किन बन्द भयो गोर्खाली ?
श्री ३ चन्द्र (विसं १९२०-१९८६, शासनकाल विसं १९५८-१९८६)को पालामा बनारसबाट 'गोर्खाली' नाममा साप्ताहिक पत्रिका निस्कन्थ्यो । राणा शासनको विरोधमा निकालिएको त्यो पत्रिका पछि ब्रिटिस-भारत सरकारलाई गुहारी श्री ३ चन्द्रले रोक्न लगाए भनी इतिहासका पुस्तकमा पढ्दै आइएको हो । त्यस्ता पुस्तकमध्ये भुवनलाल प्रधान (विसं १९७९-२०६७)को 'नेपालको जनक्रान्ति' (रुमु प्रकाशन, काठमाडौं, २०४७, ३४-३८ पृ.)मा अलि बढी सामग्री बटुली लेखिएको भन्ने लाग्छ । साप्ताहिक 'गोर्खाली'लाई नेपाल भित्रिन नदिन श्री ३ चन्द्रले गरेको प्रयत्नको विषयमा प्रकाश पार्ने एउटा पत्र हात परेकाले त्यही विषयमा यो सानो लेख लेखिएको छ ।
गृष्मबहादुर देवकोटा (विसं १९७३-२०५१)को 'नेपालको छापाखाना र पत्र-पत्रिकाको इतिहास' (केशवप्रसाद लम्साल, काठमाडौं, २०२४, ४७-४९ पृ.)मा 'गोर्खाली' पत्रिकाको एउटा अंकको फोटो दिई त्यस साप्ताहिक पत्रिकाको विषयमा केही कुरा लेखिएको छ । त्यसबाट थाहा भएको कुराको सारांश यस्तो हुन्छ- माधवप्रसाद रेग्मीद्वारा बनारस पञ्चगंगाको हिमालय प्रेसमा मुद्रित भई सूर्यविक्रम ज्ञवाली (विसं १९५५-२०४२)द्वारा विसं १९७२ असोज ११ गतेदेखि 'गोर्खाली' छापिन सुरु भयो । ग्राहक संख्या तीन सय पनि पुर्याउन नसकिएकाले अर्थाभावले ४८ संख्या अर्थात् २ वर्ष ३ संख्यापछि 'गोर्खाली' छापिन छोड्यो । यसपछि विसं १९७३ फागुनदेखि एलपी शर्माको प्रकाशनमा फेरि निस्कन लागेको 'गोर्खाली' २ वर्ष ७ संख्यापछि बन्द भयो । दोस्रोपटक बन्द भएपछि द नेपाली टे«डिङ यान्ड पब्लिसिङ कम्पनीका निमित्त मणिसिंह गुरुङ बीएद्वारा विसं १९७६ मा पहिले जहाँ 'गोर्खाली' पत्रिका छापिन्थ्यो, त्यही हिमालय प्रेसमै छापिई त्यही 'गोर्खाली' नामबाटै अर्को साप्ताहिक पत्रिका निस्क्यो । यो पनि १ वर्ष १२ संख्यासम्म मात्र निस्किई बन्द भयो ।
गृष्मबहादुर देवकोटाले आफ्नो त्यही पुस्तकमा अन्त 'बनारसबाट :- (१) 'गोरखाली' :- भाषा नेपाली, सं. सूर्यविक्रम ज्ञवाली, पहिलो अंक १९७२÷६÷११ मा प्रकाशित भई १९७३÷१२÷५ वर्ष २ संख्या ७ सम्म प्रकाशित' (५९६ पृ.) लेखेकाले उनले दोस्रोको चाहिँ होइन, पहिलो 'गोर्खाली' पत्रिकाको मात्र विवरण त्यहाँ सूत्रात्मक रूपले दिएको देखिन्छ ।पहिलो 'गोर्खाली' पत्रिकाको सम्पादक को हुन् भन्ने कुरा व्याख्यात्मक रूपमा गृष्मबहादुर देवकोटाले स्पष्टसँग नलेखे पनि उनकै सूत्रात्मक लेखाइबाट चाहिँ त्यो स्पष्ट भएको छ ।
