बुट पालिस : इतिहासमा हस्ताक्षर
डिल्लीबजार धोबीधारामा रहेको कवि कुमार नेपालको घरमा म डेरा सरेपछि किशोर नेपाल त्यहाँ बारम्बार आउन थाले । नेपालको राजनीति माथि निकै उत्तेजित प्रकारको बहससमेत हुन थाल्यो । यो विसं. २०३१ सालको कुरा हो । किशोर त्यतिबेला 'दिनमान' नामक चर्चित साप्ताहिक हिन्दी पत्रमा नेपालबारे केही न केही लेखिरहन्थे । उनी किशोर 'झुत्रे' थिए, 'नेपाल' भइसकेका थिएनन् । म त्यसबेला त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा सहायक प्रशासक थिएँ । उनी म, कविता (डा. कविताराम श्रेष्ठ) र मोहन घिमिरेलाई 'तिमी हाकिमहरू कुनै ऐतिहासिक काम गर्न सक्दैनौं, कुनै श्रमिकले गर्ने काम गर्न सक्दैनौ' भनेर छेड हानिरहन्थे । एकदिन उनले भने, 'के तिमीहरू नयाँसडक पीपलको बाटोमा सार्कीले जसरी बुट पालिस गर्ने काम गर्न सक्छौ ? ' मैले सहजै भनेँ, 'किन नसक्नु ? '
त्यहीबेला भवानी घिमिरे पनि आइपुगे । त्यो त उनको ससुराली घर नै थियो । त्यहाँ आइरहने ध्रुव सापकोटा पनि तात्तिए । र, भोलिपल्ट बिहान ७ बजे नयाँसडक पीपलबोटमा जम्मा हुने सल्लाह गरेर हामी छुट्टियौं । किशोर 'म त आउँछु तर तिमी अधिकृतहरू भाग्छौ' भन्दै बत्तीसपुतलीतिर लागे । राति कविताराम र मैले केही पोस्टरहरू बनायौं- 'युवा लेखन प्रकाशनार्थ बुट चम्काएर सहयोग गरौं, प्रकाशन स्वतन्त्रतालाई टेवा दिन बुट पालिस गरौं ।' आदि आदि ।
विरोधका लागि अनुकूल समय थियो त्यो । सामयिक संकलनहरू बन्द भएका थिए र कुनै पनि पत्रपत्रिकाको प्रकाशनमा सरकारले रोक लगाएको थियो । आत्म प्रकाशन गर्न सकिने सम्पूर्ण आवाजहरू प्रतिबन्धित थिए । २०३१ सालको नेपाल यस्तै थियो । पार्टीहरू प्रतिबन्धित थिए र युवाहरूमा उकुसमुकुस थियो । त्यो उकुसमुकुसले एउटा सही बाटो पनि खोजिरहेको थियो । कथाकार दौलतविक्रम विष्ट भन्ने गर्थे- 'नेपालमा हरेक १० वर्षमा असन्तुष्टिको एउटा लहरले जनविद्रोह आरम्भ गर्छ । जुनसुकै व्यवस्था पनि त्यस्तै हो । यहाँ आदि र अन्त्यको चक्कर छ ।' उनको भनाइमा सुरु र अन्त्यको लागि नेपाल खालि १० वर्षमात्र कुर्न सक्छ ।
पीपलबोटमा हामी मतलव कविताराम, मोहन घिमिरे, ध्रुव सापकोटा र म जम्मा भएर दिनचर्या सुरु भएको थियो । पीपलबाटको देब्रेपट्टि हुने बुट पालिस सुरु भइसकेको थिएन । प्रत्येक दिन त्यहाँ बसेर बुटपालिस गर्ने सार्कीहरू खास गरेर त्यसका नेताजस्ता देखिएका काल्चे सार्की अघिल्लो दिन खाएको रक्सीको 'ह्याङओभर' र ह्वास्स गन्हाएको मुखसहित त्यहाँ उभिएर चुरोट तानिरहेका थिए । हामीसँग केही पर्चाहरू थिए । उसलाई बोलाएर बुट पालिसका लागि चाहिने सामग्री खास गरेर काठको बक्सा भाडामा माग्यौं । दिनभरको ५० रुपैयाँमा कुरा मिल्यो । मानिसहरू जम्मा हुन थाले । तारा गाउँ विकास समिति रहेको रातोघरको पेटीमा हामीहरू भुइँमा बस्यौंं । टाई लगाएका चार युवक त्यसरी भुइँमा थ्याच्च बसेको देखेर बाटो हिँड्नेहरू तानिन थाले ।
