दलैपिच्छेको विश्वविद्यालय खोल्ने कि ?
प्रसंग स्थानीय चुनाव हुनुअघिको हो, वैशाख ८ गते चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) मा नयाँ भर्ना भएका स्नातक तहका विद्यार्थीबीच विवाद भयो । सामान्य विवादकै बीच एक पक्षबाट अर्को पक्षलाई प्रहार भयो । केहीलाई टाउकोमा चोट लागेछ । त्यसपछि कृषि संकायको डिन कार्यालय प्रहरीको हेडक्वाटरजस्तो बन्यो ।
झगडापछि हुने त बन्द नै हो । एकले अर्को पक्षलाई कारबाहीको माग र अनिश्चितकालीन बन्दको घोषणा गर्ने, भयो त्यही । धेरैको ठम्याई थियो, चुनाव आउँदैछ, प्रचारप्रसारमा जानैपर्यो, त्यसका लागि बन्द गर्न निहुँ बनाएका हुन् र अब चुनावसम्म बन्द हुन्छ । तर ११ गते क्याम्पस खोल्ने सहमति भयो र १२ गते खुल्यो । त्यही दिन बिहान फेरि झगडा बल्झियो, एकजना नराम्ररी घाइते भए । फेरि क्याम्पस बन्द ।
१३ गते बेलुकी प्रशासनले जेठ १२ गतेसम्म गर्मीको बिदा र १४ गते साँझ ५ बजेसम्ममा छात्रावास खाली गर्न सूचना जारी गर्यो । यो बिदा वा बन्दले छैठौं सत्रको जारी परीक्षा बीचमा रोकियो र चौथो सत्रको वैशाख १३ बाट हुने परीक्षा सर्यो । जे होस्, चाहेर भनौं या संयोगवश वैशाख ३१ को चुनाव र मतगणनालाई चाहिने अवधि बिदा÷बन्दमा समेटियो । जेठ १३ बाट विश्वविद्यालय खुल्ने कार्यक्रम छ, तर जेठ ३१ मा हुने दोस्रो चरणको स्थानीय निर्वाचननजिकै आइसकेको छ । त्यसको प्रभाव कस्तो पर्ने हो हेर्न बाँकी नै छ ।
एएफयूमा पाहुना शिक्षकको रूपमा अध्यापन गर्न थालेको २ वर्ष नाघ्यो । यो अवधिमा कुनै न कुनै पक्षको विरोध, बन्द, हड्ताल नभई विश्वविद्यालयको सम्पूर्ण अंगप्रत्यंग निर्वाध चलेको सायदै होला । कहिले प्रशासन-लेखा, कहिले शिक्षण, त कहिले के र कहिले सबै बन्द । विरोध÷बन्दकर्ता कहिले एउटा पक्ष त कहिले अर्काे । त्यसमा कहिले विद्यार्थी, कहिले शिक्षक त कहिले कर्मचारी । केही महिनाअघि त स्थानीय जनताले पनि बन्द गरे, रोजगारीमा स्थानीय कोटाको लागि । बन्दकर्ताको माग हेर्यो, सबैको जायजै लाग्ने । सबैलाई थाहा छ, बाहिरी देखाउने माग एउटा र भित्री माग अर्को हुन्छ । मुख्यतया पदाधिकारी चयनको बेला यस्तो खेल हुने गर्दछ, भागबन्डामा सौदाबाजीको लागि ।
नयाँ प्रवेशी विद्यार्थीले पहिचानको लागि टी-सर्ट डिजाइन गरी लगाउँछन् । सुरुसुरुमा राम्रै लाग्यो र प्रथा बस्यो । पछि गएर झगडा र निहुँ खोज्ने माध्यम बन्यो, डिजाइनमा चित्त नबुझेर वा नबुझाएर । खासमा त्यो निहुँ खोज्ने बिन्दुमात्र हो रे । कारण त अरू थुप्रै हुन्छन् । कसैलाई परीक्षा सार्नुपर्ने, कसैलाई अरू नै बेलाको रिस फेर्नुपर्ने । अनि त्यसमै राजनीतिक रंग मिसिने । यो धेरैको मुखबाट सुनेको हुँ । टी-सर्टलाई लिएर दुई वर्षअघि पनि झगडा भएको थियो । टी-सर्टकै कारण झगडा हुन्छ भने, त्यो किन चाहियो ? विश्वविद्यालय व्यवस्थापन किन हस्तक्षेप गर्दैन ? चाहिने नै हो भने विश्वविद्यालयले नै किन डिजाइन नदिने ।
