेटेँ मैले । धोतीले नै हातमुख पुछ्दै म टंकनाथ काकाको घरमा पुगेँ । उनी त गाई फोएर गोठाला गइसकेछन् । हे प्रभु ! म त्यही धोतीको भरमा साउने पोखरीमा पुगेँ । म त्यसरी कुदेको देखेर दौंतरीहरू म नजिकै आएर मलाई घेरेँ 'के भो ? के भो ? ' सबैको जिज्ञासा थियो ।
'काकाले कपाल खौरिदिए बिहान, तर यी बुच्कै छोडिदिएछन् भन्या !' मैले एकै सासमा भनेँ । अनि त मेरा दुईतिरका टुपी तान्दै हा हा गरेर हाँस्न थाले । यसलाई मैले ठूलो बेइज्जत सम्झेँ । म थचक्कै भुइँमा बसेर सुँक्कसुँक्क रुन थालेछु । कसैले भन्यो, 'काका त उता रातोमाटे डाँडामा छन् ।' म जर्याकजुरुक उठेर रातोमाटे डाँडातिर कुदेँ । मेरा दौंतरी पनि कुदे मेरा पछिपछि । तिनका लागि रमिता थियो, मेरा लागि मर्का ।
म पुगेँ काकाका अगाडि । अनि भनेँ, 'किन राखिदिएको यो कपाल ? छिटो काटिदिनोस् !' मेरा आँखा पिलपिल थिए, तर टंकनाथ काकाले हाँस्दै भने, 'बुच्को छाडेको होइन होला, काटेको कपाल टाँसिएको होला । तानेर हेर त ए ठिटा हो !'
त्यसपछि आफ्नै दौंतरीले 'खै खै' भन्दै बुच्को लुछ्न थाले । म हातले छेकेर क्वाँ क्वाँ रुन थालेँ । अनिमात्र काकालाई दया लागेछ क्यारे, भन, 'जा घरमा गएर बाख्रा फोएर यतै लिएर आइज । म छुरा ल्याएर काटिदिउँला । भो नतान ए छौंडा हो ! टाँसिएको होइन रहेछ, काट्नै छुटेको रहेछ ।' म आफ्नो घरतिर गएँ । बजियाहरूले बुच्को लुछेका हुनाले जरबुटो भतभती पोल्न थाल्यो । मैले लुगा फेरेँ । टोपी ढल्काएर हुन सकेसम्म बुच्कोलाई छोप्न खोज्थेँ।
मैले आफ्ना बाख्रा फोएर चरनमा लगेपछि म काकाको चाकरीमा उपस्थित भएँ । मलाई देख्नेबित्तिकै काकाले भनेँ 'ए, तँ आइस् । मेरो गाई पनि हेर है ! म घरमा गएर छुरा ल्याउँछु ।' मैले नाइँनास्ति गर्ने कुरै होइन । उनको गाईसमेत हेर्न स्वीकार गरेँ । उनी घरतिर गए । निकै समय बित्यो फर्केर आएनन् । मेरो दिमागमा सिंगै समुद्र पसेर हल्लिन थाल्योँ 'उनी आएनन् भने के गर्ने ? काटिदिने भए ता छिटै आउनुपर्ने हो ।' मन भतभती पोल्न थाल्यो । छटपटी भयो । बंगारा बजेर आउने । हुँक्कहुँक्क रुनमात्रै आइरहने । नाकबाट सिँगान बगेको बग्यै थियो । साथीहरूसँग खेल्न जान पनि मनले मानेन । आफ्ना बाख्रा कता पुगे थाहा थिएन, तर काकाको गाईलाई बित्ताभर छोडेको थिइनँ ।
