सोलिच्युड बाँचिरहेको एउटा मान्छे

सोलिच्युड बाँचिरहेको एउटा मान्छे

पोयट्रीका साधु

कहिलेसम्म वेश्यालयमा किशोरीहरू बेचिएको
सहिरहनेछ ईश्वरले ?
गरिबहरू कहिलेसम्म गरिबै हुनेछन्
उसको साम्राज्यमा ?
                      -मेरो खुलदुली/विप्लव प्रतीक

कविताका यी चार लाइनमा गहिरो उदासी र तीव्र बेचैनी छ । संसारका सारा दृश्य देखेपछि कवि हैरान छन् र प्रश्न गरिरहेछन् ईश्वरलाई । सायद शंका छ उनलाई ईश्वरको तथाकथित साम्राज्यमाथि । यो दिक्दारीभित्र भुत्भुताइरहेको आक्रोश भेटिन्छ । त्यसो त उनी आक्रोशभन्दा पनि प्रेमका कवि हुन् । प्रेम उनको ब्रान्ड हो ।

प्रेम उनको कविता ब्रान्ड हो जसरी 'ब्ल्याक लेबल' उनको मदिरा ब्रान्ड । जसरी मदिराको लस्करमा बेग्लै उभिन्छ- ब्ल्याक लेबल, कविताको लस्करमा उसैगरी बेग्लै उभिन्छन् उनका कविता । अरूभन्दा प्रेमिल, रोमान्टिक, अलि बढी भावुक र सबैभन्दा कोमल । त्यसैले त उनलाई 'कमलो कवि' भन्न रुचाउँछन् पत्रकार किशोर नेपाल । 'यिनको शब्द चयन विलक्षण हुन्छ । साना कुरा समातेर पनि कविता लेख्छन्', किशोर टिप्पणी उठाउँछन्, 'जबर्जस्ती कविता लेख्ने धेरै छन् यहाँ । तर उनी मनमा, दिमागमा आएपछि मात्रै कविता लेख्छन् ।'

deepakलामो श्वेत कपाल बोकेको शिरमा टोपी अड्याएर हातमा कुनै कागज नलिई लीन भएर बडो भावुक मुद्रामा कविता सुनाइरहेका कुनै आकृति सहरमा देखिए भने ढुक्क भए हुन्छ- ती विप्लव प्रतीक हुन् । असीम पीडाबोध र गहिरो अनुभूतिको खँदिलो प्रस्तुति उनका कविता र गीतका खास विशेषता हुन्। कवितामा विशेष सिग्नेचर भएका विप्लवलाई सम्झनुमा वा उनीमाथि मिमांसा गर्नुमा के घाटा छ ?

विप्लव भनेको क्रान्ति । तर, कवि विप्लवको आकृति मस्तिष्कमा आउनासाथ प्रेम विम्ब आइहाल्छ । कवितामा उनले नयाँ परिभाषा निर्माण गरेका छन् । जीवनभर 'कमलो' कविता लेखे यिनले । गालामा मुजा परेपछि कवि झन् 'कमलो' होलान् । अब यी कविसँग सहरका विप्लवी कविहरूले जस्तो 'क्रान्तिकारी कविता'को आशा पनि के गर्नु ?

मैदानमा असंख्य रुखबीच पनि एक्लै फुलिरहेको गुलमोहर टाढैबाट प्रस्ट चिनिन्छ । विप्लव प्रतीक त्यही गुलमोहर हुन् । आफ्ना कविताका शक्ति, सामथ्र्य, लाइफस्टाइल, गेटअप र 'कमलो' ब्रान्डले उनी भीडमा पनि चिनिने 'गुलमोहर' कवि हुन् । मेरो समयका आम कविभन्दा उनी भिन्न छन् - लेखाइमा, वाचनमा र लाइफस्टाइलमा । केवल एउटै समानता छ, उनी पनि 'कविता' लेख्छन् । तर, अरूभन्दा भिन्न कविता जो बिना दुविधा उभिएका छन् सहरमाझ- पशुपतिको विरूपाक्षझैं । तिनका कविता र भावभंगीको विश्लेषण क्याम्पसे समीक्षकको जिम्मा । मेरो निम्ति उनको कविता अपरेसन थिएटरमा पल्टिएको बिरामी शरीर होइन । विप्लवका कविता त अनुभूतिका लागि हो । महसुसका लागि हो । के अनुभूतिको पनि अपरेसन हुन्छ र ?
लेखक कुमार नगरकोटीको नजरमा त उनी 'साधु' हुन् । एक भेटमा नगरकोटीले आफ्नै अन्दाजमा भनेका थिए, 'विप्लव प्रतीक मलाई साधुजस्ता लाग्छन् । पोयट्रीका साधु, यु सी ! यिनका कविता मन्त्रजस्ता हुन्छन्, जसलाई प्रार्थना भन्न सकिन्छ । प्रार्थना अफ लभ, लाइफ, कम्प्यासन एन्ड डेथ । हिज पोयट्री इज अ साइलेन्स कम्पोज्ड इन मेडिटेसन । आत्माको प्रार्थनालाई शब्दमा कुँद्ने कवि आत्मीय हुन्छ । र, विप्लव प्रतीक आत्मीय कविको नाम हो ।'

