राजनीतिमा रञ्जु
काठमाडौं सहर र नेपाली राजनीति दुवै उस्तै छन्- प्रदूषित, दुर्गन्धित र फोहोर । काठमाडौंका बासिन्दा सहरको धुलोमैलोबाट त्राण पाउन ताजा हावाको खोजीमा भड्किरहेका देखिन्छन् । राजनीतिको दुर्गन्धबाट मुक्ति पाउन नेपाली नागरिक पनि ताजा प्रतिबद्धतासहितको ताजा अनुहार खोजिरहेका छन् ।
रञ्जु दर्शनाजस्तै ।
एक महिनाअघि जब रञ्जु दर्शनाले काठमाडौं महानगरपालिकाको मेयरका लागि उम्मेदवारी दर्ता गरिन्- धेरै ट्विटर र अनलाइन ‘क्रिटिक'हरूले यसलाई ‘मजाक' सम्झिए । कतिपयले यसलाई काम गर्न नसकिरहेका वा नचाहिरहेका पुराना अनुहारहरूप्रति वितृष्णा वा व्यंग्यका रूपमा चित्रण गरे । धेरैले भने हलुकासँग लिए उनको उम्मेदवारीलाई ।
निर्वाचन कानुनअनुसार २१ वर्ष पुगेको नेपाली नागरिक स्थानीय तहको उम्मेदवार बन्न पाउने प्रावधान भए पनि सामाजिक सञ्जालका प्रयोगकर्ताले २२ वर्षीया रञ्जु दर्शनालाई ‘अन्डरएज उम्मेदवार'कै रूपमा चित्रण गरिरहे । रञ्जु भने आफ्ना ‘क्रिटिक'हरूबाट बेपरबाह रही काठमाडौंवासीलाई ताजा हावा नभए पनि ‘ताजा फिलिङ्स्' बाँड्न व्यस्त भइन् । मेयर बनेँ ताजा हावा पनि बाँड्छु भन्दै ।
पहिलो चरण स्थानीय निर्वाचनको दुई सातामा रञ्जुले आफूलाई जबर्जस्त राजनीतिक सेलिब्रेटीको दर्जामा उभ्याइसकेकी छन् । यतिखेर ‘दिग्गज'हरू पनि उनलाई ध्यान दिन बाध्य भएका छन् । काठमाडौं महानगरमा यी २२ वर्षीया युवतीले एमाले र कांग्रेसपछिको तेस्रो मत ल्याएपछि नागरिकहरू भरपर्दो विकल्प राम्रैसँग खोजी गरिरहेका रहेछन् भन्ने खुलस्तै भएको छ । रञ्जुलाई मानिसहरूले यति धेरै ध्यान दिन थालेका छन्- मानौं उनी काठमाडौंकी मेयर नै भइसकिन् ।
रञ्जुले पुष्टि गरिदिएकी छन्- उनको उम्मदेवारी लहड थिएन, महानगरको आवश्यकता थियो । काठमाडौंवासीको घरदैलोमा पुग्न उनीसँग चिह्न पाएपछिको छ दिनको सट्टा दोब्बर दिनमात्रै हुन्थ्यो भने उनले एमालेका विद्यासुन्दर शाक्यलाई आच्छुआच्छु नै पारिदिने रहिछन् ।
०००
वैशाख ३१ को स्थानीय निर्वाचनको डेढ सातापछि हामीले ‘विवेकशील नेपाली दल'को महाराजगन्जस्थित कार्यालयमा भेट्दा रञ्जु प्रफुल्ल थिइन्, काठमाडौंवासीको मायाका कारण । हामीले उनलाई हारको दुःखमा होइन, काठमाडौंवासीलाई आफ्नो उम्मेदवारीको गम्भीरता पुष्टि गर्न पाएको सन्तुष्टिमा देख्यौं ।
रञ्जुमा मैले पहिल्यैदेखि देखेको सबैभन्दा आकर्षक पक्ष के हो भने उनलाई भित्रैदेखि लाग्छ- काठमाडौंलाई संसारकै राम्रो सांस्कृतिक सहर बनाउन सकिन्छ र उनले आफ्नो टिमको सहयोगमा यो लक्ष्य हासिल गर्न सक्छिन् ।
