चार्ल्स डिकेन्स म्युजियममा एक साँझ
लन्डनमा पाइला टेकेको केही दिनपछि चार्ल्सडिकेन्सको तस्बिर अंकित दस पाउन्डको नोट हातमा पर्दा आश्चर्यचकित भएको थिएँ । उन्नाइसौं शताब्दीका विशिष्ट लेखकको तस्बिर अंकित नोटलाई धेरै समयसम्म जतन गरेर राखेँ । राजतन्त्रात्मक देशमा साहित्यकारको तस्बिर अंकित नोट देख्दा अचम्भित हुनुको कारण थियो मेरो आफ्नै देश । तत्कालीन राजतन्त्रात्मक मेरो देशको नोटमा कि त राजा हुन्थे कि त जनावर । राजतन्त्रात्मक र गणतन्त्रात्मक नेपालमा साहित्यकारहरूको तस्बिर अंकित नोट नदेख्दा सरकारले तिनको स्थान जनावरभन्दा पनि तल राखेको ठानेको छु ।
नोटमा देखेको चार्ल्सडिकेन्सको नाम अलिपछि मेरो अफिस जाने बाटोको एउटा घरको भित्तामा 'चार्ल्सडिकेन्स यहाँ बस्दथे' भन्ने नीलो प्लेटमा लेखेर टाँसेको देखेँ । धेरै समय बिहान बेलुका उनको नाम भित्तामा पढी मात्र रहेँ । उनी भाडामा बसेको त्यो कोठामा अवश्य अरू कोही बसेको होलान् । त्यहाँ उनको बारेमा कुनै जानकारी भेटिने सम्भावना थिएन । तर, पनि पटक-पटक डिकेन्सको नाम पढिरहँदा उनको बारेमा चासो चाहिँ बढिरहेको थियो । डिकेन्सको बारेमा थाहा पाउन मन लागेर पनि लन्डनको यान्त्रिक जीवनशैलीले निकै समय मलाई अल्मलाइरह्यो । चिसो हिउँद सकिएर मौसममा अलिकति उष्णता थपिएपछिका लामा हुँदै गएका दिनले मनमा उत्साह जगाउने गर्छ । अचानक एकदिन डिकेन्सको घर 'गुगल म्याप'मा खोजेँ । धत् ! मेरो अफिसबाट १५ मिनेटको पैदल दूरीमा रहेको उनी बसेको घर म्युजियममा परिणत भएर मजाले पैसा पो कमाउँदै गरेको थाहा पाएँ ! त्यति नजिकै भएर पनि उतिबेलै जान नसकेकोमा थक्कथक्क लाग्यो । लन्डनको आकाश खुलेको एक दिन छुट्टीपछि घर लाग्नुको साटो हानिएँ डिकेन्सको घरतर्फ ।
'ए क्रिसमस क्यारोल' नामक लामो कथामा चार्ल्सडिकेन्सले आफ्नो लेखनशिल्प यसरी देखाए, पाठकले त्यसलाई बाइबलको आधुनिक संस्करण ठान्न पुगे । सोही कृतिको प्रकाशनपश्चात् क्रिसमसको समयमा घर सिँगार्ने, टर्कीको मासु खाने, गिफ्ट तथा कार्ड बाँड्ने, पारिवारिक भेटघाट र पार्टी दिने चलन चल्यो ।
७ फरवरी, १८१२ मा इङ्ल्यान्डको दक्षिण पूर्वी तटमा अवस्थित पोर्टसमाउथमा जन्मेका डिकेन्स बेलायतमा शेक्सपियरपछिका सबैभन्दा ठूला लेखक हुन् । दुई सय वर्षपछि आज पनि उनको लेखनको तुलना कसैसँग गर्न सकिँदैन । उनी लेखकमात्र नभएर नयाँ शब्दका आविष्कारक पनि थिए । अक्सफोर्ड इङ्लिस डिक्सनरीका अनुसार, डिकेन्सले दुई सय ४७ वटा शब्दलाई पहिलोपटक प्रयोग गरेर अंगे्रजी साहित्यमा भित्याए भने १५८६ वटा शब्दलाई नयाँ अर्थमा प्रयोगमा ल्याएर प्रचलित बनाए । डिकेन्सको तुलनामा शेक्सपियरले थोरै साहित्य लेखे । तर, शेक्सपियरले १७ सय नयाँ शब्दमात्र बनाएन त्यसलाई लोकप्रिय बनाए । साहित्य लेख्नु भनेको अरूले प्रयोग गरेका थोत्रा र जडौरी शब्द जोडजाड गरेर ठेलीका ठेली पुस्तक लेख्नुमात्र होइन रहेछ । अहिले बजारमा हल्लाखल्ला गर्ने नेपाली साहित्यकार र विश्वविद्यालयका प्राडाहरूले कतिवटा नयाँ शब्द आविष्कार गरेका होलान् भनेर थाहा पाउन खुल्दुली लागेको छ ।
