सगरमाथामा समानताको झन्डा

सगरमाथामा समानताको झन्डा

सगरमाथा एउटा स्तूपा हो । यसको वरिपरि बगैंचाले घेरिएको हुन्छ र त्यही स्तूपा चढ्नेलाई सगरमाथा चढेको भनिन्छ । बाल्यकालमा सगरमाथासम्बन्धी यस्तै बुझाइ थियो कान्छीमाया तामाङको । यही जेठ ६ गते सगरमाथाको शिर पैतालाले चुमेर उनले आफ्नो बाल्यकालको बुझाइ त फेरिन् नै, तामाङ समुदायकी पहिलो महिला आरोहीका रूपमा स्थापित पनि भइन् ।

Ramkala-Kadkaसिन्धुपाल्चोककोे विकट गाउँ भोताङमा जन्मिएकी कान्छीमायाले विद्यालयमा सगरमाथाबारे पढेकी थिइन् । त्यति बेलादेखि नै उनको मनमा सगरमाथामा टाँसिएर बस्यो । बेस क्याम्पसम्म मात्रै भए पनि एक दिन त जान्छु नै भन्ने अठोट उनले गरिसकेकी थिइन् । अन्तत: उनी शिखरमै पुगिन् । हिउँको सगरमाथा चढ्नुअघि उनले जीवनका धेरै सगरमाथाहरु चढिसकेकी थिइन् ।

महिला बेचबिखनमा बढी नाम चलेको उनको जिल्लाका साथै भोताङ गाउँमा पनि छोरीबुहारीमाथि निकै नै विभेद हुने गथ्र्यो । यस्तो सामाजिक परिवेशमा पनि उनले एसएलसीसम्मको पढाइ बल्लबल्ल पूरा गरिन् । गाउँमै यति धेरै पढ्ने पहिलो महिला भए पनि कलेज जाने उनको सपना भने घरायसी परिस्थितिका कारण उनले पूरा गर्न सकिनन् । एसएलसीपछि उनी कामको खोजीमा लागिन् । यसै क्रममा करिब तीन वर्ष भारतको नयाँदिल्लीमा बच्चा स्याहार्ने काम गरिन् । त्यसपछि वैदेशिक रोजगारीकै सिलसिलामा इजिप्टको कायरो पुगिन्। त्यहाँ उनले आफूले काम गर्ने ठाउँमा खासै त्यस्तो कुनै पनि दुव्र्यवहार सहनु परेन । तर, छेउको घरमा काम गर्ने एक नेपाली महिलालाई घरधनीले खान पनि नदिई यातना दिएर थुनेर राखेको थाहा पाएपछि कान्छीमायाले स्थानीय चालकहरूको सहयोग लिएर उनलाई त्यहाँबाट अन्तै भगाएकी थिइन् ।

करिब ६ वर्ष इजिप्टमा रहँदा पनि सगरमाथाप्रति चासो कम नभएको उनले सुनाइन् । उनले त्यहाँ पनि सगरमाथासम्बन्धी थुप्रै वृत्तचित्र हेरिन् । सगरमाथा के हो, कसरी चढ्ने मात्रै नभई यहाँ चढिसकेका मानिसबारे पनि थुप्रै जानकारी बटुलिन् । यसै क्रममा धेरैपटक बिनाअक्सिजन सगरमाथा चढिसकेका पेम्बा शेर्पासँग उनको फेसबुकमा भेट भयो । कुराकानी गर्दै जाने क्रममा कान्छीमायाले सगरमाथा चढ्ने आफ्नो इच्छा सुनाइन् । पेम्बाले आफ्नो संस्था 'शेर्पा सेफर्ड'मार्फत पहल गरिदिने बताएपछि उनी उत्साहित भइन् । लैंगिक विभेद व्याप्त आफ्नो गाउँमा गएर सबै गाउँलेलाई एकै ठाउँमा राखेर उनले आफ्नो योजना सुनाउँदा सबैले 'छोरी मान्छे भएर किन चढ्नु पर्‍यो सगरमाथा' भन्ने जवाफ दिए । बल्लतल्ल परिवारलाई विश्वस्त पार्न सकेपछि उनले सगरमाथा चढ्न कम्मर कसिन् । शारीरिक स्फूर्तिका लागि दौडने र साइकल चलाउने काम घरमै गरिन् ।

