भाषा-संस्कृति र देशभक्ति

 भाषा-संस्कृति र देशभक्ति

एकपटक १३र१४ वर्षीया किशोरीले पसलमा तरकारी किनिन् र ‘पैसा कति भयो' भनिन् । पसलेले भन्यो, ‘छयहत्तर रुपैयाँ ।' ती किशोरीले वाल्ल परेर मतिर हेर्दै भनिन्, ‘अंकल छयहत्तर भनेको कति हो ? ' मैले छक्क पर्दै उनीतिर हेरेर सोधेँ, ‘कति कक्षामा पढ्नुहुन्छ नानी ? ' उनले भनिन्, ‘नौमा । भन्नु न अंकल कति हो छयहत्तर भनेको ? ' मैले ‘सेभेन्टी सिक्स' भनेपछि उनले पैसा तिरेर गइन् । यस्तो छ हाम्रो नेपाली शिक्षा र शिक्षण शैली । नेपाली भएर नेपाली नजान्ने त्यो पनि कक्षा ९ को विद्यार्थीले ! हामी कति निरीह भइसकेछौं ? नेपालमै नेपाली भाषा नबुझ्ने कस्तो शिक्षा पाइरहेका छन् हाम्रा छोराछोरीले ?

भाषाले देश चिनाउँछ । मौलिकता भनेको नै आफ्नो भाषाको प्रयोग हो । नेपालका यावत् कुराको नामकरण स्थानीय अथवा नेपाली भाषामा गरिएको हुन्छ । हरेक वस्तु स्थानीय नामले परिचित हुन्छन् । त्यसलाई विदेशी भाषाले पुकारियो भने त्यो हास्यास्पद बन्नसक्छ । खुकुरी नेपाली नाम हो । यसलाई ‘नाइफ' भनियो भने अर्थमा फरक आई त्यसको मौलिकतामा तुसारो पर्छ । नेपालको बारेमा जान्नु बुझ्नु परेमा नेपाली र स्थानीय भाषा नै चाहिन्छ । नेपालको बयान नेपालीमा जति सुहाउँछ त्यति विदेशी भाषामा सुहाउन्न ।

राष्ट्रिय अथवा स्थानीय भाषाको सामान्य ज्ञान नहुनेले देश चिन्दैन । नेपालका खोला-नाला, हिमाल-पहाड, जरी-बुटी, रूख-बिरुवा, अनि घरायसी सामग्री र बाजागाजा सबैको नाम नेपाली वा स्थानीय भाषामा राखिएको हुन्छ । दुँदेरो, मदानी, नेती, ठेकी, दाम्लो, हल्लुँड, अम्खोरा, करुवा, हर्पे, बट्न्यौटो, हुड्को, च्याब्रुङ्, टुङ्ना आदि । नेपाली मौलिक नाम नेपालका भाषामा जति समेटिन्छन् त्यति विदेशी भाषामा समेटिँदैनन् । तर, हिजोआजका अंग्रेजीभक्त र हिन्दीका उपासक यी नामहरू सुन्दा छक्क पर्छन् ।

भाषाको सम्बन्ध सोझै संस्कृतिसँग हुन्छ । जसलाई जुन भाषा सिकाइन्छ त्यसले त्यही भाषाको संस्कृति जानेको हुन्छ । जुन जातिको मौलिक संस्कृति हुन्छ, त्यस जातिको भाषा पनि जीवित हुन्छ । भाषा मृत भएमा संस्कृति पनि लोप भएर जान्छ । भाषा र संस्कृति लोप भएमा त्यो जाति नै अस्तित्वमा रहन्न । भनिन्छ- कुनै जातिलाई विलुप्त पार्नु छ भने त्यस जातिको भाषा र संस्कृतिमा आक्रमण गर्नुपर्छ । अहिले नेपालमा बोलिने विभिन्न जातजातिका स्थानीय भाषा र सबैको साझा नेपाली भाषामा अतिक्रमण भइरहेको छ ।

अतिक्रमणका विविध तरिका अपनाइएका छन् । हिन्दी भाषाको वर्चस्व स्थापित गराउन हिन्दीभाषी च्यानल दिलोज्यान दिएर हाम्रा कोठाचोटामा पसेका छन् भने हामी नेपाली पनि नजानिँदो पाराले साथ दिइरहेका छौं । अंग्रेजी भाषाको आधिपत्य जमाउन अंग्रेजीभाषी देशहरू पश्चिमी सभ्यतालाई काँधमा बोकेर हाम्रा कान्ला, गह्रा, पँधेरा र चौतारीमा नाचिरहेका छन् । हाम्रा छोराछोरीलाई ज्ञानको आर्जन नै अंग्रेजीमा मात्र हुन्छ भनिरहेका छन् । हामी त्यसैको होहोमा होहो मिलाइरहेका छौं ।

