कुलमान नचिन्नेहरू
एकजना मित्र भन्ने गर्थे, 'नेपालमा राम्रा मान्छे धेरै दिन टिक्दैनन् । यहाँका जनताले नै उनीहरूले मन पराउँदैनन् । यहाँ कुनै कर्मचारी, नेताले राम्रो काम गरे भने कि तिनीहरूको सरुवा गरिन्छ कि त पदबाट हटाइन्छ । यहाँ भ्रष्टाचार गर्ने मानिस धेरै दिन टिक्छन् । कतिपय मानिस पनि बाहिर जति नै उनीहरूविरुद्ध नाराबाजी गरे पनि उनीहरूबाट आफ्नो काम सजिलै गर्न मिल्ने भएकाले त्यस्ता व्यक्तिलाई नै मन पराउँछन् ।'
यहाँ राम्रो काम गर्ने मान्छेलाई विभिन्न बाहना बनाएर हटाउन खोजिन्छ । यसमा विभिन्न स्वार्थ जोडिएको हुन्छ । जसले गर्दा यहाँ राम्रो काम गर्ने मानिसको हौसलामा गिराबट आउँछ र उनीहरू ओझेल पर्दै जान्छन् । फलस्वरूप हामीकहाँ त्यही भ्रष्ट, चलखेल गर्न सक्ने व्यक्तिले नै राज गर्छन्, जसको ध्येय देश र जनताभन्दा पनि उनीहरूको ध्यान आफ्नो स्वार्थपूर्ति गर्नेतर्फ बढी केन्द्रित हुन्छ । यसको लागि उनीहरू अनेक किसिमका भ्रष्टाचारमा लिप्त हुन्छन् ।
अहिले नेपाल विद्युत् प्राधिकरणले खरिद गर्न लागेको एलईडी बल्बको विषय चर्चामा छ । यसका पछाडि पनि विभिन्न स्वार्थ लुकेका होलान् । उनले चलाएको अभियान तुहाएर फेरि लोडसेडिङ गराउने र गत वर्षजस्तै इन्भर्टर, ब्याट्री, इमर्जेन्सी लाइट र जेनेरेटरको व्यापार गर्नेजस्ता स्वार्थ निहित छन् । यस्ता अनेक स्वार्थपूर्ति गर्न अहिले विभिन्न सन्चारमाध्यममा गलत सूचना प्रसारित गरिँदैछ ।
यसको खण्डन भावुक हुँदै पत्रकार सम्मेलनमार्फत गरे । कुलमान घिसिङले सार्वजनिक खरिद कानुनमा भएको व्यवस्थाअनुसार लिड बल्ब खरिद प्रक्रिया अगाडि बढाएको प्रस्ट पारे । एउटा बल्बमा पैसा खानुपर्ने आफ्नो अवस्था नरहेको भन्दै उनले गहभरि आँसु पार्दै भने, 'नेपाली जनताबाट एक रुपैयाँ खाने अवस्था छैन । पैसा खानु नै छ भने दुईचार घन्टा लोडसेडिङ गर्दा नै करोडौं कमाएर बस्थें ।'
समाचार स्रोतका अनुसार भारतको सरकारी कम्पनी इनर्जी इफिसेन्सी सर्भिसेज लिमिटेड (ईईएसएल) सँग विद्युत् प्राधिकरणले प्रतिगोटा ६५ रुपैयाँमा दुई करोड वटा एलईडी बल्ब खरिद गर्ने निर्णय गरेसँगै नेपाल सरकारलाई ८६ करोड घाटा लगाइएको र यसमा कमिसनको खेल भएको भन्दै घिसिङमाथि भ्रष्टाचारको आरोप लगाउन सुरु भएको छ । एक समाचार रिपोर्टअनुसार बल्ब खरिद गर्दा मूल्यका हिसाबले भारतभन्दा आधै सस्तो पर्न जान्छ।