यही हलचल र उकुसमुकुसमै दिन बित्यो । मनले भने बारम्बार धिक्कार गरिरह्यो, 'किन गएँ हुँला उनको घरमा म ? बिहानभरि कुरेर बल्ल कपाल खौरियो, तर यस्तो बेइज्जत भयो । अर्कोपटक ता किजात भए यिनका घरमा कपाल खौरिन जाउँला । बरु जसरी तसरी नाउकै घरमा जान्छु नि !' यस्तै तरंगहरू खेल्दै थिए मनमा । समय अपराह्न भइसकेको थियो । जतिजति घाम ढल्दै थिए, उतिउति तुलबुली बढेर आउन थाल्यो ।
परबाट टंकनाथ काका आउँदै गरेका देखिए । अब भने आशाका मुजुरा पलाए मनमा । नजिकै आएर उनले सोधे, 'खोइ त तेरा बाख्रा ? ''खोइ कता गए कता ? मैले तपाईंको गाईलाई छोडेकै छैन । अब कपाल काटिदिनोस् ! म बाख्रा खोज्न जान्छु ।' मेरो स्वर रुन्चे थियो ।
'हेर न भन्या ! बलरामसँग गफ गर्न थालियो, छुरा त भुसुक्कै भुलिएछ । जा बाख्रा लगेर बाँधेर आइज, म पनि गाई बाँध्छु अब । घरमै काटिदिउँला ।' काकाको यस्तो प्रस्ताव आयो । म ता ह्वाँ ह्वाँ गरेर रुन थालेँ, 'हुँदै हुन्न के, पहिले मेरो कपाल काटिदिनोस् अनि मात्रै बाख्रा खोज्न जान्छु म ।'
'कस्तो लाटो रहेछ, छुरा ल्याउन बिस्र्यो भन्या !'
'नाइँ नाइँ, जानोस् छुरा लिएर आउनोस् । म गाई हेरिदिन्छु । कि लगेर बाँध्नोस् ! म पनि सँगै जान्छु ।' मैले अड्डी झिकेँ ।
'अहिल्यै कहाँ गाई बाँध्ने ? '
'जानोस् त छुरा लिएर आउनोस् । होइन भने म घरै जान्छु के ! दिनभरि गाई हेरेर बसेँ । काकाले कपाल काटिदिएनन् भनिदिन्छु बालाई ।' मैले रुँदै यी कुरा गरेँ । अनि काकाले भने, 'कस्तो घामट रहेछ यो त । ल गाई हेर ! म छुरा लिन गएँ । अबदेखि मसँग कहिल्यै नआइज कपाल काट्न ।'
'आउँदै आउन्न के ।' मैले भनेँ । उनी फेरि घरतिर गए । एकैछिनमा छुरा लिएर आए । आइतबारेको खोल्सीमा मूलको पानी बगेको थियो । मलाई त्यही खोल्सीमा बोलाए अनि भिजाएर त्यो बुच्को खरक्क खौरे । टुपीतिर हात लगेर सोधे, 'यो पनि खौरिदिऊँ ? '
'भो पर्दैन' भन्दै म दगुरेँ बाख्रा खोज्न । बाख्रा त लुङ्वाको कोदो बारीमा पसेर पो चरिरहेका भेटिए । धन्य, कसैले देखेनन् ।
यो कपाल आतंकले ग्रस्त थिएँ म । जब खौरनुपर्ने बखत आउँथ्यो मन आतंकित भइहाल्थ्योँ अब कुन कुन भुक्तमान खप्नुपर्ने होला भनेर । त्यो बेलाका कपाल खौरने मानिसको कुरा गर्दा मौली पोखरीका सन्न्यासीबा, बसन्डोलका ठूलाबाबु मात्रै गनिन्थे । नाउ र टंकनाथ काकाको कुरै नगरूँ । त्यस्तै सन्न्यासीबाको त अगाडि पर्नै डर लाग्थ्यो मलाई । उनीसँग कपाल खौरिमाग्न जाने कुरै भएन । अर्को एक जनाको नाम पनि चर्चामा आयोँ बसन्डोलकै ज्ञानबहादुर सुवेदीको दाजु लाटो । उनी लठेब्रा थिए । गाउँमा बुझ्ने नाम चाहिँ 'ज्ञान्या लाटो' नै थियो ।
