धुमिल स्मृतिमा 'इच्छुक'
विचारको खम्बामा प्रहार भएको दिन । एक स्वप्नदर्शी कवि-पत्रकारको हत्या भएको दिन । कर्मठ कलमजीवीको कलम भाँचिएको दिन । न्यायको गायत्री जपेर गैरन्यायिक हत्याले प्र श्रय पाएको दिन । १५ वर्षअगाडिको जेठ १३ को आजैको दिन । कृष्ण सेन 'इच्छुक'को हत्या भएको दिन ।हिजोदेखि नै जनतालाई सुसूचित गराउँदा थुप्रै असल व्यक्ति देशद्रोही ठहरिए । शासकहरूको कर्तुतको पर्दाफास गर्दा हजारौं अभियन्ता अराष्ट्रिय बने । यस आरोपमा तत्कालीन शासकको आँखाको कसिंगर बनेका पात्र हुन् सेन । निर्दोष र कर्मठ व्यक्तिहरूको सफाय हुनु नौलो घटना बनेन हिजोका शासकका अगाडि । साथै जुझारु व्यक्तिको अस्तित्व नामेट गर्ने खेल खेल्न मनपराए उनीहरूले । न सचेत नागरिकले उनीहरूको खोजी र खबरदारी गरिरहे न आमसञ्चारले निरन्तर रखबारीको समाचार नै सम्प्रेषण गरे । निर्दोष नागरिकहरू लापत्ता हुँदा उनीहरूका विषयमा समाज मौन बस्दै छ र बसिरहनु उचित थिएन सायद ।
इतिहास पुरुषहरूको खोजी नहुनु सभ्य समाजमा मिल्ने कुरा नहुँदा नहुँदै पनि, अफसोच त्यस्तै भइरह्यो । सेनको हत्याको घटना शून्यताको गर्तमा सायद धुमिल बनेर बिलाउँदै गइरहेको छ जसरी क्षितिजमा हवाईजहाजहरू बिलाउँछन् । इतिहासका कोठरीहरूमा घटित अद्भुत घटनाहरूको पठन वर्तमान र भविष्यमा हुनुपर्छ तर आजको पुस्ता इतिहासको निर्मम दिनहरूको पठनमा रुचि राख्दैन र बुझ्न चाहँदैन को हुन् सेनहरू, मैना सुनुवारहरू र मुक्ति अधिकारीहरू ? भावी पुस्ताकै समुन्नतिका लागि बलिबेदीमा चढ्नेहरूको इतिहास मेटिने स्थिति किन सिर्जना हुँदैछ ? धुमिल स्मृतिमा किन हराउँदै छन् सेनहरू ? प्रश्नको ग्रेभिटी यति शक्तिशाली बन्दैछ यसको उत्तर पुस्तौंपुस्तासम्म पनि भेट्न गाह्रो छ ।
समस्या इतिहासका खम्बाहरूको विस्मृतिको मात्र छैन चिन्ता इतिहास मेटियो भन्ने मात्र पनि होइन । समयको क्रमलाई उल्टो गणना गर्नु मुर्खता सिवाय अरू केही हुनेछैन र इतिहासप्रतिको पठनविमर्श होइन यसप्रति गरिने नजरअन्दाज गम्भीर धोका पनि हो जुन कुनै पनि तर्कका आधारमा सही देखिँदैन । समयको रापमा संगीनले रोपिएर दिवंगत भएका स्रष्टाहरूको स्मरण धुमिल र उनीहरूको योगदान प्रायः शून्यतामा हराउनपुग्नु एकजना जुझारु संघर्षशील स्रष्टाको घोर अपमानमात्र होइन इतिहासप्रतिको धोखा पनि हो जो इच्छुकका सन्दर्भमा घटित भइरहेको छ । एउटै मोर्चामा लडेका संगीहरू सत्ताको बागडोर सम्हालिरहेका छन् तर सेनको कुर्बानी बहसको विषय हुने गरेको छैन अचेल । महेन्द्र पुलिस क्लबबाट निस्केका सेनका रोदनहरू हरदिन साइरन बनेर सिंहदरबार र बालुवाटारवरिपरि घन्कने गरेको भान स्थानीय जनतालाई हुने गरेका छ प्रायः दिनको दुईपटक ।