Jeth-13-Page-6नगरकोटीले भनेजस्तै उनका कविता भीड वा जुलुसमा होइन एकान्तमा सेलिब्रेट गर्नका लागि हो ।
'त्यस्तो एकान्त जहाँ प्रेम, अनुभूति, संवेदना र आनन्दको सत्संग चलिरहन्छ । विप्लवका कविता एकान्तमा गुञ्जने तानपुराको उच्छवास हो । डेथ बेडमा मर्दै गरेको मृत्युको अन्तिम स्वास हो,' नगरकोटीले त्यो साँझ विप्लव-कविता फिलिङ्सको मिस्ट्री सेयर गरेका थिए, 'मलाई लाग्छ, एकान्तमा मास्टरवेसन गर्नुभन्दा काव्य-सेलिब्रेसन गर्नु अग्र्याजनिक उपलब्धि हो । आनन्द हो । प्लेजर अफ पोयट्री इज अ प्लेजर अफ कस्मिक मिस्ट्री । शब्दहरूको भीडमा होइन, अपितु शब्दहरूबीच-इन बिटविन वर्डस-जुन लामो एकान्त हुन्छ त्यही एकान्तमा विप्लव प्रतीकको आत्माले गुँड बनाएको छ । र, त्यो गुँड मलाई मनपर्छ । साधनाले मनुष्यलाई साधु बनाउँछ, साधवी बनाउँछ । र, यो देशमा यस्तो भागदौडबीच कविताका साधुज् एन्ड साधुविज् विरलै पाइन्छन् । विप्लव प्रतीक मलाई लाग्छ, एक अपवाद हुन् । एन्ड एक्सेप्सनल पोयट । यू सी ! कवि अपवाद भएकै राम्रो ।'

नगरकोटीले निचोड निकालेका थिए, 'यिनलाई पढ्दा, कहीँ-कतै भेट्दा, काव्य-झरनामा नुहाएझैं लाग्छ । मन चोखो, निर्मल हुन्छ । यिनको पोयट्रीमा, गीतमा म एक किसिमको अरोमा एन्ड फ्रेगरेन्स पाउँछु । त्यस्तो फ्रेगरेन्स जुन तपाईं बाथरुमको ओडोनिल या कुनै नारी देहको अत्तरमा होइन अपितु मन्दिरको प्रांगणमा बल्ने अगरबत्तीको सुगन्धमा भेट्न सक्नुहुन्छ । तर, दैवको लीला हेर्नुस् ! यस्तो सुगन्धित, कोमल मनुवाको नाम छ- विप्लव ! कस्तो खुँखार नाम ! लाग्छ, कविज्यूको जिन्दगीको शीर्षक नै गलत भयो । लाग्छ, यो साधुको निम्ति कुनै सुन्दर नाम खोजुँ । तर, नयाँ नाम र जिन्दगीको शीर्षक फेला नपारुन्जेल यी कविलाई साधु नै भनिरहुँ । पोयट्रीका साधु, यु सि !'

तपाईंलाई लाग्न सक्छ, म बढी नै विप्लव भक्त भइरहेछु । यो सिन्डिकेटग्रस्त समय र समाजमा कुनै साधु वा शासक जसको पनि प्रशंसा गर्नु संशयपूर्ण हुन्छ । तपाईंको मनमा उठेको संशय नाजायज होइन, जायज नै हो । तर, यो धोकाधडी समयमा एकजना इमानदार, समर्पित र कमलो कविको प्रशंसा गर्नुमा के घाटा ? द्वन्द्व र द्वेषको साटो प्रेमको कविता अवश्य पनि सबैभन्दा सुन्दर र सबल हुन्छ ।अब यी 'पोयट्रीका साधु'को निजी जीवनभित्र पस्नुअघि केही 'इन्ट्रेस्टिङ' इभेन्ट्सको चर्चा गर्नु लाभदायक होला ।

यथार्थको भ्रम

यौटा मान्छे मर्दा स्वास्नी विधवा हुन्छे र छोराले बरखी बार्छ
यौटा योद्धा मर्दा राष्ट्र विधवा हुन्छ र इतिहासले बरखी बार्छ

कसको हो यो कविता ?