उनको अठोट प्रशंसायोग्य छ । उनमा राजनीतिक चेतना बिस्तारै बढ्दै गइरहेको छ । रञ्जु अपरिपक्व छिन् भन्नेहरू उनको तारिफ गर्न थालेका छन् । टिम ह्यान्डल गर्ने गुण बिस्तारै विकास गरिरहेकी छन् । मैले उनमा देखेको अर्को सकारात्मक गुण हो, उनले राजनीतिलाई ‘इन्जोय' गरिरहेकी छन् । उनमा राजनीतिको स्टे«स देखिँदैन । हो, उनले सिक्न धेरै बाँकी छ, उनकै उमेरका सबै युवाहरू जसरी नै तर मलिलो र ग्रहणशील मस्तिष्कले चाहिएजति सिक्न सक्छ । उनी नयाँ पुस्ताका लागि राजनीतिमा आकर्षण बढाउन एउटा मोडल बन्न सक्छिन् ।
‘अब टायर बाल्ने राजनीति होइन, फूल रोप्ने राजनीति गरौं ।' रञ्जुको यो भनाइ फेसबुकमा देख्दा मेरो अनुहारमा मुस्कान भरिएको थियो । फरक खालको र विशाल हृदय भएको राजनीतिले मात्र समाजलाई उन्नत बनाउनसक्छ भन्नेमा विश्वस्त मलाई लाग्छ- प्रेमबाहेक अरू केहीले परिवर्तन ल्याउन सक्दैन । राजनीतिमा जाँदा त्यही प्रेम निःस्वार्थ कर्ममा परिणत हुन्छ ।
रञ्जुले ‘फूल रोप्ने राजनीति गरौं' भनेपछि एमाले नेत्री रामकुमारी झाँक्रीले उनलाई भनिछिन् पनि, ‘बैनी, हामीले टायर बालेकै भएर तिमीले यति भन्न पाएकी छौ ।' रञ्जु अहिले भन्छिन्, ‘मैले टायर बाल्नेहरूलाई केही भनेको होइन, धेरै फूलहरू चुँडिएका छन्, त्यही भएर अब फूल रोप्ने राजनीति गरौंमात्र भनेकी हुँ ।' २२ वर्षीया रञ्जु राजनीतिमा प्रवेश गरेको चार वर्ष भयो । प्लस टु पढ्दै गर्दा राजनीतिमा होमिएकी यी युवती बितेका चार वर्षमा आम नजरमा सकारात्मक ऊर्जासाथ चढिसकेकी छन् । गोविन्द केसीको भ्रष्टाचारविरुद्ध आन्दोलनमा उनी उग्र स्वरमा नारा लगाउँथिन् । आमाको नाममा नागरिकता दिनुपर्ने अभियानमा उनको प्रभावपूर्ण उपस्थिति थियो । नेपाल खुला छ भन्ने विवेकशील नेपालीका कैयौं कार्यक्रममा पनि उनले ताजा हावा फैलाइदिएकी थिइन् ।
गत वैशाख ५ गते विवेकशील नेपाली दलले उनलाई काठमाडौं महानगरको मेयरमा उम्मेदवार बनाउने निर्णय गरेपछि काठमाडौंवासीसँग उनको भेटघाट सुरु भयो । उनी काठमाडौंवासीको घरघर घुम्न थालिन् र सीधै उनीहरूको मनमा कब्जा जमाउन सुरु गरिन् । अनामनगरको भेटघाट रेस्टुरेन्टबाट सुरु भएको उनको भेटघाट करिब तीन साता लगभग काठमाडौंका हरेक चोक र कुनाहरूमा चलिरह्यो । यस क्रममा उनले हजारौं आमा भेटिन्, हजारौं बुवा र हजुरबुवा भेटिन् । हजारौं दिदीभाइ, दाजुबैनी फेला पारिन् ।
