संस्कृत वाङ्मयका साधक
प्रारम्भिक चरणमा रेडियो नेपालमा धार्मिक कार्यक्रम सञ्चालनका केही महत्वपूर्ण व्यक्तिहरू पुरुषोत्तम सापकोटा, आचार्य खेमराज, केशवशरणजस्ता विज्ञ विद्वान्हरूका धार्मिक कार्यक्रम सुन्दै आएको अवस्थामा कान्तिपुर रेडियोको प्रारम्भिक समयदेखि जनार्दन घिमिरे, अच्युत सुवेदीको जोडीले आध्यात्मिक जागरणमा महत्वपूर्ण भूमिका खेल्नुभएको अनुभूति हुन्छ । वनारसबाट अध्ययन सिध्याएर नेपाल फर्किएपछि जनार्दन घिमिरेसँग परिचय र उहाँले बनाउनुभएका पूर्वीय र पाश्चात्य भाषा वैज्ञानिकका अध्ययनहरू समन्वय गर्दै ज्ञान-विज्ञान, पौरषत्य वाङ्मयको क्षेत्रमा महत्वपूर्ण विषयहरूलाई उद्घाटन गरी सञ्चारमाध्यमबाट संसारभरि फैलाउनुभयो । घिमिरेलाई एक सशक्त अध्येता, अनुसन्धाता रेडियो कार्यक्रमको माध्यमबाट चर्चित व्यक्तित्वको रूपमा चिन्न पाएँ । भक्ति अनुष्ठान कार्यक्रममा मेरो पहिलो साक्षात्कार पनि उहाँसँग नै भएको हो ।
उहाँसँग १५ वर्षको संगतले विभिन्न कार्यक्रममा यात्रा गरियो । रेडियो कार्यक्रममा मेरो आगमन २०५९ सालतिरको हो । ज्योतिष तथा वास्तुशास्त्रसम्बन्धी कार्यक्रम सञ्चालकको रूपमा टेलिभिजनमा मेरो प्रवेशसँगै हाम्रो सहयात्रा पनि विभिन्न धार्मिक चाडपर्वहरूको प्रत्यक्ष प्रसारण गरी रेडियो र टेलिभिजनको माध्यमबाट आम मानिससम्म पुर्याउने प्रयास गरिएका थिए । ती कार्यक्रमहरू चर्चित पनि भए । काशी विद्वत् परिषद् र काशी पण्डित सभाको कार्यक्रममा नेपालबाट घिमिरेको नेतृत्वमा सहभागिता जनाइयो । कार्यक्रममा संसारलाई जोड्ने संस्कार, संस्कृति र भाषाको मूल स्रोत वेद हो । यो अमृत भाषा हो । संस्कृत भाषाको विस्तारले विश्वभरि अमृत छर्न सकिन्छ । वैदिक ज्ञान-विज्ञानलाई विश्वभरि पुर्याउन सके संसारभरि शान्ति सुव्यवस्था स्थापित गर्न सकिन्छ भन्ने जनार्दनको उद्घोषले उक्त सभा पनि पुलकित भएको थियो ।
वेदमा रहेका वैज्ञानिक अनुसन्धानहरूको बारेमा अध्ययन गर्न पनि संस्कृत भाषाको ज्ञान अपरिहार्य छ । यो भाषाको माध्यमबाट चार वेद, उपवेद, उपनिषद् ब्रह्मसूत्र भाष्यका सांकेतिक वैज्ञानिक सूत्रहरू, पर्यावरण विज्ञान, जीवविज्ञान, भाषाविज्ञान र योगतन्त्र आयुर्वेदको माध्यमबाट संसारभरि हामीले आफ्नो विज्ञतालाई स्थापित गर्न सक्छौं भन्ने उहाँको मत रहेको थियो ।
प्रत्येक वीर नेपालीका सन्तानले योग, वेदान्त, आयुर्वेद, भाषा, साहित्यको ज्ञान प्राप्त गर्नुपर्दछ । यदि सन्तानले धर्म-संस्कृति, परम्पराको बारेमा जानेनन् भने विदेशमा गएर के गर्छन् ? सबैलाई थाहा छ । विश्व भाषा-सभ्यता, संस्कृतिको स्रोत संस्कृत भाषा हो । यो भाषाको अध्ययन-अध्यापन गरेर विश्वको उच्चतम शिखरमा सनातन वैदिक संस्कृतिलाई पुर्याउनु पर्दछ । अंग्रेजी भाषासहित विश्वको कुनै पनि भाषा जान्नु छ भने सवैभन्दा पहिले संस्कृत भाषाको जानकारी आवश्यक छ- भन्नुहुन्थ्यो जनार्दन घिमिरे ।