यो कविताको रहस्य र दासढुंगाको रहस्य उस्तै छ । र, दुवै चर्चित छन् । नेपाली कम्युनिस्ट नेता मदन भण्डारीको हरेक स्मृति दिवस (जेठ ३) वा जन्मजयन्तीमा उनलाई श्रद्धा गर्नेहरूले यी दुई लाइनलाई उनै भण्डारीको रचनाको रूपमा प्रस्तुत गर्छन् । कतिपय एमाले नेताहरू यो रचना मदनकै भएको दाबी नै गर्छन् ।

पूर्वप्रधानमन्त्री एवं एमाले नेता झलनाथ खनाललाई पटकपटक सुने पनि यो कविताको रचनाकार थाहा रहेनछ । खनालले यसबारे जानकारी लिन 'सञ्जय थापा (प्रदीप नेपाल) लाई सम्पर्क गर्न' सुझाए । नेता प्रदीप नेपालले भने यो कविता मदन भण्डारीकै भएको दाबी गरे, 'यो कविता मदन भण्डारीकै हो ।' तर, मदनले यो कहिले लेखे भन्ने चाहिँ नेपाललाई थाहा छैन । प्रदीप नेपालजस्तै अर्का एमाले नेता प्रदीप ज्ञवालीका निम्ति पनि यो 'मदन भण्डारीकै उक्ति' हो ।

दासढुंगाको घटना रहस्यमय छ । कविताको रहस्य भने अब रहनु हुँदैन । रहस्यमयी कविता पछाडिको कथा भने बेग्लै छ ।२०५० जेठ ३ गते । कवि विप्लव प्रतीक आफ्नै निवास घट्टेकुलोमा थिए, केही गरिरहेका । अचानक रेडियोले सुनायो- एमाले नेताद्वय मदन भण्डारी र जीवराज आ िश्रत चढेको जिप चितवनको दासढुंगाबाट त्रिशूलीमा खस्यो, नेताद्वय बेपत्ता छन् ।

विप्लवको मस्तिष्कभरि मदनको सम्झना घुम्न थाल्यो । उनले मदनको भाषण सुनेका थिए- 'राजा श्रीपेच फुकालेर आऊ' । जापानी पत्रकारले लिएको मदनको अन्तरवार्ता विप्लवले अनुवाद गरी दृष्टि साप्ताहिकमा प्रकाशन पनि गरेका थिए । र, नेपाल टेलिभिजनमा मदनको शालीन अन्तरवार्ता हेरेका थिए । पछि मदनको शव भेटियो । उनकोे मृत्युको घोषणा भएको दिन बिहान ३ बजे उठेर विप्लवले कविता लेखे, मदन भण्डारी सम्झनामा- 'योद्धा र मान्छे' । माथिका दुई पंक्ति त्यही कविताको अन्तिम दुई लाइन हुन् ।

किन ती दुई लाइनलाई आजसम्म मदन भण्डारीको रचनाको रूपमा लिइन्छ ? त्यसको पनि कथा छ ।
'योद्धा र मान्छे' लेखेको बिहान नै विप्लवले कार्यालयमै पुगेर दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई कविता बुझाए । त्यतिबेला 'दृष्टि' बुधबार बजारमा आउँथ्यो । तर, ९ गते शनिबार 'दृष्टि'को मदन भण्डारी विशेषांक प्रकाशित भयो । त्यही विशेषांकमा विप्लवले पठाएको कविता त छापियो तर माथि उल्लेखित दुई लाइन मात्र- शोकमग्न सर्वसाधारणको तस्बिरहरूले भरिएको पृष्ठ ३ को सिरानमा, रचनाकारको नाम नलिई । विप्लव सम्झिन्छन्, 'मैले दिएको कविता त शोक जनाउन छापिएको रहेछ, दुई लाइन ।'

त्यही विशेषांकबाट यी दुई लाइन स्थापित भए । तर, मदन भण्डारीको रचनाको रूपमा । 'दृष्टि'सँग आबद्ध लेखक अग्निशिखाले ती दुई पंक्ति विप्लवको भएको उजागर गर्ने प्रयास पनि गरे । विशेषांकलगत्तै प्रकाशित 'दृष्टि'को नियमित अंक - वर्ष १०, अंक २९, २०५० जेठ १३ गते बुधबारको पृष्ठ ६ मा विप्लव प्रतीककै नाममा 'योद्धा र मानिस' सिंगो कविता छापियो । कविताको पुछारमा अग्निशिखाले नोट लेखेका छन, 'दृष्टिले गतांकमा उल्लेख गरेको 'एउटा मान्छे मर्दा इतिहासले बरखी बार्छ' भन्ने वाक्यांश यही कविताबाट लिइएको हो।'
दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठ पनि यो कविता विप्लवले उतिबेलै लेखेको बताउँछन् । 'यो कविता विप्लवले मदन भण्डारी बित्नेबित्तिकै लेखेर मलाई बुझाएका हुन् र दृष्टिमा प्रकाशित पनि भएको थियो,' शम्भु भन्छन् ।

