रेमिटल्यान्डको छोटो भ्रमण

रेमिटल्यान्डको छोटो भ्रमण

लेखक श्याम सिंघकको नवीनतम् उपन्यास हो- रेमिटल्यान्ड । सिंघकको यो दोस्रो आख्यान हो । उनको पहिलो उपन्यास २०६५ सालमा प्रकाशित भएको थियो । पहिलो उपन्यास मैले पढ्न पाएको छैन । तर, 'रेमिटल्यान्ड'लाई मैले एकै बसाइमा अद्योपान्त पढी सिध्याएँ । एकै बसाइमा पढ्न सक्नु भनेको किताबले तान्न सक्नु हो । उपन्यासभित्रको कथानकले तान्नु हो । औंलामा गन्न सकिने केही किताबमात्रै मैले एकै बसाइमा पढिसकेको छु । त्यो लाममा अब 'रेमिटल्यान्ड' पनि उभिन आइपुगेको छ । मलाई किताबको विषयवस्तुले निकै छुनुपर्छ । प्रस्तुति, शिल्प र संरचनाले छोयो भने त किताब नसिध्याई उठ्नै मन लाग्दैन । 'रेमिटल्यान्ड'ले मभित्रको पाठकलाई बेस्सरी छोयो । मेरो अभिरुचिलाई छोयो । अझ यसो भनाँै, मेरो मथिंगललाई हल्लायो । त्यसको कारण छ ।

Prakash-Thamsungआधा रातसम्मको वैचारिक रस्साकस्सी र अल्कोहलको ओभरडोजले बिहान अबेरमात्र उठी खाटमा झोक्राइरहेको थिएँ । ह्याङओभरले टाउको फुट्लाझैं भइरहेको थियो । अर्को खाटमा राजन मुकारुङ चुरोट तान्दै ल्यापटपमा ख्याटख्याट केही टाइप हान्दै थिए । कोठामा धुवाँको कुहिरोमण्डल थियो । हामी राजन मुकारुङको नरेफाँट डेरामा थियौं ।

त्यहीबेला एक तालुचिन्डे (मजस्तै) मान्छे कोठा भित्र छिर्छन् । तिनलाई मैले पहिले कतै देखेको थिइनँ । को होलान् ? गम्दै थिएँ । राजन दाइ परिचय गराउँछन्- 'उहाँ श्याम सिंघक, नयाँ आख्यान लेख्दै हुनुहुन्छ । पाण्डुलिपि पढ्दै छु म ।'त्यसपछि सिंघकसँग केहीबेर भलाकुसारी हुन्छ । तेह्रथुम छथरका लिम्बू रहेछन् । आधा काठमाडौं) र आधा केरखा बस्दा रहेछन् । उनी बाहिरिएपछि राजन दाइलाई सोध्छु, 'कस्तो छ उपन्यास? '

रेमिटल्यान्ड' पूर्वी नेपालको दमक सहर र त्यसको पेरिफेरीको कथा हो । तर, रेमिट्यान्स संस्कृतिले पूरै देश प्रभावित भएको बेला त्यस्तो कथा दमक सहरसँग छ मात्रै भन्ने सोच्नु गलत हुनेछ । पूरै देश एउटा 'रेमिटल्यान्ड' हो ।

आफ्नै अन्दाजको केही बेर मौन रहेपछि राजन बोल्छन्, 'ठीक ठीकै हो । तर, प्रशस्तै पुनर्लेखन गर्‍यो भने गज्जबको बन्छ ।'मैले तत्काल पत्याइहालिनँ । एउटा छथरको लिम्बू केटाले गत्तिलो आख्यान लेख्यो होला ? मलाई विश्वास थिएन । कुन्नि ! त्योबेला त्यस्तो सन्देह कुन अवचेतनबाट जागृत भयो ? कि मैले सापेक्षमा मूल्यांकन गरेँ ? त्यसो त कल्पना गरेँ, 'यिनको लेखक बन्ने रहरले लोक्ताको नास हुने भो ।'
भेटमा कवि चन्द्रवीर तुम्बापो भन्थ्यो, 'हौ, श्याम सिंघकको भयानक उपन्यास आउँदै छ है ।'

अहँ मलाई अझै विश्वाश जागेन । श्याम सिंघकसँगको पहिलो भेटमा ममा कस्तो इम्प्रेसन पर्‍यो कुन्नि, उनले लेख्छन् होला जस्तै लागेन । (कसैको लेखन पढ्दै नपढी पूर्वानुमान गर्ने म सायद मूर्ख हुँ ।)
यस बखत सोच्छु- म प्रचलित नामको पछिमात्र कुद्दोरहेछु । नयाँ नामको लेखकलाई अवमूल्यन गर्दोरहेछु । यो मेरो कमजोरी थिएन । श्याम सिंघकको लेखनको झापडले मेरो गल्तीबोध भएको छ । त्यसो त माथि नै भनिसकेँ- रेमिटल्यान्डले मेरो मथिंगल हल्लाएको छ ।