द्वन्द्वकालमा संस्कृत विद्यालयहरू भत्काउने, शिक्षकहरूको हत्या गर्नेजस्ता अमानवीय कार्यले समाज त्रस्त भएको बेला उहाँले पिताजीलाई संस्कृत भाषाको लागि काम गर्न र संस्कृतग्राम स्थापनाका लागि प्रोत्साहन गर्नुभएको थियो ।
धर्म, संस्कृति, परम्परा संरक्षण र संवद्र्धनका लागि हामीले हाम्रा सन्ततिलाई संस्कृत र संस्कृतिका अध्ययन अध्यापन गराएनौं भने विदेशमा गएर भाँडा माझ्नेदेखि अन्डा फुटाउने आदि काम गर्ने बाहेक अरू काम गर्न सक्ने छैनन् - देशका नेतृत्वकर्ताले सोच्नुपर्छ । नागरिकलाई संस्कारवान बनाउने, धर्म-संस्कृति, परम्पराका मूल्य मान्यतालाई सबैले सबै ठाउँमा विस्तार गर्ने अभियान चलाएनौं भने पुर्खाले हासिल गरेका सम्पूर्ण उपलब्धि, ज्ञान-विज्ञान, खोज-अनुसन्धान लुप्त भएर जानेछन् । संसारभरिकै भाषाको जननी संस्कृत भाषाको उत्थानका लागि अब एक क्षण पनि नसोची काम गर्नुपर्ने बेला आएको छ- यस्ता अपराजित विचार प्रकट गर्नुहुन्थ्यो जनार्दन ।
नेपाली तथा पूर्वीय वैदिक संस्कार, संस्कृति, परम्परालाई संसारभरि नै पुर्याउन कृतसंकल्पित जनार्दन घिमिरेले यही महान् उद्देश्य प्राप्तिका लागि संस्कृतग्रामको परिकल्पना गर्नुभएको थियो । संस्कृतग्रामको परिकल्पनाले नेपाली समाजमा संस्कार र संस्कृतिका बारेमा जागरण ल्याउने नै उहाँको जीवनको मूल उद्देश्य थियो । यस्ता परिकल्पनाकार ससर्परी विद्याका उद्बोधक वशिष्ठ वामदेव, विश्वमित्र ऋषि संस्कृतिका व्याख्याता विद्वान् पूर्वीय वैदिक वाङ्मयका अध्येयताको अकल्पनीय असामयिक निधनले संस्कृत वाङ्मयको क्षेत्रमा लागिपरेका नेतृत्वकर्ता गुमाएको महसुस भएको छ ।
चतरामा कुम्भमेलाको औचित्यको सन्दर्भ र शास्त्रीय मर्यादाका खोजकर्ता अनन्त श्रीविभूषित बालसन्त मोहनशरण देवाचार्यलाई जगद्गुरुको पदबाट विभूषित गर्दा वनारसमा हजारौं विद्वान्का सामने नेपालको प्रतिनिधित्व गर्दै आफ्नो उद्बोधन काशी विद्वत परिषद्मा प्रस्तुत गर्नुभएको थियो- नेपालले आफ्नै जगत्गुरु पाएको छ, यस परम्पराको रक्षाका निम्ति निरन्तर लाग्नुपर्नेछ ।
उहाँसँगको वनारस यात्रा पनि अविस्मरणीय थियो । हामी सम्पूर्ण परिवारसहित काशीको यात्रामा जाँदा पाँच दिन बितेको अनुभूति हुन पाएन । उहाँले रेडियोको प्रत्यक्ष प्रसारणमा त्यहाँका विद्वान्हरूसँग अन्तरवार्ता पनि गर्नुभयो । काशी र काठमाडौंको सम्बन्धलाई प्रगाढ बनाउने विद्वान्हरूको एउटा विद्वत् परिषद् निर्माण गर्ने कार्ययोजना बनेको थियो । आगामी दिनमा नेपालमा गर्ने महत्वपूर्ण कार्ययोजनाका खाकाहरू कोरिएका छन् । सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयमा नेपाल-भारत सांस्कृतिक सम्बन्धमा नेपालबाट गएका प्रतिनिधि सांसद शंकर पाण्डे, जनार्दन घिमिरे, डा. रामप्रसाद उप्रेती, भवानीशंकर कोइराला एवं म थियौं । डा. हरिप्रसाद अधिकारीको संयोजकत्वमा भएको विश्वविद्यालय कार्यक्रममा उहाँले उदबोधन गर्नुभएका विषयहरू अति सान्दर्भिक छन् ।