'गोर्खाली' पत्रिकाका सम्पादक को हुन् र प्रकाशक को हुन् भनी छुट्ट्याउन नसक्दा ऐतिहासिकहरू अलमलिने गरेको कुरा बनारसी नेपाली साहित्यका शोधक रडरिक चामर्सले लेखेको कुरा यस सन्दर्भमा सम्झन पुगिन्छ ('पन्डिट्स् यान्ड् पल्प् फिक्शन्: पप्युलर् पब्लिशिङ् यान्ड् द बर्थ् अफ् नेपाली प्रिन्ट्-क्याप्इटलिज्म् इन् बनारस्', 'स्टड्इज् इन् नेपाली हिस्टरि यान्ड् ससाइइटि' ७ ठेली २ अंक, इसं २००२, ४६ पृ.) ।
गृष्मबहादुर देवकोटाको व्याख्यात्मक लेखाइमा देखिएको सम्पादक÷प्रकाशकको अस्पष्टता हेमांगराज अधिकारी (विसं २००४ मा जन्म)को तलको वाक्यबाट केही हदसम्म स्पष्ट हुन्छ-
साप्ताहिक 'गोर्खाली'लाई नेपाल भित्रिन नदिन श्री ३ चन्द्रले गरेको प्रयत्नको विषयमा प्रकाश पार्ने एउटा पत्र हात परेकाले त्यही विषयमा यो लेख लेखिएको छ ।
'प्रारम्भमा यसका मुद्रकमा माधवप्रसाद रेग्मी र प्रकाशकमा चाहिँ सूर्यविक्रम ज्ञवालीको नाम उल्लेख छ तर १९७३ वैशाखतिरका अंकदेखि प्रकाशकमा माधवप्रसाद रेग्मी र अझ पछिका अंकहरूमा एलपी सापकोटा (लक्ष्मीप्रसाद सापकोटा) को नाम प्रकाशकमा देखिएको छ । यसमा सम्पादक भनी कसैलाई नभनिएकाले प्रकाशक नै मुख्यत: सम्पादकसमेत भएको अनुमान गरिन्छ । बेलाबेलामा प्रकाशकहरू (सम्पादक ? ) को अदलाबदलीबाट पनि यस पत्रिकाको सञ्चालनमा धेरैजनाको संलग्नता अर्थिन्छ' (चूडामणि बन्धुद्वारा सम्पादित 'नेपाली साहित्यको इतिहास', नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान, काठमाडौं, २०६०, ३४०-३४१ पृ.) ।
यस विषयमा थप स्पष्टीकरण र पहिलो 'गोर्खाली' पत्रिका एकचोटि केही समय बन्द भएर फेरि छापिन थालेपछि पनि फेरि किन बन्द भयो भन्ने प्रश्नको उत्तर शरद्चन्द्र शर्मा भट्टराई (विसं १९८७-२०५९)का तलका वाक्यमा पाइएको छ, 'नेपालमा बागियानका रूपमा चिनिएका कृष्णप्रसाद कोइराला, देवीप्रसाद सापकोटाहरूको सुझबुझ र प्रयत्नबाट खोलिएको 'कृष्णमाधव कम्पनी' एवं 'गोर्खाली अफीस'को सहयोगी छापाखाना हो 'हिमालयन प्रेस' । यसको स्थापना १९७१ सालतिर भएको थियो । १९७४ सालमा यसका हिस्सेदार एवं प्रिन्टर बाबू माधवप्रसाद रेग्मीले सो प्रेसबाट आफ्नू शियर हटाई प्रेस छोड्न खोज्दा सो प्रेस मात्रै होइन, त्यसैमा १९७२ सालदेखि छापिदै आएको 'गोर्खाली' साप्ताहिक पनि बन्द गर्नुपर्ने स्थिति आयो । राणाशासनका निम्ति 'आँखाको कसिङ्गर' बन्दै आएको 'गोर्खाली' साप्ताहिक बन्द गराउने कुटिल षडयन्त्रअनुसार नै पूmटको यो आयोजना भएको थियो ।' ('खोजी अनि व्याख्या', नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान, काठमाडौं, २०५६, ७९-८० पृ.) ।
