राष्ट्रिय विभूति ! कस्लाई दिने

राष्ट्रिय विभूति ! कस्लाई दिने

वीर भक्ति थापा राष्ट्रिय एकता अध्ययन केन्द्रले उनको २०२औं स्मृति दिवस मनाएको छ । सरदार भक्ति थापाले पनि राष्ट्रिय विभूति पाउनुपर्ने कुरा पुन: दोहोरिएको छ । राष्ट्रिय विभूति निर्धारण सिफारिस गर्ने मन्त्रालयकै मन्त्रीहरू पनि यस्ता कार्यक्रममा प्रमुख अतिथि बन्न पुग्नु हुन्छ । इतिहास, संस्कृति सम्बद्ध एकसेएक व्यक्ति पनि त्यस्तो कार्यक्रममा धारणा दिन पुग्छन् ।

CHAITANNE-RAJ-DEVKOTAसरदार भक्ति थापा संवत् १८७१-७३ को अंग्रेजसँगको युद्धमा देउथल (अल्मोडा) मोर्चामा हुनुहुन्थ्यो, भनिन्छ । त्यसबखत उहाँ ७२ वर्षको हुँदा पनि बहादुरीसाथ लड्नु भएको थियो । त्यो उमेर लडाइँमा जाने होइन तर आफ्नो राष्ट्रमाथि सात समुद्र पारिबाट आएका साम्राज्यवादीले कब्जा गर्न खोज्दा तिनको मुकाविला गरी लड्दालड्दै शहादत हुनुभएको सर्वविदितै छ । गोर्खा अधिराज्यको रक्षार्थ उक्त युद्ध समाप्त भएको दुई शताब्दीभन्दा बढी बितिसकेको छ । देशले त्यस्ता वीर भक्ति थापालाई उचित सम्मान दिन नसक्नु लाजमर्दो लाग्छ ।

बेवास्ता गर्ने कारण सायद हारेको युद्धको प्रसंग बनेको हो कि ? आधा देश गुमाउनेहरूलाई राष्ट्रिय विभूतिले किन विभूषित गर्ने ? प्रश्न उठ्नु स्वाभाविक ठानिएला । अंग्रेजसँग भएको त्यही युद्ध र अन्य ठाउँमा युद्ध पुरुषहरू बडाकाजी जनरल अमरसिंह थापा तथा वीर बलभद्र कुँवरलाई भने राष्ट्रिय विभूति धेरै अगाडि नै दिइएको पाइन्छ । उनीहरू सरहका यी वीर योद्धालाई भने मरणोपरान्त सम्मानसम्म दिन सरकार किन मुठ्ठी बाँधिरहेछ ? त्यो बुझ्न सकिएको छैन । अंग्रेजसँगको त्यही युद्धमा अनेक वीरहरू अनेक मोर्चामा तैनाथ रहनु भएको थियो । युद्धमा कालीपारिको भूमिमात्र गुमेको थिएन । पूर्व र दक्षिणमा पनि धेरै ठूलो भू-भाग साम्राज्यवादीहरूले हामीबाट खोसेर आफ्नो साम्राज्यराज्यमा गाभेका थिए । अझै त्यो युद्धको हारबारे तथ्यगत कुरा अध्ययन भएको देखिन्न ।

एकथरी बुद्धिजीवीहरू हार्नेहरूलाई राष्ट्रिय विभूति किन ? भन्ने तर्क गर्छन् । त्यसबेलाको युद्ध नालापानीमा मात्र भएको थिएन । हाम्रा विभिन्न चार ठाउँमा नालापानीभन्दा ठूलो सेना लिई अंग्रेजी ठूलाठूला युद्ध अनुभवी जनरलहरू अत्याधुनिक हातहतियारसहित आएका तथ्य छन् । महाकाली पारिको उक्त हारले आधाजसो हाम्रो राज्य साम्राज्यवादीलाई छोड्न बाध्य पारियो । त्यो घाउ अझै पनि हामी नेपालीका मुटुमा चसक्क बल्झिरहन्छ । उक्त युद्धमा गुमेका हाम्रा ती चारधाम तीर्थ रहेका पवित्र भूभागप्रतिको ममताले प्रत्येक नेपालीले गहभरि आँसु लिई मन पिल्साइरहेको यथार्थ छ । राज्यको आकार हाम्रो पनि साँचो हो ।

