नुन, सुन र चुनमा नलाग्ने संकल्प कोष

नुन, सुन र चुनमा नलाग्ने संकल्प कोष

नुन, सुन होइन नुनै हो । आवश्यक अनुपातमा नुन जीवन हो । नुन कम भए निर्बल भइन्छ । बढी भए पनि रन्थनिन्छ । नुन कम, रक्तचाप कम । नुन बढी रक्तचाप बढी । आनुपातिक नुन सन्तुलित रक्तचाप । सन्तुलित रक्तचाप चिन्तामुक्त जीवन । जिउँदो जिउनुको रहर मुक्त कहर ! जहाँ कहर मुक्ति छ, त्यहीँ सार्थक जीवन रहर छ । कहर मुक्ति सबैको जीवन-रहर ! नुनको संक्षिप्त सन्दर्भ यत्तिकैमा बिट मार्दा शिर न पुच्छर भनिएला । त्यसो हुन नदिन छेउ टुप्पोको भेउ त हुनु पर्दो हो ।

चुरो सरोकार संकल्प कोष बन्छ, बनेको छ । सौहार्दसाथ उपलब्ध कोष रकमहरू सदुपयोग गर्ने सन्दर्भ चुरो यसको !बेलाबखत सौजन्य साथ सौहार्द कोष धेरथोर पाएको छु । साना मझौला प्राप्तिहरू सबै महान् उपलब्धि बनेका छन् । तिनलाई नुनमा खर्चन मन लागेन कहिल्यै अहिलेसम्म । न तिनलाई सुनमै लगानी गर्न मन कुद्यो । सुन सुनै हो । सुन नुन होइन, न बन्नै सक्दो हो ! सुन एक आकर्षण हो- तडकभडकको । देखावटी सिँगार ! जीवन असुरक्षाका आकर्षण । बचत, मुद्दती-निक्षेप आदिको प्रबन्धयुक्त बैंकिङ व्यवस्था विकास नभएको बेला सुनमा लगानी गर्नु ठीकै थियो । समयसापेक्ष रूपमा समाजका सेरोफेरो नैतिक चरित्रवान् आस्थामा कुनै जोखिम थिएन पनि । नैतिक आस्थामा ह्रासोन्मुख समाजमा सुरक्षास्थिति बढी नै जोखिमी बन्छ । अब सुनमा लगानी गर्नु समयसापेक्ष प्रयाण बनोइन ! समसामयिक अनेक लगानी क्षेत्रमध्ये एक नेपालको पानी जनताको लगानी पक्कै बनेछ ।

थोरथोरै नुन, थोरथोरै नुन पछाडि थोरथोरै चुनमाथि विमर्श रचनाको चासो बनेको शिरैले जनाएको छ । चुनको ठाउँ अहिले सिमेन्टले ओगटिसकेको छ । चुन भन्नु समय सन्दर्भ बनोइन । तापनि आशय भने सिमेन्टसितै रहेको छ । नुन, सुन, चुन भने अनुप्रास युक्त रहेका छन् । लेखन अभिव्यक्तिका सौन्दर्य अनुप्रासयुक्त शब्द शृंगारमा अन्तरनिहित रहेको हुन्छ । नु, सु, चु ध्वनिमा एकरूपता छ । यस्ता अनुप्रासिक शब्दले ध्वनि माधुर्य प्रदान गर्छ । चलनचल्ती र प्रयोग गर्दै जाँदा यस्ता शब्द विन्यास सहज तवरले आफैं प्रवाह बनेर आउँदा रहेछन् । चुन निर्माण कार्यका कुनै ताका आधारभूत साधन-सामग्री नै थिए, अझै छन् पनि । चुनको सिलसिलेवार प्रसंगले घरजग्गा जोड्ने सन्दर्भको संकेत गर्छ । नुन, सुन र चुनमा नलाग्ने संकल्प कोष त्यस्तो राशि हो जसको प्रयोग दैनिक जीवनका गाँसमा खर्चिन्न । खर्चिन्न ती रकम जीवन शृंगार साधन जुटाउन पनि । त्यसरी नै भौतिक जीवनका सुविधा साधन- घरजमिन जोड्नमा नि । नुन, सुन र चुनमा नलाग्ने संकल्प कोषका गर्भका मर्म यिनै हुन् ।