त्यही काल्चे सार्कीसँग पालिस लगाउने तरिका सिकेर पहिले आ-आफ्नै जुत्ता झिकेर ब्रुस लगाउन थालेपछि वातावरण निकै चक्र्यो । तेज खरेल, भवानी घिमिरे, नृपेन्द्रपुरुष 'यादी', अञ्जीर प्रधानहरू उभिएर बाटो हिँड्नेहरूलाई जुत्तामा पालिस लगाएर युवा लेखनको प्रकाशनका लागि सहयोग गर्न अपिल गर्न थाले । तमासा हेर्नेको हुल बढ्दै गयो ।
पालिस लगाउने तरिका के रहेछ भने पहिले जुत्तालाई बु्रस लगाएर धुलो झार्ने । त्यसपछि पालिस झिकेर औंलाले रङ हेरी जुत्ताभरि पालिस दल्ने र नचम्केसम्म ब्रुस दलिरहने । अन्त्यमा कपडाले राम्ररी पुछ्ने ।
मानिसहरू पालिस लगाउन आउन थाले । पालिस लगाएको कुनै पारि श्रमिक तोकनौं, जति दिए पनि लियौं । धेरैले १÷२ रुपैयाँ फाले भने कैयौंले ५÷१० रुपैयाँ पनि फाले । 'कुनै सिनेमाको सुटिङ जस्तो छ' भनेर पनि एकअर्कामा खासखास खुसखुस गर्नेहरूको कमी थिएन । १० बज्यो, अलि थाकियो पनि ।
नजिकैको चिया पसलमा गएर मालपुवा, तरकारी र सेल खाएर हामी फेरि फक्र्यौ । हुल निकै बढेकाले ट्राफिक प्रहरीहरू पनि त्यहाँ आएर मानिस हटाउन थाले । अंग्रेजीमा मात्र कविता लेख्ने टेबहादुर कार्की 'हिप रबिङ क्राउड'भन्दै आइपुगे । उनले भोलिपल्ट 'राइजिङ नेपाल'मा मा त्यसबारे एउटा रिपोर्टाज पनि छपाए । १२ बजेतिर 'टाइम्स अफ इन्डिया'को संवाददाता हुँ भन्ने एकजना व्यक्ति आएर हामीसँग अन्तर्वार्ता लिन लागे । त्यस्तै बीबीसीका प्रतिनिधि पनि देखा परे । सादा पोसाकमा आएका प्रहरीहरूको एक हुलले हामीले टाँसेका सबै पर्चा र पोस्टरहरू उप्काएर लग्यो । साथीहरूले कतैबाट फुलस्केप र कलम खोजेर फेरि टाँसिदिए ।
१ बजेसम्म जम्मा भएको पैसा गन्दा करिब दुई सय रुपैयाँ जति भएछ । त्यसबेला काठमाडौंमा जुत्ता लगाउनेहरू एकदमै कम रहेछन् । धेरै व्यक्ति हवाई चप्पलमा देखिए । यसो खुट्टा हेर्यो चप्पलमात्र, पालिस लगाउनै नपर्ने । कैयौं चप्पल लगाएका मानिसहरू 'हाम्रो चप्पलमा पनि पालिस लगाइदेऊ' भनेर जिस्क्याउँथे । कोही कोही कन्भिस भएर पालिस लगाउन आउँथे तर खुट्टामा जुत्ता नै हुन्नथ्यो ।
आत्म प्रकाशन गर्न सकिने सम्पूर्ण आवाजहरू प्रतिबन्धित थिए । २०३१ सालको नेपाल यस्तै थियो । पार्टीहरू प्रतिबन्धित थिए र युवाहरूमा उकुसमुकुस थियो । त्यो उकुसमुकुसले एउटा सही बाटो पनि खोजिरहेको थियो ।