प्रकाशन र पाठकको दृष्टिकोणबाट हेर्दा आख्यान लेखनको करिब एघार दशकको इतिहासमा आजको समय सप्पैभन्दा अनुकूल हो । त्यसो त प्रकाशन गृह र लेखक आख्यानतर्फ बेजोड आकर्षित भइरहेछन् । समकालीन विश्व आख्यान लेखनको दाँजोमा नेपाली आख्यानको स्तर कहाँनेर पुग्यो ? त्यो विमर्शको अर्कै पाटो होला । आख्यान लेखनको बाढीले कतै आख्यान विद्यालाई नै कोसीको बगर बनाउने त होइन ? त्यो पनि बहसको अर्कै पाटो होला।

यद्यपि, विविध परिवेश र पृष्ठभूमिका लेखकको आख्यान लेखन प्रयासले नेपाली समाजको विविधतालाई यथोचित सम्बोधन गर्नेछ भन्नेमा म सकारात्मक छु । यही मेसोमा अर्वाचिन नेपाली समाजको जल्दोबल्दो मुद्दा 'रेमिट्यान्स संस्कृति'लाई विषयवस्तु बनाएर श्याम सिंघकले 'रेमिटल्यान्ड' लेखेका छन् । 'रेमिटल्यान्ड' रेमिट्यान्स संस्कृतिले नेपाली समाजलाई पारेको गहिरो प्रभावको सांगोपांगो चित्र हो ।

सर्वप्रथम त 'रेमिटल्यान्ड'मा प्रयुक्त भाषाशैलीले मलाई तीनचित् खुवायो । लिम्बू भाषा आफ्नो मातृभाषा भएको एउटा लेखकले त्यति सुन्दर खस नेपाली भाषामा लेख्छ भन्ने कल्पनै गरेको थिइनँ । भाषाशैली गज्जब छ र नै किताब पठनीय बनेको छ । कुनै पनि आख्यानको पहिलो सर्त भनेको पठनीय हुनु हो । दुई पन्ना पढ्दै पाठकलाई दिक्क लाग्न थाल्यो भने त्यो लेखकको घोर असफलता हो । यस मानेमा श्याम सिंघक अब्बल लेखक दरिएका छन् ।

'रेमिटल्यान्ड' पूर्वी नेपालको दमक सहर र त्यसको पेरिफेरीको कथा हो । तर, रेमिट्यान्स संस्कृतिले पूरै देश प्रभावित भएको बेला त्यस्तो कथा दमक सहरसँग मात्रै छ भन्ने सोच्नु गलत हुनेछ । पूरै देश एउटा 'रेमिटल्यान्ड' हो । एउटा तथ्यांकले भन्छ- इलाम सहरमा मात्रै मासिक पन्ध्र करोड रेमिट्यान्स भित्रिन्छ । बुझ्दा हुन्छ- रेमिट्यान्स संस्कृतिले हाम्रो समाजलाई कसरी जकडिइरहेछ !

केही महिनाअघि दमकमा 'रेमिटल्यान्ड'माथि भएको डिस्कोर्समा किताबको शीर्षक 'रेमिटल्यान्ड नभएर प्रेमल्यान्ड भएको चर्चा पनि हुन्थ्यो' भनेर केहीले आफ्ना विचार राखे । हुन त 'रेमिटल्यान्ड' मुक्साम र रुक्मिणीको प्रेमप्रसंगबाटै सुरुवात हुन्छ र अन्त्य पनि । तर, यहाँनिर बुझ्नुपर्ने कुरा के छ भने आख्यानकारले प्रेमलाई सहायक आधारमात्रै बनाएका हुन् । उनको अभीष्ट नेपाली समाजको आर्थिक, सामाजिक बदलाबमा रेमिट्यान्स संस्कृतिले पारेको सकारात्मक प्रभाव र पिरलो देखाउनु हो ।

उपन्यासको मुख्य पात्र मुक्साम नौ वर्ष कतारमा रोजगारी गरी फर्किएको छ । ऊ घर पुग्ने दिन श्रीमती फुङ्साले भने घर र छोरी त्यागेर हिँड्छे । मुक्साम विक्षिप्त बन्छ । मन बहलाउन क्रिश्चियन धर्म अंगाल्छ र संगतिमा जान्छ । घटनाक्रममा दमकमा कोल्ड स्टोर खोलेर बसेकी रुक्मिणीसँग उसको भेट हुन्छ । रुक्मिणीको श्रीमान् वैदेशिक रोजगारमा हुन्छ । दुवै एकान्तको पीडित । व्यथा मिल्छ र सामीप्यता बढ्छ । त्यो सामीप्यताबाट प्रेम अंकुराउँछ ।