समयसमयमा छात्राबासलाई लिएर पनि झगडा र बन्द हुन्थ्यो । केही महिनादेखि कृषि संकायको डिनको कार्यालयमा ‘होस्टल खोइ' भनेर टाँसेको देख्दै आएको छु । त्यसभित्रको राजनीति म बुझ्दिन र बुझ्न खोज्दा खुलस्त कसैले भन्दैनन् । जे होस्, सबैलाई पुग्ने होस्टलको व्यवस्था छैन र त्यो सम्भव पनि नहोला । अहिले स्नातकको ‘यूजी' र स्नातकोत्तरको लागि ‘पीजी' होस्टल छन् । सामान्य बुझाइमा होस्टलमा बस्न चाहनेलाई जति ठाउँ उपलब्ध छ त्यसमा भर्ना भएको मिति र रोलक्रमको आधारमा दिँदै जाने हो । अर्थात, पुराना निस्कँदै गएपछि नयाँले पाउँदै जाने हो ।
त्यसमा संकायअनुसार कोटा छुट्याउनुपर्ने हुन्छ । नत्र भर्ना मिति तलमाथि हुँदा कुनै संकायका विद्यार्थीले नपाउन सक्छ । त्यस्तो व्यवस्था अपनाए केको राजनीति ? राजनीति होला, जस्तै कुनै पक्षले आफ्नो पक्षका लागि वा आफ्नो पक्षमा तान्न होस्टल कोठा सुरक्षित राख्ने । यदि त्यही हो भने दलैपिच्छेको विश्वविद्यालय खोल्दा हुन्छ । एउटा रमाइलो प्रसंग, केही वर्षअघिसम्म केटी विद्यार्थीको लागि छुट्टै पीजी होस्टल थिएन । ती पनि के कम, गेस्टहाउस नै कब्जा गरेर बसे ।
परीक्षा समयमा नहुने र परीक्षा सार्ने अर्को समस्या छ । अहिले भएको झगडामा अर्को कारण वैशाख १३ गतेको लागि तोकिएको परीक्षा १७ गते सार्न एकथरीले चाहेको भन्ने छ । भवितव्य परेर कसैले परीक्षा दिन नसक्ने अवस्था आयो भने त्यसको लागि कुनै विकल्पको व्यवस्था त पक्कै होला र हुनुपर्छ । किनकि एक जनाको लागि पुरै परीक्षा सार्ने व्यवहारिक हुन्न । परीक्षा सर्नु र सार्नुमा बन्द हडतालमात्र होइन अन्य कारण पनि छन् । जस्तै, चालू स्नातकोत्तरको दोस्रो सत्र झन्डै एक वर्ष लम्बियो । यसको मुख्य कारण हो, लोकसेवाको परीक्षा र त्यसको लागि तयारी । विद्यार्थीको लागि त्यो पनि उत्तिकै महत्ववपूर्ण हुन्छ, त्यसमा आपत्ति होइन । तर विश्वविद्यालयको नियमित परीक्षा नै सार्ने कुरा सही होइन । त्यसको लागि विश्वविद्यालय र लोकसेवा आयोगलगायत अरू सेवा आयोगबीच परीक्षाको तालमेल मिलाउनुपर्छ । त्यसमा प्राथमिकता विश्वविद्यालयको हुन्छ ।
नेपालमा राजनीति यति फस्टाएको छ, सायदै विश्वका कुनै मुलुकले यसलाई उछिन्न सक्ला । कृषि प्रधान मुलुक नेपालमा सबैभन्दा बढी उत्पादन हुने राजनीतिक दलका कार्यकर्ता हुन् । यो रोप्नु पर्दैन, आफैंमा उम्रिन्छ र हुर्कन्छ । यो मामिलामा हाम्रा दल धेरै भाग्यमानी छन् । बिना बीउ, मलजल र लगानी यथेस्ट कार्यकर्ता पाएका छन् । विकासको लागि जनशक्ति नै ठूलो कुरा हो । विद्यार्थीका संगठन आफैमा ठूलो जनशक्ति हुन् । जहाँकहीं यस्ता अभिपे्ररित र संगठित जनशक्ति उपलब्ध हुँदैन । यी सहीरूपमा परिचालित हुने हुन् भने अहिलेको अव्यवस्थित र पद्धतिबिहीन बन्दै गएको अवस्थामा सुधार आउँछ । समस्या रह्यो, जो कोही पनि दलगत, गुटगत र व्यक्तिगत स्वार्थभन्दा माथि उठ्न सकिरहेको÷चाहिरहेको छैन । राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सकिरहेका छैनन् । हाम्रा जति सबै राम्रा भए । राम्रा जति सबै हाम्रा नबनाएसम्म देशलाई माथि उठाउन सकिने छैन ।