'गोर्खाली' पत्रिकाका प्रवर्तक सुब्बा देवीप्रसाद सापकोटाले कुन परिस्थितिमा त्यस पत्रिकाको सुरुआत गरे र त्यो पत्रिका कसरी बन्द गरियो भन्ने कुरा रामजी उपाध्यायको 'नेपाल दिग्दर्शन अर्थात् इतिहास' (सुब्बा होमनाथ केदारनाथ, बनारस, २००७, ३४६-३४७ पृ.)मा, बालचन्द्र शर्मा (विसं १९७६-२०३३)को, विसं २००८ मा पहिलोपटक प्रकाशित 'नेपालको ऐतिहासिक रूपरेखा' (२ संस्करण, कृष्णकुमारी देवी, वाराणसी, २०२२, ३६५ पृ.)मा र ढुण्डिराज भण्डारी (विसं १९८२-२०५३)को 'नेपालको उद्भव तथा विकासको विश्लेषणात्मक इतिहास' (प्रकाश-प्रकाशन, काठमाडौं, २०४६, ४८६-४८७ पृ.)मा बढी खुलाएर लेखिएको छ । ती पुस्तकमा भएका कुराको तेरिज यस्तो हुन्छ-
कुनै विदेशी राज्यले भोटमा हमला गर्यो भने नेपालले भोटलाई लडाइँमा सहायता गर्ने र त्यसै गरी नेपालमा हमला भयो भने भोटले नेपाललाई सहायता गर्ने भनी भोट र नेपालको बीच विसं १९१२ मा भएको सन्धिपत्रको दोस्रो प्रक्रममा लेखिएकोले विसं १९६१-६२ मा फ्रान्सिस यङ्हज्बन्ड (विसं १९२०-१९९९)को मातहतमा भोटमा हमला हुँदा अंग्रेजलाई सहायता गर्नु अनुचित हुन्छ भनी मुन्सिखानाका सुब्बा देवीप्रसाद सापकोटाले श्री ३ चन्द्रसँग मत बझाउँदा उनीसँग श्री ३ चन्द्र रिसाएकाले औषधि गर्ने निहुँ पारी उनी कलकत्ता गए । उनी नभएको मौका पारी श्री ३ चन्द्रले उनको सर्वस्व गरे । त्यसपछि बनारस आएका देवीप्रसाद सापकोटाले त्यहीँबाटै 'गोर्खाली' नाउँको साप्ताहिक पत्रिकाको प्रकाशनद्वारा राणाशासनविरुद्ध लेख्न थाले । यो पत्रिका चार वर्षजति चलेपछि श्री ३ चन्द्रको जोडमा भारत सरकारले प्रतिबन्ध लगाएकाले बन्द हुन गयो ।
कृष्णप्रसाद शर्मा घिमिरे (विसं १९७६-२०४९)ले आफ्नो 'राष्ट्रिय-चरित्र ऐतिहासिक-महाकाव्य' (शमशेरराज वन्त श्रेष्ठ, काठमाडौं, २०१७, १९३ पृ.)मा कोरिएको देवीप्रसाद सापकोटाको चित्र भने नितान्त फरक छ । अनुष्टुभ् छन्दका आठ श्लोकमा गरिएको त्यो वर्णन सकभर त्यस महाकाव्यकै भाषामा गद्यमा ढाल्दा दृश्य यस्तो हुन्छ-