नेतामा जनताको डर हुनुपर्यो अनि मात्र यहाँ मनपरीतन्त्र हट्छ । राम्रा मान्छेको पक्षमा जनता आफंै एकजुट भएर उभिनुपर्यो, यसले गर्दा उनीहरूको मनोबल सधैं उच्च रहिरहोस् । नत्र कुलमान, सुशीला कार्कीजस्ता पात्र भविष्यमा पाउन मुस्किल हुन्छ ।
अन्नपूर्ण पोस्ट्मै छापिएको एक रिपोर्ट हेर्ने हो भने पनि विद्युत् प्राधिकरणले भारतबाट मगाएर उपभोक्तालाई बिक्री गर्न खोजेको एलईडी चिमको मूल्य विवादित बनाउने प्रयास भइरहँदा नौ वाटको फिलिप्स एलईडी चिमको मूल्य भारतको राजधानी दिल्लीमै प्रतिगोटा एक सय ९० भारु (तीन सय चार रुपैयाँ) पर्ने त्यहाँका बिक्रेताले बताएका छन् ।
उक्त रिपोर्टअनुसार नेपालको हेटौंडासम्म प्रतिगोटा ६५ रुपैयाँ भारु (एक सय चार रुपैयाँ) पर्ने यो चिमको मूल्यमा स्थानीय कर र सेवा शुल्क जोडिँदा नेपालका उपभोक्ताका लागि प्रतिगोटा एक सय ४० रुपैयाँसम्म पर्ने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताउनुभयो । अर्थात् दिल्लीमा फिलिप्स ब्रान्डको एउटा एलईडी चिमलाई पर्ने मूल्यमा नेपालमा प्राधिकरणले दुईवटा त्यस्तै चिम बिक्री गर्नेछ । काठमाडौंको बजारमा भने फिलिप्स नौ वाटको एलईडी चिमको मूल्य चार सयदेखि पाँच सय रुपैयाँसम्म पर्छ । टेन्डर किन नगरीकन खरिद गरिएको भन्ने पनि धेरै गुनासो आएको छ, तर टेन्डर गरिएको भए ती बल्बका गुणस्तरमा कमी आउने धेरैको विश्लेषण छ ।
अहिलेजसरी बल्ब खरिद प्रक्रिया निकालेर कुलमान घिसिङलाई बद्नाम गराउन खोजिँदैछ, यसको उद्देश्य प्रस्ट छ— उनको उज्यालो नेपाललाई पूर्णविराम लगाउने र हिउँदसम्ममा फेरि लोडसेडिङ गराउने । यसमा पनि विभिन्न स्वार्थ लुकेका छन् । स्वार्थ भएका पात्रलाई राम्ररी थाहा छ, यदि कुलमान हटेर फेरि लोडसेडिङ गरे पनि एकदुई दिन विरोध होला, त्यसपछि फेरि पहिलेकै जस्तै अवस्था सामान्य हुनेछ । विगतमा जस्तै फेरि १९ घन्टा लोडसेडिङ गरे पनि जनता चुप लागेरै बस्छन् भन्ने उनीहरूको विश्लेषण छ । त्यसैले त विभिन्न बहानाबाजी गरेर कुलमानलाई बद्नाम गर्ने कोसिस भइरहेको छ ।
दैनिक १८ घन्टासम्म लोडसेडिङका कारण अन्धकारमा बस्न बाध्य जनता अहिले उज्यालोमा रमाइरहेका छन् । सायद उनीहरूले यो चमत्कार यति छिटो सम्भव होला भन्ने सोचेकै थिएनन् होला । जनतालाई अन्धकारमा बस्ने बानी नै परिसकेको थियो । विगत १२ वर्षदेखि हुँदै आएको लोडसेडिङ अहिले ह्वात्तै घटेको छ ।
