देवपुत्र दमाई र ढोलसागर 

देवपुत्र दमाई र ढोलसागर 

सानै उमेरदेखि विवाह र अन्य कार्यक्रममा बज्ने बाजाहरू सुन्दा एक किसिमको कौतूहल हुन्थ्यो । मन्दिर मेला बिहावारीहरूमा दमाईहरू मच्चीमच्ची बाजा बजाउँछन् । एक किसिमको रमाइलो वातावरण हुने गर्छ । अझ मन्दिरमा पूजा हुँदाको अवस्थामा हुने देवताको औतारमा माहोल फरक खालको हुन्छ । ती बाजा बजाउनेहरू अछूत मानिँदै आएको पाइन्छ । प्रायः गाउँमा अलि फरक बस्तीमा उनीहरूको बास हुन्छ । उहिले उहिले मान्छेले भन्थे, दमाईहरूको छुट्टै भाका हुन्छ ।

त्यसका कलौते भनिने उर्दुजस्ता अक्षरहरू हुन्छन् । यिनीहरू फरक प्रकृतिका अहिलेका मुसलमानजस्ता लाग्छन् । यिनीहरू जादु मन्त्रले असम्भव काम गर्न सक्छन् । एकचोटि एकजना दमाईले अर्को दमाईलाई खान बोलाएछ । १० पाथीको भात पकाएछ । पाहुना आउने दमाईले आफ्ना वीरहरू बोलाएर सबै भात सिध्यायो । पाहुना आउने दमाईकोमा खान जाँदा पनि त्यस्तै भयो । यसको अर्थ उनीहरू दुवैसँग अदृश्य वीरहरू थिए । ती आफ्ना मालिकलाई जादु मन्त्रको अवस्थामा सहयोगी हुन्थे । यो काम दमाईहरूले बढी गर्थे । गाँउतिर कोही बिरामी भएमा, झारफुक गर्ने र अन्य उपचारको काम पनि यिनीहरूबाट गराइन्छ । यिनीहरू फूल, स्याउला, सिस्नु र कुचो लिएर फुकफाक गरिरहेका देखिन्छन् ।

तर, आजभोलि विस्तारै यस्ता दृश्य कम हुँदै गएका छन् । खासगरी २०१९ सालमा आएको संविधान र राजा महेन्द्रले छुवाछूत उन्मूलन गरेपछि गाउँघरमाउथलपुथल मच्चियो । जब मान्छेहरू कामको खोजीमा देशबाहिर जान थाले अनि धेरै ठूलो सामाजिक उथलपुथल भयो । मेसिन नहुँदा हातले कपडा सिलाउँथे । मेसिन आउँदा हातको काम मासियो । त्यसै बेला मलेरिया उन्मूलन गरियो र राजा महेन्द्रले भूमिसुधार लागू गरे । गाउँमा उत्पादनको कमी र सीमित साधनस्रोतका कारण ठूलो अवसर खोजेर विस्तारै मानिसको बसाइँसराइमा तीव्रता आयो । अन्यत्र सर्ने परिपाटीले मानिसहरूले पुरानो थातथलो बिर्सिंदै गए । खासगरी संगीत साधकहरूको गाउँमा उपस्थिति नभएपछि बाजाको प्रयोग पनि कम हँुदै गएको दुःखदायी अवस्था हाम्रासामु छ ।

बाजागाजा अनि अनेकौ ताल, लय र धुन पनि लोप हुँदै गएका छन् । नयाँ पुस्ताले सिक्न नपाएको र पुरानो पुस्ता मासिँदै गएको अवस्थामा एक किसिमको पुस्तैनी रिक्तता पैदा हुँदै छ । मानिसको जन्म, विवाह, व्रतबन्ध र मृत्यु संस्कारमा बजाइने बाजाका धुनहरू फरकफरक हुन्छन् । कुनै धुनमा दैवीस्तुति, कुनैमा शुभकामना र कुनै बेला आशोच बारेको संगीतको भाका जहिले पनि फरकफरक हुन्छ । हाल ब्यान्ड बाजाको नाममा पश्चिमा बाजाहरूले ठाउँ लिएका छन् । यसमा हामी आफ्नो संस्कार संस्कृतिबाट टाढा आयातीत संस्कारमा रमाइरहेका छौं । अहिले धेरै मानिस पञ्चैबाजाको नाममा प्रचलित गीतका धुनहरू बजाइरहेका छन् । तिनीहरूले परम्परागत धुनहरू प्रयोगमा ल्याउन सकेको पाइँदैन ।