सबै विद्यार्थी पढ्न र सिक्नकै लागि आएका हुन्छन् । तर विश्वविद्यालयको वातावरण नै यस्तो बनेको छ कि, ती कुनै न कुनैको लहलहैमा लाग्न बाध्य छन् । वंश विज्ञान शास्त्र (जेनेटिक्स) अनुसार कुनै पनि जीवको गुण प्रकटमा ५० प्रतिशत वंशाणुगत र ५० प्रतिशत वातावरणको प्रभाव हुन्छ । विद्यार्थीमध्ये केहीले आफ्नो आस्थाबमोजिम दलगत क्रियाकलापमा लागेर भोलि नेता बन्ने र मौका हात पार्ने होडमा हुन्छन् । नेता बन्ने र मौका हात पार्ने त सीमित हुन्छन् र तिनका लागि अरू बाँकी परिचालित हुने हुन् । यो नै नेपाली राजनीतिको दस्तुर बनेको छ ।
त्यसैको असर अधिकांश विद्यार्थीमा परेको छ र ती पनि जसोतसो परीक्षा उत्तीर्ण गरेर जानै उद्यत हुन्छन् । जसले गर्दा पढ्ने र सिक्ने चाहना कम हुँदै गएको पाइन्छ । त्यसैले होला, विश्वविद्यालयको शिक्षण र व्यवस्थापन पनि त्यतैतिर मुखरित भएको लाग्छ । जसले गर्दा पढाउने गुणस्तरीय जनशक्तिको परिपूर्ति र प्रयोगशालालगायत आवश्यक भौतिक पूर्वाधारको स्तरोन्नतिको खाँचो हुँदाहुँदै पनि त्यसतर्फ ध्यान गएको देखिन्न । विद्यार्थी उत्तीर्ण भएर जाने ध्याउन्नमा भए भएका प्राध्यापक र पदाधिकारी पनि जसोतसो विद्यार्थीलाई उम्काएर पठाउनेतिरै लागेका हुन्छन् । लक्ष र प्रगति पुगे भइगो । त्यसो हुनुमा रहरभन्दा बाध्यता पनि छ । अहिले मुलुक पुरै संक्रमित अवस्थामा रहेकोले जो कोहीले आफ्ना जिम्मेवारी चाहेर पनि पूरा गर्न सकिरहेका छैनन् ।
कोही पनि दलगत, गुटगत र व्यक्तिगत स्वार्थभन्दा माथि उठ्न सकिरहेको/चाहिरहेको छैन । राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सकिरहेका छैनन् । हाम्रा जति सबै राम्रा भए । राम्रा जति सबै हाम्रा नबनाएसम्म देशलाई माथि उठाउन सकिने छैन ।
रामपुरमा पूर्वाधार यथेस्ट छन् र सम्भावना प्रचुर छन् । विश्वविद्यालय हो, पढ्ने र पढाउने नै चाहियो । पढ्नेहरूको कमी छैन । पढाउनेहरूको कमी पक्कै छ (सबै विषयमा नहोला), त्यसलाई सम्बोधन गर्न तत्कालका लागि मजस्ता पाहुना शिक्षकको केही व्यवस्था पनि छ । तर त्यो समाधान होइन । अहिले मेरो विषयको विभागमा कोही पनि शिक्षक छैनन्, सिवाय मेरो गुरुसमेत रहनु भएका सेवानिवृत्त प्राध्यापक डा. सुन्दरमान श्रेष्ठ र पंक्तिकार स्वयं । अहिलेसम्म प्राध्यापकको पदपूर्ति किन भएन ? व्यवस्थापनको ध्यान किन गएन वा जान्न ? मजस्तो पाहुना शिक्षकबाट क्षणिक काम त चल्ला तर भविष्य के होला । फेरि कुन स्तरको पाहुना शिक्षक बन्न कुन मापदण्ड चाहिन्छ, त्यो पनि देखिन्न । विश्वविद्यालय पो हो, लोक हँसाउने काम हुनुहुन्न । भन्न खोजेको व्यवस्थापन छैन । त्यसको अर्थ पदाधिकारी छैन भनेको होइन । पदाधिकारी छन् । त्यही पाउन त बेलाबेला बन्द हड्ताल गर्छन् । व्यवस्थापन गर्नुपर्ने क्षेत्र अथाह छ तर भ्याएका छैनन् ।