परिवारकै सदस्य बनेर सोझै आममानिसको हृदयमै कब्जा जमाउने रणनीतिले नै हो, उनले काठमाडौं महानगरमा यति धेरै मत ल्याएको । आफूलाई आमाहरूले धेरै सराहना गरेको रञ्जु बताउँछिन् । आमासँगमात्र बस्ने रञ्जु आमाहरूसँग आफूलार्इ छोरीमै परिणत गरिदिन्छिन् जसले उनीहरूको मातृत्व उर्लिन्छ । आमाहरू भन्छन्- रञ्जुमा नेतामा हुनुपर्ने सबै गुण छन् ।
रञ्जुले राजनीतिलाई ‘इन्जोय' गरिरहेकी छन् । उनमा राजनीतिको स्ट्रेस देखिँदैन । हो, उनले सिक्न धेरै बाँकी छ, उनकै उमेरका सबै युवा जसरी नै तर मलिलो र ग्रहणशील मस्तिष्कले चाहिएजति सिक्न सक्छ । उनी नयाँ पुस्ताका लागि राजनीतिमा आकर्षण बढाउन एउटा मोडल बन्न सक्छिन् ।
एउटा नेता परिवारको सदस्यजस्तो हुनुपर्छ, रञ्जु त्यो छिन् । एउटा नेता प्रेमले भरिएको हुनुपर्छ, रञ्जु त्यो छिन् । समाज बदल्ने अभियानमा लागेको एउटा नेता शान्त हुनुपर्छ, रञ्जु त्यो छिन् । एउटा नेताले आफूलाई केन्द्रमा राख्दैन, समाज र विश्वलाई केन्द्रमा राख्छ, रञ्जुमा त्यो गुण मैले देखेको छु।
२२ वर्षकी मात्र छिन् त के भयो, आफूभन्दा तीन गुणा बढी उमेरका नेताहरूभन्दा देशका लागि केही गर्छु भन्ने अठोट उनीमै बढी छ । हृदय आल्हादित पार्ने पक्ष के हो भने उनमा त्यो अठोट सक्कली छ । उनी मीठोसँग बोल्छिन् । अझै धेरै जानिसकेकी छैनन् तर एउटी प्रेमप्ूर्ण युवतीसँग प्रशस्त जान्नसक्ने क्षमता छ । जान्नु ठ्ूलो कुरा हो, त्योभन्दा जान्ने क्षमता र त्यसका लागि इमान्दार र सकारात्मक आधार हुनु ठ्ूलो कुरा । समाज बदल्न अलिअलि जुन पागलपन चाहिन्छ, त्यसको उन्नत बीउ रञ्जुमा देख्न सकिन्छ ।
नेतागिरी नेपालमा साह्रै फस्टाएको पेसा हो । तर, राजनीति व्यवसाय होइन, समाजलाई उन्नत बनाउने एउटा विद्या हो । नेतागिरीसँग आजित भएको नेपाली समाजमा रञ्जुजस्तो सकारात्मक तरंग आउनुको एउटा फाइदा के हुन्छ भने नेता बन्ने गुण भएका अन्य रञ्जुहरू पनि हाकाहाकी समाजमा आफूलाई चिनाउन सक्छन् । उनको घरदैलो हाँडीगाउँ, बाफल, कोटेश्वर, बानेश्वर, चाबेल, सानो गौचरन- ३२ वडा भएको काठमाडौं सहरको कुनाकुनासम्म चल्यो । उनले सबैभन्दा पहिला नाता जोडिन्, आफूलाई मतदाताका पारिवारिक सदस्यका रूपमा चिनाइन् र भनिन्- म मजाले काठमाडौं चलाउन सक्छु ।
धेरैभन्दा धेरैसँग अन्तरक्रियाको प्रयास गरिन् । ‘हामी आफ्ूलाई त चिनाइरहेका थियौं तर हाम्रो चिह्न चिनाउन सकिरहेका थिएनौं', उनले भनिन्, ‘ढिलो चिह्न पाएको थकथकी मलाई छ, चिह्न पाएपछि फेरि घरदैलो गर्न हामीसँग समय थिएन ।' चिह्न पाएपछि रञ्जु र उनको टिमसँग प्रचारप्रसारका लागि जम्मा छ दिनमात्र समय थियो, त्यो कालको प्रशस्त उपभोग गरिन् उनले । ‘जति सक्थ्यौं, त्यत्ति बुझायौं ।'
