ओहायोमा भेटिएकी जयमाया
कवि शकुन्तला जोशीले फोन गरेर भनिन्- 'दाइ, मण्डला थिएटरमा- जयमाया आफूमात्र लेखापानी आइपुगी- नाटक चलिरहेको छ, हेर्न नजाने ? ' सुनेर अनौठो लाग्यो खुसी लाग्यो, कौतुहल पनि । तर, म फोनमा कुरा गरिरहँदा झापामा थिएँ र अझै तीन हप्ता म काठमाडौं आइपुग्ने थिइनँ । त्यो नाटकको कथावस्तुसँग मेरो गहिरो सम्बन्ध छ । इन्द्रबहादुर राईको २०१४ सालमा छापिएको 'विपना कतिपय' कथासंग्रहभित्र संग्रृहीत त्यो कथा लेखिएको अवधि सम्भवत: दोस्रो विश्वयुद्ध सकिएको पहिलो दशकभित्रकै हुनुपर्छ ।
त्यस कथाले दोस्रो विश्वयुद्धमा पूर्वबाट जापानले कब्जा गर्दै बर्मासम्म आइपुगेपछि युद्धको बाहिरी दबाब र आन्तरिक जातीय विद्रोहको चपेटामा परी आफ्नो थातबास छोडी भाग्ने नेपाली समुदायको शरणार्थीय यात्रा विवरण छ, जो बर्मा र भारतको सीमामा रहेको टकाव नदीसम्म आएर टुंगिएको छ । यात्रामा हिँडेका हजारौंको भीडमा जयमायाको परिवार पनि थियो तर बाटोमा आमा मरी, बाबु बेपत्ता भयो र ऊ एक्लै भारतको लिखापानी आइपुगेकी छ।
यो छोटो तर अत्यन्त मार्मिक कथा हो । राईका अनेकौं उत्कृष्ट कथामध्ये पनि मलाई सबैभन्दा बढी मनपर्ने कथा हो यो, जसले नेपाली जातिको शरणार्थीयताको मार्मिक चित्रण गरेको छ । मैले जब पहिलोपल्ट यो पढेँ, मेरा आँखा आँसुले भरिएका थिए । त्यसपछि पनि पटकपटक पढिरहेँ । २०३५ सालमा इलाम क्याम्पसको विद्यार्थी हुँदा क्याम्पसको पुस्तकालयबाट मैले त्यो पुस्तक ल्याएर पढेको थिएँ । त्यही संग्रहका कथाहरूबाट नै म राईको प्रशंसक भएको हुँ । अनि मलाई लाग्यो, इन्द्रबहादुर राई हामीले विशेष प्रकारले पढ्नुपर्ने लेखक रहेछन् । जब 'कथास्था' पढेँ, रन्थनियो दिमाग । विषयवस्तु र लेखनशैलीको गुत्थी सुल्झाउन सजिलो थिएन । तेस्रो आयामको आस्था पक्ष मेरो बोध क्षमताभन्दा बाहिर थियो । तै पनि एउटा दिनको सामान्यता र खीर कथा खुबै मन परेका थिए ।
सानै देखि उपन्यासतिर मेरो रुचि बढेको थियो । स्कुलको विद्यार्थी हुँदै म उपन्यासको लती भइसकेको थिएँ । नेपालीमा प्रकाश कोविद्, जय धमला, सुवासहरूका र हिन्दीमा गुल्सन नन्द, ओमप्रकाश, वेदप्रकाश, इब्ने सफी, बीए आदिका उपन्यास पढिन्थ्यो । तिनकै प्रभावले आफू पनि लेख्न खोज्थेँ । लेखिएका धेरै उपन्यास त्यस्तै प्रेमकथामा आधारित र केही जासुसी थिए । १५ वटा जति उपन्यासका पाण्डुलिपि तयार थिए । जति लेखे पनि चित्त बुझेको थिएन । पछिपछि बुझेँ मैले पढ्ने गरेका उपन्यासहरू साहित्यिक नभएर व्यावसायिक प्रकारका रहेछन्, अनि पढ्न थालें भिन्दै प्रकारका किताब।