हामी आफ्नै गाउँसहरमा अंग्रेजी माध्यमबाट मात्र पढाइ हुने विभिन्न विद्यालय खोलेर, खोल्न उक्साएर, त्यस्ता विद्यालयमा अनिवार्य अंग्रेजी बोल्नुपर्ने बनाएर, नेपालीलाई अंग्रेजी भाषाको प्रयोग अनिवार्य गर्नुपर्ने बाध्यतामा पार्दैछौं । यस्ता कार्यहरू सहरमात्र होइन, गाउँमा पनि छ्यासछ्यास्ती छन् । नेपाली जानीनजानी फस्दै छन्, फसाइँदै छन् । कतिपय अंग्रेजी स्कुलमा आफ्ना छोराछोरीलाई भर्ना गर्न लानु परेमा छोराछोरीले मात्र होइन, अभिभावकले समेत अंगे्रजीमा परीक्षा दिनुपर्छ । यसबाट नेपालीभाषीलाई कसरी बाध्यतामा पारिँदै आइएको छ भन्ने बुझ्न सकिन्छ ।

तराईमा बोलिने मैथिली, भोजपुरी र थारू भाषा नेपालमा बोलिने सम्पूर्ण भाषाको श्रेणीमा दोस्रो, तेस्रो र चौथो नम्बरमा आउँछन् । यही भाषा र वाङ्मयको कारणले गर्दा यहाँको संस्कृति जीवित छ । यस्तो अवस्थामा हिन्दी भाषालाई माध्यम भाषा बनाउने हो भने यी भाषाहरूको अस्तित्व धरापमा पर्नेछ ।

अभिभावकले पनि आफ्ना छोराछोरीलाई अंग्रेजी माध्यमको स्कुलमा भर्ना गराएर ठूलै पौरख गरेको ठान्छौं । घरमा पनि छोराछोरील अंग्रेजी नै बोलिदिऊन् भन्ने सोचेका हुन्छौं । यसो गर्दा आफ्नो नेपाली भाषाको भविष्य के होला भन्ने सोच्दैनौं । अहिले जुन गतिमा अंग्रेजी भाषाको प्रभुत्व अगाडि बढिरहेको छ, यसलाई अझ बढाउने कर्ममा मानिसहरू लागिरहेका छन् । त्यसले केही वर्षपछि कस्तो परिणाम भित्र्याउला अनुमान गर्दा पनि आङ सिरिंग हुन्छ ।

हिन्दी भाषाका भक्तहरूले दक्षिणतर्फ फर्केर ठूलो स्वरले हिन्दी भाषालाई माध्यमको भाषा बनाइनुपर्ने कुरा फलाक्छन् र साखिलो बन्छन् । हामी पनि जानीनजानी त्यही भनाइमा ताली बजाएर रमाउँछौं । बुझ्नुपर्ने कुरा के छ भने तराई-मधेस भाषामा पहिले नै समुन्नत छ । तराईमा बोलिने मैथिली, भोजपुरी र थारू भाषा नेपालमा बोलिने सम्पूर्ण भाषाको श्रेणीमा दोस्रो, तेस्रो र चौथो नम्बरमा आउँछन् । यी भाषीहरूको आफ्नो रीति-परम्परा छ, आफ्नै समुन्नत संस्कृति छ । यही भाषा र वाङ्मयको कारणले गर्दा यहाँको संस्कृति जीवित छ ।

यस्तो अवस्थामा हिन्दी भाषालाई माध्यमको भाषा बनाउने हो भने यी भाषाहरूको अस्तित्व धरापमा पर्नेछ । किनभने माध्यम भाषा नै सबैभन्दा बढी बोलिने भाषा बन्छ अनि माध्यम भाषाको तुलनामा स्थानीय भाषा घट्दै र हट्दै जान्छन् र मैथिली, भोजपुरी र थारूजस्ता उन्नत भाषाहरूको लोप अवश्यम्भावी छ । यो कुरा नेताहरूले बुझ्नुपर्ने हो । आफ्नै खप्परमा आफैं बन्चरो नचलाउनुपर्ने हो । भाषा जति प्रयोगमा आयो त्यति नै जीवित रहन्छ । कुनै पनि देशले अर्को देशमा आफ्नो वर्चस्व स्थापित गर्नु छ भने भाषाको प्रयोगमा प्रोत्साहन गर्ने गर्छन् । त्यसै पनि नेपालमा भारतीय हिन्दी च्यानलहरूले आफ्नो भाषाको प्रयोगमा विभिन्न तौरतरिकाबाट जालहरू बिछ्याएर हिन्दी भाषाप्रतिको मोह थोपर्दै आएका छन् ।