१२ बजेपछि हामी पनि पालिस लगाउनु पर्यो भनेर केही साहित्यिक मित्रहरू हामीसँग बस्न आइपुगे । तिनीहरू थिए- नारायण ढकाल, सन्तोष भट्टराई, भाउपन्थी, काशीनाथ तमोट र राष्ट्र बैंकका क्यासियर विश्वनाथ नेउपाने । उनीहरू पनि हामी जसरी नै भुइँमा बसेर 'पालिस लगाएर हामीलाई पत्रिका, पुस्तक, प्रकाशनका लागि सहयोग गर्नुहोस्' भन्ने अनुरोध गर्न थालेकाले हाम्रो उत्साह एकदमै बढेर गयो । काठमाडौंका केही लब्ध प्रतिष्ठित व्यक्ति पनि 'तिमीहरूले ठीक गर्यौ' भनेर धाप मार्न आइपुगे । मैले त्यही बसेर कपी, डटपेन मागेर एउटा कविता लेखेँ
'बिहान झ्यालबाट रमाइलो सूर्योदय हेर्न अभ्यस्त
आँखामा
कालो सूर्य उदाएको छ,
हामीले सडकभरि, सडकमाथि
सम्पूर्ण घरका भित्ताहरूमा
आफ्नो कायरतालाई संस्कृतिको मखुण्डोले छोपेर हिँडिरहेको
यो इतिहास प्रिय भीडमाथि
जताततै हस्ताक्षर गरेका छौं ।
मान्छेहरूले त्यो बिर्सने छैनन्
कोही हामीसित छ
काठमाडौंको अल्छे अपराधी मुर्दा बिहानमा
उसकै आफ्नो आलो चिहानमाथि
कुनै चुपचाप, निर्दोष, संग्ला औंलाहरूले
कोपरेर उठाएको छ एउटा सम्पूर्ण सहर
एउटा तिख्खर कालो छाया तन्किएर परसम्म फैलिरहेछ ।
मलाई अरू केही भन्नु छैन,
मान्छेहरूले सम्झने छन्
देशको बृहत् स्वार्थको सामुन्ने
आफ्नो भोक, गरिबी, बेकारी र असमानताका
स-साना प्रश्नहरू उठाउने यो नयाँ पुस्ताले
आज सही कविताको थालनी गरेको छ ।'
मैले यो कविता मेरै छेउमा उभिरहेका कुमुद देवकोटा र मनु ब्राजाकीलाई सुनाएँ । त्यसबेला 'जागरण' नामक पत्रिका निकाल्ने तेज खरेलले 'म छाप्छु यो कविता' भनेर त्यसैबेला लगे । मानिसहरू बढ्दै गएपछि हुलको आवाज छिनछिनमा विचित्र सिम्फोनी भएर कानसम्म ठोक्किन आइपुग्थ्यो । कहिले पहाडबाट ढुंगामा ठोक्किएर निस्केको झरनाको आवाजजस्तो, कहिले बाढीबाट हाम्फाल्दै मधेस ओर्लिरहेको अरुण नदीको आवाजजस्तो, कहिले पिखुवा खोलाको २२ जंघार तरेर धरान ओर्लने बेलाको अक्कर माथिको पहाडबाट बेतोडले खसेको पत्थरजस्तो, अनेकन आवाजहरू कानमा ठोक्किइरहे, प्रतिध्वनित भइरहे । मेरा लागि भने बैठकमा फलामका झ्यालहरूसमेत थर्रर काम्ने गरी उच्च आवाजमा कराइरहेका सेवा आयोगका अध्यक्ष भगवतीप्रसाद सिंह र उपकुलपति सूर्यबहादुर शाक्यको आवाजजस्तो आवाज जताततै कानमा ठोक्किरह्यो । ५ बजेसम्ममा करिब पाँच सय रुपैयाँ भएछ दिनभरको ज्याला ।
२ बजेतिर नाटककार, कवि बालकृष्ण सम 'मेरो जुत्तामा पनि पालिस लगाइदेऊ' भनेर मेरै अगाडि ठ्याक्कै उभिन आइपुगे । उनको साह्रै ठूलो सम्मान थियो तत्कालीन साहित्य समाजमा । म उनलाई राम्रैसँग चिन्दथेँ । उनका छोरीपट्टिका नाति नवीनप्रकाशजंग शाहलाई भेट्न म ज्ञानेश्वर पनि गइरहन्थे । उनले इलामका प्रबुद्ध व्यक्ति अग्निराज श्रेष्ठकी बहिनी कमला श्रेष्ठसँग प्रेमविवाह गरेका थिए । कवि वासु शशीका कारणले पनि म त्यहाँ गइरहन्थेँ । नवीनसँग देउपाटनमा आफ्नै घरमा शशीले परिचय गराइदिएका थिए । नवीनलाई भेटेर केही समय बालकृष्ण समको अध्ययन कक्षमा म छिरिहाल्थेँ । समजी भएका बेला उनीसँग बसेर केही सुन्न लालयित रहन्थे । उनी नभएको बेला उनको कोठामा सजाइएका चित्रहरू र उनैले कोरेका चित्रहरू हेरिरहन्थेँ । 