शरीर केवल मुर्दाघर होइन

शरीर केवल मुर्दाघर होइन

गत साता नेपाल शाकाहारी समाजले वनभोज आयोजना गर्‍यो । भोजमा सहभागी एक शाकाहारीले बडा आकर्षक टिसर्ट लगाएका थिए । उनको टिसर्टभन्दा आकर्षक थियो त्यसको अग्रभागमा लेखिएको वाणी : माई स्टमक इज ए गार्डेन, नट ए ग्रेभयार्ड (मेरो पेट फूलबारी हो, चिहानघारी होइन) ।वनभोजमा शाकाहारीहरूले आफ्ना अनुभव साटासाट गरे र आफूले परिवार या टोलछिमेकमै सबैलाई शाकाहारी हुन प्रेरित गरिरहेको सुनाए।

Netra_Acharya_Picफलफूल, सागपात, अनाज, काजु, बदामलगायत वनस्पतिजन्य खाद्य पदार्थमात्र उपयोग गर्ने र अहिंसामा विश्वास गर्ने शाकाहारीको वनभोजमा सबैको मुहारमा बेग्लै खुसियाली थियो । विचार मिल्ने र व्यवहार पनि मिल्नेहरूको जमघट निकै रमाइलो र प्रेरणादायी पनि हुँदो रहेछ । एक शाकाहारी साथीले मनको कुरा खोले, 'म अन्तर्मुखी स्वभावको भएको हुँदा प्राय: बिदाको दिनमा घरमै बस्न रुचाउँछु । तर, शाकाहारी वनभोजको निम्ता पाएपछि घरमै खुम्चिएर बस्न मन मानेन । यहाँ आएको त लाइक माइन्डेड साथीमात्र होइन, लाइक हार्टेड साथीहरूसँग भेट भयो । म अति खुसी छु ।'

भेलामा शाकाहारी हुनुको तात्कालिक र दीर्घकालीन लाभको चर्चा भयो र हिंसामुक्त समाजको परिकल्पना पनि गरियो । यो आलेखमा शाकाहारी हुनुका लाभ के छन्, हामी किन आफ्नो रुचिलाई बदल्न सकिरहेका छैनौं र हामी बाँचिरहेको समाजमा मांसाहार र शाकाहारको हालको अवस्था र यसले संकेत गर्ने भविष्यको आकलन गरिनेछ ।

राजधानीमा दैनिक कति पशु मारिन्छ ?

केही समयअघि गोरखापत्रमा प्रकाशित एक फिचरमा हरेक दिन राजधानीका बासिन्दाको मासुको माग पूर्ति गर्न पाँच सय राँगाभैंसी, एक हजार पाँच सय खसी, सात हजार कुखुरा, एक सय पचास सुँगुर र सात हजार किलो माछा बाहिरबाट आयात गरिने तथ्यांक दिइएको थियो । सोही समाचारमा यतिखेर कुखुराको मासुमा आत्मनिर्भर भए पनि खसीबोकामा सत्तरी प्रतिशत तथा राँगामा साठी प्रतिशत मासु भारतबाट आयात हुने गरेको खुलाइएको थियो ।

अर्को एक तथ्यांकअनुसार हरेक दिन सयौं ट्रक विभिन्न पशु लोड गरेर काठमाडौं भित्रन्छन् । एउटा ट्रकमा बीस वटासम्म राँगा, दुई सय वटासम्म बाख्रा खाँदेर ल्याइन्छ । काठमाडौंवासीले दिनकै सय टनभन्दा बढी त खसीको मासुमात्रै उपभोग गर्छन् । यो कुल उपभोगको २१ प्रतिशतमात्र हो ।
वनभोजमा भेला भएका हामी चानचुन सयजना शाकाहारी बडा उत्साहित भएर समाजलाई हिंसामुक्त र मानिसलाई अधिक मानवीय वनाउने कुरा गरे पनि राजधानीमा भइरहेको मांसाहारको यथार्थ चित्र यसप्रकार कहालीलाग्दो छ।