विडम्बना ! अग्निशिखाको नोट ख्याल नगर्नेहरू धेरै भइदिए । अहिलेसम्म हजारौंपटक यी दुई पंक्ति कोट भएका छन्, तर मदन भण्डारीको नाममा । कतिसम्म भने, मदन भण्डारीको दुर्घटनामा आधारित फिल्म 'दासढुंगा'मा पनि यी दुई लाइन मदन भण्डारीकै भनेर उल्लेख गरियो । 'हिमाल' खबर पत्रिकामा विज्ञापन छापियो 'दासढुंगा'को । विज्ञापनमा यी दुई पंक्तिमुनि 'क. मदन भण्डारी' लेखिएको थियो । विज्ञापन देखेपछि विप्लवले नाटक निर्देशक सुनील पोखरेललाई कविताको यथार्थ बताएका थिए ।

Image may contain: 1 person, standing

सुनीलले 'यो कविता विप्लव दाइको हो' भनेर निर्देशक मनोज पण्डितलाई फोन पनि गरे । पछि फिल्मको रिसर्च गर्ने मानिसले विप्लवलाई नै फोन गरेर झपारे- 'यस्तो कालजयी सिर्जनालई आफ्नो भनेर चर्चामा आउन खोजेको ? ' विप्लवले भनिदिए- 'चर्चामा आउन त्यो कविता मेरो भनेको भए म तिम्रो लागि जन्मेको पनि छैन ।' पछि पत्रकार यज्ञशले विप्लवलाई फिल्म प्रोड्युसर अपिल विष्टसँग भेट गराएपछि उनले सच्याउने वचन दिए । तर, अहिले पनि 'दासढुंगा'को कास्टिङमै यी दुई पंक्ति मदन भण्डारीकै नाममा देख्न पाइन्छ । मनोज पण्डितले कुनै किताबमा मदन भण्डारीकै नाममा यी पंक्ति देखेपछि फिल्ममा राखिएको बताए । कविताको यथार्थ सुनाउँदा निर्देशक पण्डित छक्क परे ।

एउटा कविताका दुई लाइन रहस्यमयी बनिरहेका छन् । ती दुई लाइनसँग दुई व्यक्ति जोडिन्छन्- मदन भण्डारी र विप्लव प्रतीक । भण्डारीको मृत्यु रहस्यमय छ । कविताको रहस्य अब रहनु हुँदैन ।

कवि देवी नेपाललाई पनि धेरै समयसम्म कविताको यो यथार्थ थाहा थिएन । उनले यस कवितालाई मदन भण्डारीकै हो भनेर लेखे २०५८ सालको नेपाल समाचारपत्रमा प्रकाशित एक लेखमा । पछि तथ्य खोजी गर्दा विप्लव प्रतीकको भन्ने थाहा पाए । त्यसपछि भण्डारीका रचनामाथि अनुसन्धानपछि तयार गरिएको किताब 'मदन भण्डारीका कविता र गीत'मा यस कविता समावेश गरेनन् ।

यथार्थ र इल्युजन जे भए पनि यी दुई लाइन शक्तिशाली बनेर उभिइरहे । मानिसको हृदयमा टाँसिए । किनभने यी पंक्ति हृदयको ज्वारले लेखिएका थिए । 'बंगलादेशको वाणिज्यदूत बन्ने, इन्डियाको सांस्कृतिक सहचारी बन्ने, युरोप-अमेरिकाको कल्चरल एट्याची बन्ने लोभमा यो कविता मैले लेखेको थिइनँ', कविताको गर्भ सुनाउँदै विप्लव भन्छन्, 'म साउथ अफ्रिकामा जन्मेको भए नेल्सन मण्डेलाको लागि, अमेरिकामा जन्मेको भए मार्टिन लुथर किङको लागि लेखिएको कविता हुन्थ्यो यो । सौभाग्यवश, म नेपालमा जन्मिएँ र मदन भण्डारीको निधनले नै मेरो काव्यको ज्वार फुट्यो ।'

सोलिच्युड जिन्दगी

त्यो कुन गल्ली थियो जहाँ विप्लव कविताका कच्चापदार्थ खोज्दै दिनैभरि भट्किइरहन्थे ? त्यो कुन सडक थियो जहाँ विप्लवले मदिराको रमरममा पनि कविता सोच्दै हिँडे ? र, उमेरका पाँच दशक ६ वर्ष बोकेर उनी हिँडिरहेको यो कुन समयको गल्ली हो ? के हो यसको रंग ? जीवनका फरक-फरक कम्प्लेक्स रंगका साक्षी बसेका विप्लव प्रतीक अचेल अनेक कुरा खेलाइबस्छन् ।