टंकनाथ काकाको 'बुच्कोआतंक' पछि कपाल खौरिन म बसन्डोल पुगेँँ ठूलोबाबु कहाँ । मान्छे पनि मिज्यासिला र हात पनि ज्यादै हलुका भएकाले अब यिनै ठूलोबाबुलाई नछोड्ने अठोट मेरो थियो । मेरोमात्रै अठोट भएर के गरूँ ? हुनेहार दैव नटार ! भनेझैं भइहाल्यो ।
त्यो अर्को सालको जनैपुर्ने थियो क्यार । म ठूलोबाबुको घरमा पुगेँ, पुर्नेको अघिल्लो दिन एकाबिहानै । ठूलोबाबु घरमा रहेनछन्, लौ बित्यास पर्यो । अब कहाँ जाने ? तुरुन्तै दिमागले भन्यो, आ, लाटोदाइको घरमा गए भइगो नि ! त्यही तल्लो घर त हो । म तल्लो टोलमा झरेँ । उनको घर थाहा थियो मलाई । म उनको आँगनमा पुगेँ । उनी पिँडीमा बसेर डोरी बाट्दै थिए; होला दाम्लोसाम्लो क्यै । उनले तोते लठेब्रो स्वर झिकेर सोधे, 'हे काथा ! किन आइस् ? '
'कपाल खौरिन आएको, ठूलोबाबु घरमा हुनुहुँदोरहेनछ । तपाईं पनि खौरिनु हुन्छ रे भनेर आएको ।' मैले यति कुरा सक्न भ्याएकै थिइन । उनी जुरुक्क उठेर घरभित्र गए । गाग्रोबाट लोटामा पानी सारे । बाहिर आएर लोटा मलाई दिँदै भने, 'ला काथा ! आँगनमा बसेर आफ्नो कपाल भिजा । म चक्कु ल्याउँछु ।' भन्दै फेरि घरभित्र पसे । एकैछिनपछि बाहिर निस्के । उनको एउटा हातमा ठूलो चक्कु थियो । अर्को हातमा अम्खोरा ।
डोरी बाट्न छोडेर उनी त आँगनको ढुंगामा चक्कु घोट्न थाले । मैले उनले घोट्दै गरेको चक्कुतिर हेरेँ । त्यो चक्कु ध्वाँसो जमेर कालो बनेको थियो । सायद दलिनतिर घुसारिएको हुनुपथ्र्यो । उखु ताछ्ने वा सानातिना लठ्ठी खुर्कने काममा त्यो चक्कुको प्रयोग हुन सक्थ्यो । आज कपाल खौरने उद्देश्य लिएर ढुंगामा दलिँदैछ । त्यहाँ अरू मानिस पनि देखिएनन् । लाटो दाइ बढी कुरा गर्ने खालका थिएनन् । म पनि के भनेर बोलूँ उनीसित ? त्यसैले वातावरणमा चक्कु घोटेको ख्यारख्यार सुनिन्छ, अनि अज्ञात भयले मेरो मुटु ढुकढुक गर्दै थियो, त्यो सुनिन्छ मेरा कानतिर ।
निकैबेर चक्कु रगडेपछि लाटो दाइले मतिर पुलुक्क हेरेर भने, 'भिज्यो होला आइज !' मैले उनका जरखरिएका पाखुरा हेरेँ । बटारिएका पिडौंला हेरेँ । औंला फाटेका उनका गोडा हेरेँ । मलाई झन् डर लाग्यो । म उनको नजिकै गएँ । उनले भने, 'ल यै ढुंगामा बस् !' म थच्च बसेँ । लाटो दाइ अर्को ढुंगामा बसे र आफ्ना पिँडौला मेरा काखीमुनिबाट घुसारेर कम्मरमा साङ्ली पारे । म निकै डराएँछु क्यारे । बंगारा जुधेर बजेँ कटट कटट !