त्यस जमानामा डिकेन्स अहिलेको रक स्टारजस्तै सेलिबे्रटी थिए । उनले 'स्टोरी रिडिङ सो' गरेर बेलायतमा मात्र होइन अमेरिकासम्म धूम मच्चाएका थिए । साहित्यको इतिहासमा मञ्चमा कथावाचन गरेर आकर्षक आम्दानी गर्ने उनी पहिलो व्यावसायिक लेखक हुन् । उनको वाचनकला यति लोकप्रिय थियो कि हरेक सहरमा उनको कार्यक्रमको अत्यधिक माग हुन्थ्यो । कार्यक्रम हुनुभन्दा धेरै अघि नै टिकट बिक्री भइसक्थ्यो । सिनेमाको जन्म नभएको त्योबेला नाटक मात्र मनोरञ्जनको साधन थियो । नाटकलाई टक्कर दिँदै एउटा लेखक लोकप्रिय हुनु कम आश्चर्यजनक कुरा होइन । उनको वाचनकला बढो आकर्षक थियो, कथा पढ्दै गर्दा आवाजमा नाटकीयपना ल्याउँथे । कथाका कैयौं भाग त अभिनय गरेरे देखाउँथे । नाम चलेको लेखकले आफ्नै कथावाचन गरेको कार्यक्रममा दर्शक मन्त्रमुग्ध हुन्थे । कोही सुन्दासुन्दै आँसु बगाउँथे । कैयौंको कम्प छुट्थ्यो, रौं ठाडा हुन्थे । हुन पनि किन नहोस, उनी रंगमञ्चका अब्बल कलाकार पनि थिए । उनीद्वारा अभिनीत नाटक नछुटाई हेर्ने बेलायतका महारानी भिक्टोरिया त उनको फ्यान नै थिइन् ।
यस्ता बहुमुखी प्रतिभाका धनी डिकेन्सलाई सम्झँदै चालेको पाइला 'चार्ल्सडिकेन्स म्युजियम' अगाडि पुगेपछि रोकिए । अहिले म्युजियम बनाइएको जर्जियन शैलीको त्यही घरमा बसेर उनले 'ओलिवर ट्विस्ट' र 'निकोलस् निकल्बी' उपन्यास लेखेका थिए । उक्त भवनभित्र करिडोर हुँदै प्रवेश गर्दा भित्तामा अनेक पेन्टिङ, उनको पोट्रेट, परिवारका सदस्यका फोटाहरू र उनका हस्तलिखित रचना फ्रेममा सजाएर झुन्ड्याइएको देखेँ । त्यो परिदृश्य हेर्दा अहिले पनि लेखक त्यही घरमा बसिरहेका छन्जस्तो लाग्थ्यो । बेसमेन्टसमेत जोड्दा चार तलाको उक्त घरमा उनका परिवारका सदस्य र नोकरचाकर बस्ने गर्थे ।
हरेक कोठामा डिकेन्ससँग सम्बन्धित सामग्री सजाएर राखिएको थियो । ती सामग्रीका गुणस्तर हेर्दा चरम गरिबीबाट गुजे्रका उनी त्यतिबेला धनाढ्य भइसकेको देखिन्थ्यो । बेसमेन्टमा किचन, वाइन रुम र लुगाधुने कोठा, भुइँतलामा डाइनिङ रुम र भेटघाट गर्ने कोठा, पहिलो तला अध्ययन कोठा, दोस्रो तला उनको सुत्ने कोठा र तेस्रो तला छोराछोरीको कोठा रहेछ । दोस्रो तलाका कोठाहरू विशेष महत्वका थिए । सफा बिच्छ्यौना भएको उनको बेडमा उत्तर सिरानी पारेर राखिएको थियो । अन्धविश्वासका कारण उनी सधैं उत्तर सिरानी पारेर सुत्दा रहेछन् । यतिसम्म कि आफ्नो अध्ययन कक्षमा पनि उत्तर फर्केरमात्र लेख्न बस्दा रहेछन् । उनका कोठाका सबै सामग्री हेरेँ, फोटो खिचेँ र स्पर्श गरेँ । त्यहाँको सजावट र वातावरणले गर्दा डिकेन्सको समीपमा भए जस्तो, उनैलाई स्पर्श गरेजस्तै भयो ।