तिहारदेखि झलमल्ल भएका जनताका घरमा नेपाल प्राधिकरणमा कुलमान आएयता त्यो उज्यालो निभेको छैन । पोहोर हिउँदमा दिनको तेह्र घन्टासम्म लोडसेडिङ हुने गथ्र्यो । अहिले काठमाडौं उपत्यका र यस आसपासका जिल्ला तिहारपछि झलमल्ल छन् । यो कुनै चमत्कार वा जादुले सम्भव भएको होइन, कुलमानको कुशल नेतृत्व र व्यवस्थापनबाट सम्भव भएको हो ।
लगभग असम्भव नै ठानिएको एक अभियान (पूरा देशलाई नै उज्यालो बनाउने) मा जसरी कुलमान सफल भए, यसको बदला उनको सम्मान गर्नुको सट्टा जसरी केही व्यक्ति र समूहले उनलाई भ्रष्टाचारको आरोप लगाएर चरित्र हत्या गर्न खोजिँदैछ, यो दुर्भाग्यपूर्ण छ । यहाँ राम्रो काम गर्ने मानिसको खेदो खनिन्छ । उनलाई जसरी पनि पदबाट हटाउने र आफ्नो स्वार्थपूर्ति गर्न समूहहरू लागिपरेका छन ।
यहाँ खराब नियत भएका र भ्रष्टाचारी व्यक्ति मात्र धेरै टिक्छन्, यो देशकै लागि दुर्भाग्यपूर्ण हो । यस्तो स्थितिमा कसरी देश विकास हुन्छ । यसमा नेता मात्र होइन, हामी जनता पनि उत्तिकै दोषी छौं । हामी तिनै भ्रष्टाचारी नेता व्यक्ति छान्छौं अनि वर्षौं देश नै विकास भएन, नेतै भएनन् भन्दै गाली गर्छौं, बिलौना गर्छौं ।
देश विकास नहुनुमा नेताको होइन, हामी जनताको ठूलो हात छ । हामी जसले जे गरे पनि चुपचाप सहिदिन्छौं, कसैले त्यसविरुद्ध आवाज उठाउँदैनौं । एकदुई दिन माइतीघरमा जुलुस निकालेर नेतालाई गाली गर्छौं र त्यो आफैं सेलाएर जान्छ । ती आवाज बुलन्द र सशक्त पारेर उठाउनुपर्यो नि अनि यहाँ मनपरी गर्ने कसको हिम्मत ? हामी कोही नेताको विरोध कार्यक्रम र जुलुस भयो भने आफ्नो ज्यानको बाजी नै थापेर जान्छौं, तर तिनै नेताले जति नै मनपरी गरे पनि यहाँ बोल्ने कोही हुँदैनन् । यहाँ २४ घन्टा नै लोडसेडिङ गरे पनि बोल्ने कोही हुँदैनन् । यो कटु यथार्थ हो । पाँच मिनेट लोडसेडिङ गरे पनि यो कसरी भयो, किन भयो भन्दै जनता उठेर गए यहाँ लोडसेडिङ गर्ने कसको हिम्मत ?
नेतामा जनताको डर हुनुपर्यो अनि मात्र यहाँ मनपरीतन्त्र हट्छ । राम्रा मान्छेको पक्षमा जनता आफैं एकजुट भएर उभिनुपर्यो, यसले गर्दा उनीहरूको मनोबल सधैं उच्च रहिरहोस् । नत्र कुलमान, सुशीला कार्कीजस्ता पात्र भविष्यमा पाउन मुस्किल हुन्छ । जजसले त्यस्ता व्यक्तिको उद्देश्यमा रोक लगाउन खोज्छन्, त्यस्ता व्यक्तिलाई सामाजिक बहिष्कार गर्नुपर्यो । अब हामी जनता आफैं जागौं, देश आफैं बन्दैन, हामीले बनाउने हो । राम्रा मान्छेलाई राम्रा काम गर्न नरोकौं र सधैं उनीहरूको पक्षमा डटेर लागौं ।