राष्ट्रकै भाषासंस्कृति मास्न राज्यद्वारा नियुक्त प्राज्ञिक संस्थाहरूले चलखेल गरिरहेको बेला कर्णाली अर्थात् मध्य र सुदूरपश्चिम नेपालका कलासंस्कृति, बाजागाजा र गीतसंगीतको संरक्षणको कल्पनासम्म गर्न सकिने अवस्था छैन ।

केही बाजा संरक्षणको अभावमा लोपसमेत भइरहेका छन् । यी बाजाको मुख्य थलो हाल कर्णाली क्षेत्र मानिएको हिजोको जम्बुदीप, सपादलक्ष, ग्यागार, अलकापुरी, हिमवत्खण्ड, साकेत, अवध आदि जे भने पनि जुम्ला साम्राज्यकै विस्तृत भूभाग भएकोमा कुनै द्विविधा छैन । हाल त्यस क्षेत्रप्रतिको चरम उपेक्षा र मानिसहरूको संरक्षणप्रतिको उदासीनताको कारणले लोप हुनसक्ने अवस्था देखिन्छ । यस्तो चरम लापरबाहीलाई रोक्ने कुनै प्रयास हुन सकेको छैन र हालको स्थितिमा त्यसको सम्भावनासमेत देखिँदैन किनकि राज्यले त्यस्तो नीति र सोच सार्वजनिक रूपमा उजागर गरेको देखिँदैन ।

राष्ट्रकै भाषासंस्कृति मास्न राज्यद्वारा नियुक्त प्राज्ञिक संस्थाहरूले चलखेल गरिरहेको बेला कर्णाली अर्थात् मध्य र सुदूरपश्चिम नेपालका कलासंस्कृति अनि बाजागाजा र गीतसंगीतको संरक्षणको कल्पनासम्म गर्न सकिने अवस्था छैन । यस्तो स्थितिमा कर्णालीका गाउँगाउँमा स्वतस्फूर्त रूपमा जातीय संगीतको नेतृत्व गर्ने खसलगायत अन्य जातिभित्रको दमाई भनी बाजाहरूको राजा दमाह ठोक्ने समूहको उत्थान र संरक्षण एवं सम्वर्धन हुने किञ्चित सम्भावना देखिँदैन ।

दुःखको कुरा स्वर्गका गन्धर्वजस्ता संगीतसाधक, तन्त्रशक्ति भएका र विशिष्ट दैवी क्षमता प्राप्त यस समुदायलाई आफू को हौं भन्ने ज्ञान पटक्कै रहेको पाइँदैन । सीमित जानकारी भएका औंलामा गन्न सकिने व्यक्तिहरू साधनारत रहिरहन सक्ने भौतिक अवस्थाबाट वञ्चित छन् । राज्य र समाज उनीहरूप्रति उपेक्षाभावमात्र होइन दलित भनेर छिछि दूरदूर गर्दै अछूतको निम्न तहमा राख्दै आएको छ ।

पहिले मानिसहरूले यी वाद्यवादनका सामग्री मन्दिर अथवा देवीदेवताका नाममा चढाउने गर्थे । स्वयं बजाउनेले पनि किन्नसक्ने अवस्था थियो तर अहिले सबै कुराको बजारभाउ आकासिएको छ । नेपाली मुद्राको भाउ अवमूल्यन हुँदाहुँदा मुद्रास्फीतिले नेटो काटेको छ । आमजनताको भन्दा आर्थिक अवस्था कमजोर भएका दमाईहरूको क्रयशक्ति समाप्तप्रायः अवस्थामा पुगेको छ । स्वयं बनाउने समय पनि छैन । यसबाट गीतसंगीत र बाजागाजा विलोप हँुदै जाँदा हाम्रो सभ्यता, संस्कृति र धर्मसमेत लोप हुँदै जाने अवस्था छ ।