स्वभावत: कौतूहल भने जाग्न थाल्छ मनमा । नुन, सुन र चुनमा नलाग्ने संकल्प कोष कस्तो कोष हुँदो हो ? त्यस संकल्प कोषको परिभाषा लामो छैन, छोटो-मात्र । त्यो कोष रकम सात हजार, दस हजार, १५, २०, ३०, ५०, ९० देखि एक लाखसम्मको राशिमा गणना हुन आउँछ । यस्ता धनराशि सम्मानजनक धन-लक्ष्मी बनेका छन् । सात हजार कुनै ठूलो रकम हुन सकोइन । जब त्यो रकम सम्मानमा गाँसिएर आउँछ बेलुनझैं फुकिएर फुलिँदो रहेछ । यो सान्दर्भिक प्रसंग र प्रासंगिक सन्दर्भ बन्दो रहेछ । आत्मानुभूति परक लेखाजोखा बनिँदो रहेछ । भावनात्मक तरंगमा तरंगिनु पर्दो रहेछ- सानु झिनो रेसा नि भैरव, कुमारी, मच्छिन्द्रनाथका रथ तान्ने डोरीमा परिणति पाउँदो रहेछ । यस्तै लागिरहेछ अचेल । ती ससाना झिनो मसिना रकम राशि कहिल्यै खर्चिन लायक ठानिनछु । खुत्रुके भर्दै गएँ एक पछि अर्को गर्दै ।

सात हजार कुनै ठूलो रकम हुन सकोइन । जब त्यो रकम सम्मानमा गाँसिएर आउँछ बेलुनझैं फुकिएर फुलिँदो रहेछ । यो सान्दर्भिक प्रसंग र प्रासंगिक सन्दर्भ बन्दो रहेछ । आत्मानुभूति परक लेखाजोखा बनिँदो रहेछ ।

जब ५० हजार बने बैंकमा निक्षेपन गर्न थालेँ सनैसनै नहतारी । धैर्य र धीरता चाहिँदो रहेछ । धैर्य मनले स्थिरता प्रदान गर्दो रहेछ । स्थिर प्रस्थ मन बाँधेर आफैंसित अन्तर विमर्श गर्दै गरेँ । जुन जुन बेला जस्तोजस्तो मेला लाग्छ ती सबलाई एकै राशिमा भेला गराउने अठोट गराएँ मनलाई । मनग्य गरेको अठोटलाई दृढ निश्चय भन्न रुचाएँ । त्यही दृढ निश्चयको पर्याय संकल्प भन्न मन पराएँ । संकल्पलाई स्वच्छ स्वस्थ अर्पण भन्ने, गर्ने चेष्टा जगाएँ । तिनै चेष्टालाई निष्ठापूर्वक सर्जक समुदायमाझ प्रस्तुत गर्न रुचाएँ । नमच्चिने पिङको सय झट्का नबनून ! अन्तर चेतले औंलो ठड्याइरहन्छ । अन्तरमनको धोको पस्काइरहेझैं चस्किरहन्छ- चसक्क चसक्क ... ! भविष्यका पाइला, समय, कर्मलाई अकर्मण्य नबनाउने ब्रह्म साक्षी बनाई आउँदा अक्षरका अवसरहरू प्रति अभिवादन, अभिनन्दन अनि कृतज्ञता खेर नफालीकन साँचिरहेछु ।

जसो चिताउँछ उस्तै फल प्राप्त हुन्छ । पारस्परिक कथन यो । यस कथनभित्र मनोविज्ञानका सूत्र गाँसिएको छ । मनोविज्ञान यस्तो ज्ञानको शास्त्र बनेको छ जसले हाम्रो अन्तरमनलाई ध्यानमग्न गराउने चेतन तत्वलाई जीवनदान गर्छ । त्यसलाई हामी चेतन चिन्तन भन्ने गर्छौं । चेतन चिन्तन त्यस्तो अदृश्य, अमूर्त शक्ति बनेको छ, जसले हामीलाई अनुकूल कार्य प्रवृत्ति विकसित गर्न भित्रभित्रै प्रेरणाको उपचार गर्छ, गराउँछ । प्रवृत्ति बनेपछि मानिसले अनुकूल पाइला चाल्न थाल्छ । हातहरूलाई कार्यरत गराउन मनग्य प्रेरणा पुर्‍याउँछ । अभिप्रेरित भएर हामी सकारात्मक कर्म गर्न थाल्छौं आफ्नै अनुभवका अनुभूतिका अभिव्यक्ति बनाउन रुचाएर पाठक महानुभावबीच पस्काउने प्रेरणा साँचिरहेछु ।