चिह्नको प्रचार नभए पनि उनको राम्रो प्रचार भइसकेको थियो । निर्वाचनको दिन उनलाई बुथबुथमा मानिसहरूले तपाईंको चुनाव चिह्न के हो भनेर सोध्थे, उनी बिस्तारै बताउँथिन् । एउटा बुथमा महिला प्रहरी हवल्दारले उनलाई सुटुक्क आएर सोधिन्- तपाईंको चुनाव चिह्न के हो रञ्जुले भनिन्, ‘इस्टकोट ।'
‘ओहो, मलाई त थाहै थिएन । मलाई अघि लाइनमा कत्ति दिदीबहिनीले तपाईंको चुनाव चिह्न सोध्दै थिए ।' कति धेरैले बुथमै इस्टकोट कहाँ छ भनेर ठूलै स्वरमा सोधेका थिए । आफ्नो चिह्नको राम्रो प्रचार गर्न नसकेको थकथकी रञ्जुलाई अझै छ ।
कतिपयले टिसर्टमा स्वस्तिक छाप हान्दिएछन् । कतिले कुर्थामा । ‘चुनावचिह्नमात्र चाँडो आएको भए अझ धेरैलाई बुझाउन सक्थ्यौं, अझै धेरैसँग सम्बन्ध गाँस्न सक्थ्यौं', यसो भन्दा उनको चहकिलो अनुहार अलिकति मुर्झाएको थियो । २२ वर्षको नेताको एउटा सकारात्मक पक्ष के हो भने उनीसँग जिते जितिहाल्यो, हारे पनि अर्कोपटक जित्छु भन्ने भाव हुन्छ जुन ‘बुढा' नेताहरूसँग हुँदैन ।
यद्यपि उनी र उनको टिमले अहिल्यै काठमाडौंमा छाया सरकार चलाउने प्रतिबद्धता जनाइसकेको छ । अर्थात् काठमाडौंमा जितेका प्रतिनिधिहरूलाई रञ्जु टिमले सचेत प्रतिपक्षीका रूपमा चनाखो पारिरहन्छ, पाँच वर्षैसम्म । रञ्जु आफ्ना मतदाताहरूप्रति धन्यवादले भरिएकी छन् । ‘यति धेरै मानिसको जीवनसँग नजिक हुने मौका पाएँ । घरदैलो गरिरहँदा धेरै ठाउँमा आन्टीहरू मलाई आएर अँगालो मार्नुहुन्थ्यो र रुनुहुन्थ्यो । कतिजना सुम्सुम्याएर आँखाभरि आँसु पारेर केही बोल्नै नसकेर जानुहुन्थ्यो ।'उनी आफ्नो प्रचारयात्रा बताउँदै थिइन् । ‘कति जनाले भन्थे, मेरी छोरी पनि तिमीजस्तै छे । अहिले विदेश गएकी छे । यहीँ केही भइदिएको भए बाहिर जान्नथिई होला ।' यस्तो सुन्दा रञ्जुको मुटुमा गाँठो पर्छ ।
भर्खरै मतदाता सूचीमा नाम लेखाएका आफूभन्दा साना भाइबहिनीलाई भेट्थिन् उनी । ‘देखेपछि कत्रो आँखा हुने, नबोल्ने क्या । हाइहेलो गर्ने भाइबहिनीहरू पनि छेउमा आएर नमस्ते नमस्ते भन्छन् । हेलो भाइ भनेर ह्यान्डसेक गरेपछि भने लामो सास फेरेर हेलो भन्छन्', उनले सम्झिन् । यो सबै देख्दा अब भाइबहिनीलाई पनि राजनीतिमा रुचि जगाउन सकिन्छ भन्ने रञ्जुलाई लागेको छ । मौन अवधिमा कहीँ पनि प्रचार गर्दै हिँड्न मिल्दैन थियो । उनको चुनाव चिह्न इस्टकोट लगाएर उनका समर्थक र शुभेच्छुकहरू बाहिर निस्के पनि उनले आचारसंहिताको सम्मानमा त्यो गरिनन् । बरु ती दुई दिन उनले काठमाडौंका मन्दिरहरू घुमिन् ।