हाम्रो संगीतको इतिहास पौराणिक कालदेखि रहिआएको छ । शिवको ताण्डव नृत्य हुँदाको अवस्थामा पनि ढोल नगारा आदि वाद्यवादनको प्रयोग भएको वर्णन पाइन्छ । हाल देवताहरूको मन्दिरमा पूजा हुँदासमेत ढोल, नगारा, दमाहा, झ्याली आदि बाजागाजा अति आवश्यक मानिन्छ । हाम्रो लोकजीवनका संगीतकार दमाई, ढोली, औजी, परियार, नेपाली, गहतराज आदि थर लेख्नेलाई अछूत मान्ने र कामी, लोहार, सार्कीभन्दा तल्लो श्रेणीमा राख्ने चलन प्रचलित नै छ । ढोल र दमाहा बजाउने काम केवल औजी (आवजी)ले मात्र गर्छन् । उल्लेख्य के छ भने असवर्ण मानिए पनि कुमाउमा जागरको बेला यिनीहरूलाई अछूत मानिँदैन । यसमा उनीहरूलाई औजी, देवदास र गुरु भनिन्छ । यिनीहरूलाई राईदास, विणी दास अथवा धरम दास पनि भनिन्छ ।

तालका जन्मदाता भगवान् शिवलाई आदि नर्तक अथवा अर्को नाम नटराज हो । उनी संगीतका जन्मदाता पनि हुन् । ढोलसागर ढोलको तालसम्बन्धी ग्रन्थ हो । हिमालय क्षेत्रमा ज्योतिष तन्त्र मन्त्र र नृत्य संगीत आदिसँग सम्बन्धित सबै ग्रन्थ शिवद्वारा रचित र शिव पार्वती संवादका संकलनका रूपमा उल्लेख गरिन्छ । यस्ता ग्रन्थमध्ये प्रमुख ग्रन्थ ढोलसागर मानिन्छ । यो लोक संगीतको प्रमुख ग्रन्थका रूपमा लिइन्छ । विश्वको प्रत्येक ढोल बजाउने मानिसलाई भगवानदास वा देवदास र औजी पनि भनिन्छ । पश्चिम नेपालतर्फ ढोल दमाहाको वादन र नृत्य ढोलसागरको सिद्धान्तमा आधरित हुन्छ ।

ढोलसागरको पहिलो भागमा सृष्टिको उत्पत्तिको वर्णन पाइन्छ । यसलाई जागेश्वरी ढोलसागर भनिन्छ । अर्को भागमा ढोलको वर्णन, यसको उत्पत्ति, बजाउने कलाको बारेमा विस्तृत उल्लेख छ । यस भागलाई चिष्टकला ढोलसागर भनिन्छ ।यो ग्रन्थमा ढोलको उत्पत्तिका सम्बन्धमा पार्वती भन्छिन्, दोपते उत्पन्न ढोल ददी द्वापते उत्पन्न दमामे कनक द्वीपते कनक, थरहरी बाजी किरणे मण्डल ते चार किरणी बाजे सिंदु द्वापते सिन्दु थरहरी बाजी न दुथरहिते सिंदु थरहरी बाजै चौ दिशा की चार चासणा बाजी चार चासणीं की चाखास रणों बाजी चार चासणों की चार तेल बाजी (दुई पदमा उत्पन्न भएको ढोल दुई पदमा बजेर दमाहासहित कनक दविपमा थर्काउँछ । यसको बजाइले सूर्यको किरणमा समेत कम्पन ल्याउँछ । यसको आवाज किरणमा फैलिएर चारै दिशाको जल थलमा समेत तरंग ल्याउन्छ । चारै दिशामा बजाउँदा यसले रणमा समेत दुश्मनहरूको हौसलालाई नाश गर्छ)।

