'प्राज्ञिक बहस' मा हीरक जयन्ती
'सबै प्रकारका अनुसन्धानात्मक कर्महरू प्रस्तावना-पत्र, कार्यपत्र, अनुसन्धानपत्र, शोधपत्र, प्रतिवेदन प्राज्ञिक लेखनका दृष्टान्त हुन् । यस्तो लेखन तीन कुराले विशेष हुन्छ— औपचारिक भाषा, तृतीय पुरुष दृष्टिकोण र निगनात्मक तर्क पद्धतिको प्रयोग । यसमा तथ्य र प्रमाण बोल्छ, लेखक बोल्दैन, उसको स्वनिर्णय बोल्दैन । उसको हस्तक्षेप पनि देखिँदैन', प्राज्ञिक र साहित्यिक दुई भिन्न लेखनबारे प्रा.डा. गोविन्दराज भट्टराई भन्नुहुन्छ, 'त्यसैले प्राज्ञिक लेखनमा हुने परोक्षता, कर्मवाच्यता, निर्वैयक्तिकताले गर्दा यसले उत्पन्न गर्ने परोक्षता र रुक्षता पनि टड्कारो हुन्छ । लेखक र पाठक सिधै जोडिँदैनन्, भाषाले बनिएको एउटा औपचारिक पर्खाल बीचमा उभिन्छ । त्यहाँ व्यक्ति भाषा मेटिएको, अपरिचित हुन्छ । अत्यन्तै कम लेखकमा यस्तो भाषा लेख्ने क्षमता हुन्छ।'
प्राज्ञिक लेखनको झन्डै-झन्डै विपरीत धारमा उभिएको छ, साहित्यिक लेखन । विश्वभर सजिलै बुझ्ने र अभ्यास गर्ने यो सिर्जनात्मक लेखनमा लाग्नेभन्दा पृथक् धारमा आफूलाई उभ्याउनेहरू जसको चाहना, क्षमता र आवश्यकता नै फरक हुन्छ, उसले प्राज्ञिक लेखन र बहसमा भिन्न संसार देख्छन् । २०१४ सालमा स्थापना गरिएको नेपाल (तत्कालीन समयमा राजकीय) प्रज्ञा प्रतिष्ठानले हीरक जयन्ती मनाउँदा साहित्यिकभन्दा बढी केन्द्रमा प्राज्ञिकलाई स्थान दिएको छ । सांस्कृतिक कार्यक्रम र कवि गोष्ठीबाहेक हीरक जयन्ती प्राज्ञिक बहसमै केन्द्रित रह्यो । प्राज्ञिक बहस दुई धारमा विभाजित थियो, एक शोधमूलक प्रतिवेदनको प्रस्तुति र त्यसमाथि बहस, दोस्रो विषय उठान र त्यसमाथि विज्ञहरूका तर्क ।
प्रतिवेदनका विषय जे जति बहसमा ल्याइए तिनले सबै क्षेत्रलाई समेट्न सकेनन्, तीनदिने जयन्तीमा त्यो सम्भव थिएन तर छनोट भएका विषयले सरोकारवालालाई जिस्क्यायो, चलायो र हुट्हुटी जगायो । जसमा लामो समयदेखि विवादमा रहेको भाषादेखि भाषिक समुदायमा लोकवार्ता, दर्शन, समालोचना, अनुवाद, भारतीय नेपाली साहित्यहुँदै नदी संस्कृतिसम्मलाई समेटिएको थियो । भीमनारायण रेग्मीले 'नेपाली भाषाको आधुनिकीकरणका प्रमुख आयाम', प्राडा गोविन्दराज भट्टराईले 'समालोचनामा 'म' को उपस्थिति : कति सान्दर्भिक कति असान्दर्भिक', बलराम अधिकारीले 'अनुवादक परिचय कोश : परिकल्पना, निर्माण प्रक्रिया र चुनौती' विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