काठमाडौं उनको निम्ति केही खास हो । जीवनभर यही सहरको मादकताले उनलाई पछ्याइरह्यो । कहिलेकाहीँ त उनलाई लाग्छ, यो सहर एउटा उत्तेजक सिम्फोनी हो । चर्का लाइटहरूले घेरिएको, समयको चेतनामा डुबिबसेको बासी सपना देख्ने सहर । यही सिम्फोनी-सहरको मुटुमा हुर्किए विप्लव । भजनले भरिएका मन्दिरहरू छेउ । साँझदेखि रातिसम्मै तबला र हार्मोनियमको सुरमा मस्त हुने चोकहरूमा । यिनैले त हो उनलाई दिवाना र कवि बनाएको । कहिलेकाहीँ उनी यो सहर र ती समयको चित्र कोर्न खोज्छन् । चाहेजस्तो बन्दैन सायद, बीचैमा छोड्छन् । 'यो सहरमाथि लेख्ने त्यस्तो फोटोग्राफिक पिक्चर मसँग छैन,' नोस्टाल्जिक ट्युनमा भन्छन् ।

काठमाडौं भीमसेनस्थानको बहाल (वसन्तपुरबाट ताहाचलतिर) - उनको जन्मस्थान । धोबीधारा- पुख्र्यौली घर । कृष्णप्रसाद सर्वहारा- उनका बुवा - लेफ्ट मुभमेन्टमा लागेका लेखक । बुवा कस्ता भने, घर बन्धकी राखेर किताब प्रकाशन गर्ने किसिमका । 'प्रेमको हत्या', 'विद्रोही आँसु', 'दुई छेस्का सलाई', 'दरबारकी केटी', 'मान्छे बेचिँदैन' (कथासंग्रह), अचेल पुस्तक पसलका र्‍याकमा नदेखिने यी किताबमा उनकै बुवाको नाम टाँसिएको छ । किताब छाप्न बन्धकी राखेको घर पाँच सय रुपैयाँमा गएपछि उनीहरूको बसाइँ सर्ने क्रम सुरु भएको थियो- भीमसेनस्थानबाट प्याफल, प्याफलबाट प्युखा, प्युखाबाट सिफल ।

बुवा कृष्णप्रसादले आफ्नो नाममा 'सर्वहारा' जोडेका थिए । राजा महेन्द्रले भनेका थिए- 'सर्वहारा' उपनाम नराख्नू ! बुवा मान्ने किसिमका मानिस कदापि थिएनन्, लेखक जो थिए । परिणामः 'फलानालाई सरकारी जागिर नदिनू' भन्ने मौखिक फरमान जारी भयो । त्यसैले बुवा कामको सिलसिलामा टाढाटाढा पुग्थे । त्यही कारण आफ्नो बुवालाई उनले सातवर्षको भएपछि मात्रै चिने ।

विप्लवको कवि जीवन उनै 'सर्वहारा'बाटै सुरु हुन्छ । उनकै करले विप्लवले पहिलो कविता लेखेका थिए लेनिनको शतवार्षिकीमा भ्लादिमिर इलिच लेनिनबारे । 'रेडियो नेपाल'मा कविता सुनाउने मौका पनि पाए । तर, रच्न आउँदैनथ्यो । विदेशी पत्रिकाबाट कुनै २२ पंक्तिको कविता ट्याकटुक मिलाएर आफ्नोजस्तो बनाई सुनाइदिए । रेडियो प्रस्तोता निरोधराज पाण्डे, धन लामाले धाप मारे । तर, रेडियोबाहिर निस्केपछि घर जान आफैंलाई धक लाग्यो । ग्लानिबोधले मुर्झाएर भद्रकाली-सिंहदरबारतिर दिनभर ओहोरदोहोर गरिरहेको ब्ल्याक एन्ड ह्वाइट अनुहार विप्लव प्रतीककै थियो । त्यसपछि उनी रेडियो नेपालको बाल-कार्यक्रममा जानै छोडे ।

विप्लवसँग जोडिने अर्को कथा उनको नाम हो । प्रतीक उनको टाइटल होइन, जात, थर सबैथोक हो । विप्लव पछाडि झुन्डिनुपर्ने पहिचान के हो ? धेरैलाई थाहा छैन । उनी तागाधारी हुन् कि मतवाली ? त्यो पनि धेरैलाई थाहा छैन । सोधे उनी भन्छन्- 'माई नेम इज विप्लव प्रतीक' । उनको नाम पटकपटक फेरिइरह्यो- कहिले विप्लव तामाङ, कहिले विप्लव खाँ र कहिले विप्लव भारती ।