एकथरी बुद्धिजीवीहरू हार्नेहरूलाई राष्ट्रिय विभूति किन ? भन्ने तर्क गर्छन् । त्यसबेलाको युद्ध नालापानीमा मात्र भएको थिएन । हाम्रा विभिन्न चार ठाउँमा नालापानीभन्दा ठूलो सेना लिई अंग्रेजी ठूलाठूला युद्ध अनुभवी जनरलहरू अत्याधुनिक हातहतियारसहित आएका तथ्य छन् ।

आफ्नो धर्म, संस्कृति, अस्मिता जोगाउन भक्ति थापालगायत सयौं वीरहरूको उत्तिकै महिमामय बलिदान थियो । काजी जगज्जित पाँडे, काजी नयनसिंह थापा, काजी अमृतसिंह थापा, काजी भोटु पाँडे, काजी दामोदर पाण्डे, काजी दलभञ्जन पाँडे, जनरल अमरसिंह थापा (भीमसेन थापाका पिता), कर्णेल रणवीरसिंह थापा, कर्णेल उजिरसिंह थापा आदि थापा, पाण्डे, कुँवर, बस्नेत, रानाभाट, गुरुङ, खवास, खड्का थर भएका वीरहरूका नाम बिर्सन हुन्न । सेनाका प्रमुखहरूको नेतृत्वका कारण एकातिर छन्, अर्कोतिर खुँडा, खुकुरी, तरबार, भाला बर्छामात्रले गोर्खा अधिराज्यको एकीकरण भएको थिएन भन्ने ठानिनु पनि उपयुक्त हुन्न ।

त्यस बखतका युद्ध योजनाकार, युद्ध सल्लाहकार, युद्धविद् को को हुन् ? त्यो पक्ष अझै पनि अनुसन्धानपूर्वक लेखिएका इतिहासका पुस्तकबाट खुल्न सकेका छैनन् । तर पनि यतातिर संशोधन मण्डलका इतिहासज्ञ एवं प्राज्ञ दिनेशराज पन्तका थप दुई पुस्तक प्रकाशनमा आएका छन् । पहिलो: विद्वच्छिरोमणि हेमराजको गोर्खासम्बन्धी अनुसन्धान (संवत् २०६५ साल) दोस्रो : प्रसिद्ध ज्योतिषी भगीरथ जैसी (संवत् २०७२) यो लेखका लेखकको आफ्नै 'बुबा ! उत्प्रेक्षा उत्स्मय प्रतिबोध' 'शतवार्षिक उपसंग्रह'मा संक्षिप्त भए पनि उक्त प्रसंग चित्रण गरिन पुगेकै लाग्छ । यी प्रकाशनहरूमा दैवज्ञरत्न भगीरथ जैसी र उनका पुत्रहरू ज्योतिर्विद वीरभद्र जैसी (वीरु जैसी), मेजर भाष्कर जैसी, लक्ष्मण जैसी सम्बद्ध चर्चाहरू पनि उत्तिकै महत्वपूर्ण रूपमा छन् । यी पुस्तकमा दैवज्ञरत्न भगीरथका जेठा छोरा रमावल्लभ र नाति चक्रपाणि जैसीको तिनै पश्चिमी युद्धहरूमा शहादत भएको छ, जसले यो परिवारको महत्व दर्शाउँछ ।

चक्रपाणिको अपुताली परी त्यस सम्पत्तिको हकदारबीच अंशबन्डाको विवाद छिनोफानो गर्न स्वयं श्री ५, श्री जनरल (भीमसेन थापा) श्री कर्णेल (रणवीरसिंह थापा) जस्ता राष्ट्रका उच्चतम न्यायकामी स्वयं बसेर अंशबन्डा मिलाइदिएको घटनाले नै दैवज्ञरत्न भगीरथको हैसियत र महत्व देखिन्छ । यसबाट दैवज्ञरत्न भगीरथ जैसी त्यस बेलाको राजकाजमा कुन तहका उच्च व्यक्तित्व थिए र यसरी राजा आफैं बाबुछोराको अंशबन्डाको विवाद मिलाउन इजलासमा बसी हेर्ने खण्ड पर्‍यो । त्यसले उनी कति महत्वपूर्ण र सम्मानित व्यक्तित्व थिए भन्ने यथार्थ झल्कन्छ । उनी प्रधानमन्त्री भीमसेन थापाका राजसल्लाहकार मात्र नभई एकमात्र बौद्धिक सल्लाहकार पनि थिए । तर यससम्बन्धी पुराना अभिलेख कताकता परेका छन् । पाल्पा बसेर राजधानी र पूर्व, पश्चिम र दक्षिणको कसले खोजी दिने । उनी राजकाजको अहम भूमिकामा थिए भन्ने केही तथ्य पुरातत्व प्रकाशनमाला र अन्य पुरातात्विक प्रकाशनबाट देखिन्छ ।