मुन्शीखानामा आफ्नो जिम्माका, भोटसम्बन्धी कागजातमध्ये केही त्यहाँका सुब्बा देवीप्रसादले पैसाको लोभले अंग्रेजलाई दिए । यिनै कागजात पाएर अंग्रेजहरूले गोप्य रूपमा लेखापढी गरी भोटलाई उचाले । अंग्रेजको पुठ पाएर भोटले निहुँ खोजी नेपालीलाई दु:ख दियो । यो अर्थात् अंग्रेजलाई कागजात बेचेको कुरा थाहा होला भन्ने डरले औषधि गर्न जाने निहुँले कलकत्तामा भागेर जान उनी तम्से । बिदा मागेपछि उनलाई बिदा पनि मिल्यो । ती कागजात खोज्दा नपाइएपछि अब श्री ३ चन्द्रले उनको चालबाजी सम्झे । अनि श्री ३ चन्द्रले उनको तुरुन्त सर्वस्व गरे । यहाँ यस्तो बदमासी गरेका देवीप्रसाद काशी पुगी राणाविरुद्धमा चल्न लागे । प्रवासी नेपालीहरूको सहायता लिई उनी जहाँतहाँ पोल खोल्न लागे ।
साप्ताहिक 'गोर्खाली'का प्रवर्तक देवीप्रसाद सापकोटाको विषयमा कमल दीक्षित (विसं १९८६-२०७३)को खोजी ('बुइँगल' ४ संस्करण, साझा प्रकाशन, ललितपुर, २०५०, ३४२-३४३ पृ.)बाट थाहा भएका कुरा पनि यहाँ लेख्नु अप्रासंगिकनहोला । विसं १९३० मा जन्मी ८० वर्षको उमेरमा परलोक भएका देवीप्रसाद सापकोटा मुन्सिखानामा जागिरे थिए । त्यही अड्डामा नायब सुब्बामा उनको प्रमोसन भएको कुरा विसं १९६१ जेठ ११ गतेको 'गोरखापत्र'बाट थाहा हुन्छ । 'यिनका प्रकाशित किताबमा पद्यको 'सावित्री चरित्र' (१९७१) र गद्यानुवाद (१५ अध्याय मात्र) ' श्रीमद्भगवद्गीता' मात्र देखिएका छन् । पी.डी.पी.एस.यू. शर्माको नामले १९६३ सालतिर छापिएको 'श्लोकबद्ध सत्यनारायणभाषा' यिनको हुनुपर्ने देखिन्छ' ।
श्री ३ चन्द्रको र उनका उत्तराधिकारी कम्यान्डर-इन-चिफ भीमशमशेर (विसं १९२२-१९८९, शासनकाल विसं १९८६-१९८९)को छाप लागेको, अहिले जर्मनी पुगिसकेको, विसं १९७६ पुस १६ गते बुधबारको रुक्काबाट साप्ताहिक 'गोर्खाली' नेपाल भित्रन नदिनका लागि सरकारले चालेको कदम थाहा हुन्छ । त्यो रुक्का पूर्व १ नम्बर गोश्वाराका हाकिम र कारिन्दाहरूलाई सम्बोधन गरी लेखिएकाले त्यस्ता रुक्का नेपाल राज्यभरका जिल्लाजिल्लामा पठाइएको अनुमान हुन्छ ।
त्यस रुक्कामा अजन्त हलन्त, अनुस्वार परसवर्ण, खकार षकार, मूर्धन्य दन्त्य, शकार सकार, ह्रस्व दीर्घ आदि नमिलेको र 'भयाको' जस्ता शब्दरूप देख्दा हेमराज पण्डित (विसं १९३५-२०१०)को व्याकरण 'चन्द्रिका' केही वर्षअगाडि नै छापिई त्यस व्याकरणले भित्रबाहिर सबैतिर स्वीकृति पाएको र 'गोर्खाली' पत्रिकामा त्यही व्याकरण नै चलाइएको भए पनि