प्रेम शाश्वत छ । प्रेम हिजो पनि गरिन्थ्यो आज पनि गरिन्छ । प्रेमलाई विषय बनाएर हिजो पनि प्रशस्तै लेखियो आज पनि लेखिँदैछ । तर, प्रत्येक लेखकको प्रेममाथिको फरक लेखनले बेगल—बेगल अनुभूति दिँदोरहेछ । 'अनुराधा' उपन्यासमा पाइने प्रेमको अनुभूति र यस 'रेमिटल्यान्ड'मा पाइने प्रेमको अनुभूति बेगल —बेगल हुँदोरहेछ । त्यो फरकपन लेखकको प्रस्तुतिले दिँदोरहेछ । मुक्साम र रुक्मिणीको प्रेमले पनि पाठकलाई हुरुक्कै बनाउँछ । भलै त्यो समाजले अनैतिक देखोस् । तर, यसो सोच्दा लाग्छ- यो सामाजिक मान्यता भनेको हामीले नै निर्माण गरेको न हो ।

उपन्यासभित्र यौनमाथि खेल्न पनि लेखकले निकै भाँती पुर्‍याएका छन् । कुनै ठाउँ पढ्दै जाँदा लाग्छ, लेखक नजिकै भएको भए कच्याककुच्चुक पारौंजस्तो । मुक्साम र रुक्मिणीको शारीरिक मिलन हुन्छ कि भन्यो, हुँदैन । बरु पाठकलाई हर्टअट्याक्ट होलाजस्तो भइसक्छ । पाठकमा यस्तो अनुभूति सिर्जना गराउनु लेखकीय सफलता हो ।
'रेमिटल्यान्ड'को अर्को सबल पक्ष भनेको दमक सहर र पेरिफेरी भूगोलको सजीव चित्र ल्याउनु हो । र, त्यस भेगमा पाइने प्राणी र वनस्पतिको शिल्प मिलाएर वर्णन गर्नु हो । यसो गर्दा उपन्यास मोनोटोनस बगेको छैन । कुनै ठाउँमा लाग्छ, म जीव र वनस्पति विज्ञान पढिरहेछु । यसले के संकेत गर्छ भने अबको लेखन चुनौतीपूर्ण छ । अब साँघुरो कोठामा बसेर वा कल्पनामा डुबेर सिलिङ हेरेर भावुक हुँदै लेख्ने दिन गए । अबको लेखक फिल्डमा ओर्लिनै पर्छ । र, कुनै पनि क्षेत्रको सूक्ष्म अध्ययन गर्नैपर्छ ।

उपन्यासमा नारायणजस्तो पात्र पनि छ, जो रेमिट्यान्स संस्कृतिले बगाएर ल्याएको धमिलो पानीमा माछा मार्छ । नरसिंजस्तो हिर्दोक पात्र पनि छ, जो कुनैबेलाको आदिवासी जमिनदार थियो र वर्तमानमा विविध कारणले सुकुमवासी भएको छ । जवान पत्नीलाई विधवा बनाउने काठको बाकसदेखि पतिको विदेशी पसिनालाई जुवाखालमा दुरुपयोग गर्ने पात्र पनि छन् । आफ्नो मान्छेलाई सधैंभरि कुरेरै बस्ने नैतिकवान् पात्र पनि छ । ती पात्रमार्फत सामाजिक यथार्थलाई प्रतिविम्बित गर्नु लेखकको अभीष्ट हो, त्यो सजिलै बुझिन्छ ।

उपन्यासको कथा बहावमा कतै कतै फिल्मीशैली देखिन्छ । जस्तो मुक्साम र रुक्मिणीले प्रेम अमर बनाउने निहुँमा निर्माण गर्ने फलैंचा र उनीहरूको बिछोडपछि फलैंचामा नै भएको आकस्मिक भेटबाहेक अरूमा खोट लाउने ठाउँ कम्तीमा मैले चाहिँ भेटिनँ ।

पछिल्लो समय नेपालका हेभिवेट आख्यान लेखकलाई पाठकले नै नकआउट गरिरहेको सन्र्दभमा एउटा मिडिल-वेट आख्यान लेखकको उदय भएको छ । लेखनमा उनको यस्तै पर्फमेन्स रहिरहने हो भने कालान्तरमा श्याम सिंघक हेभिवेट लेखक बन्ने सम्भावना व्यापक छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.