ढोलको बनावटका सम्बन्धमा यसरी उल्लेख छ— ढोल्या पार्वतीले बटोलिन्, विष्णु नारायणले गढाए, चारेजुग ढोल मुढाया ब्रह्माजीले ढोलमाथि कंदोटी चढाए (ढोलको अवधारणा पार्वतीले बटुलिन, विष्णुले ढोलको आकार सिर्जना गरी चारै युगमा ढोल तयार गरे, ब्रह्माले त्यसमाथि आफ्नो चिह्न राखे ) । ढोलको मूल र शाखा यसप्रकार छ, अरे आवजी उत्तर ढोली, ढोलको मूल, पश्चिम ढोली ढोलकी शाखा, दक्षिण ढोली ढोलको पेट, पूरव ढोली ढोलको आँखा (मुख्य आवाज आउने ढोलको भागलाई उत्तरको ढोली र ढोलको मूल मानिन्छ । पश्चिमको ढोलीलाई ढोलको शाखा, दक्षिणको ढोलीलाई ढोलको पेट र पूर्वको ढोलीलाई ढोलको आँखा मानिन्छ ) । श्रीवेद, सतगणेश, पासमतो, रणका, छणक, बेची, गोपी, गोपाल, दुर्गा, सरस्वती, जगती गरी १२ प्रकारका ढोल हुन्छन् ।

आवजाका मूल र कला, मन मूले, पौन कला, शब्द गुरु, सुरत चेला, सिंहनाद शब्दली, आव, शरत वसन्त देश धरती हो । मेरो गाउँ अलेकको नगर जमराज पुरी बस्तो गाउँ (यसको मूल मन, कला पौन (वायु), शब्द गुरु, बनावट शिष्य, गर्जन शब्दहरू, शरदको वातावरण भएको देश धरती हो । मेरो गाउँ अलेकको नगर यमराज पुरी गाउँमा बस्छु ) । चारै युगमा ढोलको इतिहास, द्वापरा मानदाताको वामदास, ढोली गगनको ढोलम तम शून्य शब्दम् । त्रेता युगे, मध्ये महेन्द्र नाम राजा बिदी पाल ढोली काष्टकी ढोलम आविष्कार । कलियुगेमध्ये वीर विक्रमाजित राजा भगवान्दास ढोली अरू तत्रको ढोल वस्त्रको शब्दम् पंच नामिक नमो नमः द्ववापर युगमा राजा मान्धाताको ढोली वामदास रही आकाशको ढोल बजाएर शून्य शब्द पैदा गरे । त्रेतायुगमा राजा महेन्द भए र विंदी पाल ढोली भई काठको ढोल आविष्कार गरे । कलि युगमा राजा वीर विक्रमजितको साथमा भगवानदास ढोली भए धातुको ढोल र वस्त्रको शब्द भयो । यिनीहरूलाई हाम्रो नमस्कार छ ) ।

ढोलसागरमा यसलाई कथाको रूपमा प्रस्तुत गरिएको छ । यसलाई ईश्वरोवाच र पार्वतीउवाच राखेर प्रश्न र उत्तर मिलाइएको छ । कथामा शिव, निरंकार निरञ्जन, निर्विकार शून्य सब एक रूप मानिएको छ । सुरुमा ओम, माता पिता गुरु र देवताको आदेश लगाइएको छ । विष्णु कमलबाट उब्जनु, कलमबाट ब्रह्मा जन्मिई ओमकार शब्द निस्केर सात द्वीप नौ खण्डको सिर्जना मानिएको छ । ढोलको उत्पत्ति शाखा, ढोल बनाउँदा डोरी चढाउने शरीरको सम्बन्धमा समेत वर्णन गरिएको छ । ढोलपछि वेदती, देवताको नाम दिइएको छ । १० दिशामा कुन कुन ढोल बज्दछन् तिनीहरूको नाम छ । चारै युगको ढोलीको नाम उल्लेख छ । चार वेदलाई बजाउने ताल र शब्दहरू राखिएका छन् । त्यसपछि सर्वत्र धौ धौकार र त्यसैदिन औजी (आवाज निकाल्ने) को उत्पत्ति भएको कथा छ ।