मानक नेपाली भाषाबारे लामो समय चलेको आरोह-अवरोहको अवतरणसँगै नेपाली भाषाको आधुनिकीकरण कति सामयिक भन्नेमा बहस सुरु भएको छ । करिब एक हजार वर्षे यात्रामा विकासका अनेकौं चरण पार गर्दै नेपाली भाषा यतिबेला मानकीकरणसँगै आधुनिकीकरणमा प्रवेश गरेको पाइन्छ ।
प्रा.डा.चूडामणि बन्धुले 'नेपालका विभिन्न भाषिक समुदायमा लोकवार्ताको अध्ययन परम्परा र चुनौती', तेजप्रकाश श्रेष्ठले 'नेपालमा बालसाहित्य : हिजो-आज र भोलि', डा. साफत्य अमात्यले 'नेपालमा नदी संस्कृति : एक अवलोकन', डा. काशीनाथ न्यौपानेले 'दर्शन परम्परामा दु:खनाश र आनन्द प्राप्तिको अवधारणा', रूपेश शर्माले 'भारतीय नेपाली साहित्यमा पद्य साहित्यको अवस्था' र डा. कृष्णराज घतानीले 'भारतीय नेपाली साहित्यमा गद्य साहित्यको अवस्था' विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
भाषामा आधुनिकीकरण
मानक नेपाली भाषाबारे लामो समय चलेको आरोह-अवरोहको अवतरणसँगै नेपाली भाषाको आधुनिकीकरण कति सामयिक भन्नेमा बहस सुरु भएको छ । करिब एक हजार वर्षे यात्रामा विकासका अनेकौं चरण पार गर्दै नेपाली भाषा यतिबेला मानकीकरणसँगै आधुनिकीकरणमा प्रवेश गरेको पाइन्छ । नेपाली भाषाका विभिन्न स्वरूप र भूमिकासँगै विविध आयाम रहेकोमा यसको विकासका लागि आधुनिकीकरण आवश्यक भएको विज्ञ र सरोकारवालाको भनाइ छ । नेपाली भाषामा प्राध्यापन गर्ने भीमनारायण रेग्मीले अध्ययन-अनुसन्धान, आमसञ्चार, शिक्षण पद्धति, सूचना प्रविधि, ज्ञान र संस्कृति, सरकारी कामकाज, मातृभाषा, निरक्षर व्यक्तिहरू आदिमा नेपाली भाषाको आधुनिकीकरण र मानकीकरण कसरी गर्ने भनी बहसको सुरुआत गर्नुभएको हो ।
'यी सबैमा आधुनिकीकरण र मानकीकरणका लागि लेखन पद्धतिमा अनुकूलन, व्याकरण, शब्दभण्डार, मानक ढाँचा, शिक्षण र सन्दर्भ सामग्री, अनुवाद, निर्देशिका तयारी र प्रशिक्षण, भाषा प्रविधिको उपयोग र नेपाली भाषाका विभिन्न पक्षमा अनुसन्धान बढाउने आदि काममा विशेष जोड दिनुपर्छ'- प्रतिष्ठानको नेपाली भाषा विभागका प्रमुख प्राडा हेमांगराज अधिकारी नेपाली भाषाको विकासमा सम्भावनासँगै चुनौतीहरू पनि प्रशस्तै भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, 'आधुनिकीकरणसँगै मानकीकरण हुन्छ । नेपाली भाषाको प्रकृति र प्रवृत्तिलाई प्रविधि अनुकूल पार्ने काम गर्नु परेको छ।'
भारतमा नेपाली साहित्य