छानीछानी पढ्न थालिएका भिन्दै प्रकारका उपन्यासले मेरो कल्पनाको क्षितिजलाई अर्कैतिर मोड्न थाल्यो । जति बौद्धिक र विशिष्ट उपन्यास पढ्न थालेँ, मेरो उपन्यास लेखक बन्ने अहम् दिनदिनै बाउन्ने हुँदै जान थाल्यो । उपन्यास लेख्नु सजिलो होइन भन्ने बोध हुँदै गयो । अनि म एक खास प्रकारको उपन्यास पाठकमात्र हुन सक्नेमा आफूलाई बुझें । त्यसपछि उपन्यास पढिरहे पनि लेख्नचाहिँ कविता, कथा र निबन्धमा केन्द्रित हुँदै गएँ।
जयमाया भन्छिन्- अब उमेर र राष्ट्र दुवैको टुंगो लाग्यो, १५ वर्षको उमेरदेखि देश खोज्न हिँडेकी आज ८६ वर्षको उमेरमा अमेरिकाको नागरिकता हात परेको छ । मर्ने बेलामा देशविहीन हुनु परेन ।
२०५१ सालमा तात्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका उपकुलपति मदनमणि दीक्षितको नेतृत्वमा आठजना नेपाली लेखकहरू पूर्वाेत्तर भारत भ्रमणमा निस्किएका थिए र त्यस समूहमा झापाबाट म पनि सम्मिलित भएको थिएँ । १० दिनको त्यो आसाम, दार्जिलिङ र सिक्किम भ्रमणबाट नेपाली मूलका भारतीयहरूका जातीय समस्याहरू बुझेपछि एउटा उपन्यास लेख्न मन लाग्न थाल्यो । त्यो छोटो भ्रमणले सम्पूर्ण प्रवासी नेपालीको पीडा बुझ्नु सम्भव थिएन ।
यात्रा सकिएपछि विभिन्न कारणले बिदेसिएका नेपालीहरू माथि लेखिएका कथा, उपन्यास र नाटकहरू खोजीखोजी पढ्न थालेँ । खासगरी पूर्वोत्तर भारतबाट लामो समयपछि नेपाल फर्की झापाका विभिन्न ठाउँमा बसोबास गरिरहेका मानिसहरूको सम्पर्कमा जान थालें । अनि विस्तारै विषयवस्तुले भित्र कतै आकार लिन लाग्यो तर थाल्ने कसरी ?
उपन्यास लेख्ने उपायको खोजी गर्ने क्रममा फेरि विभिन्न कथा र उपन्यासहरू पढ्न लागेँ । त्यसै क्रममा एकदिन फेरि मैले इन्द्रबहादुर राईको त्यो कथा दोहोर्याएर पढेँ । त्यसले पहिलेकै जस्तो असर गर्यो र झट्ट मनमा एउटा उपाय सुझ्यो, किन यसै कथालाई आधार बनाएर उपन्यासको यात्रा सुरु नगर्ने ! अनि त्यही 'जयमाया आफूमात्र लेखापानी आइपुगी'लाई फेरि फेदैदेखि लेख्दै बीचबीचमा पात्रहरू र घटनाहरू थप्दै टकावसम्म ल्याइपुर्याएँ । जयमायालाई टकाव तारेपछि मेरो उपन्यासले आफ्नै बाटो समातेर हिँड्यो । १५ वर्षको उमेरमा टकाव तरेकी जयमाया खुदुनावारी शरणार्थी केम्पमा आइपुग्दा ७० वर्षकी भएकी छन् । बाटोमा भेटिएको जयबहादुर उनको जीवनको आदर्श सहयात्री छ ।