भगीरथ जैसीले धेरै बिर्ताहरू आर्जेको भेटिन्छ । त्यसरी राष्ट्रले बिर्ता बक्सनुपर्ने कारण अनुसन्धान हुन बाँकी छन् । पाल्पा राज्य एकीकरणको युद्धमा उनको अहम् भूमिका थियो । कर्णेल उजिर सिंहको समयमा तयार पारेको 'निजामती तथा जंगी बन्देज', राज्यभरिका गढी गौंडा र मठ-मन्दिर, तीर्थ चारधाम आदिमा भगीरथको स्थान धेरै छ । उनका परामर्शले बनेको हनुमानढोका ठूलो घन्टलगायत विभिन्न स्मारक, किल्लाहरू, राजकाजका जटिल समस्याहरू वा राजवंशको उत्तराधिकारी कायम गर्ने कार्यमा सबैमा दैवज्ञरत्न भगीरथका उपस्थिति र निर्णय कम महत्वपूर्ण थिए त ? यस्तो इतिहास कौसी तोषाखानाका संग्रहभरि ढुस्सी परेर विनाश हुँदै रहेको बुझिन्छ ।
यस्तो खोजतलास र अध्ययन कसले गर्ने ? कसरी गर्ने ?बृहत् गोर्खा निर्माणकार्थ (मस्र्याङ्दी नदी पश्चिमका क्षेत्रमा) यति ठूला युद्धविद्को गौरव, तत्कालीन समयको मूल्यांकन आज आवश्यक छन् र ? गोर्खाली बिना यस्तो महान् व्यक्तिको युद्ध सल्लाह, युद्ध योजना, अर्थ व्यवस्था, सैन्य ताकत अवलोकन नगरी युद्ध गर्थे भनी ठान्नुमात्र अज्ञान प्रदर्शन गर्नु हो । त्यसबेला पनि अनेक नयाँ हातहतियार निर्माण हुन्थ्यो । तिनको प्रयोग विधि विकसित भएको बुझ्न जरुरी हुन्थ्यो । त्यसकारण भगीरथ जैसीजस्ता युद्ध विशेषज्ञ रहेका हुन्थे ।

खुँडा र खुकुरी धनुर्विद्यामा उनी एकमात्र अत्यन्त विशिष्ट युद्ध विशेषज्ञ थिए । त्यसबेला यस्तो ज्ञान अरू सबैमा हुँदैनथियो । एकीकरणका सम्पूर्ण युद्ध दैवज्ञरत्न भगीरथ जैसीकै सल्लाह र योजनाबाट विजय हुने गरेको यथार्थ हो । धारिला खुँडा र खुकुरी चलाएकै भरमा युद्ध विजय भएको ठानिनु कति उचित होला । खुँडा खुकुरी चलाउनेमा शास्त्रोक्त शस्त्र ज्ञान सबैमा थियो र ? त्यसबेला पनि युद्धविद्, युद्ध क्षेत्रहरूका कमान्डरका साथमा रहेर युद्धको पूर्ण व्यवस्थामा दैवज्ञरत्न भगीरथ जैसी रहनुहुन्थ्यो । दैवज्ञरत्न भगीरथ जैसीमा विचित्र ज्ञान रहेको हुनाले नै उनलाई गोर्खाली राजाले कास्की दरबारबाट भगाएर गोर्खा दरबार ल्याएको यथार्थ थियो ।