मन्दिरहरूमा आनन्दित महसुस गर्छिन् रञ्जु । आर्यघाटको अर्को छेउमा बसेर जीवनमृत्युबारे घोत्लिरहन रमाइलो लाग्छ उनलाई । आर्यघाटमा शान्ति महसुस गर्छिन् । मन्दिरहरू घुम्ने क्रममा उनले आफूप्रति मानिसहरूको रुचि र प्रेम महसुस गर्न पाइन् । ‘मलाई भेट्दा उहाँहरूको खुसी र उत्साहले मलाई रोमाञ्चित पाथ्र्यो, म एउटा आशाको प्रतीक बनिसकेको रहेछु भन्ने लाग्थ्यो ।'
तिमी आशा बनिसक्यौ भनेर भेटेका मानिसहरूले भन्दा उनलाई अझै बढी जिम्मेवारीबोध हुन्छ । रञ्जु भन्छिन्, ‘उहाँहरूले ममा केही देखेको होला भन्ने लाग्छ, मेरो हरेक कदमहरू जिम्मेवार हुनुपर्छ भन्ने मलाई त्यही बेलादेखि लागेको हो ।' राजनीतिले रञ्जुलाई आनन्दित पार्छ । ‘किनभने मैले सानैबाट रोजेको बाटो हो यो । मैले रोजेको बाटो', रञ्जुको आवाज भित्रैबाट निस्केको महसुस गर्न सक्छु म ।
नेपाल भन्ने शब्दमात्र उच्चारण गर्दा रञ्जुको हृदयमा काँडा उम्रन्छ । ‘म नेपालमै केही गर्छु । नेपाललाई माया गर्छु भनेर सानैदेखि लागेको थिएँ । अहिले माया गरेर पनि काम गर्न पाउने अवस्थामा पुगिसकेँ, यसले मलाई आनन्दित बनाउँछ ।' प्रचार अभियानका क्रममा रञ्जुले काठमाडौंमा जताततै फस्ट्रेसन देखिन् । ‘हामीले भेटेका मतदाताहरू पहिलाको राजनीतिक दलहरूको नामै सुन्न चाहन्नुहुन्न । हामीलाई भने आफ्नै परिवारको सदस्यका रूपमा व्यवहार गर्नुहुन्थ्यो', उनले भनिन् ।
कतिपयले उम्मेदवारी सुरु भएदेखि रञ्जुलाई भित्रैदेखि सहयोग गरे । ‘विवेकशील नेपालीको धेरै नाम नसुने पनि पहिलेदेखि हामीले राम्रो काम गर्दै आइरहेकाले त्यसले पनि हाम्रा लागि ठूलो आधार बनायो । नेपाल खुला छ, उद्यमशीलतालगायत कार्यक्रमले पनि केही न केही मानिसको मनमा छोएको रहेछ', उनले सम्झिन् । ‘काठमाडौंवासीको आशा भनेकै एउटा परिवार बनोस् काठमाडौं भन्ने रहेछ । नेपाल एउटा परिवार बनोस् भन्ने', प्रेमको राजनीति गर्न चाहने रञ्जु भन्छिन् । उनी संसारभरि रहेका नेपालीलाई एउटै परिवारका रूपमा देख्न चाहन्छिन् ।
उनले एउटा स्काइप फेमिली सुरु गरेकी थिइन् । त्यो देखेर विदेशमा बसेका कतिपय रोए । स्काइपबाटै दसैँटीका लगाउने, स्काइपबाटै पारिवारिक भेटघाट गर्ने उनको अवधारणाले धेरैलाई छोएको थियो । उनीहरू रञ्जुलाई भन्थे, ‘तिमीले अहिले कदम चालेकी छौ, हामीले चाल्न सकेनौं, अहिले हामीले सपोर्ट गरेनौं भने हामीलाई पाप लाग्छ ।' विदेशका नेपालीले उनका पोस्टहरूलाई सेयर र लाइकमात्र गरेनन्, आफैं फोन गरेर साथीभाइ, बुवाआमालाई रञ्जुलाई भोट हाल्न कन्भिन्स पनि गराए । ‘राजनीति मेरो कर्म हो, यसमा मलाई संसारभरिका नेपालीले सघाइरहनुभएको छ भन्ने कुराले मलाई काम गर्न झनै बढी बल दिइरहेको छ', रञ्जुले भनिन् ।