खुदुनावारी शरणार्थी केम्पमा २०५६ सालमा छोडिएकी जयमायालाई त्यसको १६ वर्षपछि २०७२ सालमा ८६ वर्षको उमेरमा अमेरिकाको ओहायो राज्यको एक्रोन सहरमा भेटेँ 'ग्रेट फल्स' उपन्यासभित्र । त्यहाँ उनले भनेकी छन्- अब उमेर र राष्ट्र दुवैको टुंगो लाग्यो, १५ वर्षको उमेरदेखि देश खोज्न हिँडेकी आज ८६ वर्षको उमेरमा अमेरिकाको नागरिकता हात परेको छ । मर्ने बेलामा देशविहीन हुनु परेन ।
इन्द्रबहादुर राईको दिमागबाट जन्मेकी जयमाया मेरो दिमागभरि खेल्दै आज ८८ वर्षकी भएकी छन् । तिनी काल्पनिक पात्र भए पनि अब वास्तविक नै हुन् जस्तो लाग्छ । कताकता आफ्नै आमाको उमेरकी तिनको दु:ख मेरै आमाकै जस्तो पनि लाग्छ । २०२४ सालमा एउटा डोकोमा केही थाङ्ना र तीन वर्षकी बहिनीलाई बोकेर हामी बालकलाई पैदल हिँडाउँदै पाँचथरको आङबुङबाट बसाइँ हिँडेका आमाबुबाको शरणार्थीय यात्राको दृश्य मेरो आँखाबाट कहिल्यै जाँदैन ।
एक वर्षपछि यसपल्ट अमेरिकाबाट फर्किंदा फेरि दुइटा किताब लिएर आएको छु । 'तल्लो बाटो' उपन्यास जो दलाललाई लाखौं रकम दिएर जमिन र पानीको बाटो हँदै अमेरिका छिर्ने यात्रीहरूको कथामा आधारित छ र अर्को 'लीलाबोध' जो इन्द्रबहादुर राईले २०३४ सालदेखि सुरु गर्नु भएको लीलालेखन माथिको सैद्धान्तिक विश्लेषण हो ।
म दार्जिलिङ पुगी इन्द्रबहादुर राईलाई भेटी पूर्वमा लीलायात्राको क्रममा रहेकै बेला शकुन्तलाको फोन आएको थियो । नाटक हेर्ने उत्कट इच्छा हुँदाहुँदै पनि म तुरुन्त काठमाडौं फर्किनु सम्भव थिएन ।
अघिल्लो वर्ष सिलिगुढीमा भेट्दा राई सरको स्वास्थ्य धेरै राम्रो थियो । गुरुआमा भने मुटुको र दमको रोगी हुनाले घरमै अक्सिजनमा राखिएको थियो । ८९ वर्षको हुँदा पनि त्यसबेला राई सरको स्मृति अध्ययन र चिन्तनमा खासै फरक देखिएको थिएन । त्यसबेला उहाँले हामीसँग गरेको संवादलाई मैले युट्युबमा पनि राखेको छु । तर यसपालि भेट्दा उहाँ धेरै नै शिथिल हुनु भएछ । गत वर्ष अगस्तमा गुरुआमाको निधन भएपछि उहाँको स्वास्थ्यमा आएको नकारात्मक परिवर्तन तीव्र रहेछ । यसपल्टको भेटमा उहाँमा खासै उत्साह थिएन ।
पहिलाजस्तो नयाँ-नयाँ विषयमा कुरा गर्ने जाँगर थिएन । सोधेका प्रश्नहरूको पनि प्रस्ट उत्तर आएनन् । पहिला जस्तो लामो गरी बोल्न सक्नु भएन । स्मृति घट्दै गएको र निराशाको अवस्थामा भेटेँ । यसपल्ट मैले उहाँसँग खासै जिज्ञासा राखिनँ ।
इन्द्रबहादुर राईको लीलालेखनमा बुद्धको शून्यवाद माथि विद्यावारिधि गरिरहेका सुमन्त न्यौपानेले निकै प्रश्नहरू बोकेर गएका थिए तर उनले पनि कुनै प्रश्नहरू राख्न सकेनन् । हामीले उहाँको स्वास्थ्यसम्बन्धी मात्र जिज्ञासा राख्यौं । मैले उहाँलाई निद्रा कत्तिको पर्छ भनी सोधेको प्रश्नमा भन्नु भो- घरकी जाहान बितिसके पछि अचेल मनमा कुराहरू खेलिबस्छ । लेख्न, पढ्न मन लाग्दैन । बिहान ४ बजेतिर यसो आँखा ढप्किन्छ अनि त ब्युँझिहालिन्छ ।
