कहिलेसम्म चौंरीको भर ?
ढाडमा इन्धन बोकेको ग्यालेन र त्यसको दायाँबायाँ ग्याँस सिलिन्डर बोकेर हिँडेको चौंरीको गन्तव्य सगरमाथा आधार शिविर हो । १३ हजार रुपैयाँ साहूलाई तिरेपछि यो चौंरी आधार शिविरतिर लम्किएको हो । एक्लै होइन, लामलस्करसहित । सगरमाथा आधार शिविरसम्म भए पनि पुग्नेहरूका लागि यस्तो दृश्य सामान्य हो । चौंरी, खच्चड, भरिया र हेलिकोप्टर यहाँका ढुवानीका माध्यम हुन् । यो सोलुखुम्बुको झन्डै एक तिहाइ ओगटेको खुम्बु क्षेत्रको दु:ख हो । सडक सञ्जालले जोड्न नसक्दा महँगो ढुवानी माध्यम प्रयोग गर्न बाध्य छन् यहाँका बासिन्दा । सामानको मूल्यभन्दा १० गुणा बढी ढुवानी खर्च लाग्ने स्थानीयवासी बताउँछन् ।
सोलुखुम्बुको सदरमुकाम सल्लेरीसम्म कालोपत्रेसहित राष्ट्रिय सडक सञ्जालले जोडेको छ । त्यसभन्दा १५ किलोमिटर पर टाकसिन्दुसम्म कच्ची सडक पुगेको छ । खुम्बुवासीले यहाँसम्म मात्र सडक माध्यमबाट मालसामान ढुवानी गर्न पाएका छन् । योभन्दा माथि नुनथलासम्मको पाँच किलोमिटर सडकको ट्र्याक खोले पनि सडक बनिसकेको छैन । यहाँका होटल र लजहरू लुक्ला विमानस्थलमा अवतरण हुने जहाजकै भरमा चलेका छन् । यसभन्दा माथि त्यो सम्भावना पनि छैन ।
त्यसैले उच्च हिमाली क्षेत्रमै रमाउने चौंरीको भर पर्नु बाध्यता भएको छ । छिटो ढुवानीका लागि हेलिकोप्टर र सस्तोका लागि भरिया विकल्प बनेका छन् । आरोहण र ट्रेकिङका भारी बोकाउन चौंरी, याक, खच्चर र भरियालाई दैनिक १२ सय रुपैयाँ खर्चनुको विकल्प अझै बनिसकेको छैन ।
लुक्लाबाट दुई दिन हिँडेर पुगिने नाम्चे बजारसम्म प्रतिकिलोग्राम ६० देखि ७० रुपैयाँ ढुवानी खर्चनुपर्ने बाध्यता छ । त्यसैले एउटा चाउचाउको खरिद मूल्यमा दोब्बर ढुवानी मूल्य जोडेर बिक्री गर्नुपर्ने स्थानीय व्यापारीको बाध्यता हो । नाम्चेबाट पाँच दिनको पैदल यात्रामा पाँच हजार तीन सय ६४ मिटर उचाइमा रहेको आधार शिविरसम्म पुगिन्छ । त्यहाँसम्म महँगो शुल्क तिरेर हेलिकोप्टरमा सामग्री पुर्याउने पनि छन् । कसैकसैले सीधै काठमाडौंबाट आधार शिविरसम्म हेलिकोप्टरबाट सामग्री ढुवानी गर्ने गर्छन् ।
खुम्बुसम्म सडक सञ्जाल विस्तार नहुनुका एकभन्दा बढी कारण छन् । आर्थिक स्रोतको कमीले भन्दा पनि इच्छाशक्ति नभएकैले सडक सञ्जाल नपुगेको स्थानीयवासीको गुनासो छ । यद्यपि सडक विस्तारका लागि प्रक्रिया अघि बढाइसकेको सडक विभागको दाबी छ । जे होस्, चौंरी र भरियाको दु:ख पन्छाएर मोटरगाडीमै सामग्री पुर्याउने खुम्बुवासीको सपना अधुरै छ ।