वास्तवमा उनको बाल्यकाल संकटमय थियो । उनका पिता एक सरकारी क्लर्क थिए । सरकारी हिसाबकिताबमा गडबड गरेपछि पैसा तिर्न नसकेर पिता जेल पुगेपछि डिकेन्सका दुर्दिन सुरु भएको थियो । परिवारको खर्च धान्न १२ वर्षको उमेरमा डिकेन्सले जुत्ताको पालिस बनाउने फ्याक्ट्रीमा बाल मजदुरको रूपमा दैनिक दस घन्टा काम गरे । त्यहाँ उनले पालिसको डिब्बामा लेबल टाँस्ने काम करिब गरे दुई वर्ष । भिक्टोरियन समयमा बालबालिकालाई काममा लगाउनु सामान्य थियो । इतिहासमा उल्लेख भएअनुसार, त्यतिबेला पाँच वर्षसम्मका बच्चालाई खानी तथा फ्याक्ट्रीमा विभिन्न खालका काममा लगाइन्थ्यो । डिकेन्सले फ्याक्ट्रीमा काम गर्दाको अनुभव मिसाएर 'डेविड कपरफिल्ड' नामक उपन्यास लेखेका छन् । त्यसलाई आज पनि सर्व श्रेष्ठ उपन्यास मानिन्छ ।
डिकेन्स जन्मँदा आधुनिक बेलायतको सुरुवात हुँदै थियो । यातायातको साधनको नाममा घोडाले तान्ने बग्गी (स्टेज कोच) मात्र थियो । उनी जीवित हुँदै अलिपछि रेल पनि आयो । उनले भिक्टोरियन कालको इङ्ल्यान्डको समाजमा धेरै शोषण देखे । उच्च तथा धनी वर्गले कमजोर वर्गको समस्या उपर ध्यान नदिएकोमा उनी चिन्ता व्यक्त गर्थे । त्यस समयमा उच्च वर्गका मानिस बेघरबार गरिबलाई पक्रेर कारखानामा जबर्जस्ती काम लगाउँथे । भनिन्छ, कारखानाको काम र त्यहाँको अवस्थाका कारण मानिस पागलसम्म हुन्थे । त्यस्तो अन्याय, अत्याचार र शोषणविरुद्ध विभिन्न अभियान चलाउँदै जाँदा उनको सामाजिक कार्यकर्ताको छवि बनिसकेको थियो ।
उनको लेखनयात्रा पत्रकारिताबाट सुरु भएको थियो । १५ वर्षको उमेरमा स्कुल छाडेका डिकेन्सले 'सर्ट हेन्ड' टाइपिङ सिकेर संसद्को पत्रकार बने । संसदीय पत्रकार भएर काम सुरु गरेका उनले 'द मिरर अफ पार्लियामेन्ट' र 'द ट्रु सन्'मा काम गरे । पछि पत्रिकाको सम्पादक हुँदै पूर्णकालीन लेखक भए । उनी स्वअध्ययनले नै पत्रकार, सम्पादक र लेखक बनेका थिए ।
डिकेन्सभन्दा पहिलेको साहित्य कुलिनवर्गको सोखको विषय थियो । त्यसबेलाको साहित्यमा देवता, परी, राजा तथा रानीहरू कथाका पात्र हुन्थे । तर, डिकेन्सले गरिब तथा दु:ख पाएका मानिसलाई मुख्य पात्र बनाए । सामाजिक अन्यायका विरुद्धमा निडर भएर लेखिरहे । उनले बेलायतमा उद्योगधन्धाले ल्याएको विकृति र सहरी जीवनको चिन्ता र उत्तेजनालाई बडो मिहिन पाराले लेखेका छन् । त्यसैले उनलाई पहिलो सहरी लेखक पनि भनिन्छ । उनी आम मानिसका जिन्दगीका कुरा लेख्थे । उनको लेखनशैली मनोरञ्जक त छँदैछ, उनको लेखन शिक्षाप्रद पनि छ । त्यसैले उनका रचना आज पनि प्रासांगिक छन् । डिकेन्सको लेखनका कारण आम मानिसमा साहित्यप्रति रुचि बढेको मानिन्छ । सायद यही कारण हुन सक्छ, लियो तोल्स्तोयले डिकेन्सलाई उन्नाइसौं शताब्दीका सबैभन्दा ठूला फिक्सन राइटर हुन् भनेका थिए ।