मृत जनावरलाई विसर्जन गर्ने चिहानमा हो, पेटमा होइन । पेट शरीरको राजधानी हो, मृत पशुको रक्तमांस पठाउने मुर्दाघर होइन ।

मान्छेको स्वभाव विचित्रको हुन्छ । मानिस औधी बुद्धिमान प्राणी भएर पनि निश्चित कुरामा आँखा चिम्लिन रुचाउँछ । अधिकांश मानिस सत्यतथ्य सुन्न चाहँदैनन्, किनभने जानेर वा नजानेर मानिसहरू आफू बाँचिरहन सहारा भएका भ्रमहरू रहिरहून्, भ्रमहरू कसैगरी टुट्न नपाऊन् भन्ने चाहन्छन् । अन्यथा शाकाहारी हुनुजस्तो स्वस्थ, वैज्ञानिक, नैतिक र पर्यावरणीय हिसाबले अत्यावश्यक भइसकेको विषयलाई वास्तै नगरी बस्ने थिएनन् ।

मानिस मासु किन खान्छन् ?

मानिसहरूले मासु खान रुचाउने कारणमध्ये एउटा के हो भने तिनीहरू सोच्छन्, मासु खाएपछि साँढेजस्तै बलियो भइन्छ । तर, साँढेले त घाँसपात या अनाज खान्छ । यो सबै मांसाहारीलाई थाहा छ यद्यपि सत्यतथ्यभन्दा आफूलाई बाँच्ने बहाना दिएको भ्रम नै मानिसलाई प्रिय भइदिन्छ । कतिपय मानिस स्वादका लागि मासु खान्छन् । तर, मासुको स्वाद खासमा त्यसमा राखिएको अत्यधिक तेल, कृत्रिम मसला या मनोवैज्ञानिक कारणले आएको हो भन्ने तथ्य हेक्का राख्न चाहँदैनन् ।

मांसाहारी सोच्छन्, नियमित रूपमा मासु नखाए शरीरलाई पोषण पुग्दैन र कुनै पनि सिर्जनात्मक काम गर्नसमेत सकिँदैन । तर, संसारका महान् बुद्धिजीवी अरस्तु, प्लेटो, लियोनार्दो दा भिन्ची, सेक्सपियर, डार्विन, इमर्सन, अल्बर्ट आइन्सटिन, जर्ज वर्नार्ड शा, एच जी वेल्स, लियो टोल्सटोय, स्टिभ जब्स आदि सबै शाकाहारी थिए । उनीहरूको सिर्जनशीलता सबैले देखेकै छन् । विख्यात गायक ब्राएन आडम्स नेपालमा आउँदा आफ्ना कुकलाई सँगै लिएर आएका थिए । आडम्स पूर्ण शाकाहारी हुन् । यो हामी सबैले थाहा पाएकै कुरा हो ।

फलफूल, सागपात, दाल, अनाज एवं दुग्ध पदार्थबाट वनेको खाना सन्तुलित भोजन हुन्छ र यसले शरीरमा कुनै प्रकारको विषाक्तता पैदा गर्दैन । तर, खानामा मांसाहार समाविष्ट छ भने कुनै न कुनै प्रकारको विष शरीरमा प्रवेश गर्छ । हरेक प्राणीलाई आफ्नो प्राणको माया हुन्छ । पशु या पन्छीको हत्या गर्ने बेलामा उसको मनमा आसन्न मृत्युको पूर्वानुमानले ठूलो भय पैदा हुन्छ । भय पैदा हुँदा उसको शरीरमा अनेक प्रकारका विषाक्त रसायन फैलिन्छन् । ती पशुको मांस सेवन गर्दा ती विषहरू पनि मानिसले खान्छ र अन्तत: मानिसको शरीरमा पनि विषाक्तता भरिन्छ ।

