पाप युद्ध

पाप युद्ध

सामान्यतया 'जेहाद' ले इस्लाम धर्मविरोधीहरू विरुद्धको युद्ध भन्ने बुझिन्छ । तर यता आएर 'जेहाद' ले बढी राजनीतिक स्वरूपसँगै क्रमश: 'धार्मिक' र मानवीय पक्ष अनि धर्मका सबै चरित्रहरू गुमाउँदै गएको छ । मंगलबार बिहान (नेपाली पात्रोअनुसार) बेलायतको म्यानचेस्टरमा आयोजित एउटा सांस्कृतिक भेला (कन्सर्ट) मा एकजना आत्मघातीद्वारा गरिएको विस्फोटमा कमसेकम २२ जनाको ज्यान गएको छ र कयौं घाइते भएका छन् । ज्यान गुमाउनेहरूमा ८ वर्षकी एक बालिकासमेत छन् ।

सांस्कृतिक कार्यक्रमकी प्रस्तोता प्रसिद्ध अमेरिकी गायक आरियाना ग्लान्डको मनोदशा र अवस्था बुझ्न सकिन्छ यो घटनापछि । संगीत मानव सभ्यताबीचको कडी बन्न सक्छ, तर त्यसको प्रस्तुतिलाई कायरतापूर्ण आक्रमणका अवसरका रूपमा प्रयोग गरिनु, धर्मका नाममा हुन सक्ने सबभन्दा ठूलो अपराध हो ।

घटनाको छानबिनको क्रममा बेलायती प्रहरीले सलमान आवेदी नामक व्यक्ति आत्मघाती विस्फोटकर्ता भएको बताएको छ । आवेदी केही दिनअघि मात्र द्वन्द्वरत लिबियाबाट फर्केको र उनको संलग्नता 'इस्लामिक स्टेट' नामक अतिवादी संस्थासँग भएको अड्कलबाजी भइरहेका छन् । तर, जुन संगठनले धर्मका नाममा निहत्था व्यक्तिहरू या अबोध बालबालिकालाई निशाना बनाउँछ त्यसले खाली एउटा सभ्यता, मानवता र मानवीयता अनि हरेक धर्मका ग्रहणयोग्य चरित्रलाई समूल नष्ट गर्ने लक्ष लिएको मानिन्छ । म्यानचेस्टर घटना या आक्रमणलाई त्यस अर्थमा पापको क्रुरतम स्वरूपको पक्षमा गरिएको एउटा जघन्य अपराधका रूपमा लिइनेछ ।

त्यो सांस्कृतिक भेलामा उपस्थित गायक आरियाना या उनका उत्साहित श्रोताहरू सबै संगीत र साहित्यको उत्कृष्टताका उपासक या प्रशंसक थिए । कुनै पनि जघन्य अपराधीले धर्म र मानवीयतालाई आफ्नो प्रमुख निशाना बनाउने हुँदा ती उत्कृष्ट व्यक्तिहरूको भेलालाई त्यस अर्थमा बुझ्नुपर्छ ।

यो आक्रमण अत्यन्त निन्दनीय छ । सम्भवत: मानव सभ्यताको इतिहासमा अन्तिम कलंक हुने छैन । तर यो घटना, त्यसका योजनाकार र कार्यान्वयनकर्ताको नृशंसताबाट सहजै अनुमान गर्न सकिन्छ, त्यस्ता शक्तिहरूले कायरताको पराकाष्ठालाई अंगालेका छन् र त्यो उनीहरूको यात्राको अन्तिम चरण हो । म्यानचेस्टरको घटनामा निर्दोषहरूको सहादतले यो प्रकृतिको आतंकवादको मृत्यु सुनिश्चित गरेको छ । इस्लाम धर्म र त्यसका 'प्रोफेट' का नाममा गरिएको यो पाप र त्यसको सञ्जाललाई अस्वीकार्य घोषणा गर्दै त्यसलाई पराजित गर्ने पहिलो कदम सम्भवत: इस्लाम धर्मका सच्चा अनुयायीले गर्नुपर्ने छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.