प्राविधिक युग, अप्राविधिक निर्वाचन

प्राविधिक युग, अप्राविधिक निर्वाचन

हुन्छ कि हुँदैन भन्ने दोधारमा झुन्डिएको पहिलो चरणको स्थानीय चुनाव शान्तिपूर्वक नै भन्नुपर्छ सम्पन्न भयो । एकाध स्थानलगायत दोलखातिर भएका अप्रिय घटनाबाहेक चुनाव शान्तिपूर्ण वातावरणमा भएको छ । यसले नेपाली जनताको लोकतन्त्रप्रतिको आस्था र विश्वास नै जगाएको छ । अब दोस्रो चरणको चुनाव पनि यसरी नै सम्पन्न हुने आशा र भरोसा जागेको छ ।

Image may contain: 1 person, smiling, eyeglassesयस चुनावका केही विशेषता पनि छन् । पहिलो विशेषता त झन्डै दुई दसकको अन्तरालपछि नेपालीले स्थानीय तहमा आफ्नो मत प्रकट गर्न पाए । अर्को विशेषता भनेको यो चुनावमा युवा र महिलाको उत्साह र सहभागिता बढेको देखियो । पढेलेखेका र नयाँ उत्साही युवाहरूको सहभागिता भएकाले अबको नेपालमा नयाँ काम हुन्छ भन्ने आशा जगाएको छ । तेस्रो विशेषता ठूला दलहरूमा एमाले प्रारम्भिक परिणामअनुसार पहिलो पंक्तिमा र कांग्रेस दोस्रो पंक्तिमा देखियो । माओवादी केन्द्र कतै राम्रै स्थितिमा देखिए पनि समग्रमा भन्नुपर्दा उसको स्थान तेस्रो नै देखिन्छ । काठमाडौंको चुनाव हेर्दा राप्रपा धेरै तल परेको देखियो ।

वास्तवमा उपत्यकामा समानुपातिकमा राप्रपाको रामै्र स्थान रहेको थियो, तर यसपालिको चुनावमा राप्रपा धेरै पछि परेको देखियो ।अहिलेको अत्याधुनिक सञ्चार प्रविधि र शिक्षा आदिले नेपाली जनता धेरै सचेत भइसकेका छन् । उनीहरूलाई झुक्याउन सक्ने अवस्था छैन । उनीहरूले नेपालको वर्तमान राजनीति, नेताहरू र दलहरूका क्रियाकलाप अनि देश र जनताको विकासमा यिनको योगदानको राम्रै विश्लेषण गर्न सक्षम भइसकेका छन् । यसपटक नयाँ पुस्ताको अनुहार विजयी हुनेहरूमा देखिनु त्यसैको परिणाम हुन सक्छ ।

एमाले चुनावमा अग्रपंक्तिमा देखिनु, कांग्रेस दोस्रोमा देखिनु र माओवादी तेस्रो स्थानमा देखिनु र राप्रपा साँच्चै भन्ने हो भने बढारिएजस्तै देखिनु तिनका पार्टीका क्रियाकलाप, सोच र कार्यक्रम र खासगरी तिनका शीर्ष नेताहरूको गतिविधि र सोचको परिणम मान्न सकिन्छ । एमालेले पछिल्ला राजनीतिक मुद्दामा देखाएको सुझबुझ र उसको राष्ट्रियताको अडानले जनताले उसलाई पहिलो पंक्तिमा राख्न खोजेका हुन् । एमालेका नेता केपी ओलीले राष्ट्रियताको पक्षमा देखाएको अडान र भारतको नेपालप्रतिको हेपाहा प्रवृत्तिविरुद्ध देखाएको नीतिलाई सम्भवतः धेरै नेपालीले उसको नेतृत्वमा हो भने नेपालले केही गर्न सक्छ भन्ने सोच लिएको हुन सक्छ ।

मतपत्र र निर्वाचनको पुरानो पद्धति परिवर्तन गरेर आजको आधुनिक सञ्चार प्रविधि प्रयोग गर्ने सके खर्च पनि घट्ने, समय पनि नलाग्ने र धाँधली गर्न पनि नसकिने प्रबन्ध मिलाउनेतर्फ अहिल्यैदेखि नै सोच्ने पो हो कि ?