यथा समयमा त्यो विषको प्रभाव प्रकट हुन्छ र मांसाहारीहरू रक्तचापको समस्या, युरिक एसिड, डिप्रेसन आदिबाट ग्रसित हुन्छन् । मांसाहार गर्दा जनवारबाट मानिसमा अनेक रोगहरू सर्ने गर्छन् । बर्ड फ्लुको आतंक सबैले थाहा पाएकै कुरा हो । साल्मोनेला संक्रमित पशुबाट त्यो रोग सजिलै मानिसमा सर्छ । हृदयाघातको सम्भावना मांसाहारीलाई भन्दा शाकाहारीलाई तीस प्रतिशत कम हुन्छ । शाकाहारीलाई डिप्रेसनको सम्भावना न्यून हुने विभिन्न वैज्ञानिक शोधबाट पत्ता लागेको छ ।

शाकाहारी मानिसलाई चल्तीका रोग लाग्ने सम्भावना न्यून हुन्छ, मांसाहारीलाई अधिक हुन्छ । किनभने मांसाहार मानिसको शरीरको प्रकृति र आवश्यकताअनुरूप छैन । मृत जनवारलाई विसर्जन गर्ने चिहानमा हो, पेटमा होइन । पेट शरीरको राजधानी हो, मृत पशुको रक्तमांस पठाउने मुर्दाघर होइन । संवेदना हुन्थ्यो भने मासु किन्ने बेलामा समझदार मानिसको अन्तरमनमा असहाय पशुको करुण क्रन्दन अवश्य गुञ्जिने थियो । तर, पशुको शरीर चपाउनेलाई दयामाया कहाँबाट आउँथ्यो । हामीलाई सानो चोट लाग्दा कति पीडा हुन्छ ? एउटा निर्दोष पशुको शरीरमा जिउँदै छुरा चलाउँदा कति पीडा हुँदो हा ? शक्तिसम्पन्न मानिसका सामु हरेक पशु असहाय हुने हुँदा ऊ आफ्नो प्राण दिन विवश छ, बाँच्न जति चाहे पनि विद्रोह गर्ने शक्ति छैन । अलिकति करुणा त मांसाहारीको मनमा पनि पैदा हुँदो हो ।

विश्व स्वास्थ्य संगठनले वैज्ञानिक अनुसन्धानपश्चात् स्वस्थ रहनका लागि सबैले खाने कुरामा एउटा नियम अपनाउनुपर्ने बताएको छ : फाइबर अर्थात् रेसादार खानेकुरा खाऊ, बोसोयुक्त खानेकुरा कम गर । रेसादार भोजन केवल शाकाहारी खानाबाट प्राप्त हुन्छ । फलफूल, सलाद, अंकुरित अनाज, गहुँको आटा या खैरो चामलमा अत्यधिक मात्रामा फाइबर र पोषक तत्र्व हुन्छ । मासुमा फाइबर शून्य हुन्छ, खराब कोलेस्ट्रोल र मोटोपन बढाउने बोसो अत्यधिक हुन्छ । मोटोपन मधुमेहलगायत अधिकांश रोगको जननी हो भन्ने तथ्य जाग जाहेर नै छ । शाकाहारी भोजनमा शरीरका हड्डी र दाँतहरू स्वस्थ एवं बलियो बनाउन अत्यन्त आवश्यक तत्र्व क्याल्सियम प्राप्त हुन्छ । तर, मांसाहारबाट क्याल्सियम प्राप्त हुँदैन । यी सबै यथार्थका बीच मानिसले मांसाहार त्याग्न सक्दैनन् । यो आश्चर्यको विषय हो ।

मांसाहार र विसंगति

सबै मातापिताले आफ्ना बाबुनानीलाई बगैंचामा घुमाउन लैजान्छन् तर बधशालामा लग्दैनन् । बगरेको मासुपसल नजिकै हिँड्दा जस्तै मांसाहारीले पनि नाक छोपेको हुन्छ । मासुपसलबाट निस्कने दुर्गन्ध र मसानघाटबाट निस्कने गन्ध उस्तै हुन्छ । मांसाहारी हुनु जनावरको हत्यामा भागीदार हुनु हो । बाँच्ने हक पशुलाई पनि छ । प्राणीको हत्या गर्नु कुनै पनि अर्थमा मानवीय गुण होइन । जीवनमा संगति नहुँदा मानिस यो विसंगति जिउन विवश छ ।