Jeth-9-Page-3उनका मनपसन्द मित्र थिए- वीरबहादुर तामाङ, मकबुल खाँ र राजु भारती । साथीजस्तै तिनका थर पनि प्रिय थिए । त्यसैले डायरीमा पेन्सिलको सानो टुप्पोले उनले पटकपटक आफ्नो नाम पछाडि तिनै थर लेखे/मेटे । त्यसो त उनले धेरै नाम र 'प्रिय' थर छोडेर विप्लव कुमार अञ्जाना, विप्लव कुमार अकेलाजस्ता नामहरूमा पनि मोह नदेखाएका होइनन् ।

डायरीमा पटक-पटक लेखिएका/मेटिएका अनेकन् थर देखेर एकदिन बाले सोधे- 'पछाडिको नाम किन यसरी फरकफरक लेखेको ? '
'सबै मेरै साथी हुन्, केही भन्दैनन् ।'
'जहिले पनि यसरी फरक फरकै लेख्छस् ? '
'अँ' ।
त्यो क्षण सम्झिन्छन् विप्लव, 'बाले भन्नुभयो- तँलाई जे लेख्न मन लाग्छ लेख्, तर एउटै लेख् बुझिस् ? नत्र पछि झन्झट हुन्छ ।' र, अन्ततः उनले आफ्नो नयाँ नामको घोषणा गरे- 'माई नेम इज विप्लव कुमार प्रतीक।'

अहिले 'विप्लव कुमार प्रतीक'बाट 'कुमार' हटिसकेको छ ।आखिर किन पारिवारिक कुल-नाम लेखेनन् उनले ? एउटा निबन्धमा विप्लव लेख्छन्, 'मेरो आदर्श र नायक हुनुहुन्थ्यो, मेरा लागि बा । सायद सिको गर्न पुगेको थिएँ म उहाँको । मलाई पनि त्यस्तै कुनै नाम, उपनाम वा विशेषणको प्रबल मोह हुन पुग्यो ।'
इन्ट्रेस्टिङ ! सबै सरकारी कागजात, राहदानी, नागरिकतामा उनी 'विप्लव प्रतीक' नै छन् । अन्य कतिपय यस्तै नामधारीहरूले जस्तो 'फलानो नामधारी 'क' फलानो 'ख' नै हो' भन्ने टाइपको सफाइ दिइरहनुपर्दैन उनले ।

एक्लोपन विप्लवको जीवन-छाया हो । एउटा गहिरो एक्लोपन बोकेर हिँडिरहेका छन् उनी । त्यही एक्लोपनमै कविताका बुट्टाहरू कोर्छन्, त्यसलाई शब्दले सिँगार्छन्, लयको धुन दिन्छन् । तैपनि एक्लोपन उनीसँगै रहिरहन्छ । सायद, त्यही एक्लोपन हटाउन भट्किरहेका हुन्छन् उनी । कुनैबेला काठमाडौंका गल्ली, थिएटर, वा अन्तै कतै भट्किइरहन्थे । अहिले पनि भट्किरहेका हुन्छन्- जहाँतहाँ, जताततै । काँकडभिट्टामा केही महिनाअघिको कला-साहित्य उत्सवमा भेटिएका थिए । उत्सव सकिएपछि अरू सहभागी आ-आफ्नै थलो फर्किए । उनी भने महिनादिनपछि मात्रै काठमाडौं आइपुगे ।

विप्लवको यो एक्लोपन र यो फिरन्तापनमा जोडिएर आउँछ उनको विखण्डनको दुःख । किशोरवयमा उनले परिवार विखण्डनको दुःख व्यहोर्नुपर्‍यो । बुवा आमा सँगै बस्न सकेनन्, छुट्टिए । 'आमाबाले आ-आफ्नो बाटो समात्नुभयो र हाम्रो परिवार भताभुंग भयो' उनी सुनाउँछन् ।

त्यसपछि उनले बुवाआमा छुट्टिएको पीडामा हरेक दिन दुई÷तीनका दरले कविता लेखे । ६ महिनासम्म बुवासँग बसे । भाइबहिनी आमासँग बस्थे । बुवासँग पनि बस्ने वातावरण रहेन । अनि एक्लै बस्न थाले । अहिलेसम्मै एक्लै छन् । उनले कतै लेखेका छन्, 'बाआमाको बात्सल्यमा लाडिएर बाँचिरहेको मैले अचानक जीवनको नौका एक्लै चलाउनुपर्ने अवस्था आइलाग्दा त्यतिखेर पहाडै खसेजस्तो लागेकोे थियो ।'