९१ वर्षमा प्रवेश गर्नु भएका उहाँको त्यो अवस्थाले मलाई भावुक बनायो । मेरो पिताजी र उहाँको उमेर एउटै हो । तर, ४८ वर्षको उमेरमै बितेका मेरा पिताजीको प्रतिछाया देख्थेँ म उहाँमा । पिताकै जस्तो माया र आशीर्वाद पनि पाएको थिएँ । साहित्यको यो ठूलो संसारमा उहाँ एक नाविकजस्तो हुनुहुन्थ्यो मेरा लागि । उमेर नै रोग बनेको यो अवस्थामा अब हाम्रो कुनै उपाय थिएन । तैपनि उहाँले नेपालतिरको साहित्यिक गतिविधिमा जिज्ञासा राख्नु भो । मञ्जु श्री थापाले अनुवाद गर्दै गर्नुभएको आफ्नो आज रमिता छ उपन्यासबारे जानकारी माग्नुभयो । नयाँ केही लेख्न नसके पनि अप्रकाशित लेखहरूको संकलन प्रकाशनको क्रममा रहेको चर्चा गर्नुभयो । पाँच प्रति लीलाबोध हातमा राखिदिएँ । ओल्टाइपल्टाइ हेर्नु भो, केही बोल्नु भएन ।
तीन हप्तापछि काठमाडौं आइपुगेको भोलिपल्टै फेसबुकमा रमण घिमिरेको स्टाटस पढेँ । उनले लेखेका थिए, 'सुनील पोखरेलद्वारा निर्देशित इन्द्रबहादुर राईको कथामा आधारित नाट्य प्रस्तुति जयमाया एक्लै लेखापानी आइपुगी हेर्न छुटाएको भए म जीवनमै रंगमञ्चको एक सुन्दर शिल्प अनुभव गर्नबाट वञ्चित हुनेरहेछु ।'
झट्ट सम्झेँ र उनलाई फोन गरे । रमणले भने- दुई दिन बाँकी छ गइहाल्नु ।
भोलिपल्ट बेलुका मण्डला पुगेँ । सुनीलसँग बाहिरै भेट भयो- दाइलाई देखाउने धोको थियो पूा हुने भो स्वागतम् । रघु पन्त दाइसँग अगाडि नै बसेर नाटक हेर्न थालेँ । मनमा कौतुहल थियो, कसरी देखाउँलान् त्यस्तो यात्रालाई । तर हेर्दा हेर्दै उनीहरू एउटा सानो स्टेजमै पूरै जंगल, पहाड, नदी तर्न थाले । वाह, नेपाली नाटकमा एउटा यस्तो निर्देशक पाएका छौं । गर्व लाग्यो । उनले कथालाई केही विनिर्माण गरेका छन् तर सुहाउँदो छ । सुबेदार शिवजित राईको पिठ्यँमै मर्छिन् कथामा सुबेदार्नी तर यहाँ विवश भए पछि अतिशय मायाको कारण मरणासन्न सुबेदार्नीलाई आफैंले गोली हान्छन् सुबेदार । सुहाउँछ, रिस उठ्दैन ।
आँखाभरि आँसु भयो फेरि पनि । ओहायोमा आफ्नै कल्पनाभित्र भेटिएकी जयमायालाई फेरि सम्झेँ- जे भए पनि उनी अब शरणार्थी नै भएर मर्ने छैनन् । उनको मृत्यु एक सम्मानित नागरिकको हैसियतमा हुनेछ ।
जयबहादुर जस्तै लाग्ने इन्द्रबहादुर राई दार्जिलिङको लोचनगरमा आफ्नै घरको सिरानतलामा तीर्थजस्तै भएर बस्नु भएको छ । सकिन्छ, भने भेटौं सबैले, आशीर्वाद थापौं ।