च्याम्पियनको बिदाइ

च्याम्पियनको बिदाइ

युरोपेली लिग फुटबल यसै साता समाप्त भयो । अर्काे महिना वेल्सको राष्ट्रिय स्टेडियम कार्डिफमा च्याम्पियन्स लिग उपाधिका लागि सिरिए च्याम्पियन युभेन्टस र ला लिगा च्याम्पियन रियल म्याड्रिडले प्रतिस्पर्धा गरेपछि युरोपेली फुटबल सिजनले पनि बिट मार्नेछ। सन् २०१७ को सिजन समाप्त हुनुअघि नै केही हस्तीले गरेको फुटबलबाट वि श्राम लिने निर्णयले उनीहरूका समर्थकलाई दु:खी पनि तुल्याएको छ । जर्मन रक्षक फिलिप ल्हामले बायर्न म्युनिखसँगको पछिल्लो सम्झौता सकिनु वर्ष दिनअघि नै आफ्नो खेलजीवन टुंग्याएका छन् । ल्हामसँगै स्पेनी फुटबल हस्ती जाभी अलन्सोले पनि खेल जीवनबाट बिदा लिए ।

Dipendra-Gurungजर्मन क्लब बायर्नसँग आबद्ध ल्हाम र अलन्सो दुवैले गत शनिबार फ्रेइबर्गविरुद्ध आफ्नो अन्तिम खेल खेले । फ्रेइबर्गलाई ४-१ ले पराजित गर्दै बायर्नले उपाधि उचालेको खेलको अन्त्यतिर मैदानबाट बाहिरिँदा आफ्नो मैदान एलिएन्ज एरेनामा उपस्थित ७५ हजार दर्शकले यी दुई हस्तीलाई तालीले भव्य स्वागत गरेका थिए, सायद त्यसबेला उनीहरूले ल्हाम र अलोन्सोको खेललाई सम्झिएका थिए ।

३३ वर्षीय ल्हाम र ३५ वर्षीय अलन्सो यस्ता खेलाडी हुन्, जो खेलाडीका रूपमा निक्कै सफल रहे । ल्हामले राष्ट्रिय टोलीबाहेक अहिलेसम्म बायर्न म्युनिखका लागिमात्रै खेले । अलन्सो भने यूरोपका तीन ठूला लिग - प्रिमियर लिग, स्पेनिस ला लिगा र जर्मन बुन्डेस लिगमा आफ्नो फुटबल कौशल बेच्न सफल भए ।

यी दुवै खेलाडीसँग क्लब र राष्ट्रिय टोलीबाट सम्भव उच्चतम सफलताको अनुभव छ । ल्हाम र अलन्सोले आफूले खेलेको क्लबलाई लिग उपाधि तथा युरोपेली क्लब फुटबलकै सर्वाधिक प्रतिष्ठित च्याम्पियन्स लिगदेखि देशलाई विश्वकपको उपाधि दिलाएको गौरव पनि छ ।

पछिल्लो १५ वर्षयता बायर्न म्युनिखबाट खेलेका ल्हामले टोलीका लागि कुल २१ उपाधि जितेका छन् । उनले बायर्न म्युनिखबाट आठ बुन्डेस लिग उपाधि, नकआउट फुटबल प्रतियोगिता जर्मन कपको ६ उपाधि, डीएफएल लिगापोकलको एक, डीएफएल सुपर कपको तीन उपाधि, युरोपेली च्याम्पियन्स लिग, यूईएफए सुपर कप र फिफा क्लब विश्वकपको एकएक उपाधि जितेका छन् ।यस्तै जर्मनीले सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपको उपाधि जित्दा टोलीका कप्तान थिए- ल्हाम । आफ्नो नेतृत्वमा देशलाई विश्वकपको उपाधि दिलाएलगत्तै ल्हामले राष्ट्रिय टोलीबाट सन्न्यासको घोषणा गरेका थिए।

बायर्न म्युनिखसँगको पछिल्लो सम्झौता सकिनु वर्ष दिनअघि नै खेल जीवन टुंग्याए पनि जर्मन रक्षक फिलिप ल्हामको फुटबल कौशल दर्शकको मनमा रहिरहनेछ ।

घरेलु क्लब रियल सोसिडाडबाट आफ्नो फुटबल करिअर सुरु गरेका मिडफिल्डर अलन्सोले आफूले खेलेको युरोपका तीनै लिगबाट ठूला उपाधि जितेका छन् । सोसिडाडबाट इङ्लिस क्लब लिभरपुलसँग पाँच वर्षको सम्झौता गरेका अलन्सोले सन् २००४-०५ को सिजनमा युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेका थिए । लिभरपुलबाट उनले घरेलु एफ ए कप, कम्युनिटी सिल्डसहित यूईएफए सुपर कपको उपाधिसमेत जितेका थिए ।

त्यसपछि फेरि आफ्नै देशको क्लब रियल म्याड्रिड फर्किएका अलन्सोले त्यहाँ पनि प्रशस्तै उपाधि जिते । म्याड्रिडमा पनि पाँच वर्ष बिताएका अलन्सोले घरेलु लालिगा, युरोपियन च्याम्पियन्स लिगसहित चार उपाधि जिते । तीन वर्षअघिमात्रै जर्मनीको सर्वाधिक सफल क्लब बायर्नसँग अनुबन्ध भएका उनले त्यहाँ पनि बुन्डेस लिगको लगातार तीन उपाधि जिते । यस्तै स्पेनले सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपको उपाधि उचाल्दा अलन्सो टोलीका महत्वपूर्ण सदस्य थिए ।

