सम्पन्नता र समृद्धिको मार्ग
एप्रिसियटिभ इन्क्वायरीको नेपाली अनुवाद हो प्रशंसात्मक खोज । जीवन विज्ञानको नवीन दर्शनको रूपमा प्रशंसात्मक खोजलाई लिने गरिन्छ । डेभिड कुपरराइडर यो दर्शनका प्रणेता हुन् । अहिले प्रशंसात्मक खोजका प्राध्यापक, अध्येता, अनुसन्धाता र अभ्यासकर्ताको संख्याले ठूलै आकार लिएको अवस्था छ । नेपालमा पनि सन् २००२ देखि यो दर्शनलाई संस्थागत रूपमा बुझ्न, बुझाउन, उपयोग गर्न र समाज रूपान्तरणमा योगदान पुर्याउन सक्दो प्रयास भइरहेको छ ।
आध्यात्मिक र आधुनिक विधा, विधि र विषयको सम्मि श्रण अनुभूत हुने प्रशंसात्मक खोजले यथार्थमा व्यक्तिको भित्री सोच, बाहिरी व्यवहार, अतीतबाट सिकाइ र आगतमा तिनको उपयोगलाई संग्लो बनाउन सर्वप्रथम व्यक्ति नै तयार हुनुपर्छ भन्ने मर्म बोकेको छ । व्यक्ति तयार हुनको लागि सम्भावनाका अनन्त किरणहरू व्यक्तिभित्रै हुन्छन्, तिनको उजागर गर्न नसक्दा मात्र व्यक्ति अँध्यारोमा अल्मलिरहेको हुन्छ ।
अँध्यारो पन्छाएर उज्यालो जीवन मार्गप्रशस्त गर्न व्यक्तिभित्रको अनन्त सम्भावना खोजी गर्ने उपायको नाम प्रशंसात्मक खोज हो भनेर यस दर्शनले 'डिस्कभरी' लाई प्रस्थान विन्दु मानेको छ । व्यक्ति जब आफूभित्रका तमाम सम्भावना नियाल्न र निचोड निकाल्न समर्थ हुन्छ तब जीवनका आगामी पथ, पाइला र परिदृश्यलाई परिकल्पना गर्न अर्थात् सपना देख्न सुरु गर्छ । त्यही 'ड्रिम' प्रशंसात्मक खोजको दोस्रो माइल स्टोन हो ।
'ड्रिम' लाई साकार पार्न आवश्यक पर्ने अनुशासन, समर्पण, क्रियाकलाप, समयतालिका, स्रोतसाधन आदिको खाका तयार गर्ने काम गरिन्छ । यसलाई 'डिजाइन' नामकरण गरिएको छ । यो प्रशंसात्मक खोजको तेस्रो माइल स्टोन हो । यसरी 'डिजाइन गरिएको योजना कार्यान्वयन गरेर आकांक्षा फलीभूत पार्नु नै 'डेस्टिनी' हो भनेर प्रशंसात्मक दर्शनको सारतत्वलाई चारवटा 'डी' बाट बुझाउने गरी सूत्र निर्धारण गरिएको छ । उक्त सूत्रको निरन्तर अवलम्बनबाट प्रशंसात्मक संस्कृतिको विकास हुन्छ र सम्भावनाको सदुपयोगबाट समृद्धि बढ्दै जान्छ भन्ने विश्वास गरिन्छ ।
कुनै पनि दर्शन समाजसापेक्ष भएमा मात्र उपयोगी ठहर्छ । नेपाली समाजको चरित्रसँग दाजेर प्रशंसात्मक खोजको उपयोगिताको कसी लगाउँदा नेपाली समाजको लागि अमृत बुटी हुन सक्ने देखिन्छ । यो निष्कर्षलाई पुष्टि गर्न समाजको चरित्र विश्लेषण हुन जरुरी हुन्छ । नेपाली समाजको चरित्रका राम्रा विशेषता केलाउँदा यो समावेशी छ । सहिष्णुता नेपाली समाजको अमूल्य निधि हो । सहयोग र शिष्टाचार नेपाली समाजलाई जीवन्त बनाउने आधार हुन् । सनातनी संस्कार र रीतिथितिमा विविधता छ ।