सेनले रोजीरोटीका लागि पत्रकारिता गरेनन् सायद न त कसैले उचाल्ने र होच्याउने खेलमा नै लागे उनी । क्षणिक सुखभोगका लागि गरिने राजनीति पनि उनको रुचिको विषय नभएको हुनुपर्छ । पदका लागि नाभीदेखिको सातपुस्ते बल नै लगाएर पनि उनी नकुर्लेको उनका सहकर्मी स्वीकार्छन् । उनी त एउटा गतिलो मिसनमा थिए र कसम खाएका थिए ज्यानको कुर्बानी नै गर्न किन नपरोस् तर आफ्नो लक्ष्यका लागि बीसको उन्नाइस् उनलाई स्वीकार्य थिएन । उनलाई राम्रोसँग ज्ञात थियो मरेको लासलाई त जसले पनि जलाउँछ विचारका लागि जिउँदै जल्न तयार हुने संसारका थोरै कर्मवीरहरू हुन्छन् त्यसमध्ये जरुर एक थिए उनी । उनले पढेको मूलमन्त्र थियो दुस्मनसँग रति पनि नझुक्नु र जस्तोसुकै संघर्षको ज्वाला निल्नु नै किन नपरोस् त्यसका लागि हरपल तयार हुनु विचार र व्यवहारमा स्पात बनेर जनताको रखवारी गर्नु नै उनले पढेको समाजवादमा पुग्ने सामाजिक द्वन्द्वको चुरो कुरो हुनुपर्छ ।
आजको पुस्ता इतिहासको निर्मम दिनको पठनमा रुचि राख्दैन र बुझ्न चाहँदैन- को हुन् कृष्ण सेन, मैना सुनुवार र मुक्ति अधिकारीहरू ?
उनलाई बेफ्वाँकको कविता भट्याएर सेलिब्रेटी बन्नु पनि थिएन न त भाका हालेर साहिँलाले साइँलीलाई भगाएको रोइलो नै गाउनु थियो । उनका कवितामा जेल, नेल र प्रतिगमनका साङ्ला चुटाल्ने तेजाव थियो र समाजका अन्तर्विरोधलाई छानीछानी जनतालाई देखाउनु थियो जसरी काँचका ऐनाहरूमा देखिन्छन् यथार्थ तस्बिरहरू । उनले अनुभवको विश्वविद्यालयमा समाजको अन्तर्विरोध राम्रोसँग पढेका थिए र बन्दीजीवनमा पनि चन्द्रागिरिजस्तो अटल आत्मविश्वासको मिसायल बोकेर हिँडेका थिए तर इच्छुकका तस्बिरहरू धुमिल स्मृतिबाट किन विलयउन्मुख बन्दै छन् ? प्रश्न गम्भीर बनेर तेर्सिने गरेको छ ।
भन्छन् अनुभवीहरू- कसैको जिन्दगी दुःख पाउनकै लागि बनेको जस्तो हुँदोरहेछ त्यस्तै भयो सेनको लागि पनि । सं २०१३ मा देहरादुनमा जन्मेका सेनका साथीहरूलाई लाग्ने गर्दथ्यो सायद संघर्ष गर्नकै निम्ति जन्मेका हुन् उनी । घरपरिवार, साहित्य होस् या राजनीति नै किन होस् सेनको जीवन मृत्युको मुखमा पुगुन्जेलसम्म पनि जटिल बनेको सजिलै अड्कल गर्थे उनका समकालीन मित्रहरू । शासकहरू बन्दुकको आँखा र बुटको हृदय हुँदैन भन्थे र निरन्तर थुन्थे छोड्थे उनलाई नाटकीय ढङ्गले । यो क्रम निरन्तर चलिनै रह्यो र इच्छुकका सन्दर्भमा बहुदल काल अनि द्वन्द्वकालको हुन्डरीमा पनि । सेनका लागि जेल पर्नु घाम उदाउनुजस्तै हुन थाल्यो पटकपटक गरी उनले आठ वर्ष जेलको कष्टकर कहर सहे ।