यिनै मनशाय मूलक जीवनक्रमको आठ दशक्पारिका क्षणहरू यी मेरा । नेपाल प्रज्ञाप्रतिष्ठानको हीरक जयन्ती जुरेछ । हीरक जयन्तीको उपलक्ष्यमा प्रतिष्ठानले त्रिदिवसीय राष्ट्रिय वाङ्मय संगोष्ठी तथा सम्मान अर्पण समारोह २०७४ जेठ ६ शनिबार उद्घाटनकै दिन सम्पन्न गरेथ्यो । समुद्घाटन र सम्मान अर्पण प्रधानमन्त्रीद्वारा गराउने निर्धारित कार्यक्रम राष्ट्रकवि माधवप्रसाद घिमिरेबाट सम्पन्न हुन पुग्यो । राष्ट्रकवि नै प्रमुख अतिथि घोषित भए । सम्मान अर्पण भने राष्ट्रकै तीन वाङ्मय पुरुष स्रष्टाबाट भयो । ती तीन वरिष्ठ नेपाली वाङ्मय पुरुषमा सर्व श्री राष्ट्रकवि माधव घिमिरे, संस्कृतिविद् वाङ्मय शताब्दी पुरुष डा. सत्यमोहन जोशी, पूर्वकुलपति कवि बैरागी काहिँला थिए । उपस्थित वाङ्मय साधक सर्जकहरू भने प्रसन्न मुद्रामा प्रस्तुत थिए ।

हीरक जयन्तीका अवसरमा नेपाल प्रज्ञाप्रतिष्ठानको ७० वर्ष नाघेका १० जना वाङ्मय साधक सर्जकहरूलाई सम्मान पुरस्कार अर्पेका थिए । ७२ देखि ८६ सम्ममा स्रष्टा सर्जकमध्ये दाङका नारायणप्रसाद शर्मा ज्येष्ठ नागरिक थिए । खोटाङका जसराज किराती ७२ वर्षीय थिए । १० मध्ये नारी स्रष्टा रमा (देवी) शर्मा ७५ वर्षीय थिए । ८२ वर्षीय दीपनारायण मि श्र स्वास्थ्यका कारण वीरगन्जबाट कार्यक्रममा सम्मिलित हुन नसकेका रहेछन् । कवि, समीक्षक, आख्यानकार आनन्ददेव भट्ट निर्बल स्वास्थ्यसहित उपस्थित थिए । त्यत्रो कर्मठ, चिन्तनशील सर्जक निर्भीक समीक्षक डा. तारानाथ शर्मा पनि पूर्ववत् स्वास्थ्य वरण गर्दो नपाउँदा आँटै ग्लानि भयो आफ्नै ।

९२ वर्षे बालसाहित्यकार शान्तदास मानन्धर हाम्रामाझ तगडा थिए । सौम्य भावनाभिव्यक्ति सुनाउँदै खुसुक्क भने, 'यो पुरस्कार राशि एक लाख अर्पेर प्रज्ञाप्रतिष्ठानले बालक प्रति नै सम्मान जनाए ।' प्रज्ञा भवनका भौतिक सिर्जनाकारका वास्तु तथा स्थापत्य विज्ञान-कलाकौशलका लागि अभियन्ता शंकरनाथ रिमाल सम्मान-पुरस्कृत हुनु उत्तम ! तर, नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका संस्थापक अधिस्थाता स्व. राजा महेन्द्रप्रति एकै शब्द उच्चारण नहुनु दु:खद् थियो । दाजुले बोल्दा नि किन मौन रहेको... ? साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसादले मसित खिन्नमनष्क भाव पोखे । पुरस्कृत-सम्मानित स्रष्टाहरूको तर्फबाट मन्तव्य राख्न कार्यक्रम पुस्तिकामै छापिएको रहेछ । नेपाल प्रज्ञाप्रतिष्ठानको हीरक जयन्तीको उपलक्ष्यमा आयोजित भव्य समारोहमा सम्मानित स्रष्टाहरूको तर्फबाट कृतज्ञता ज्ञापन गर्नु थाप्लोको नाम्लो मानेको छु । नुन, सुन र चुनमा नलाग्ने संकल्प कोष यिनै थाप्लोको नाम्लो बोकेरै गहकिलो बन्दै जाने ठानेको छु ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.