भारतको विरोध हुँदाहुँदै पनि उनले चीनसँग गरेका सम्झौता आदिलाई हेर्दा र उनका गहकिला तर्कहरू सुन्दा मतदाता आकर्षित भएको हुन सक्छ । नेपालको राष्ट्रियताको अडानमा उनको छवि उज्यालो छ । नेताहरूमा हुनुपर्ने यो एउटा अनिवार्य गुण हो । अरू कसैको इसारामा चल्ने आफ्नो सोचै नभएको व्यक्तिले नेता बन्ने सपना देख्नु हुँदैन ।

जहाँसम्म कांग्रेसको प्रश्न छ । नेपालको सबैभन्दा पुरानो र प्रजातन्त्रको लडाइँमा धेरै मेहनत गरेको कांग्रेसले अहिले राम्ररी देश हाँक्न सक्नुपथ्र्यो । कांग्रेसका संस्थापक नेता बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाको स्याहार-सुसार र निर्देशनमा हुर्केको कांग्रेस अहिलेका नेताहरू शेरबहादुर देउवा, रामचन्द्र पौडेलजस्ता नेताहरूसम्म आइपुग्दा कांग्रेस पतनतिर लाग्ने हो कि जस्तो लाग्न थालेको छ ।

वर्तमान अध्यक्ष देउवाले प्रहरी अधिकृतको बढुवामा गरेको हस्तक्षेप र प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोगको जुन अस्त्र प्रयोग गरे, त्यसले कांग्रेसको साख धेरै गिर्‍यो । आफू अध्यक्षमा निर्वाचित भइसकेपछि संगठनमा गर्नुपर्ने नियुक्तिदेखि लिएर रामचन्द्र पौडेललगायतका पुराना नेताहरूलाई तिनको योग्यता, क्षमताका आधारमा काम र जिम्मेवारी दिन नसक्नु, पार्टी र आफ्ना नातेदारलाई ठूलाठूला पदमा नियुक्ति गर्न दबाब दिने कामले नै होला कांग्रेस दोस्रो स्थानमा पुगेको छ ।

राजनीतिमा भन्दा अर्थनीतिमा लाग्यो कांग्रेस सायद! प्रजातान्त्रिक सिद्धान्त भएको कांग्रेसले एउटा विपरीत सिद्धान्तको पार्टीसँग स्वार्थवश चुनावमा तालमेल जोड्नु भनेको आफूलाई सिद्धान्तविहीन बनाउनु हो । कांग्रेस र माओवादीको सिद्धान्त र नीति एउटै हो भने दुइटै दल मिलेर एउटा ठूलो दल बनाए त भइहाल्थ्यो नि ! सिद्धान्तलाई यसरी छोडेर माओवादी नेतापुत्रीलाई जिताउन गठबन्धन गर्नु कांग्रेसलाई सुहाउने कुरा होइन ।

त्यसो भए सिद्धान्त केका लागि ! कांग्रेसको सिद्धान्त के हो त ? माक्र्सवाद या लेनिनवाद के हो ?
माओवादी केन्द्र त नेता प्रचण्डकै क्रियाकलाप र बोलीले तेस्रो स्थानमा पुगेको हो । उनी कहिल्यै एउटा कुरा बोल्दैनन् । दर्शक र कार्यक्रम हेरेर बेग्लाबेग्लै कुरा गर्छन् । उनी नौ महिना प्रधानमन्त्री हुँदा छिमेकी भारतसित 'लम्पसार' परेर 'लम्पसारवाद' भन्ने नयाँ शब्द नै नेपालको लागि तयार पारिदिए ।

हुन त प्रचण्ड, कांग्रेस, एमाले सबैलाई नेपालका राजनीतिमा दिल्लीमा भएको बाह्रबुँदे सम्झौताले नेपाली नेताहरू 'लम्पसार' पर्न थालेका हुन् । सायद नेपाली जनताले यही 'लम्पसावाद' को विरुद्धमा माओवादीलाई मत दिएनन् । अब त उनले कांग्रेसका शेरबहादुर देउवालाई हस्तान्तरण गरेपछि सरकारमा आफू हुँदाजस्तो आफ्ना कार्यकर्तालाई 'पद र रकम' दिएर आफूतिर तान्न सक्तैनन् होला ।

उनका कार्यकर्ता पनि प्रचण्डको परिवारवाद र अकर्मण्यताबाट वाक्क भइसके जस्तो लाग्छ । जनयुद्धका लडाकुलाई अझै केही गर्न सकेका छैनन्, बाहिरबाट आएको लडाकुको रकम पनि कुन नेताको गोजीमा छ । मन्त्रीहरू भ्रष्टाचारको कुरा गर्दा हामी त साना माछा हौं भन्न थालेका छन् । ठूला माछा को हुन् त ? कार्यकर्ता प्रश्न गर्न थालेका छन् । माथिल्ला तहका नेता माथि नै पुगे भने कार्यकर्ता तलै छन् ।