'सम्पूर्ण विश्वभरि नेपालमात्र यस्तो देश हो- जहाँ सभ्यता, संस्कृति बचाएर राख्न सनातन हिन्दु र बौद्ध परम्पराको एकीकृत स्वरूप नेपाल राष्ट्रको गौरव र गरिमा वृद्धिका लागि रहेको छ । नेपाल बाँच्यो भने सम्पूर्ण संस्कृति र सभ्यता बाँच्नेछ । हामी सबै शान्ति र न्यायपूर्ण तरिकाबाट बाँच्नेछौं । संसारमा शान्तिको सन्देश फैलिने छ ।
हामी गंगास्नान गर्दैगर्दा तपाईंकी सुपुत्रीको नाम ससर्परी भनी उहाँले नामकरण गरिदिनुभयो । तपाईंकी सुपुत्रीको नाम आजदेखि गंगाको किनारमा यिनको नाम ससर्परी रहनेछ र यिनले संस्कृतग्रामको औपचारिक लोकार्पणमा ऋग्वेदको तेस्रो मण्डलका सवै ऋचाहरू मंगलाचरणमा प्रस्तुत गर्नेछिन् भन्दै आशीर्वाद प्रदान गर्नुभएको थियो ।
डीएभी स्कुल तथा कलेजका अध्यक्ष अनिल केडिया, प्राचार्य भुवनेश्वरी राव जनार्दन दाइलाई एक्लो सिपाहीजस्तै निरन्तर लागिरहने, बालहठी स्वभाव भएका, आफूले ठानेको गरेरै छाड्ने स्वभावको रूपमा चिन्नुहुन्छ ।
उहाँहरूले जनार्दनलाई आत्मीय मित्रको रूपमा र संस्कृत वाङ्मयका एक धरोहरका रूपमा संसारलाई आयाम दिन सक्ने विद्वानको रूपमा ठान्नुहुन्छ र आज त्यो वैदिकताको मजबुत आधारस्तम्भ ढलेको महसुस गर्नुहुन्छ ।
कविराज मुक्तिनाथ घिमिरे र माता रत्नकुमारी घिमिरेका ज्येष्ठ सुपुत्रका रूपमा २०२७ साल भदौ १३ गते चतुर्दशी तिथि, अश्लेषा नक्षत्रमा डिल्लीप्रसाद नाम लिई जन्मनुभएका जनार्दन घिमिरेले संस्कृत अध्ययनको सुरुवात पिताबाट आरम्भिक संस्कृत शिक्षा, रुद्री-चण्डी, लघुसिद्धान्त कौमुदी अध्ययनपछि हिलेपानीमा नै निमाविसम्मको शिक्षा प्राप्त गर्नुभयो । काठमाडौंको रानीपोखरीस्थित दरबार हाइस्कूलमा अध्ययन गर्दै छात्रावासमा बसी पूर्वमध्यमा, उत्तरमध्यमा हुँदै महेन्द्र संस्कृत विश्वविद्यालयबाट आचार्यसम्मको शिक्षा पूरा गर्नुभएको थियो ।
राजनीतिक रूपमा पनि उहाँको सक्रियता उत्तिकै थियो । नेपाल विद्यार्थी संघको दोलखा जिल्लाको अध्यक्ष भएर काम गर्नुभएको थियो । द्वन्द्वकालमा संस्कृत विद्यालयहरू भत्काउने, शिक्षकहरूको हत्या गर्नेजस्ता अमानवीय कार्यले समाज त्रस्त भएको बेला उहाँले पिताजीलाई संस्कृत भाषाको लागि काम गर्न र संस्कृतग्राम स्थापनाका लागि प्रोत्साहन गर्नुभएको थियो ।
