दक्षिण कोरियामा प्रमुख मन्त्रीहरू नियुक्त

दक्षिण कोरियामा प्रमुख मन्त्रीहरू नियुक्त

सोल :  दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति मुन जे इनले आइतबार राष्ट्रपति कार्यालयका लागि उच्चस्तरीय कर्मचारी र केही मन्त्री नियुक्त गरेका छन् । राष्ट्रपति कार्यालय ब्लु हाउसमा पत्रकार सम्मेलन गरी राष्ट्रपति मुनले सुरक्षा, परराष्ट्र मामिला र अर्थमन्त्री नियुक्त गरेको घोषणा गरेका छन् । उनले चुङ इउइ योङलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरी आइतबार नै उनले राष्ट्रपतिको कार्यालयमा रहेको राष्ट्रिय सुरक्षा कार्यालयको नेतृत्व गर्ने जिम्मेवारी दिएका छन् ।

कूटनीतिज्ञको रूपमा राम्रो अनुभव भएका व्यक्तिका रूपमा चिनिने योङ यसअघि युरी पार्टीबाट सांसद समेत थिए । राष्ट्रपतीय निर्वाचनको बेला उनले मुनको कूटनीतिक नीतिका मामिलामा सल्लाहकारहरूको समूहको नेतृत्व गरेका थिए । चाङ योल्सेई विश्वविद्यालयका प्राध्यापक पनि हुन् । त्यसैगरी स्थानीय दैनिक पत्रिका र केवल टेलिभिजनका पूर्वप्रमुख होङ सोकह्यानलाई उनले सुरक्षा र कूटनीति मामिलाको एक विभागको प्रमुखको रूपमा नियुक्त गरेका छन् । होङ अमेरिकाका लागि पूर्वराजदूत पनि हुन् । अमेरिकामा ठूलो सञ्जालसँग उनको व्यक्तिगत राम्रो सम्बन्ध भएको मानिन्छ ।

आर्थिक क्षेत्रमा उनले कोरिया विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक चाङ हासुङलाई नीति निर्माणको क्षेत्रको प्रमुखका रूपमा नियुक्त गरेका छन् । उनले आर्थिक नीतिहरूको निर्माणका लागि समन्वयकारी र नेतृत्वदायी भूमिका खेल्ने बताइएको छ । उनी दक्षिण कोरियामा एकदमै चर्चित बुद्धिजीवी तथा नागरिक अगुवा हुन् ।

राष्ट्रपति मुनले अहिले सुरक्षा, परराष्ट्र मामिला र आर्थिक विषयलाई प्राथमिकतामा राखेर आइतबारका नियुक्ति गरेको स्पष्ट पारेका छन् । उनले अजोउ विश्वविद्यालयका अध्यक्ष किम डोङ येनलाई अर्थमन्त्रीको रूपमा नियुक्त गरेका छन् । उनलाई उपप्रधानमन्त्रीको समेत जिम्मेवारी दिइएको छ । आफू ११ वर्षको हुँदा पिता गुमाएका किमले लगातार आफ्नै मेहनतले सरकारी सेवाको परीक्षा पनि उत्तीर्ण गरेर सरकारी कर्मचारी संयन्त्रको अर्थतन्त्र क्षेत्रको उच्च तहमा पुगेका हुन् ।

राष्ट्रपति मुनले पत्रकार सम्मेलनमा किमलाई क्षमतावान अर्थशास्त्री तथा सरकारी कर्मचारी भएकाले आर्थिक क्षेत्रको नेतृत्व गर्न सक्ने विश्वास गरी जिम्मेवारी दिएको बताए । संयुक्त राष्ट्रसंघका महासचिवकी पूर्व विशेष सल्लाहकार काङ क्युङ हवालाई परराष्ट्रमन्त्री बनाइएको छ । उनी दक्षिण कोरियाको संसदीय शासन व्यवस्था सुरु भएदेखिको पहिलो महिला परराष्ट्रमन्त्री हुन् । उनले नियुक्त गरेकामध्ये सल्लाहकार तथा उच्च कर्मचारीलाई संसदीय सुनुवाइ गर्नु नपर्ने व्यवस्था भए पनि मन्त्रीहरूलाई भने संसदीय सुनुवाइ गरेर अनुमोदन गर्नुपर्ने व्यवस्था छ । —रासस÷सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.