राजधानीमाै थपियो फिल्म एकेडेमी
काठमाडौं : नेपाली चलचित्रको स्तरोन्नतिसहित यस क्षेत्रमा युवापुस्ताको आकर्षण पनि बढ्दो छ । चलचित्र अध्ययन गरेर यस क्षेत्रमा करिअर बनाउन चाहनेलाई लक्षित गर्दै राजधानीमा कान्तिपुर फिल्म एकेडेमी स्थापना गरिएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी फिल्म एकेडेमी सञचालनको घोषणा गरिएको हो ।
मैतीदेवीस्थित आफ्नै भवनमा कार्यक्रम आयोजना गरी औपचारिक रूपमा एकेडेमीका बारेमा जानकारी दिएइको हो । अन्तर्राष्ट्रियस्तरको अध्ययन अध्यापन गराउने उद्देश्यका साथ स्थापना भएको यस एकेडेमीलाई निर्माता छविराज ओझाले सञ्चालनमा ल्याएका हुन् । एकेडेमीमा ओझासहित प्रकाश पुरी, विमल सुवेदी, नरेशकुमार केसी, दयाराम घिमिरे, पृथ्वीराज प्रसाई र सुरज चिलुवालको समूह संलग्न छ ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्र पुग्न थालेसँगै यस क्षेत्रको भविष्य पनि उज्ज्वल देखिन थालेको छ । परिवर्तित समयअनुसार सक्षम, कुशल र पढेका चलचित्रकर्मीको आवश्यकता देखिएकाले नेपालमै अन्तर्राष्ट्रियस्तरको अध्ययन अध्यापन गराउन फिल्म एकेडेमी सुरु गरिएको सञ्चालक ओझाले बताए । ‘कान्तिपुर फिल्म एकेडेमीमा अध्ययन गरेका विद्यार्थीले एक वर्षभित्रै चलचित्रको अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नसक्ने सामथ्र्य राख्नेछन्’, ओझाले दाबी गरे ।
पत्रकार सम्मेलनमा यस एकेडेमीले रसियाको एक्टिङ इन्स्टिच्युट ‘नोभोसिस्क स्टेट थिएटर इन्स्टिच्युट’सँग सम्झौता पनि गरेको छ । सम्झौतामा दुई इन्स्टिच्युटबीच छात्रवृत्तिमा विद्यार्थी आदानप्रदान गर्ने, अध्यापनका लागि शिक्षक आदानप्रदान गर्ने, दुवै देशमा कला संस्कृति प्रवद्र्धनसम्बन्धी काम गर्ने, एकअर्का मुलुकबीच चलचित्र एवं नाटक प्रस्तुति ल्याउने, लाने र शैक्षिक सामग्री आदानप्रदान गर्ने पनि सहमति भएको छ ।
सम्झौताअनुसार पहिलो चरणमा कान्तिपुर फिल्म एकडेमीबाट अभिनय विधामा संजोग रसाइली र अनिल कँडेल एवं निर्देशनमा परिच्छेद सेन गरी तीनजना विद्यार्थी छात्रवृत्तिमा रसिया जाने भएका छन् ।पत्रकार सम्मेलनमा नोभोसिस्क स्टेट थिएटर इन्स्टिच्युटका प्रमुख निर्देशक अलेक्जेन्डर लवेदेभ, संस्कृति तथा नाट्य विभाग प्रमुख भ्लादिमिर सोलोडोभ, प्रमुख कार्यकारी अधिकृत इलेना गुस्चिना, नाट्य विशेषज्ञ अनास्थासिया इभानोभा पनि सहभागी थिए ।