प्राज्ञ दिनेशराज पन्तका यिनै पुस्तकमा दिइएका विभिन्न परिच्छेदका भाषा विवेचना गरिए पनि इतिहास छर्लंग हुनेछ । गोर्खाको योद्धाहरू त सुरा र वीर थिए नै । उनलाई युद्ध जितिन्छ भनी सुर्‍याउने ज्ञान, अक्कल, रणनीति, युद्ध क्षेत्रमा डटेर दैवज्ञरत्न भगीरथले बाहेक कसले ऊर्जा दिने गर्दथ्यो होला त ? युद्धमा हात गोडा काटिए, चोटपटक लागे, सर्पदंश, झाडा-पखालाजस्ता महामारी लागे ती सैनिकको सेवा पनि उनैले गर्दथे । त्यसकालमा साउन भदौमा उर्लेका ठूलाठूला नदीहरूमा जेठ महिनापछि डुंगा, झिकेर राखिन्थ्यो । फट्के, पुल हुँदैनथियो । भेरी, कर्णाली, काली, सेती र गंगामै पनि जँगार तारेर सेनालाई त्यसरी पारि लैजाने ! त्यस्तो पक्ष कुनै इतिहासका पुस्तकमा उल्लेख छैन । ती इतिहासमा बुझ्न दैवज्ञरत्न भगीरथ जैसीबारे अनुसन्धान नगरिएसम्म देखिने कुरै भएन ।

उनी युद्धविद्, युद्ध योजनाकार, युद्ध सल्लाहकार, अस्त्र, शस्त्र विधाका विशिष्ट व्यक्तित्व थिए । युद्ध भूमिमा रहेको सेना र सेना प्रमुखहरूबाट भगीरथलाई शिरोपाउ चढाइएको देखिन्छ । उनी सेना प्रमुखबाट पूज्य रहेका युद्धभूमिमा तैनाथ योद्धाहरूका पत्रबाट देखिन्छन् । हामी दैवज्ञरत्न भगीरथ र उनका वंशज उहाँलाई राष्ट्रिय विभूति माग गर्न मरिमेट्दैनौं । राष्ट्रले उहाँलाई सम्मान गरेमा राम्रै सम्झनु पर्ला । भगीरथका अनेक स्मारकहरू छन्, जुन उनको गाउँ क्षेत्र गोर्खा लुइँटेल विदेश भन्ज्याङ चारधामतिर छन् । तिनको स्याहारसम्भार गर्न र पुन:निर्माणमा राष्ट्रको सहयोग होस् भन्ने चाहन्छौं । उनकै हातले रोपेर पालेको 'जैसीको वन' र 'वनपाले' जस्ता हामीबाट खोसेर जबर्जस्ती कब्जा गरिएको छ । ती वनजंगल सार्वजनिक गरिएको सम्पदा, बाग, बगैंचालाई सरकार र हामी मातहत राखेर दैवज्ञरत्न भगीरथ र उनको पुत्रहरूको स्मृति राख्न दिइयोस् भन्ने माग राख्न चाहन्छौं।

यसले उनका सम्पदा संरक्षण हुन गई उनी र उनको पुत्रहरूका नाममा अनेक सामाजिक कार्य गरी दिनेछौं । स्मरणीय छ गोर्खाको कुनै समयमा राष्ट्रभरि प्रसिद्धिको 'अमरज्योति जनता हाइस्कुल' उनकै जैसीको वनमा बनाउन लगियो । त्यहीँ नै विज्ञान प्रविधिको लागि उच्च शिक्षा संस्थानको व्यवस्था गरिदिने हाम्रो उद्देश्य छ । तर हामी भुत्ल्याइएको ढुकुरका चल्लाजस्ता सम्पत्तिविहीन छौं । हाम्रो सम्पत्ति कानुनी राज्यमा कानुनबमोजिम नगरी पञ्चायती दमनकारी व्यवस्थाले ठाडै कब्जा गरिदिएको हुनाले पूर्वज दैवज्ञरत्न भगीरथको इतिहास पनि हराइरहेको छ । यसको वेदनाले हामी सहाराविहीन बन्दै छौं । आफ्नो अगाडि आफ्नो सम्पत्तिमा अरूले भोगचलन गरिरहेको हामी टुलुटुलु हेर्न विवश छौं । हाम्रो पीडा पोख्न चाहन्छौं । आशा गर्दछु युद्धविद्, युद्ध योजनाकार, राजसल्लाहकार दैवज्ञरत्न भगीरथ जैसीलाई इतिहासमा सम्मानित बनाई राख्न नेपाल सरकार र समाजको सहयोग रहनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.