('बुइँगल', ३४२-३४३ पृ.; प्रकाश ए. राज, 'विद्वच्छिरोमणि हेमराज शर्मा' २ संस्करण, साझा प्रकाशन, ललितपुर, २०५७, १९ पृ.) त्यो पत्रिका नेपाल नभित्र्याउनका लागि लेखिएको रुक्कामा भने पुरानै ढंगमा कागज तयार गरिएको देखिएकोले अड्डाखानालाई त्यस व्याकरणले छुन नसकेको देखिन्छ । त्यही रुक्कालाई प्रचलित वर्णविन्यासमा ढालेर मूलपाठ जस्ताको तस्तो तल उतारिन्छ-
'उप्रान्त हाल बनारसमा हप्ताहप्तामा छापिने गरेको गोर्खाली भत्रे नाम भएको अखबार मोल दिई लिने नलिनेसमेतलाई बराबर सो अखबारवालाले पठाउने गरेको बुझिएको र सो अखबारको लेख, लेखको ढाँचा र सम्पादकको नियत असल नदेखिएको हुनाले सो अखबार यो नेपाल राज्यभर सो राज्यका रैतीले नलिऊन्, नझिकाऊन् भत्रानिमित्त जारी गरिबक्सने इस्तिहारको नमूना एक प्रति यसैसाथ खामी पठाइबक्सेको छ । त्यस गोस्वारा इलाकाभर गाउँ गाउँ मौजामौजामा सबैले देख्ने ठाउँमा टाँस्नालाई जति प्रति चाहिन्छ लेख्न लगाई त्यसमा गोस्वाराको र हाकिम तहरीरको पुच्छ्रे छापसमेत लगाई तुरुन्त टाँस्न लगाई सो इस्तिहारको बेहोरा मजबून सबै रैतीलाई बोध गराउनानिमित्त मौजा मौजा गाउँगाउँमा कटुवाल फिराइदिनू ।
सो अखबार कसैले नझिकाईकन पनि आएको सरकारी अड्डामा जाहेर गरी दाखिल गर्न ल्याए सो र यो इस्तिहार जारी हुनुभन्दा अगाडि कसैले हिस्सा पेपर लिएको जाहेर गर्न आएको औ इस्तिहार जारी भइसकेपछि कसैले सो गोर्खाली भत्रे अखबारसँग सरोकार राख्यो लियो वा नझिकाईकन पनि आएको सरकारी अड्डामा तुरुन्त नबुझाई राख्यो अथवा सो अखबारवाला द नेपाली टे«डिङ यान्ड पब्लिशिङ कम्पनिको हिस्सा सेयर लिइराखेको बुझियो ठहर्यो भने सजाय गर्नालाई समेत सदर अफिस मुन्शीखानामार्पmत जाहेर गर्नू । सोबमोजिम गराउनालाई मातहत अड्डाहरूलाई समेत उर्दी पुर्जी जो गर्नुपर्छ गर्ने गराउने काम गर।'
साप्ताहिक 'गोर्खाली'को प्रकाशन 'द नेपाली टे«डिङ यान्ड पब्लिसिङ कम्पनी' खडा गरी, त्यसको सेयर बेची काम थालेको, नेपालमा त्यस कम्पनीका सेयरहोल्डरहरू भएको, 'गोर्खाली' पत्रिकाका यहाँ नियमित ग्राहक भएको र ग्राहक नभएकाहरूकहाँ पनि पत्रिकाको प्रचारका लागि सित्तैमा पत्रिका पठाउने गरेको माथिको उद्धरणबाट स्पष्ट हुन्छ ।
साप्ताहिक 'गोर्खाली' नलिनू भत्रे कुरा लेखिएको इस्तिहारको नमुना पनि यस रुक्कासँगै पठाइएको थियो भनी यही रुक्कामा लेखिएको छ । त्यो इस्तिहार देख्न नपाए पनि यस रुक्काबाट मात्र पनि साप्ताहिक 'गोर्खाली'बाट राणाशासन कति तर्सेको थियो भन्ने अनुमान हुन्छ ।