भनिन्छ, हरेक मांसाहारी व्यक्तिले आफूले खाने मासुका लागि आफैंले जनावर मार्नुपथ्र्यो भने सबै शाकाहारी हुने थिए । हामीले मानिसको इतिहासमा सबभन्दा धेरै हिंसा गरेको दोष नाजीहरूलाई दिन्छौं । तर, मांसाहारीले खानका लागि हत्या गरिएका पशुको आँकडा नाजीहरूले मारेका मान्छेभन्दा कैयौं गुणा धेरै भइसकेको छ । यस हिसाबले प्रत्येक मांसाहारी नाजी जत्तिकै हिंसाको भागीदार हुने देखिन्छ ।

शाकाहारी संकल्प

शाकाहारी हुन इच्छा छ भने सुरुमा एक या दुई महिनाका लागि मांसाहार नगर्ने संकल्प गर्न सकिन्छ । त्यति समयमा आफूमा आएको परिवर्तन अवलोकन गर्न सकिन्छ । शाकाहार गर्न थालेपछि शरीर हलुका हुन थाल्छ, स्वास्थ्य राम्रो हुन्छ र मनमा सकारात्मक विचार पैदा हुन्छन् । इमर्सनले भनेका छन्, मानिस प्रयोगका लागि शाकाहारी हुन आरम्भ गर्छ र अन्तत: यो प्रयोग एक सुखद अनुभूति बनेर जीवनशैलीमा रूपान्तरण हुन्छ ।
'म बाँच्नका लागि कुनै पनि प्राणीले उसको बाँच्ने अधिकार गुमाउन नपरोस् ।

'यो सद्विचार मात्रले शाकाहारी हुने संकल्प गरेको हरेक व्यक्तिको मनमा एक प्रकारको मीठो अनुभूति, आनन्द, अमनचैन पैदा हुन्छ । उसको मन सकारात्मक र कल्पनाशील हुन्छ । पन्छीहरूका पखेटा हुनु र तिनीहरू उन्मुक्त भई उड्नु अझै पनि हामीलाई अद्भुत लाग्छ । चराहरू पंख फैलाएर खुला आकाशमा उडेको दृश्यले विचारशील मानिसको मनमा स्वतन्त्रताको आकांक्षा पैदा हुन्छ । शाकाहारी हुनु हाम्रो स्वास्थ्यको कुरामात्र होइन, यो त समग्र पृथ्वी ग्रहको

स्वास्थ्य र दीर्घजीवनको सवाल हो ।

बधशालाका भित्ताहरूमा पारदर्शी सिसा लगाइएको हुन्थ्यो भने सायद सबैले मांसाहार छोडिदिने थिए । अनेक प्रकारका एन्टिबायोटिक्स खुवाएर, हार्मोनको सुई लगाएर मासु बढाउने ध्येयले हुर्काइएका पशुको आहार कुनै हिसाबले स्वस्थकर छैन । थालमा आएको मासु देखेर बधशालामा करुण क्रन्दन गरिरहेको पशुको याद आउने हो भने कोही पनि मासु खान राजी हुने थिएन । केभिन निलन भन्छन् : म शाकाहारी भएँ किनभने जब मैले मासु उत्पादनका लागि निर्मम ढंगले पशु पालन गरेको देखेँ, बधशालाहरूमा पशुलाई दिइएको असह्य प्रताडना देखेँ, यस्तो अमानवीयता देखेपछि म द्रविभूत भएँ । मभित्रको मानवीय चेतनाले मलाई शान्ति दिएन, किनभने मैले मासु खानु पशुहरूप्रतिको त्यही दुव्र्यवहारलाई मौन समर्थन गर्नु थियो ।