अर्को सबैभन्दा आशा गरिएको र यसपालि त पक्कै राम्रै स्थान ल्याउँछ होला भनेको राप्रपा त राजधानीमा त बढारिएको जस्तो छ । यसको दोष पनि यसका नेता कमल थापालाई नै दिन्छन् मतदाता । मतदाताले जनयुद्धपछिको लोकतन्त्रको प्रारम्भमा समेत 'एन्टिकरेन्ट' गएर हिन्दु धर्म र संवैधानिक राजतन्त्रको पक्षमा बुलन्द आवाज उठाएर 'राजा आऊ, देश बचाऊ' को नारा दिने निडर थापा पछिल्लो समयमा राजाविरोधी पनि देखिए र हिन्दु धर्ममा पनि त्यति सशक्त आवाज उठाउन नसकेकैले यसपटक जनताका आँखामा नपरेका हुन सक्छन् ।

नेताहरूको सम्पत्ति भनेकै उनीहरूको सिद्धान्त हो र राष्ट्रका मुद्दामा रहने अडान हो । स्वार्थ र सत्तामा जिब्रो गाढेपछि न सिद्धान्त रहन्छ, न त आफ्नो जिम्मेदारी नै । पछिल्लोपटक छिर्ने घरिघरि सत्तामा पुग्ने यिनको प्रयत्न पनि सायद उनका मतदाताले मन पराएनन् । त्यसैले अब जनयुद्धपछिको 'एन्टिकरेन्ट' जाने कमल थापा र अहिलेका केही कांग्रेसी नेताबीच खासै फरक देखिएन ।

सबैभन्दा ठूलो र महत्वको कुरा निर्वाचन भयो । तर मतपत्रको आकार र त्यसमा देखिने भ्रम यो निर्वाचनको सबैभन्दा खराब पक्ष देखियो । त्यत्रो मतपत्र पल्टाएर सातजना उम्मेदवारलाई छाप लगाउनुपर्ने काम हामीजस्ता पढेलेखेकालाई त गाह्रो पर्छ भने गाउँघरका बूढाबूढी जो राम्ररी आँखा देख्तैनन्, जसलाई 'चिह्न' पत्ता लगाउन पनि कठिन हुन्छ, तिनले कसरी भोट दिए होलान् ? ठूलो मतपत्रकै कारण गणना गर्न पनि समय लागेको छ ।

हुनसक्छ, पहिलो निर्वाचनको गणना सकिनासाथ दोस्रो निर्वाचनमा जाने बेला भइसक्ला ! यसमा निर्वाचन आयोगका प्रमुखदेखि अन्य आयुक्तहरूको दृष्टि नपुगेकै हो । उनीहरूको सोचकै अभाव हो । तर मतदाता भने खुसी छन्- नयाँ अनुहार देख्न पाइने भइयो र नयाँ उत्साह र जाँगरका साथ काम हुने सम्भावना बढ्यो । पहिलेजस्तो दलीय भागबन्डामा बजेटको रकमतिर र्‍याल काढ्ने कामचाहिँ बन्द भइदिए गाउँघरको विकास हुने थियो ।

मतपत्र र निर्वाचनको पुरानो पद्धति परिवर्तन गरेर आजको आधुनिक सञ्चार प्रविधि प्रयोग गर्ने सके खर्च पनि घट्ने, समय पनि नलाग्ने र धाँधली गर्न पनि नसकिने प्रबन्ध मिलाउनेतर्फ अहिल्यैदेखि नै सोच्ने पो हो कि ? आज हरेक नेपालीका हातमा दुइटासम्म मोबाइल फोन छन् । त्यसबाट मतदान प्रणाली मिलाउन सकिने प्रविधिको नेपालमा कमी छैन । यसो गर्न सके, कागजको, बुथको र मतपत्र र छापको खर्चसमेत बचत हुने थियो ।

साथै मतदाताले सहज रूपमा मत प्रकट गर्न पाउने थिए । अनि मत बदर हुने सम्भावना पनि एकदमै नून हुन्थ्यो । प्रविधि सबैलाई सरल र निश्चित हुनसक्छ, अपांगमैत्री पनि हुन सक्छ । तर अहिलेको मतपत्र गणनामा लागेको समय र खर्च हेर्दा यो प्रविधि सरल र राम्रो हुन सक्छ । प्राविधिक युग छ, निर्वाचन प्रक्रिया अप्राविधिक नै छ । निर्वाचन आयोग र सरकारले सोच्ने हो कि ?

अहिले पनि नेपाल व्यवस्थापन संघ, कम्प्युटर एसोसिएसन अफ नेपालजस्ता संस्थाले यसको प्रयोग गरिसकेका छन् । वास्तवमा कम्प्युटर एसोसिएसन तथा कलेजका कम्प्युटर अध्ययन गर्ने विद्यार्थीलाई एउटा प्रोजेक्ट बनाएर यो काम लगाउन पनि सकिन्छ ।

 

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.