साहित्यको कुनै सिमाना हुँदैन । समयको विकासक्रमसँगै साहित्यले पनि आफ्नो परिधिलाई फराकिलो बनाएको छ । नेपाल बाहिरका थुप्रै मुलुकमा फैलिएको नेपाली भाषा, साहित्य भारतमा झन् बढी छ । भारतमा नेपाली (गोर्खाली) हरूको आफ्नै सुदीर्घ साहित्यिक परम्परा र इतिहास विद्यमान छ, जसलाई भारतीय नेपाली साहित्य भनेर अभिहित गर्न सकिने प्राडा कृष्णराज घतानीको भनाइ छ । 'सन् १८३५ देखि दार्जिलिङमा अंग्रेजी शासकहरूको प्रवेश र धेरै कालपछि अर्थात् १९७५ देखि सिक्किम स्वायत्त देश पनि भारतमा संलग्न भएपछिको इतिहासले आजको सन्दर्भमा दार्जिलिङ, सिक्किम र असम पूर्वाञ्चलका कतिपय भू-भाग नेपाली जातिको निजस्वता रहेको भाषा-साहित्यिक भूगोल क्षेत्र हो', उहाँ भन्नुहुन्छ ।
साहित्यको सर्वप्राचीन र महत्वपूर्ण विधा काव्य- कविता वा पद्य विधा नै मानिने सत्यतालाई आधार मान्दा भारतीय नेपाली साहित्यको लेखन-परम्परा कविता वा पद्य विधाबाटै प्रारम्भ भएको देखिन्छ । भारतीय नेपाली साहित्यमा कविता वा पद्य विधाको आजसम्मको इतिहास हेर्ने हो भने दुई सय ७३ वर्ष भइसकेको छ । घतानीका अनुसार, यो अवधिमा भारतीय नेपाली साहित्यले छैटौं चरणमा पाइला चालिरहेको छ ।
समालोचनाको प्रवृत्ति
साहित्य सिर्जना र समालोचनाको संगम हो । प्राडा गोविन्दराज भट्टराईका अनुसार सिर्जनालाई माझेर टल्काएर उच्च उपभोग्य वस्तु बनाउने साधन नै समालोचना हो, त्यसैले धोइपखाली गर्छ, पुछपाछ पार्छ, सफा गर्छ र उपभोक्तामाझ प्रस्तुत गर्छ । 'वर्तमान विश्व समालोचनामा 'म' को उपस्थिति अनिवार्य हुँदैछ जुन नेपाली प्राज्ञसम्म आएको छ', उहाँ भन्नुहुन्छ, 'सिर्जना साहित्य हो समालोचना साहित्य होइन अर्थाेकै हो भनेजस्तो धारणा छ र दुवैप्रतिको व्यवहार भिन्न छ जसले एक भ्रान्ति-धारणा स्थापित गरेको छ ।'
दर्शनमा दु:ख र सुख
दृष्टि नै दर्शन हो, दृष्टिको अर्थ ज्ञान र ज्ञान गर्ने साधन दुवै हृुन्छ । तत्वज्ञानको साधन नै दर्शन हो भन्ने रुढिगत अर्थ परम्परामा प्रचतिल छ । 'हाम्रो दर्शनिक परम्पराको मूलभूत उद्देश्य दु:खनास हो र त्यो गर्न सबैले मुक्त हुन आवश्यक छ', डा. काशीनाथ न्यौपाने भन्नुहुन्छ, 'यसमा विशेष गरेर वेदान्त परम्परामा श्रुतिवाक्यहरूको आधारमा ब्रह्म तत्वको स्फुरण नै मुक्ति भनिएको छ ।' बौद्ध चिन्तनमा आत्माको पूर्ण विलय अर्थात् अहंकारको नास आत्मनिषेधपूर्वक गरेपछि क्लेशावरण र ज्ञेयावरणको ध्वंस हुने र त्यसपछि व्यक्ति निर्वाणमा पुग्ने उहाँको भनाइ छ । कार्यपत्रमार्फत् दु:खको नास गर्नका लागि मुक्त हुनु आवश्यक छ भनेर सबै दार्शनिकहरूले स्वीकारेको र त्यो मुक्ति यसै जीवनमा पाउनुपर्ने बताउने जानकारी दिइएको छ ।
सम्भावनामा बालसाहित्य