पृथ्वी उत्पत्तिको विषयमा भनिएको छ, पृथ्वी निरंकार हुँदै त्यसबाट साकार भयो । थल, जलको अन्डा आकार फुटेर नौ खण्ड धरती उब्ज्यो । निरंकार गोसाईबाट ब्रह्मा, अंग मलेर विष्णु, भौं मलेर भोलेनाथ, खुट्टा मलेर पारवती पैदा भए । यस्तै गोसाईले पृथ्वी, स्वर्गमा ईन्द्र र पातालमा वासुकी रचे । माटो पैदा गरी त्यसमाथि पृथ्वी राखिदिए । त्यसपछि तेत्तीस करोड देवता थापना भए । त्यसपछि सोह्र शृंगार गराएर महादेवले पार्वतीलाई नचाए । बाजाको छत्तीस ताल उल्लेख भएको ढोलसागरमा ढोलवादनका चार शैलीहरू रहेका छन् जसमा अमृत, सिन्धु, प्रराणी र मध्यानी । अहिले चार शैलीमा भगवानदासको मध्यानी शैलीमात्र उपलब्ध छ । यसका पनि चार उपशैली रहेका छन्— सुत्रिका, बाकुली, सेन्दुरी र झाडखण्डी ।

मध्यानी शैलीका प्रमुख तालहरूमध्ये बडाँई ताल, मंगल उत्सव र शुभकामनाको लागि प्रयोग हुन्छ । ढोलको घुयेल ताल देवताहरूको उपासनाका लागि र रहमानी ताल विवाहको अवसरमा बजाइन्छ । रहमानी ताल पनि सैनवार, उकाल र उन्दार गरी तीन तरिकाले बजाइन्छ । नौबत ताल उददीम दासद्वारा इन्द्रको दरबारमा बजाइन्थ्यो । अति प्राचीन नौबत ताल रातको दोस्रो र अन्तिम प्रहरमा कुनै मंगल उत्सव अथवा वसन्त ऋतुमा नित्य प्रस्तुत गरिन्छ । पहिले राजाको दरबारमा बजाइने नौबत तालअन्तर्गत नौपतन र बाइस पडतालहरू प्रस्तुत गरिन्थ्यो । नौपतमा नौ निधिहरू, बाइस पडताल, आठ सिद्धिहरू र चौध भुवनको अभिव्यक्ति हुन्छ ।

शिवको ताण्डव नृत्यताका प्रस्तुत गरिने चरितालिम ताल आजकाल लोप हुँदै गएको मानिन्छ । विजैसारको दुवै टुप्पोलाई तामाको तीन टुक्राले जोडिन्छ । यी तीन टुक्रा ब्रह्मा विष्णु र महेश्वरको प्रतीक हुन् । विजैसार त्रिदेवको सामूहिक शक्तिको प्रतीक मानिन्छ । यो भव भक्ति, विश्वरूपी ढोलको नियन्त्रणमा राखिन्छ । ढोलको निर्माण संसारको प्रलयपछि सृष्टिको सुनसानको स्थितिलाई भंग गर्न ब्रह्मा, विष्णु र महेशका साथै पार्वतीले गरेको मानिन्छ । यस नवनिर्मित ढोलको नाम शिवजन्ती राखियो ।

यसलाई सर्वप्रथम शिवले धारण गरेर सृष्टिको मनोरञ्जन गरेका थिए । ढोललाई ताल दिनका लागि तामाको दमाहा पनि सँगै बजाइन्छ । ढोल र दमाहाहरू बनाउँदा स्थानीय देवताहरूको नामसमेत लिइन्छ । देवताको पूजासमेतमा बाजाको प्रभावकारी भूमिका रहेको हुन्छ । पर्वहरूमा देवताको बढाइँ गर्ने आदि समयमा बाजाको आवश्यकता पर्छ । देवताहरूको मन्दिरमा पूजा तथा पर्व र विवाहका अवसरमा बाजा बजाउन आसपासमा दमाईहरू गाउँ बनाएर बसेका हुन्छन् । मन्दिर परिसरभित्र उनीहरूलाई बस्ने निश्चित ठाउँ तोकिएको हुन्छ । तिनीहरूलाई बाजाको ताल र कुन बेला मन्दिरमा कस्तो किसिमको ताल बजाउने जानकारी हुन्छ । धामीहरू नाच्ने अथवा कम्प दिने र देवतापिच्छे फरक रहेको बाजाको ताल उनीहरूलाई मात्र थाहा हुन्छ ।