विद्यार्थीसँग मेरो एउटा आग्रह—तपाईंहरू राजनीति र प्रतिस्पर्धा गर्नोस् । भोलि मुलुक हाँक्ने तपाईंहरू नै हुन् । तर प्रतिस्पर्धा टी-सर्टको डिजाइनको लागि, परीक्षाको मिति तलमाथि गर्न वा कसैको अभिष्ट पूरा गर्न होइन । तपार्इंको संगठित र अनुशासित शक्तिलाई विश्वविद्यालयको सुधार र सुव्यवस्थामा लगाउन रचनात्मक प्रतिस्पर्धा गर्नोस् । त्यसबाट आफ्नो संगठनमा अरूलाई आकर्षित गर्नोस् । आफू बस्ने छात्राबास, हिँड्ने बाटो, टहल्ने चौर र पूmलबारीलाई सुविधायुक्त, वातावरणमैत्री र सुरक्षित बनाउन आफ्नो तर्पmबाट हुने र सक्ने योगदान गर्नोस् । आवश्यकताअनुसार स्रोत र साधन उपलब्ध गराउन व्यवस्थापनलाई दबाब दिनोस् ।
विश्वविद्यालय क्षेत्रभित्र बाटोमा धुलो उड्न नदिनोस्, गुड्ने सवारीसाधनको गति नियन्त्रण गर्नोस्, राती सडक बत्ती बाल्ने प्रबन्ध मिलाउनोस् । कक्षा भवन र शौचालय सफा राख्न व्यवस्थापनलाई झक्झक्याइरहनोस् । कक्षा कोठामा मेच कम्तीमा सग्लो राख्न लगाउनोस् । रुख र झारपातबाट भवन मुक्त राख्न सघाउनोस् । अहिले रुख र झारपात नउम्रेका र तिनले नबिगारेका भवन भेट्टाउन मुस्किल छ । प्राविधिक विश्वविद्यालय हो, प्रयोगशालाको स्तरोन्नत्तिको विषय उठाउनोस् । शिक्षकको स्थायी पदपूर्तिको माग गर्नोस्, भागबन्डामा सामेल नहुनोस् । पुस्तकालयलाई लडाईं गर्ने थलो नबनाउनोस्, कम्तीमा भएका पुस्तक र सामग्रीलाई व्यवस्थित र सिलसिलेबार राख्न सघाउनोस् । विद्युतीय पुस्तकालयको माग गर्नोस् । अरू पनि गर्न सकिने थुप्रै काम होलान् । ती सबैलाई मिलाएर प्रत्येक संगठनले पालैपालो ३ वा ६ महिनाको एकपटक जिम्मेवारी लिनोस् । कसको पालामा कति सुधार ल्याउन सक्यो मूल्यांकन गर्नोस् र गराउनोस् । भावी पुस्ताले तपाईंहरूको पदचाप पछ्याउनेछन् ।
प्रवेश परीक्षा र विद्यार्थी भर्नामा हस्तक्षेप नगर्नोस् । आजसम्म रामपुर क्याम्पस धाँधलीरहित प्रवेश परीक्षाको लागि चिनिएको छ । त्यसमा आँच आउन नदिनोस् । स्नातक तहको पछिल्लो प्रवेश परीक्षा र विद्यार्थी भर्नालाई लिएर पनि धेरै बन्द र विवाद भयो । केही हप्ताअघि पनि पुरनचौरस्थित आंगिक क्याम्पसमा पुरक भर्र्नालाई लिएर विद्यार्थीले विवाद गरे । त्यसको पछाडि खास कारण के थियो थाहा छैन, तर मेरिट लिस्टअनुसार हुने भर्नामा अवरोध हुँदा विनाथप स्रोत र खर्च उत्पादन हुने जनशक्तिको निर्धारित संख्या घट्ने हो ।
तिनले भर्ना पाएनन् भने अन्यत्र लाने खेल पनि होला, त्यसमा चनाखो हुनुहोस् । आखिर कृषि र वन क्षेत्रमा गुणस्तरीय जनशक्ति उत्पादन गर्न राज्यले यो विश्वविद्यालय खोलेको हो । त्यसैको लागि जनताले तिरेको करबाट बनेको राज्यकोषबाट तलब, भत्ता, सुविधा र आकर्षक पदवी दिएर शिक्षक र कर्मचारी राखेको हो । त्यसमा तपाईंहरूको प्रत्यक्ष लगानी छ, शुल्क तिर्नु भएको छ । अर्को शब्दमा, यो विश्वविद्यालय यहाँका शिक्षक र कर्मचारीका लागि होइन, तपाईं विद्यार्थीको लागि हो ।