'सोसिडाडमा रहँदा हामी लिग उपाधिबाट निक्कै नजिक पुगेर असफल भयौं । लिभरपुलबाट पनि लिग उपाधिको निक्कै नजिक पुगेर असफल भयौं', अलन्सोले भनेका छन्, 'सोसिडाड र लिभरपुलबाट लिग उपाधि जित्न नसक्नु र यो सिजन बायर्नलाई च्याम्पियन्स लिग उपाधि दिलाउन नसक्दा केही पछुतो लागिरहेको छ ।'ल्हाम र अलन्सो दुवै शान्त स्वभाकका खेलाडी हुन् । मैदानमा यी दुवै खेलाडीले खेल अनुशासनमा कमी देखाएनन् । सायद फुटबलप्रेमीहरू अबका वर्षमा फुटबल कौशलसँगै ल्हाम र अलन्सोका सम्मानयोग्य शैलीको पनि अभाव महसुस गर्नेछन् ।

ल्हाम र अलन्सोकै जस्तो गर्भिलो अनुभव लिएर इटालियन क्लब एएस रोमाका फ्रान्सेस्को टोट्टीले पनि यसै सिजनबाट खेलाडी जीवनबाट बिदा लिए । टोट्टी अन्तर्राष्ट्रिय फुटबलमा यस्ता सीमित खेलाडीभित्र पर्छन् जसले आफ्नो पूर्ण खेलजीवन कुनै एक क्लबका लागि खर्चिएका छन् ।

टोट्टी एएस रोमासँगको निरन्तर २५ वर्षको सम्बन्धपछि बिदा भएका हुन् । यो अवधिमा उनले क्लबका लागि मात्र एउटा उपाधि जितेका छन् (सन् २०००-०१ को सिजनमा लिग उपाधि) । तर, सफलताको लागि भन्दा पनि फुटबल र एएस रोमाप्रति देखाएको लगनशीलताले उनलाई फुटबल समर्थकहरूले सधैं सम्झिरहने छन् ।'मेरो सुरुआतबाटै एउटै क्लबको जर्सी लगाएर खेल्ने र त्यसैबाट सन्न्यास लिने योजना थियो', टोट्टीले भनेका छन्, 'त्यसमा सफल भएको छु ।'

टुट्यो चेल्सीसँगको २२ वर्षको यात्रा

यसै सिजनको समाप्तिबाट लामो समयदेखि चेल्सीसँग अनुबन्ध रहेका रक्षक तथा कप्तान जोन टेरीले पनि क्लबसँगको सम्बन्ध तोडेका छन् । यो सिजन नयाँ प्रशिक्षक एन्टोनियो कोन्टेको नेतृत्वमा चेल्सीले उपाधि चुमेसँगै टेरीले आफ्नो बाल्यकालदेखिको क्लब चेल्सीसँगको २२ वर्षेे सम्बन्धमा पूर्णविराम लगाएका हुन् । गत आइतबार चेल्सीले प्रिमियर लिगको अन्तिम खेलमा सन्डरल्यान्डलाई ५-१ ले पराजित गर्दै ट्रफी उचाल्दा टेरीले पनि सुरुवातको २८ मिनेटसम्म खेल्ने अवसर पाए, जुन चेल्सीबाट उनको अन्तिम खेल बन्यो ।

स्कुल पढ्दै, १४ वर्षकै उमेरमा चेल्सीसँग अनुबन्ध भएका टेरीले क्लबबाट ठूला सफलता चुमे । टेरी चेल्सीका सर्वाधिक सफल कप्तान मानिन्छन् । सन् २००४ देखि चेल्सीको कप्तानी गरेका टेरीले टोलीलाई कप्तानको रूपमा प्रिमियर लिगको पाँच, एफए कपको चार, लिग कपको तीन तथा युरोपियन च्याम्पियन्स लिग र युरोप लिगको समेत एकएक उपाधि दिलाएका छन् । उनी चेल्सीबाट पाँच सयभन्दा बढी खेल खेल्ने पाँचमध्येका एक खेलाडी हुन् । उनले अहिलेसम्म सात सय १३ खेल खेलेका छन् ।

सशक्त, चलाख र उत्कृष्ट ट्याकल प्रहार गर्न सक्ने टेरी सीमितमध्येका खेलाडी हुन्, जो रक्षक पोजिसनमा खेलेर पनि गोल गर्न सक्षम छन् । उनले अहिलेसम्म ६६ गोल गरेका छन् । टेरी चेल्सीका सर्वाधिक गोल गर्ने रक्षक पनि हुन् । सन् २००६ देखि ०१० तथा २०११ देखि ०१२ सम्म इङ्ल्यान्डको राष्ट्रिय टोलीको कप्तानी गरेका टेरी आफ्नो समयका उत्कृष्ट सेन्टर डिफेन्डर हुन् ।

यस सिजन मैदानमा निक्कै कम अवसर पाएका टेरीले चेल्सी छाड्ने निर्णय गरे पनि आफ्नो नयाँ भविष्य भने तय गरिसकेका छैनन् । उनले कम्तीमा एक वर्ष आफूले फुटबल खेल्न सक्ने संकेत गरेका छन् । त्यसैले अर्काे सिजन उनी प्रिमियर लिगकै अन्य कुनै क्लबमा देखिन पनि सक्छन् । फ्रान्सेली, अमेरिकन र चिनियाँ क्लबहरूले पनि उनीमाथि उत्तिकै इच्छा व्यक्त गरेका छन् । टेरीलाई चेल्सी आफैंले पनि खेलाडीबाहेकको भूमिका दिन तयार रहेको जनाइसकेको छ ।
(एजेन्सीको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.