२०५५ साल पुस १९ मा ललितपुरको भट्टेडाँडा प्रहरीचौकी आक्रमण गरेको समाचार फोटोसहित पत्रिकामा छापेपछि सेनलाई प्रहरीले पुनः पछ्याउन छोडेन हिजोजस्तै । फलतः २०५६ वैशाख ६ गते उनलाई सुन्धाराबाट गिरफ्तार गरियो र ठाउँ फेरीफेरी मानसिक टर्चरमा राखियो कहिले भद्रगोल जेल काठमाडौं त कहिले सिराहा राजविराजमा । यो पटक पनि उनलाई झन्डै दुई वर्ष जेलमै राखियो । राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रका मेडिया, नागरिक समाज, मानवअधिकारवादीहरूको चर्को दबाबपछि उनी जेलबाट छुट्थे र पुनः गिरफ्तारीमा पर्थे । यद्यपि पछिल्लोपटक त्यसो भएन देशमा द्वन्द्वको रफ्तार द्रुत गतिमा चर्किएर उत्कर्षमै पुगिरहेकै समयमा सं.२०५९ जेठ ६ गते सेनलाई काठमाडौं नयाँ बानेश्वरबाट अर्कोपटक गिरफ्तार गरियो र राखियो महेन्द्र पुलिस क्लबको चरम यातनागृहमा ।
यातनाकै कारण जेठ १३ गते नै उनको मृत्यु भयो र एक जना कुशल पत्रकार, सम्पादक, कवि, लेखक कहिल्यै नफर्किने गरी अस्त भए । गुपचुप राख्नेै मनसाय रहे पनि उनको मृत्युको खबर घुइँरोघुइँरो सुनिन थाल्यो समाजमा डरत्रासका कारण गम्भीर रूपमा न उनको खोजी गरियो न जनसाधारणले खास चासो बढाए त्यतातिर । एक साप्ताहिकले सम्पादकीय नै लेख्यो 'कृष्ण सेन पशुपतिमा खरानी' भनेर । त्यसपछि सर्वसाधारणले चाल पाए एक सर्जकको निर्मम हत्याको समाचार । समाचार झुट थिएन । चेतनशील भनिएको समाजमा निर्दोष व्यक्तिको गैरन्यायिक हत्याको थकथकी जनतामा व्याप्त भयो र विस्तारै सेलाउँदै पनि गयो घण्टीको अन्तिम रङ्को जस्तै ।
एकजना कलमजीवी अभियन्ताको मृत्युको घटना नेपाली राजनीतिक वृत्तमा यति फिका बन्नु कत्तिको जायज छ ? उनको योगदानलाई अब सम्झनेहरूको संख्या क्रमिक रूपमा घट्दै जानु कत्तिको उचित कुरा हो ? सहिदहरूलाई भर्याङ बनाएर सत्तामा उक्लनु र उनीहरूकै हड्डीको प्यालामा विदेशी मदिरा पिउनेहरूले कसरी बिर्संदैछन् सेनहरूलाई ? कृष्ण सेनका रोदनलाई सानशौकतको साइरनले छोप्न मिल्छ कि मिल्दैन ? यावत् अनुत्तरित जिज्ञासा बनेर कृष्ण सेन अज्ञात कालकोठरीमा छटपटिइरहेका छन् सायद ।
प्रश्न अरू पनि तेर्सिएका छन् यति भयंकर षड्यन्त्रकारी प्रश्नको जवाफ खोज्नुपर्छ कि पर्दैन हाम्रो वाम आन्दोलनले ? दसौं हजार कृष्ण सेनहरूको बलिदानीको प्रयोजन के हो ? प्राप्ति के हो ? अबको कार्यदिशा के हो ? सहिदका टाउकाको जोडघटाउ सत्तामा फोहरी खेलका लागि हुनु कत्तिको जायज हो ? के आन्दोलनहरू झुटका पुलिन्दा मात्रै हुन् ? कृष्ण सेनलगायत हजारौं सहिदहरूको रगत सिंहदरबार र बालुवाटारको विदेशी मदिरासँग कक्टेल बनाउने साधनमात्र हो त ? सेनको एउटा गम्भीर मुद्रा निराशाभेदी चित्र बन्दै खुइँलिएर फिका बन्न लागेकै हो ? हरेक पाइलामा कृष्ण सेनहरूको समृद्धिको सपनामाथि बलात्कार भइरहँदा खबरदारी कसले गरिदिने हो ? के उनी यति छोटो समयमै भुल्नलायक पात्र हुन् ? सहिदको लहरमा उनको तस्बिर यति चाँडै फिका हुनु एकजना अक्षरप्रेमीप्रति कत्तिको न्याय हो ?