हिंसा नगर्नु, प्रेम विस्तार गर्नु । भगवान् गौतम बुद्धको मूल सन्देश यही हो । कसैले भगवान् बुद्धलाई प्रेम गर्छ, गुरु मान्छ भने उसले स्वत: अहिंसा व्रत पालना गर्छ, ऊ स्वत: शाकाहारी हुन्छ । बुद्ध भन्छन् : सबै प्राणीलाई माया गर । यही साँचो धर्म हो । शाकाहारी हुनु एउटा अन्तरयात्राको आरम्भ हो । यो यात्राले हामीलाई अहिंसा, मैत्रीभाव, करुणा र शान्तिको अवस्थामा पुर्‍याउन सक्छ ।

हरेक प्राणी या वनस्पतिको भिन्न प्रकृति र गुणधर्म हुन्छ । हामीले खाएको अन्न, सागपात या फलफूल हाम्रो शरीरमा प्रवेश गर्नासाथ शरीरको गुणधर्ममा घुलन हुन्छ । मानिसले सुन्तला खाँदा सुन्तलाको रस तत्क्षण उसको शरीरको अंश बन्छ । किनभने, वनस्पतिमा चेतनाको अंश नगण्य मात्रामा हुन्छ । तर, कुनै प्राणीको मासु खाने हो भने शरीरमा प्रवेश गर्नासाथ मासुको गुणधर्म खानेवालाको शरीरमा हावी हुन थाल्छ र उसको मनको सन्तुलन बिग्रन्छ । पशुमा विकसित भइसकेको चेतना र भावनाका कारण यस्तो हुन्छ ।

शाकाहारले सत्व गुण बढाउँछ

सृष्टिमा सबै कुरा तीन गुण युक्त हुन्छन् : सत्व, रजो र तमोगुण । हामीले खाने हरेक भोजनमा यी तीन गुणको मात्रा धेरै वा थोरै अवश्य हुन्छ । शाकाहारी भोजनमा सत्वगुण अत्यधिक हुन्छ । मांसाहारी भोजनमा राजोगुण र तमोगुण अधिक हुन्छ । सत्व गुण पवित्रता एवं ज्ञानको स्रोत हो । सात्विक मानिस व्यक्तिगत लाभहानिलाई पन्छाएर सबैको हित र कल्याण हुने सेवा कार्यमा रमाउँछ । उसको चेतना उन्नत हुन थाल्छ । ऊ ससाना खुसीहरू देख्न र रमाउन सक्छ । राजसी खानपिनले मानिसलाई चञ्चल र आवेशयुक्त बनाउँछ । राजसिक मानिस केवल व्यक्तिगत लाभ तथा सफलताका लागि काम गर्छ । तामसी खानपिनले अज्ञानता एवं निष्क्रियता बढाउँछ । तामसिक मानिस अरूको श्रममा बाँच्न चाहन्छ, अरूको काँधमा चढेर अगाडि बढ्न संकोच गर्दैन र अन्याय फैलाएर समाज व्यवस्थालाई बिगार्छ ।

पशुहरू हाम्रो आहारका निम्ति जन्मेका होइनन् । तिनीहरूको जीवन तिनीहरूकै खुसीको लागि हो । पशुहरूलाई आफ्नो जीवन शान्तिपूर्वक बिताउन पाउने अधिकार छ । आफूलाई सर्व श्रेष्ठ प्राणी ठान्ने मानिसले खानका लागि असहाय पशुलाई मार्नु वीरता होइन र यसो गर्नु मानिसलाई शोभा पनि दिँदैन । पृथ्वी सबै प्राणीको साझा घर हो । निमुखा पशुहरू बधशालामा हत्या गरिनुअघि सायद कस्तो पुकार गर्दा हुन् ? शाकाहारी भोजमा सहभागी प्रीति कार्कीले कवितामा सुनाइन् ती पशुहरूको पुकार :
हे मानव, मेरो यौटा बिन्ती सुनिदेऊ, तिमीले पुज्ने देवतालाई भनिदेऊ,
तिमी उसको सन्तान सही, मलाई केवल बाँच्ने अधिकार मागिदेऊ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.