तथापि तीनमा प्रकट हुने समभावले समाजलाई एकतामा बाँधी राखेको छ । यस्ता विशिष्ट विशेषता भएको नेपाली समाजका केही पक्ष भने उदेकलाग्दा छन् । नेपाली मुलुकबाहिर परि श्रमी भनेर नाम कमाएका छन् तर स्वदेशमा मेहनती हुन सकेका छैनन् । त्यसैले नेपाली समाजलाई अल्छी समाजको आरोप छ । नेपालीको व्यावसायिकता उन्मुखभन्दा निर्वाहमुखी जीवनमा रमाउने स्वभाव छ । यसबाट मुलुकको आर्थिक उन्नति उकालो लाग्न सकिरहेको छैन । नेपाली समाजमा घरपरिवारको काममा परम्परागत कार्य विभाजन लागू छ ।
यसबाट महिलाको कार्यबोझको मात्रा अत्यधिक छ । पुरुषप्रधान समाजको चरित्रले महिलालाई अधिकार र अवसरमा पछि पारेको अवस्था छ । साथसाथै नेपाली समाज उमेर प्रधान शासकीय सोचबाट ग्रसित छ । त्यसैले अग्रज वा ज्येष्ठहरूको हालीमुहाली कायम छ । नेपाली समाजले 'कामको प्रशंसा सामुन्नेमा नगर्ने' संस्कार सिकाएको छ । यो संस्कारले व्यक्तिको उत्साह-ऊर्जा-उत्सुकतालाई उम्रन र गजाउन दिएको छैन । हरेक विषयलाई समस्याको समाधान पहिल्याउने कोणबाट व्यवस्थापन गर्न सिकाइन्छ ।
यसले सम्भावनालाई नियाल्न र गन्तव्य अथवा 'डेस्टिनी' मा उपयोग गर्न खुम्च्याएको छ । शिक्षा प्रणली सिद्धान्त सिकाउनेमा केन्द्रित भएकाले व्यावहारिक ज्ञान-सीप भएकाको उपलब्धता न्यून छ । यसरी गुज्रिरहेको नेपाली समाजमा व्यक्तिको सोच सकारात्मक रूपमा फक्राउन र बौद्धिक सिर्जनशीलता फस्टाउन प्रशंसात्मक खोजको तरिका अति उत्तम छ ।
विश्व समाज सूचना तथा सञ्चार प्रविधिको माध्यमबाट ज्ञानमा आधारित समाज निर्माणमा अग्रसर भइरहेको अवस्थामा नेपाली समाज पनि सोही सापेक्ष हुन जरुरी छ । यस निमित्त बौद्धिक सिर्जनशीलता अपरिहार्य छ । यसको लागि व्यक्तिको सोच र चिन्तन सकारात्मक, प्रशंसात्मक र अनुकरणात्मक हुनुपर्छ । प्रशंसात्मक खोजले व्यक्तिलाई तिर्खाछ, निर्खाछ र व्यक्ति स्वंयले स्विकार्छ कि समाजको निर्माता म हुँ र मबाटै सामाजिक रूपान्तरणको प्रयास प्रारम्भ गर्नुपर्छ ।
नेपाली समाजमा सामाजिक रूपान्तरणका अभियन्ता नभएकै हुन् भन्ने होइन । नेपालमा त्यस्ता अभियन्ता थिए र छन् । नत्र शिक्षामा षडानन्द अधिकारी दिङ्लाबाट कसरी चिनिन्थे, परोपकारमा दयावीर कंसाकार कसरी गनिन्थे र आविष्कारमा महावीर पुन किन खटिरहन्थे ? चिकित्सा सेवामा भगवान् कोइरालाको नाम किन लिइन्थ्यो ? महिला तथा बालबालिका उद्धारमा अनुराधा कोइराला, पुष्पा बस्नेतको नाम किन लिनुपथ्र्यो ? धुर्मुस-सुन्तली