आमा गइसकेपछि उनमा छिमेकीहरूको सहानुभूति पोखियो । उनी भने जवाफ दिन्थे, 'यो आमाको च्वाइस हो । आफ्नो जीवनको छनोट गर्ने अधिकार सबैलाई हुन्छ ।' त्यसबेला उनमा यस्तो हिम्मत जगाइदिने र जीवनप्रतिको विचार निर्माण गर्न सहयोग गर्ने कोहीकेही थिए भने ती किताब थिए- निकोलाई अस्त्रोभस्कीको 'हाउ द स्टिल वाज टेम्पर्ड', दोस्तोवस्कीको 'इडियट', 'कारमाजोभ ब्रदर्स ।'

आमाले छोडेको, बुवालाई छोडेका उनले अन्नतः टोल नै छोडे । बत्तीसपुतली बस्न थाले । वनकाली, पुतलीसडक, मञ्जु श्री टोलतिर पनि लामै समय बसे । विप्लव हेर्दाहेर्दै नितान्त एक्लो भए यो सहरमा । त्यही एक्लोपनको उपहार हो उनको कविता । नौ वर्षको नियमित अभ्यासपछि आफूलाई सुनाउनयोग्य कवि ठाने । जे लेख्यो त्यही कविता हुन्छ भन्ठान्दैनन् उनी । साधना उनको स्वभाव हो । भन्छन्, 'कविता रि-राइट, सम्पादन निकै गर्छु । कवितासँग वर्षौं खेलिरहनुपर्छ भन्ने लाग्छ ।' बाँच्नुपर्ने एउटा जिन्दगीले धेरै थोक बनायो उनलाई । रुसी भाषा सिके । १६ वर्षकै उमेरमा 'रसियन कल्चर सेन्टर'मा जागिरे भए । १९७८ मा सुरु गर्दा मासिक आठ सय पाउँथे । १९८१ मा छोड्दा २२ सय तलब बुझे ।

पत्रकारिता उनीसँग जोडिएको अर्को पाटो हो । दुई दशक पत्रकारिता गरे । स्क्रिप्ट लेखे, फिल्म निर्देशन गरे । निर्देशनकै लागि पाकिस्तानसम्म पुगे । तर, नाम कतै लेखाएनन् । उनी चाहन्थे, नाम कवितामै होस् ।
एक्लोपनको फरक मोड, २९ वर्षमा बिहे गरे । १४ वर्षसम्म सँगै बसे । र, छुट्टिए । किन ? 'इगो ट्रिपको हालतमा मानिसले एकअर्कोलाई सम्मान गर्न सक्दैन । बिहे गर्नु भनेको प्रेमजस्तै एउटा साधना हो । कसरी आफ्नो सहधर्मिनीलाई सधैं फक्रिएको फूलजस्तै राख्नका लागि निपुर्ण माली बन्न सक्छु भन्ने थाहा नहुनेले विवाह नगरेकै राम्रो । म जतिसुकै मान्छेको सम्मान गर्ने र माया गर्ने व्यक्ति भए पनि सम्बन्धविच्छेद पछि मलाई त्यस्तो माली बन्ने आँट आएन । जाँगर चलेन । सायद छुट्टिनुको कथा त्यही इगो ट्रिपले बुनेको होला ।'

बिहेपछि पनि 'प्रेम' नामका सम्बन्धमा नगाँसिएका कहाँ हुन् र ? तर, बिहेको विधानसम्म पुगेनन् । 'आफूलाई ओल्टाएर, पल्टाएर, संग्लाएर, सम्झाएर हेरेँ । दोहोर्‍याएर बिहेको सिस्टममा एडजस्ट हुन सकिनँ', कारण खोतल्छन् विप्लव, 'मेरो मनले बिहे गर्ने अनुमति दिएन । मलाई सिमोन द बुआजस्तो वा अमृता प्रितमजस्तो युवती पाउने आशा पनि यो जुनीमा छैन ।'विप्लवले यसो भनेर अरूलाई एक्लै बस्न प्रेरित गरेका होइनन् । 'यस्तो प्रेरणा अरूलाई दिन्नँ । एक्लोपन, लन्लिनेसलाई म सोलिच्युडमा रूपान्तर गर्छु । म जुन अवस्थामा छु, गुनासो पटक्कै छैन,' विप्लव भन्छन् ।

गीतको कथा

गहिरो भावुकता विप्लवको नामसँगै जोडिएर आउने विशेषता हो । यो भावुकता उनको गीतले गाउँछ । साउन-भदौको झरीमा रेडियोले बजाउँछ- 'हर रात सपनीमा...।' सुनिरहँदा एकतमासको उदासीले छोप्छ । गीतका हरेक शब्दहरू सजीव भएर प्रस्तुत हुन्छन् । कहिल्यै घर नछोेडेको मानिसले पनि घरबाट टाढा हुनुको दुःख महसुस गर्छ । गीतको अन्तर्यमा एउटा मानिस छ- घरको मायाबाट धेरै टाढा, घर सम्झिरहेको मानौं कतै भट्किरहेको । त्यो मानिस विप्लव नै हुन् ।