केही गोप्य पूजा हुने मन्दिरमा भने बाजा गाजाको आवश्यकता पर्दैन र यिनीहरूलाई बोलाइँदैन । बाजे धामी (बाजा बजाए पछि काम्ने) भएको मन्दिरमा मात्र बाजाको प्रयोग हुन्छ । हाल दमाई भनिने गरे पनि बाजा बजाउनेहरूलाई पहिले राईदास विणिदास अथवा धरमदास भनिन्थ्यो । किंवदन्तीअनुसार एक चोटि देवलोक अर्थात् सपादलक्ष्यका देवताहरू कैलाशमा एकत्रित हुँदा विषको प्रकोपले सबै ग्रस्त हुन गए । सबै देवता आत्तिएर भगवान् शंकरलाई रक्षाका लागि प्रार्थना गर्न लागे । शंकरले सबैलाई आफ्नो पसिना एउटा शिलामा पुछ्न लगाए । त्यस शिलाबाट उत्पन्न भएका व्यक्तिलाई धरमदास भनियो । विणीदासले विजयसारको ढोल बनाएपछि राईदास अथवा रैदासले छालाले मोडे । धरमदासले ढोल बजाएर बिनतिको बोल बोलेर विषको प्रभाव शान्त गरेर समाप्त पारे ।

उत्तराखण्डतिर कालसैन देवताको प्रसंगमा मोतिया दर्जीको बारेमा उल्लेख भएको छ, जसलाई कालसैनका पिताका मित्र भनिएको छ । कुमाउको हुमधुरा पुग्दा गोरिल र सैम देवता जंगलको विषालु फूलको गन्धले बेहोश भए । नजिकै बसोबास गर्ने धरमिया दासलाई यो कुरा थाहा भएर उनले दमाहा बजाउने गजाले तिनीहरूको विष उतारिदिएपछि तिनीहरू गहिरो निद्राबाट उठे । धरमिया दास शिवका साथमा शिव पार्वतीको विवाहमा कैलाशबाट आएका र यही क्षेत्रमा बसोबास गरेको मान्यता छ । कालसैनको विवाहमा पनि यिनले नगारा बजाएका थिए ।

बझाङको बान्नी मष्टोको मन्दिर नजिक राक्षससँगको लडाइँमा देवी र मष्टो दाज्यू बहिनी मिलेर राक्षसलाई मारेपछि उसको शरीरबाट ढोल, टाउकोको भकुण्डो, हड्डीहरूको नरसिंहा करनाललगायतका बाजा र हात काटी दमाहा बजाउने गजा बनाई बजाउने साधन भएको मान्ने चलन छ । एक कथाअनुसार प्रभुले ब्रह्मालाई चार वेद पढ्न दिए । बिहान पढेर बेलुका बिर्सने क्रममा उनले अठासी हजार वर्षसम्म वेद पढ्दै रहे । ब्रह्म ज्ञानी भएपछि उनमा पढेको घमण्ड बढयो । प्रभुका भक्त रैदास चमारले १२ वर्षमा धुनी पूरा गरे । ब्रह्मा गंगाको दर्शन गर्नका लागि जान लाग्दा रैदासले आफ्नो पनि भेटी गंगालाई चढाईदिनु भनी पठाए । यो देखी ब्रह्माले भने, म त्यहाँ यो कसको हातमा दिऊँला ?

रैदासले जवाफ दिए, आत्तिनु पर्दैन मेरो भेटी भनेपछि माताले हात पसारेर लिनेछिन् । ब्रह्मा त्यता पुगेपछि गंगाले ठूलो छाल हानिन् । ब्रह्मा आफ्नो काम सकेर फर्किए तर रैदासको भेटी चढाउन बिर्से । आधा बाटो आएपछि उनी आँखा नदेख्ने भए । गंगातिर फर्कंदा उनको आँखा खुल्थ्यो भने घरतिर लाग्दा उनको आँखा बन्द हुन्थ्यो । उनले गंगा किनारमा फर्केर रैदासको भेटी चढाउँदै भने, रैदासको भेटी चढाउनु थियो । गंगामाईले भनिन्, रैदास मेरो प्यारो भक्त हो । भेटी चढाएपछि गंगाले एक सुनको पत्थर निकालेर ब्रह्माको हातमा दिइन् । उनी त्यो पाएपछि रैदासको घरको बाटो छलेर हिँडे । उनी जुन बाटो हिँडे पनि रैदास सामने उभिएका देखिन्थे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.