घामजत्तिकै छर्लंग छ, गणतन्त्रको सपना देखेकै कारण कृष्ण सेन 'इच्छुक' मारिएका हुन् । के कोही स्वप्नदर्शीलाई राज्यले यसरी सिध्याउन मिल्छ ? कृष्ण सेन 'इच्छुक' मारिए के उनका हत्यारालाई खोजीखोजी जेल हाल्नु पर्दैन ? मैना सुनुवार र उज्जन श्रेष्ठहरूका हत्यारालाई सजाय सुनाउने श्रीमान् सुशीला के सेनका हत्याराको मिसिल यहाँको हातमा पुगेको छैन र ? भावी पुस्ताका लागि काम गरेर जानेहरूको जहाँ सम्मान हुँदैन त्यो राज्य मुर्दाशान्ति जस्तै हुन्छ भन्ने बोध कहिले गर्ने हो यो राज्यसत्ताले ?
कृष्ण सेन इच्छुकलाई आजको दिनमा सम्झँदा के उनले परिकल्पना गरेको गणतन्त्र यस्तै थियो होला त ? यस्तै हो भने देश एउटा भयंकर दुर्घटनातिर उन्मुख भएको अनुभूति किन गर्दैछन् नागरिक ? सायद सेनले चाहेको गणतन्त्र यस्तो विसंगत प्रकृतिको थिएन असमुन्नत थिएन कि ?
सेनको हत्यापछि पनि झन्डै ५५ सय पटक घाम उदायो- अस्तायो यस धरतीमा तर उनले दिएको चेतनाको घाम फिका र मलिन रहेको भान भइरह्यो । उनको सपनाबमोजिम देश गणतन्त्रमा गएको र तर वर्गीय मुक्ति आन्दोलनलाई थप शिथिल बनाइएको दुर्दान्त कथा पढिनसक्नुको रहेको विश्लेषकहरू बताउँछन् । सेन आबद्ध पार्टी सरकारमा पटकपटक नपुगेको पनि होइन, तर सहिद, बेपत्ता, घाइतेको विषय मूल विषय बन्ने गरेको सुनिँदैन । आज सेन जीवित भएको भए पनि कुनै विभाजित पार्टीको किन्तामा फ्रस्टेड अनुहार लिएर बसिरहेका हुन्थे जसरी जनयुद्धका लडाकु खाडीको विविध ठाउँमा बसेका छन् र कोही अयोग्य लडाकु बनेर भौंतारिएका छन् वल्लो कुना र पल्लो छेउतिर । सच्चा सेनहरूको बलिदानमा होली खेल्न अवसरवादीहरू लीन भएको दृश्य पनि नरुचाएर पनि नेपाली जनताले हेरिरहेकै छन् ।
जे होस् एउटा सचेत कलमजीवी सहिदको स्मरण गर्नु हरेक नागरिकको कर्तव्य हुन जान्छ । कानुनी राज्यको उपहास भएको यो देश के कसरी समृद्धिको मार्गमा अगाडि बढ्ला ? जनजनमा शंका उब्जनु स्वाभाविक छ । हिजोको व्यवस्थाले निर्दोष नागरिकलाई गैरन्यायिक हत्या गरे पनि जनताले ल्याएको गणतन्त्रमा सेनको हत्यारालाई कानुनी कारबाही हुनेछ र पीडितले न्याय पाउनेछ भनी सेनको परिवारले कुरिरहेको छ ।
हत्यारालाई कानुनी कठघरामा उभ्याउन ढिलो गर्नु हुँदैन । तत्कालीन रज्यसत्ताको विरुद्धमा उभिनु नै उनको दोष थियो । के पत्रकारिताबाट जनतालाई सचेत बनाउनु कुनै अपराध हुन सक्छ ? जनवादी साहित्यबाट विचारको सन्देश फैलाउनु गैरकानुनी काम हुन सक्छ ? परिवर्तनका लागि जीवनको आहुती दिने कृष्ण सेन 'इच्छुक' को सम्झना यति फिका हुने प्रकृतिको थियो ? सेनप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्नेहरू कति दिन अनुत्तरित बनिरहने?