उनको लेख्ने बानी अजिबको थियो । एकैपटकमा दुई तीनवटा कृतिमा हात हाल्थे । 'ओलिवर ट्विस्ट' आधा हुँदा 'पिकविक पेपर्स' सुरु गरे अनि 'निकोलस् निकल्बी' । यस्तो अद्भुत लेखन विरलै लेखकको हुन्छ । उनलाई रातमा राम्ररी निद्रा नलाग्दो रहेछ । मुड चलेको बेलामा लन्डनको गल्लीमा राति एक्लै हिँड्थे । उनलाई लन्डनको हरेक गल्लीका बारेमा पूरै जानकारी थियो । कैयौं पात्र र तिनका संवाद सडकबाटै टिपेर आफ्ना कृतिमा उतार्थे । पन्ध्रवटा उपन्यास, सयौं कथा, केही कविता र नाटक लेखे भने दुईवटा पत्रिका सम्पादक भए । उनको चर्चित कृति 'ओलिवर ट्विस्ट', 'गे्रट एक्सपेक्टेसन', 'डेविड कपरफिल्ड' र 'अ क्रिसमस क्यारोल' हुन् । 'द मिस्ट्री अफ एडविन ड्रुड' लेख्दालेख्दै उनको निधन भयो । उक्त अधुरो कृतिलाई पछि अरू कसैले पूरा गरे पनि उनकै नाममा प्रकाशनमा आएको छ ।
सच्चा लेखकले कैयौं सामाजिक जिम्मेवारी पूरा गरिरहेका हुन्छन् । लेखनको माध्यमले उनले पनि एउटा महत्वपूर्ण काम गरे । क्रिसमसलाई लोकप्रिय र सर्वसाधारणको चाड बनाए । 'ए क्रिसमस क्यारोल' नामक लामो कथामा आफ्नो लेखन शिल्प यसरी देखाएकी मानिसहरू त्यसलाई बाइबलको आधुनिक संस्करण ठान्न पुगे । सोही कृतिको प्रकाशनपश्चात् क्रिसमसको समयमा घर सिँगार्ने, टर्कीको मासु खाने, गिफ्ट तथा कार्ड बाँड्ने, पारिवारिक भेटघाट र पार्टी दिने चलन चल्यो । यसलाई अहिलेको पुस्ताले लामो परम्परा ठाने पनि यो डिकेन्सले आफ्नो लेखनीमात्र भित्र्याएको क्रिसमसको नयाँ मेन्यु हो । यस विषयमा उनले कुनै अन्तर्वार्तामा भनेका थिए 'लेखक भएको नाताले यो मेरो ड्युटी हो ।'
लेखकको जन्म घर वा बासस्थानमा पुगेपछि धेरै कुरा थाहा हुँदो रहेछ । म्युजियममा पुगेर थाहा पाएको उनीसम्बन्धी केही अनौठा कुरा सम्झँदा छक्क पर्छु । उनी जादुमा पोख्त रहेछन्, हिप्नोटिज्ममा विज्ञ । हिप्नोटिज्म प्रयोग गरेर छोराछोरी र श्रीमतीको कैयौं रोगको उपचार गर्थे । अझ अर्को रोचक कुरा त के छ भने उनलाई भूतप्रेतप्रति पूर्ण विश्वास रहेछ । लन्डनमा खुलेको भूत क्लबको उनी सुरुदेखिकै सदस्य रहेछन् । अहिलेको आधुनिक जमानामा पनि भूतप्रेत छ÷ छैन भन्ने विवाद अझै जारी छ । अहिले बनेका कैयौं हलिउड फिल्म होस् या अंगे्रजीका कथा र उपन्यासमा भूतप्रेतको चर्चा भइरहन्छ । आजभन्दा दुई सय वर्ष अघि भूत क्लब खोलिनु सामान्य हो ।
उनको वैवाहिक र दाम्पत्य जीवन सुखद रहेनछ । आफ्नै सम्पादककी छोरी क्याथरिन होगार्थसँग विवाह गरे उनले । दस जना सन्तान जन्मिए पनि विवाहको २२ वर्षपछि उनको सम्बन्धविच्छेद भयो । कान्छी छोरीकै उमेरकी एक नाटक अभिनेत्रीसँग सम्बन्ध राखेर उनले बाँकी जीवन बिताए । ९ जुन, १८६५ रेल दुर्घटना परेर बालबाल बचेका उनी त्यसपछि अस्वस्थ भइरहे । संयोग कस्तो रह्यो भने दुर्घटनाको ठीक पाँच वर्षपछि ९ जुनकै दिन उनको निधन भयो । उनी हल्लाखल्लाबिना सामान्य रूपमा आफ्नो दाहसंस्कार होस् भन्ने चाहन्थे । सोहीअनुरूप उनलाई राजनेता, कवि तथा वैज्ञानिकजस्ता विशिष्ट व्यक्तिलाई मात्र समाधिस्थ गरिने 'वेस्टमिनिस्टर आबी'को पोएट कर्नरमा समाधिस्थ गरियो ।