'नडरा काथा ! केही हुन्न । एकछिन खप् !' भन्दै उनले आफ्नो बायाँ हातले मेरो कपाल मुठ्याए, दाहिने हातको चक्कु धसेँ खररर खररर ! एक्कासि म कराएँँ 'मरेँ मरेँ ! मलाई छोड्नोस् !'
'न चल् ! छाला ताछ्ला । एकछिन् खप् ! कपाल खौरिँदा दुख्दैन त काथा ! चुप् !' फेरि खररर ! फेरि खररर । मेरो तालु सुक्यो । म कराउँदा कराउँदा थाकेँ । उनले त मलाई अजिँगरले पाठीलाई बेरेझैँ बेरेका थिए । उम्किने सम्भावनै थिएन । मेरो पिसाब चुहियो तुरुतुरु ! लँगौटी छिचोलेर दौराको फेरसमेत लफलफ भिजिसक्यो । लाटा दाइ धरी ढुंगामा चक्कु दल्छन् अनि रोइरहेको मलाई जगल्ट्याउँदै भन्छन्, 'चुप लाग् भन्या ! अब आधा हुनै लाग्यो ।'
मेरो अलापविलाप ठूलोबाबुले सुनेछन् । बिहान उठेर कता गएका थिए होलान् ! ठूलोबुबा घरमा आएपछि आइमाईहरूले 'बाहुन नानी आएका थिए' भनी पनि दिए कि ! उनी लाटो दाइको आँगनमा देखा परे । लाटालाई हपारे, 'ए छोड् ! के गरेको तैँले । मान्छे मर्छ है मर्छ । त्यसरी च्यापेर राख्ने हो । खोइ छोड् !' अझ लाटो दाइ बडबडाए, 'कपाल नखौरी कसरी छोड्नु नि ? '
'पर्दैन तैंले खौरिन । छोड् भो !' भन्दै उनले मलाई छुटाए । होइन भने त मेरो सासै रोकिन्थ्यो कि क्या । ठूलोबाबुले उठाउँदै भने, 'हेर बिचराको त दौरासमेत भिजिसकेछ । ल यता आउनोस् !' भन्दै आफ्नो आँगनमा लगेर बाँकी कपाल त खौरेर पठाइदिए, तर मेरो तालु भने चर्चरी चर्केर आयो । दुवै कन्चट मिलिकमिलिक गरेर बल्न थाले । टाउकोमा टोपीले छुँदा पनि दुख्न थाल्यो । म घरमा पुगेँ । आमाले सोध्नुभो, 'किन के भो ? मुख ता रातो न रातो छ, खोइ ? ' उहाँले निधारमा हात राख्नुभो, 'लौ न नि यसलाई त उत्निखेरै हनहन्ती ज्वरो पो आयो त । कि कालीबांगेले भेट्यो ? पहेँला अछेता पो फाल्नुपर्छ कि !'
'होइन आमा ! मलाई लाटो दाइले भेट्यो । ज्ञान्या लाटोले कपाल खौरिन लाग्दा म झन्डै मरेको । धन्य ठूलोबाबु आएर मलाई उम्काइदिनुभो ।' मैले यत्ति भनेँ ।
'हत् ! त्यो लाटाको घरमा जान नहुने । भै गो जा, सुत् एकछिन !'
आमाले त एकछिन भन्नुभएको थियो । म त निस्लाम भएर तीन दिन पो ढलेछु ज्वरोले गर्दा ।
अनेकौं आतंकको सामना गर्दै आएको छु जीवनमा । त्यस्तै आतंकमध्ये छुराआतंक पनि स्मृतिमा बसिरहेको छ-ढुंगाको अक्षर भएर ।