०००
रञ्जु जानेर वा नजानेरै ध्यान गर्छिन् जसले उनलाई भित्रैदेखि शान्त बन्न सिकाएको छ । नियमित कलेज गइरहेकै छिन्, स्नातक (बीए डेभलपमेन्ट स्टडिज) अध्ययन गर्न । चुनावपछि कलेज जाँदा साथीहरूले उनको सम्मानमा केक काटेका थिए । उनको हृदय द्रवित भयो । आँखा भरिए । शिक्षकले भन्नुभयो, ‘अब रञ्जु हामी सबैको आशा बनिसकेकी छन् ।' रञ्जुको व्यक्तित्व शालीन छ । हाँसो संक्रामक । उनी हृदयदेखि नै मुस्काउँछिन् । कुनै बनावटीपना छैन उनको व्यक्तित्वमा । सबैभन्दा आकर्षक पक्ष के हो भने उनी आफूलाई राष्ट्रिय राजनीतिमा साबित गर्न ज्यान छोडेरै लागेकी छन् । २२ वर्षे उमेरको रमाइलोले छुँदैन उनलाई । मानिसहरू भेट्ने, समाजको विकृति हटाउनै आनन्दित हुन्छिन् ।
‘मेरो रमाइलोको परिभाषा फेरिएको छ । यही काममा आनन्दित भइरहेको छु । समाजकै काम गरेर यही समाजमा रहँदा म आनन्दित महसुस गर्छु ।' नकारात्मक प्रतिक्रियाहरूले छुँदैन । नमीठो बोल्नेहरूसँग पनि मीठो जवाफ फर्काउँछिन् । यसो गर्दा शरीरमा भित्रैबाट सकारात्मक ऊर्जा प्रवाहित हुने उनी बताउँछिन् ।
आगामी निर्वाचनमा रञ्जुको उपस्थिति कस्तो होला भनी अनुमान लगाउन नसकिए पनि रञ्जु नेपाली राजनीतिकी एउटा त्यस्तो विम्ब हुन् जसबाट नागरिकको आशा झांगिने मौका पाउँछ । रञ्जुको कम उमेरलाई धेरै मानिसले सामाजिक सञ्जालमा उडाएका थिए । प्रश्न गरे- उनी अपरिपक्व छिन्, अर्बौंको काठमाडौंको बजेटलाई कसरी चलाउन सक्छिन् सरकारको अवधारणा सेवक सरकारको हुनुपर्छ, मालिक सरकारको होइन भन्ने उनको मान्यता छ । पद्मशमशेरले भनेजस्तै शासक जनताका सेवक हुन् । जनताको सेवा गर्ने चाहना सरकारको हुनुपर्छ । तर, हाम्रा नेताहरूमा काम गर्नुपर्छ भन्ने नै छैन । काम त अरूले गर्नुपर्छ, हामीले त अह्राउने हो भन्ने अवधारणा छ ।
रञ्जु नेपाली राजनीतिकी एउटा त्यस्तो बिम्ब हुन् जसबाट नागरिकको आशा झांगिने मौका पाउँछ ।