म्युजियमका सबै कोठा चहारेर उनको बारेमा अधिकभन्दा अधिक जानकारी लिएपछि तेस्रो तलाबाट भुइँतलामा पुगेँ । भुइँतलामा सानो क्याफे सञ्चालित रहेछ । संसारप्रसिद्ध लेखकको घरमा कफी सप देख्दा रोमाञ्चित बनेँ । त्यस्ता महान् लेखकका घरमा बसेर कफी पिउने सौभाग्य विरलै मिल्छ । यस्तो अवसरको फाइदा उठाउँदै एक कप 'क्याफे लाटे' अर्डर गरेँ । संयोग कस्तो पर्र्यो भने कफीको पैसा तिर्दा डिकेन्सको तस्बिर अंकित नोट नै परेछ । मेरो लागि त्यो क्षण संयोग सुखद र आश्चर्यमय थियो । तर, पैसा लिने क्यासियरले कुनै प्रतिक्रिया जनाएन । उसले चार्ल्सडिकेन्सको तस्बिर अंकित नोटलाई महत्व नदिए जस्तो लाग्यो । हुन सक्छ त्यस्तो नोट दैनिक पटकपटक लेनदेन गर्दो हो वा मभन्दा पछाडि उभिएका अन्य ग्राहकहरूलाई देखेर मसँग समय खेर नफाल्न चाहेको होस् । यस्तै कुरा सोचिरहेकोे बेला उसले मेरो हातमा फिर्ता पैसा र कफी थमायो । कफी लिएर डिकेन्सको घर पछाडि रहेको बगैंचामा राखिएका कुनाको कुर्सीमा गएर बसेँ ।
कफीको महक कहाँसम्म पुग्यो थाहा पाइनँ । तर, मेरो मन अचानक नेपाल पुग्यो । देशमा गणतन्त्र आइसक्यो, जनताको छोराछोरी राष्ट्र प्रमुखजस्तो सर्वोच्च पदमा पुगिसके । मेरो देशमा महाकवि देवकोटा, आदिकवि भानुभक्त आचार्यजस्ता साहित्यकारका तस्बिर अंकित नोट कहिले छापिएला ? कफीको बाफ उठेर माथि उड्दै गर्दा मेरो मनमा यस्तै अनेक तर्कना र गुनासाका आवेग आँधी बनेर उठिरहेका थिए ।
म्युजियमको रूपमा सञ्चालित त्यो घरमा जम्मा दुई वर्षमात्र डिकेन्स भाडामा बसेका थिए । एउटा लेखक जम्मा दुई वर्ष बसेर दुईवटा कृति लेखेको घरलाई त्यत्रो महत्व दिएर उनको जीवनी झल्काउने सामग्री राखेको देख्दा मेरो मन नेपाल पुग्यो । हाम्रो देशमा हिन्दु धर्मका देवदेवीहरूले जहाँजहाँ पाइला टेके वा बास बसे ती सबै ठाउँ तीर्थस्थल भएजस्तै लन्डनका गल्लीगल्लीमा लेखक, कलाकार जन्मेको वा डेरा बसेको घर तथा कोठालाई महत्व दिएर राखेको ईष्र्यालाग्दो दृश्य निकै वर्षदेखि प्रत्यक्ष हेरिरहेको छु ।
बेलायतमा लेखकको बासस्थान हेर्न जाने दर्शकको संख्या हेर्ने हो भने हाम्रो देशका धार्मिक तीर्थस्थलमा जाने दर्शनार्थीको भीडभन्दा कम छैन ।तर, हामै्र देशका आदिकवि भानुभक्त, महाकवि देवकोटाजस्ता साहित्यकारले पूरै जीवन बिताएको घर उपेक्षित अवस्थामा रहेको सुन्नुपर्दा मन खिन्न हुन्छ । यस्तै कुरा मनमा खेल्दाखेल्दै सेलाइसकेको कफीको अन्तिम घुट्को पिएर उठेँ । साँझ झमक्क परिसकेको थियो । डिकेन्सले कैयौंपटक ओहोरदोहोर गरेको गल्लीमा छिट्छिटो पाइला चाल्दै अन्डरग्राउन्ड ट्रेन स्टेसनतिर लागँे ।