यो गीतले हामीलाई ०४४ सालमा लैजान्छ । त्यतिबेला उनका बुवा पशुपतिनाथ छेउको देउपाटनमा माटोले जोडेको घरमा बस्थे । विप्लव चाहिँ भाडामै सही सिमेन्टको घरमा बस्थे । त्यो माटोको घरमा उनका बुवा सुत्ने सिरानपट्टिको गाह्रो चिरिएको थियो । त्यही चिरिएको गाह्रो सम्झेर हरेक मनसुनमा विप्लव आफैं चिरिन्थे ।
मनसुन आउँदा उनलाई टेन्सन हुन्थ्यो । जब चट्याङ बज्रन्थ्यो, बुवाको साह्रै याद आउँथ्यो । कसरी बसिरहेका होलान् ? न घर भत्कियो कि ? घर भत्केर उनलाई कतै पुर्‍यो कि ? दुःस्वप्नले ऐँठन गथ्र्यो ।

भोलिपल्ट बुवाले पढाउने स्कुलमा फोन गरेर उनको आवाज सुनेपछि ढुक्क हुन्थे । १० वर्षसम्म यो अनुभूतिमा गुम्सिइरहे । १० वर्षपछि उनी चितवनमा थिए । नारायणी उर्लेर घरघर छोएको थियो । नारायणीको त्यो उर्लंदो भेलले एक दशकदेखिको गुम्फनलाई निकास दियो । चार लाइन चितवनमै लेखे, काठमाडौं आएपछि थपे 'आगो र आँधी सोचिरहेछु÷भुँइचालोलाई थाम्छु भनी÷हर साँझ सहरमा हुरी चल्छ÷गाउँमा सायद छानै उड्यो कि ? ' २०५६ मा दीप श्रेष्ठले गाएपछि गीतले विशेष उचाइ लियो । उनका अरू पनि गीत छन् । बज्छन् । सुन्दा राम्रै छन् । तर, विप्लवलाई जीवित राख्न यही एउटा गीत काफी छ ।

उनको चर्चित कवितासंग्रह छ- नहारेको मान्छे । अमेरिकाबाट प्रकाशित अर्को कवितासंग्रह छ- अ पर्सन किस्ड बाई द मुन । उनका कविता स्पेनी र फ्रान्सेलीमा पनि अनुदित छन् । 'नहारेको मान्छे' कविता कृतिबाट पाँच कविता जोडेर २०६५ सालमा घिमिरे युवराजले नाटक मञ्चन गरेका थिए । घिमिरे भन्छन्- 'विप्लव दाइका कविता सधैं म जतनले पढ्छु । उनका कविताका हरेक अक्षर र शब्दहरू पवित्र लाग्छन् । खासमा विप्लव दाइ आफैंमा कविता हुन् ।' घिमिरेले निर्देशन गरेको पछिल्लो नाटक 'दीक्षान्त'मा पनि विप्लवले दुई गीत लेखेका थिए ।

सहरका ताता वा चिसा चिया अड्डाहरूमा विप्लवको कुरा नकाटिने होइन । प्रेमदेखि प्रेमसम्मका कविका रूपमा परिभाषित छन् उनी । तर, उनी डिफेन्स गर्छन्, 'जीवनमा प्रेममात्रै होइन । आँसु, विरह, दर्द, अन्याय सबै हुन्छ । मैले प्रेमबाहेक अरू कविता पनि लेखेको छु- राजनीति, नारी, मोक्षजस्ता विषयमा ।'

भनिहालियो सोलिच्युड उनको जीवन हो । कहिलेकाहीँ कविताहरू साथ लाग्छन् । कविता अर्थात् कविता । उनी कवितालाई प्रेम गर्छन् । घट्टेकुलोमा घर छ । जागिर छैन । बेलाबेला अनुवाद गर्छन् । स्कच खान पुगेकै छ । पिउनुलाई नसासँग होइन शालिनतासँग जोड्छन् ।

पिएर हल्ला गर्ने र ठूला कुरा गर्ने विप्लव प्रवृत्ति होइन । अचेल उनी रक्सी, सम्बन्ध र शब्दलाई बढो जतनले चलाउँछन् । विप्लव प्रतीकसँग संगत गरेपछि लाग्छ, यो सहरमा यस्तो पनि मान्छे छ जो अरुको लागि समस्या बन्दैन । विप्लव प्रतीक इज अ हार्मलेस म्यान ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.