बिहान रेडियोमा, मध्यान्ह डीएभी र त्रिभुवन विश्वविद्यालय संस्कृत विभागमा विद्यार्थी अध्यापन गराउने तथा कार्यक्रमहरूमा सहभागिता जनाउनुहुन्थ्यो । एक दिन मैले सोधेको थिएँ- यति धेरै व्यस्त हुँदा पनि सबै ठाउँमा पुग्न कसरी सक्नुहुन्छ ? उहाँको भनाइ थियो- एक दिनमा २४ घन्टा हुन्छ, घन्टा, मिनेट, सेकेन्ड पनि खेर नफाली काम गर्ने हो भने एकजना मानिसले संसारमा ठूलो परिवर्तन ल्याउन सक्छ । उहाँले महेन्द्र वीरविक्रम शाह निबन्ध पुरस्कार, मानवअधिकारसम्बन्धी भाषण प्रतियोगितामा प्रथम पुरस्कार प्राप्त गरी १५ हजार पुरस्कार राशि प्राप्त गर्नुभएको थियो ।
उहाँका भाइ भेषराज घिमिरे भन्नुहुन्छ, 'संस्कृत छात्रावासका सबै विद्यार्थीलाई लगेर उहाँले मिठाई खुवाएर त्यो पैसा सिध्याउनुभयो । कहिले पनि पैसालाई महत्व नदिने स्वभाव उहाँको थियो ।' सन्दर्भवश म यहाँ उहाँका स्वभावगत वैशिष्ट्यलाई उल्लेख गर्न चाहन्छु- स्वर्गीय घिमिरेको जीवन सादा थियो । निदाउनका लागि विस्ताराको पनि आवश्यकता पर्दैनथ्यो । बोल्दाबोल्दै बसेकै ठाउँमा मीठो निद्रा लिन सक्ने घिमिरेलाई स्वादमा पनि त्यत्ति चाख थिएन । सामान्य भोजनमै सन्तुष्ट भई अति सरलताका साथ सामाजिक कार्यमा दिनरात भगीरथ यत्नका साथ लागिपर्नुहुन्थ्यो । उहाँसँग बिताएका १५ वर्षे सहयात्रा, सहकार्य र सामूहिक संकल्पको आधारमा आज उहाँसँगको वियोगले मलाई निकै नै दु:खित बनाएको छ । आगामी यात्राका लागि अवस्था असहज छ र हामी सबैको प्रयासले उहाँले गरेका संकल्प पूरा गर्नु नै हामी सबैको दायित्व बन्दछ ।
वैशाख २८ गते माता-पिता, धर्मपत्नी रीता घिमिरे, बहिनी गोमा घिमिरेसहित पाँचजना दोलखा जाने क्रममा खाडीचौरमा उहाँ चढेको सार्वजनिक यातायात दुर्घटनामा पर्यो । दुर्भाग्यवश पितामाताको घटनास्थलमै देहावसान हुन गयो । जनार्दन दाइ, रीता भाउजू र बहिनी गोमा घिमिरेलाई घाइते अवस्थामा धुलिखेल अस्पतालमा उपचारपछि थप उपचारका लागि मनमोहन कार्डियोलोजी अस्पताल, महाराजगन्जमा शल्यक्रियाका लागि सिफारिस गरिएको थियो । बहिनी हाल महाराजगन्ज शिक्षण अस्पतालमा उपचाररत छिन् भने धर्मपत्नी भने घर फर्केकी छिन् ।
जर्नादन दाइको निधनका सन्दर्भमा मनमोहन कार्डियोलोजी अस्पतालमा उहाँको उपचारमा संलग्न डाक्टरहरू समक्ष हाम्रा केही प्रश्नहरू अनुत्तरित छन् । चार दिनसम्म आईसीयूमा राखेर शल्यक्रिया किन गरिएन ? उहाँको छाती तथा करङमा चोट लागेको थियो र छातिभित्र रगत जमेको अवस्थामा जमेको रगत निकाल्न लगाइएको ट्युब निकालेर आईसीयूमै हिँड्न किन लगाइयो ? उहाँले हामीसँग भेट्दा म स्वस्थ हुँदै गरेको र सामान्य शल्यक्रियापछि घर जाने बताउनुभएको थियो । उहाँलाई भेटेर फर्कनेहरूले अस्पतालले उहाँको उपचारको क्रममा गरेको लापरबाही भएको महसुस गरेका छन् ।यस दु:खद् घडीमा जनार्दन दाइले संस्कृत वाङ्मयको क्षेत्रमा सुरु गरेका कार्यहरूलाई पूरा गर्ने संकल्प लिनु नै हामी सबैको उहाँप्रतिको सच्चा श्रद्धाञ्जलि हुनेछ ।