विदेशी भाषाको वर्चस्वसँगै नेपाली सांस्कृतिक चाडपर्व, रीतिरिवाज र पहिरन पनि हराउँदै जानेछन् र विदेशी चाडपर्व, रीतिरिवाज अनि सभ्यतासँगै पहिरन आदि भित्रिँदै जानेछन् । अहिलेका सहरी सभ्यताको प्रभाव परेका युवकयुवतीलाई प्रेम र शान्तिको प्रतीक वसन्तपञ्चमी, शिव-पार्वतीको मिलन भएको दिन अक्षय-तृतीया, राम-सीताको विवाह भएको दिन विवाह पञ्चमी, मायाप्रेमका आदिगुरु श्रीकृष्णको जन्मदिन श्रीकृष्ण जन्माष्टमी, रामनवमी, जितिया पावनी, नयाँ वर्ष, मायाप्रेमकै कथा भएको स्वस्थानी व्रतलगायत प्रेममय हाम्रा मौलिक पर्वहरूको कुनै पत्तो छैन तर रोज डे, फ्रेन्डसिप डे, भ्यालेन्टाइन डे, न्यु इयर, इस्टर, हेलोइन, क्रिसमस डेजस्ता विदेशी चाडपर्वका बारेमा ठूलो आशक्ति छ र मनाइन्छन् । यो नै हो भाषाका साथै संस्कृतिमा परेको प्रभाव । सभ्यता र विकासको नाउँमा आफ्नो मौलिक संस्कृति र रीतिरिवाजलाई चटक्कै बिर्सेर अर्काको संस्कृति र रीतिरिवाज अँगाल्दा के परिणाम आउला भविष्यमा ।

विश्वका प्रायः देशले आफ्नो राष्ट्रिय भाषालाई पहिलो प्राथमिकता दिन्छन् । राष्ट्रिय भाषा अनिवार्य हुन्छ । आफ्नो देशको भाषापरीक्षामा पर्याप्त नम्बर नल्याई पास नहुनेले अर्को कक्षामा प्रवेश पाउन गाह्रो हुन्छ । यहाँ ठीक उल्टो अवस्था छ । नेपाली भाषामा पर्याप्त नम्बर ल्याउनु नै पर्दैन, पास हुन । कक्षा १० को परीक्षामा थोरै जीपीए आए पनि कलेजले भर्ना लिन्छन् । कक्षा ११ र १२ मा अनिवार्य छैन । ११ मा पढे १२ मा पर्दैन । १२ मा पढ्ने हो भने ११ मा पढ्नु नै पर्दैन । कति सजिलो छ । त्यसभन्दा माथि त नेपाली विषय लिएर पढ्नेले मात्र हो, अरूले पढ्नै पर्दैन ।
अहिले त झन् भाषाको वर्णविन्यास तानातानमा परेर नेपाली भाषा नै मरीच चाउरिएजस्तै भएको छ । अहिलेको जस्तो कि पहिलेको जस्तो भन्ने अन्योलको अवस्था आएको छ । अनि जस्तो लेखे पनि ठीक हुन्छ भन्नुपर्ने भएको छ ।

यस्तै कारणहरूले हो, नेपालीभाषी नै नेपाली भाषामा कमजोर भएका । जसलाई नेपाली भाषाको पूर्ण ज्ञान छैन भने ऊ कसरी देशको कर्णधार बन्ला अनि मुलुकलाई विकासको शिखरमा पुर्‍याउला ? नेपाली वा स्थानीय भाषाको यस्तो कमजोर जानकारले देशको अवस्था र वातावरण कसरी बुझ्ला ? विदेश जाँदा आफैं विदेशी भाषा बोल्ने नेपालीलाई आफ्नै देशभित्र डुल्दा दोभासे चाहिने होला । हामी नै यस्तै पुस्ताको उत्पादन, प्रशिक्षण र प्रोत्साहन दिन अग्रसर हुँदैछौं ।

यो विडम्बनाबाट हामी कसरी पार पाउन सक्छौं, यसको ज्ञान पनि हामीलाई नभएको होइन तर सभ्यता र आडम्बरको आडमा आङमा परेको धूलो पनि टक्टक्याउन मन लाग्दैन हामीलाई । नेपाली भाषालाई अनिवार्य विषय र जान्नैपर्ने विषय बनाएको भए बाटातिर देखिने साइनबोर्डमा गल्ती लेखिएको देखिँदैनथ्यो । गाडीमा लेखिएका सायरीहरू पनि भुसुक्कै गल्ती हुने थिएनन् होला । ‘आमाको आशीर्वाद'लाई ‘आमाको आर्शीवाद' लेखिने थिएन होला । नेपाली टेलिभिजनहरूको ब्रेकिङ समाचारमा गलत लेखाइ बोकेर समाचार आउने थिएन होला । भाषा-संस्कृतिविज्ञहरूले भाषाबारे अभियान नै थालनी गर्नुपर्ने देखिन्छ । नेपाली भाषा सबै नेपालीका लागि अनिवार्य बनाएर आफ्नो भाषा, संस्कृति र मौलिकतालाई बचाउने हो भने भाषाभक्त, संस्कृतिभक्त र देशभक्त नेपालीको देश बनाउन सकिन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.