किन प्रचारित हुन्थे ? कुलमान घिसिङको चर्चा किन चुलिन्थ्यो ? तथापि विश्व समाज ज्ञान र प्रविधिको संयोजन गरेर सुखी र सम्पन्न हुँदै समृद्धिको यात्रामा लम्किरहेको अवस्थामा नेपालको हैसियत आशालाग्दो रूपमा अघि बढ्न नसकेकाले अन्तरकुन्तर पिलपिल गरेको देखिने बत्तीरूपी व्यक्तिको संख्या बढाएर लाख बत्तीको रूपमा ज्योतिर्मय बनाउँदै व्यक्तिको सिर्जनशीलताको विकासबाट समाजको चरित्रलाई उद्यमशीलता, क्रियाशीलता र गतिशीलतायुक्त बनाउन जरुरी छ । यसनिम्ति प्रशंसात्मक खोजको तरिका, विधि र उपायको निरन्तर अभ्यासबाट व्यक्तिलाई सचेत, सिपालु र व्यावसायिक बनाउन सकिन्छ र यसैबाट सम्भावनाको ढोका खुल्छ भन्ने विश्वासबाट प्रशंसात्मक खोजको चर्चा गरिएको हो ।
प्रशंसात्मक खोजको उपायद्वारा आफूभित्रका तमाम सम्भावना उजागर गर्दै जीवन अघि बढाउन आफ्ना सपना-योजना-उपलब्धिलाई राष्ट्र निर्माणमा आबद्ध गरेर व्यक्तिको समुन्नति र राष्ट्रको समृद्धिमा होमिनुपर्छ ।
नेपाली समाजमा दयनीयता दर्शाएर दयाको याचना गर्ने चलन छ । व्यक्तिको जीवनका तमाम सम्पन्नतालाई रित्तो देखेर विरक्तिएको घटना पटकपटक सुनिन्छ । तर जीवनको सबैभन्दा महत्वपूर्ण सामथ्र्य भनेको समय हो । हरेक व्यक्ति समयले गर्दा बालक, किशोर, युवा र वृद्ध भएको हुन्छ । कुनै पनि व्यक्ति बालकबाट एकैपटक वृद्ध हुन सक्दैन । किशोर र युवा हुँदै वृद्ध बन्छ । किशोर र युवावस्था त्यसै पनि फक्रिने, फुल्ने र फल्ने समय हुँदा पनि व्यक्ति ओइलाएर कुण्ठित भएको भेटिन्छ । यो समय हरेक व्यक्तिको सुन्दरता, शक्ति र श्रमको बेजोड सामथ्र्यवेष्ठित हुने अवस्था हो । यही समयमा व्यक्ति नकारात्मक सोच वा चिन्ताबाट जोगिनुपर्छ र सकारात्मक सोच वा चिन्तनमा लाग्नुपर्छ ।
सकारात्मक सोचका साथ व्यक्ति-व्यक्ति मिलेर सत्कार्यमा जुट्ने हो भने समाज बदल्न सकिन्छ । बागमती नदी सफाइका प्रारम्भिक दिनहरूमा नपत्याउने धेरै थिए तर आजसम्मको यात्रामा पत्याउने मात्रै छन् भन्दा हुन्छ । बागमती सफाइले मुलुकभर विस्तार गरेको सचेतनाको मूल्य आकलन गर्ने हो भने अतुलनीय काम भएको छ । यसमा पनि प्रशांसात्मक खोजको दर्शनले काम गरेको छ भन्न सकिन्छ । यद्यपि पूर्वीय दर्शनमा मानव जीवनलाई सार्थक बनाउने अनेक प्रकारका दर्शन र ज्ञानको अथाह भण्डार छ । तिनको प्रेरणा र साधनाबाट विभिन्न कालखण्डमा समाजोपयोगी कैयन् काम भएका छन् ।