उनलाई पेम्बाले सोलुखुम्बुको मेगा पिकमा लगेर आरोहणको तालिम पनि दिए । उनीसँगै आरोहणमा जानेमा बागलुङका दृष्टिविहीन अमित केसी पनि थिए । मौसम बिग्रिएका कारण केसी आठ हजारसम्मको उचाइबाट नै फर्किएर आए । तर, कान्छीमायाले हिम्मत हारिनन् । लैंगिक समानता र महिलाको आर्थिक सशक्तीकरणको सन्देश सगरमाथाको चुचुरोबाटै पुर्‍याउँछु भन्ने लक्ष्यका साथ उनी अघि बढिन् । बेस क्याम्पबाट यात्रा सुरु गर्दा नै उनी महिनावारी भइन् । क्याम्प २ सम्म शौचालय हुने भएकाले प्याड फेर्र्न उनलाई समस्या थिएन ।

क्याम्प एक नपुग्दै महिनावारी भए पनि कसैलाई भनिनन् । क्याम्प दुई पुग्दा फिलाको जोर्नी दुखेर हिँड्न सकिनन् । रुँदैरुँदै घस्रेर भए पनि तामाङ समुदायको पहिलो महिला आरोही कान्छीमाया तामाङले सगरमाथाको शिरमा समानताको झन्डा गाडिछोडिन् ।

त्यसैले पनि उनले आफ्नो टोलीनेता पेम्बालाई महिनावारी भएको बताउनु जरुरी ठानिनन् । बेस क्याम्पबाट क्याम्प १ मा जाने क्रममा धेरै नै हिउँ झर्ने र डरलाग्दो खुम्बु आइस फल रहेकाले केही समय त उनलाई डर लाग्यो । त्यसमा पनि महिनावारी भएका कारण पेट दुख्दा केही अप्ठेरो भयो । त्यति बेला भर्‍याङ चढ्ने बेलामा तल खसेर मरिन्छ कि भन्ने पनि उनको मनमा रहिरह्यो । तर मर्न पनि तयार भएरै यहीँबाट जाँदा जीवनबिमाको फारममा आफैंले हस्ताक्षर गरेकाले उनको त्यो डर क्षणभरमै हराइहाल्यो । क्याम्प १ बाट २ मा जाने क्रममा भने उनको फिलाको जोर्नी दुखेर हिँड्न निकै गाह्रो भयो । पहिले एउटामात्रै खुट्टा दुखेको थियो । पछि दुइटै दुखेर पाइलै सार्न मिलेन । अरूले यहाँ नबस पहिरो जानसक्छ भनेपछि उनी रुँदैरुँदै हिउँमा घिस्रँदै अगाडि बढिन् । निकै ढिला हिँड्नेलाई पनि तीन घन्टाभन्दा बढी नलाग्ने बाटोमा उनलाई झन्डै ६ घन्टा नै लाग्यो । उनीभन्दा सधैं पछाडि पर्ने गरेका अमित केसीसमेत उनीभन्दा अगाडि बढिसकेका थिए ।

त्यति बेलाको कष्ट सम्झँदै उनी भन्छिन्, 'म एक्लैका लागि सगरमाथा चढेको भए फर्किन्थेँ तर सबै नेपाली दिदीबहिनीका लागि चढेकाले हिम्मत जुटाएँ ।' क्याम्प २ मा पुगेर चिया पिएपछि पनि सन्चो नभएपछि त्यहाँ उनीहरूले दुई रात आराम गरे । क्याम्प ३ मा पनि एक रातमात्रै बसेका उनीहरू क्याम्प ४ मा गएर भने धेरै हावा चलेका कारण पुन: दुई रात बस्न बाध्य भए । हिमालमा राति हिँड्दा हावा धेरै नचल्ने र बरफ बढी कस्सिने हुनाले हेड लाइटको सहायतामा उनीहरू बेलुकी करिब १० बजे समिटका लागि त्यहाँबाट हिँडी जेठ ६ गते बिहान ६ बजे सगरमाथाको चुचुरोमा पुगे ।