हामीले काठमाडौं महानगरमा सानोसानो कुरामा परिवर्तन गर्न सक्छौं, धेरै ठूलो परिवर्तन यहाँ ल्याइरहनै पर्दैन । रञ्जुले भनिन्, ‘काठमाडौंका चोकचोकमा कुक चाहियो, प्लम्बर चाहियो, मिस्त्री चाहियो भनेर एफोर साइजको कागजमा लेखेर टाँसेको हुन्छ । त्यहीँ हाम्रा लाखौं दाजुभाइ दिदीबहिनी भने मिस्त्री र मजदुरको काम गर्न विदेश जान म्यानपावरको लाइनमा हुन्छन् । नेताहरूलाई यसले पोल्दैन नेपाललाई कसैले गाली गर्यो भने रञ्जुलाई बेस्कन रिस उठ्छ । हाम्रो अव्यवस्थामा नेपालको के दोष, नेताहरूले पो देशलाई यस्तो हालतमा पुर्याए, यसमा नेपाल विचराको के दोष भने लाग्छ । ‘नेपाललाई त हामी सबै मिलेर विकसित र समृद्ध पो बनाउनुपर्छ', उनले भनिन् ।
उनले बोल्न मन लागेको कुरा बोलिहाल्न नहुने रहेछ भनेर बिस्तारै बुझ्दैछिन् । ‘शब्दचयनमा अझ बढी ध्यान दिनेछु भनी मैले गौरचनको सभामा भनिसकेको थिएँ । माइतीघरको सभामा सुशीला कार्कीको महाभियोगकोविरुद्ध आन्दोलनमा उत्रिँदा म नेताहरूसँग बढी नै रिसाएको थिएँ । फेरि बदमासी गरे नेताहरूले भन्ने लागेको थियो । त्यही भएर शेरबहादुर देउवालाई स्यालबहादुर र पुष्पकमल दाहाललाई फुस्सकमल भन्ने शब्दावली प्रयोग गरेँ, पछि त्यो मैले सच्याइसकेको छु', उनले हामीलाई सफाइ दिइन् ।
०००
काठमाडौं सहर र नेपाली राजनीति दुवै उस्तै छन्- प्रदूषित, दुर्गन्धित र फोहोर । काठमाडौंका बासिन्दा सहरको धुलोमैलोबाट त्राण पाउन ताजा हावाको खोजीमा भड्किरहेका देखिन्छन् । राजनीतिको दुर्गन्धबाट मुक्ति पाउन नेपाली नागरिक पनि ताजा प्रतिबद्धतासहितको ताजा अनुहार खोजिरहेका छन् ।
रञ्जु दर्शनाजस्तै ।
रञ्जु राजनीतिमा ताजापना छर्न झनै प्रतिबद्ध र दृढ देखिएकी छन् । ध्यान र जीवनमृत्युको चिन्तनले उनीमा ‘एग्रेसन' आउन छाडेको छ । त्यसलाई समाज बदल्ने अठोट र प्रतिबद्धताले विस्थापन गरेको छ । भित्रैदेखि आफूलाई शान्त पाउँछिन् उनी । क्षणिक जीवनमा त एग्रेसन चाहिएला तर, यति सानै उमेरमा उनले बुझिसकेकी छन्, जीवनको लामो यात्रामा एग्रेसन होइन, शान्त मस्तिष्क नै सहायक हुन्छ । आफूलाई यो अस्तित्वको एउटा सानो भागमात्र ठान्ने रञ्जुलाई चुनावमा हार्दा एउटा फाइदा भएको छ । ‘विपश्यना जान उहिल्यै फर्म ल्याएकी थिएँ, तारतम्य मिलाउन सकेकी थिइनँ, अब जान्छु', उनी मुस्काइन् ।
सामान्य युवतीहरूभन्दा केही फरक छिन् उनी- टीसर्ट पाइन्ट होइन, हिजोआज कुर्थासुरुवाल लगाउन मन पर्छ । राजनीतिमा आनन्दित हुन्छिन् ।
नेपालका लागि म जे पनि गर्न सक्छु भन्ने पागलपना उनीभित्र छ । भन्छिन्, ‘म राजनीतिको मैदानमा ख्यालठट्टा गर्न आएकी होइन ।' एउटा आशालाग्दो राजनीतिक नेतृत्वको उन्नत नश्ल फैलिन नेपाली समाजको माटो राम्रैसँग तयार भइसकेको छ । राजनीतिमा प्रवेश गरेका रञ्जु र रञ्जुहरूजस्ता उन्नत र सम्भावनायुक्त बीउ जोगाउन, हुर्काउन र फैलाउन हामीले केही गर्नैपर्छ ।