व्यक्तिलाई डिप्रेसन र एग्रेसनको खतराबाट जोगाएर सेलिब्रेसनको मार्गमा हिँडाउन पनि व्यक्ति स्वंयको सोच सकारात्मक बन्नुपर्छ । हरेक विषयमा सम्भावना हुन्छन् र समस्या पनि हुन्छन् । सम्भावनालाई देख्न सक्दा समस्या गौण भएर जान्छन् । सम्भावनाबाटै समृद्धिको मार्गप्रशस्त हुने हो । सम्भावना नदेखेर समस्या मात्र देख्न थाल्ने हो भने व्यक्तिमा निराशा बढ्न थाल्छ । हरेक व्यक्तिका जीवनका अतीत नियाल्दा पटकपटक खुसीका क्षण आएका हुन्छन् । तिनैको स्मरण गर्दै खुसीको प्राप्तिमा लाग्ने हो भने चिन्तन सकारात्मक बन्दै जान्छ । यही अभ्यासमा निरन्तर लागिरहने हो भने व्यक्ति सिर्जनशील हुन थाल्छ । सिर्जनशीलता मस्तिष्कको उपज हो । मस्तिष्कलाई उमेरले कहिल्यै पनि चाउरी पार्दैन । सकारात्मक सोच मस्तिष्कको लागि सञ्जीवनी हो ।
त्यसैले सम्भावना पहिल्याउन सक्नु नै जीवनको सार्थकता हो । आफ्नो हैरानीको अन्त्य न ईश्वर पुकारेर हुन्छ न त राज्य सरापेर हुन्छ । त्यसैले व्यक्ति स्वयं सकारात्मक बन्नुपर्छ । यसरी बनेको व्यक्तित्व सार्वजनिक जिम्मेवारीमा पुग्दा राज्यका तर्फबाट निजले नै सेवा दिन सक्छ र त्यसैबाट समाज रूपान्तरण हुँदै जान्छ । अतः व्यक्ति सकारात्मक नहुँदासम्म समाज रूपान्तरण असम्भव छ । व्यक्ति सकारात्मक हुने अर्थात् प्रशंसात्मक खोजको उपायद्वारा आफूभित्रका तमाम सम्भावना उजागर गर्दै जीवन अघि बढाउन आफ्ना सपना-योजना-उपलब्धिलाई राष्ट्र निर्माणमा आबद्ध गरेर व्यक्तिको समुन्नति र राष्ट्रको समृद्धिमा होमिनुपर्छ ।
नेपालको संविधानमा अन्तरनिहित सम्भावना उजागर गर्न र उक्त संविधानले निर्धारण गरेका नागरिक कर्तव्य पूरा गर्न पनि सकारात्मक दृष्टिकोण, सहयोगी भूमिका, बौद्धिक सिर्जनशीलता र प्रशंसायुक्त व्यवहार आवश्यक छ । मुलुकबासीलाई आशा, भरोसा, सेवा, सुविधा र सुरक्षाको प्रत्याभूतिद्वारा भविष्यतर्फ डोर्याउने मूल कानुनमा गतिशीलताका विशेषता विद्यमान छन् । नागरिक चाहना र राष्ट्रिय परिवेशबाट प्रेरित भएर संविधान परिमार्जन हुन सक्ने लचकता छ ।
तर संविधानमा यस्ता चलायमान चरित्र विद्यमान छँदाछँदै पनि जन्मनेबित्तिकै देखि यसलाई जतन गर्नमा केही असजिलो व्यहोर्नुपरेको अवस्था छ । कार्यान्वयनका चरण पार गर्दै जाँदा सम्भावनाले समस्या समाधान गर्दै जान्छन् । शाश्वत सत्य यही हो । संविधानबाटै समृद्धिको मार्गप्रशस्त हुने हो तर त्यही संविधान सकसमा परेको छ । यो अवस्थामा प्रत्येक नेपाली अरूलाई दोषारोपण गर्ने बानीबाट मुक्त भई प्रशंसात्मक खोजको विधिद्वारा सम्भावनाको ढोका खोल्न जुट्नुपर्छ । आसन्न निर्वाचनमा सबै नेपाली होमिनुपर्छ । यसैबाट सबैको सम्पन्नता र सम्मृद्धिको मार्ग प्रशस्त हुनेछ ।