पहिलोपटक छापिएको साप्ताहिक 'गोर्खाली'को र त्यही नाउँले दोस्रोपटक छापिएको साप्ताहिक पत्रिकाको रूप कस्तो थियो भन्ने कुरा ती दुवै थरी पत्रिकाको एउटा अंक पनि नदेखेकोले म भन्न सक्दिनँ । पहिलो 'गोर्खाली'का अंकबाट केही अन्वेषकहरूले आआफ्ना कृतिमा गरेका उद्धरणबाट भने त्यस पत्रिकाको उग्र रूप देखिँदैन (कमल दीक्षित, 'कालो अक्षर' २ संस्करण, जगदम्बा-प्रकाशन, ललितपुर, २०२३, १७ पृ.; 'नेपालको छापाखाना र पत्र-पत्रिकाको इतिहास', ४७-४८ पृ.; शरद्चन्द्र शर्मा भट्टराई, 'नेपाली साहित्यको इतिहास (माध्यमिक काल)', पाठ्यक्रम विकास केन्द्र, काठमाडौं, २०३७, ९१-९२ पृ.; 'नेपाली साहित्यको इतिहास', ३४१-३४२ पृ.) ।
त्यसमा समस्यापूर्ति (कशघ, 'बुइँगलको एउटा बाकस', जगदम्बा-प्रकाशन, २०५३, ६८-७४ पृ.) र जीवनी ('नेपाली साहित्यको इतिहास', ५३० पृ.) जस्ता विषय परेकाले त्यस साप्ताहिक पत्रिकामा साहित्यिक रंग पनि कम नभएको देखिन्छ । यसो हेर्दा, दोस्रोपटक मणिसिंह गुरुङले विसं १९७६ मा निकालेको 'गोर्खाली' अझ बढी उग्र भएकाले नै श्री ३ चन्द्रले नेपालमा त्यसलाई भित्रन नदिन इस्तिहार जारी गरेको हो कि जस्तो देखिन्छ।
शिलाङबाट विसं १९९२ पुसदेखि मणिसिंह गुरुङको सम्पादनमा 'गोर्खा सेवक' भन्ने नाउँको साप्ताहिक पत्रिका ३ वर्ष ३७ संख्यासम्म चलेको देखिएकाले ('नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास', ५१ पृ.) दोस्रो 'गोर्खाली' साप्ताहिक पत्रिका चलाउने मणिसिंह गुरुङले नै पत्रिका चलाउने काममा धीत नमरेर पछि 'गोर्खा सेवक' चलाएको हुनसक्छ ।
साप्ताहिक 'गोर्खाली' कहिले बन्द भयो भन्ने कुरामा मतैक्य देखिँदैन । त्यसको दृष्टान्तका लागि, भुवनलाल प्रधान 'सं. १९७९ सालमा यो पत्र बन्द गरियो' ('नेपालको जनक्रान्ति', ३८ पृ.) भन्छन् त हेमांगराज अधिकारी भने 'पछि मणिसिंह गुरुङको प्रकाशकत्वमा १९७६ मा यसलाई पुनर्जीवन मिलेको भए पनि त्यस बेला पनि एक वर्ष जति चलेपछि पुन: बन्द भएको देखिन्छ' ('नेपाली साहित्यको इतिहास', ३४२ पृ.) भन्छन् ।
कृष्णप्रसाद शर्मा घिमिरेको कुरा पत्याउने हो भने, आफ्नो पोल नखोलोस् भनी श्री ३ चन्द्रले देवीप्रसादलाई १० हजार रुपियाँ एकमुष्ट दिएर थामथुम पारे ('राष्ट्रिय-चरित्र', १९४ पृ.) । यसको मतलब अंग्रेजलाई गुहारेरमात्र होइन, पत्रिकाको प्रवर्तकलाई पनि पैसा खुवाई 'गोर्खाली' पत्रिका बन्द गरिएको थियो । अहिले यस लेखमा चर्चा गरिएको रुक्काजस्ता प्रामाणिक कागजात जबसम्म प्रकाशमा आउँदैनन्, तबसम्म यस्ता विषयमा यसै हो भन्न सकिँदैन ।