सबै चुचुरो उस्तै देखिने हुनाले सगरमाथा चढ्ने क्रममा कान्छीमायाले धेरैपटक पेम्बालाई यो हो भन्दै सोधिरहिन् । चुचुरो पुग्न करिव १०÷१५ पाइला अगाडिदेखि नेपाल मोहडामा डोरी पनि थिएन तर चीनपट्टि भने थियो । चिप्लेर लड्ने चुनौतीलाई पनि पार लगाइन् उनले । जब आफ्नो गन्तव्यमा उनी पुगिन्, उनले सारा नेपाली महिलालाई सम्झिइन् । पहिले नेपाल र उनलाई सहयोग गर्ने संस्था यूएन वमनको झन्डा त्यहाँ गाडेपछि उनले 'हामी नागरिक हौं तर कसैको पनि सम्पत्ति होइनौं' भन्ने सन्देशसहितको झन्डा पनि गाडिन् । पेम्बा शेर्पाले धेरै वर्ष पहिले त्यहाँ पुर्‍याएका बुद्धको मूर्ति हेर्ने उनको रहर भने हिउँले पुरिएका कारण पूरा हुन सकेन । झर्ने क्रममा उनको अक्सिजन सिलिन्डर अर्कैले चोरेर लगिसकेकाले राखेको ठाउँमा थिएन । बिनाअक्सिन उनलाई तल ओर्लन निकै गाह्रो भयो । तर, सगरमाथामा पुग्ने आफ्नो उद्देश्य पूरा भइसकेकाले मर्न डर लागेन उनलाई । पेम्बाले आफ्नो सिलिन्डरमा बाँकी रहेको केही अक्सिजन उनलाई प्रयोग गर्न दिई सम्हाल्दै तल ल्याए । केही तल पुगेपछि शेर्पाहरूले उनलाई रेस्क्यु गरेर बेस क्याम्पसम्म पुर्‍याए ।

कुनै बेला अनमी पढ्ने सपना पालेकी कान्छीमायाले कमजोर आर्थिक अवस्थाका कारण कलेज पनि टेक्न पाइनन् । तैपनि विश्वभरका तामाङ समुदायको सहयोगमा करिब ३५ लाख रुपैयाँ खर्च गरेर सगरमाथाको शिर चुमिछोडिन् । आफ्नो सफलतालाई सम्पूर्ण महिलाको सफलता भन्न रुचाउने कान्छीमाया भन्छिन्, 'धेरैजसो महिला र बालबालिकाका लागि उनीहरूको घरपरिवार र खेलकुद मैदानबाट सगरमाथा देखिँदैन । हिमाल चढिरहेका महिलालाई सशक्त पार्नका लािग पनि मैले सगरमाथाको आरोहण गरेकी हुँ ।' उनी महिला र बालिकालाई हिमाल आरोहण र साहसिक खेलमा संलग्न गराउनका लागि तिनका बुवा, दाजु, भाइ, श्रीमान्लगायत सबैको उत्प्रेरणा र सहयोगको आवश्यकता रहेको बताउँछिन् ।

लैंगिक सफलता र महिला सशक्तीकरणका लागि गरिएको यो नै पहिलो सफल आरोहण हो । 'मेरो ध्येय विभेदरहित नेपाल निर्माणमा योगदान गर्नु हो जहाँ सबै महिला र बालिका स्वतन्त्र रहनेछन् र उनीहरूभित्रको मानवीय सम्भाव्यताको पूर्ण उपयोग गर्ने वातावरण सिर्जना भएको हुनेछ', कान्छीमायाको सपना हो यो । त्यसैगरी कान्छीमाया बेचबिखनबाट उद्धार गरेर ल्याइएका महिलाको जीवनयापनका लागि सक्रिय भएर लाग्ने, सिन्धुपाल्चोक मानव बेचबिखनको थलो हो भन्ने परिचय बदल्ने र आफ्नो जिल्लामा पर्यटन क्षेत्रको विस्तार गर्ने उनको चाहना छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.