कथ्य परम्पराबाट लेख्य र मुद्रण हुँदै अहिले डिजिटल र ई-बुकसम्मको प्रविधिमा प्रवेश गरको नेपाली बालसाहित्यमा लोकआख्यानिकता, नैतिकता, औपदेशिकता आदिभन्दा मनोरञ्जनलाई बढी जोड दिन थालिएको तेजप्रकाश श्रेष्ठको कार्यपत्रमा उल्लेख छ । बालबालिकाले पहिले रमाउँदै पढ्ने वातावरणसँगै शिक्षा, नैतिकता आदि ग्रहण गर्नुपर्ने धारणा विकसित हुँदैछ । 'जादुको चमत्कार, बोक्साबोक्सी, अलौकिक चमत्कार, साहसिक कार्य, विभिन्न लोककथा आदिलाई नयाँ प्रविधिमा ढालेर प्रस्तुत गरिएका बालसाहित्यलाई आजका बालबालिकाले रुचाउन थालेको पाइन्छ', उहाँ भन्नुहुन्छ, 'त्यसैले पनि आधुनिकतामा घोलिएका पौराणिक, ऐतिहासिक, नीतिपरक, लोकसंस्कृति, लोकव्यवहार, ज्ञानविज्ञान आदिलाई पनि वैज्ञानिक, समयोचित, मनोरञ्जक र बालोपयोगी तरिकाले प्रस्तुत गर्ने प्रयास अहिले देखा पर्न थालेको छ ।'
अनुवादक कोशको अवधारणा
कोशको निर्माणका लागि विभागीय प्रमुख प्राडा उषा ठाकुरको संयोजनमा छ सदस्यीय समिति बनेको छ । यसले अनुवादकका बारेमा सूचना संकलन गर्ने, संकलित सूचनाका आधारमा उनीहरूको परिचय लेख्ने र सम्पादन गर्ने काम गर्दै आएको छ । कोश निर्माणका चुनौति पनि छन् । अनुवादकहरूको सूचीको निर्माण, अनुवादकका बारेमा अल्पजानकारी र अनुवादकबाट जानकारी अप्राप्त हुनु आदि चुनौती रहेको कार्यपत्र प्रस्तोता बलराम अधिकारीको भनाइ छ । अनुवादका क्षेत्रहरूमा आत्मकथा, जीवनी, इतिहास, संस्कृति, उपन्यास, कथा र लोककथा, कविता, नाटक, निबन्ध, दर्शन र नीति, बालसाहित्य, समालोचना रहेका छन् । अधिकारीका अनुसार, सर्जकलाई चिनाउने, फैलाउने र पाठकसम्म पुर्याउने काम अनुवादले गर्दछ तर हाम्रो सन्दर्भमा सर्जकलाई चिनाउने व्यक्ति नै आफ्नो सर्जकीय पहिचानबाट वञ्चित छ ।
नदी सभ्यता
विश्वका जुनसुकै देशको संस्कृति वा सभ्यता कुनै न कुनै नदीसँग जोडिएको पाइन्छ । सिन्धुघाटी सभ्यता इन्दस अर्थात् सिन्धु नदीसँग जोडिएको छ भने मि श्रको सभ्यता नाइल नदीसँग जोडिएको छ । नेपाल उपत्यकाको संस्कृति र सभ्यता पनि बागमती, विष्णुमतीलगायतका नदी, नालासँग जोडिएको छ । डा. साफल्य अमात्यले प्रस्तुत गरेको कार्यपत्रमा उल्लेख छ, नेपालका करिब ६ हजार नदी र खोलानाला नेपाल र नेपालीका लागि गंगा अर्थात् नदीको धार्मिक, सामाजिक, सांस्कृतिक र आर्थिक महत्वका छन् । उहाँ भन्नुहुन्छ, 'अग्नि पुराणमा भनिएअनुसार नदी जुनसुकै ठाउँबाट बगे पनि त्यो पवित्र हुन्छ र नदीमा नुहाउनु भन्नु नै स्वर्गको अनुभूति प्राप्त गर्नु हो ।'