'चिसो चुल्हो' मा काठमाडौंको एउटा चित्र राखिएको छ, त्यो उनी आफैंले बनाएका हुन् । साह्रै मेहनती र लगनशील त्यो परिवार । छोरा जनार्दन सम गायक र कवि थिए । त्यस्तै छोरी रश्मि सम पनि चित्रकार थिइन् ।
बालकृष्ण समको घरमा पस्नु अगाडि ढोकैदेखि विभिन्न मूर्तिहरूले डोर्याएको हुन्थ्यो प्रत्येक आगन्तुकलाई । ती सबै मूर्तिहरू काठमाडौंका १९९० सालको भुइँचालोमा छरप्रस्ट भएपछि समजीले आफ्नो घरमा जम्मा गरेका हुन् भन्थे मानिसहरू । समज्यू चिटिक्क नपरी बाहिर कतै ननिस्कने । उनको उमेरको पनि राम्रो अड्कल काट्न नसकिने । बोल्दा पनि प्रत्येक अक्षरको उच्चारणमा अभिजात्यपन झल्कन्थ्यो । लय र ताल मिलाएर बोल्ने बानी थियो । साहित्य समारोहमा कतै हिँड्नुपर्दा मैले सम्झेका अर्का व्यक्ति थिए- युगकवि सिद्धिचरण श्रेष्ठ । उनी झमझम पानी परेको बेला पनि काखीमा छाता च्यापेर पछि त्यो छाता नै आफूसँग छ भन्ने बिर्सेर रुझ्दै हतारहतार ओमबहालतिर फर्किरहेका भेटिन्थे । खैर, उनको कुरा पछि गरौंला । तिनै बालकृष्ण सम, जसलाई अगाडि भेट्दा शिर निहुरन्थ्यो, उनलाई नै प्रत्यक्ष उभिएर आफूलाई 'पालिस लगाइदेऊ' भनिरहेको स्थिति निकै उत्साहप्रद मान्नुपर्छ । 'अहो नमस्कार समज्यू, जुत्ता खोल्नुहोस्' भन्दै मैले हात बढाएँ । उनले काठको बाकसमाथि जुत्ता राखे । काल्चे सार्कीले सिकाएको सम्पूर्ण उपाय प्रयोग गरेर मैले उनको जुत्तामा पालिस लगाएर दिएँ । 'ल प्रकाशन गर्नु' भनेर उनले रुपैयाँ पाँच मेरो हातमा राखिदिए । रुपैयाँ एकको नयाँ-नयाँ नोट जम्मा पाँचवटा । मैले 'धन्यवाद' भन्दै हात थापेँ । यो एउटा निकै घतलाग्दो सम्झना छ, जुन म कहिल्यै बिर्सन्न । सबै पैसा ध्रुव सापकोटा र मोहन घिमिरेलाई भोलि राष्ट्रिय वाणिज्य बैंकमा दुवैजनाको नाममा जम्मा गर्नु भनेर सुम्पियौंं । यो काम नै वास्तवमा गल्ती भएछ ।
ती दुवैजनाले पैसा त जम्मा गरेछन् राष्ट्रिय वाणिज्य बैंकको विशालनगर शाखामा तर कहिल्यै झिक्न चाहेनन् । चेकमा एकजनाले सही गरे अर्कोले नगर्ने । त्यति पैसाले पनि त्यसबेला ससानो पुस्तक या सामयिक संकलन छाप्न सकिन्थ्यो । अरू पैसा विज्ञापनबाट पनि भरथेग हुन्थ्यो । यसबाट एउटा के शिक्षा प्राप्त भयो भने पैसाको मामिलामा कसैको विश्वास गर्न नहुने रहेछ । ती दुवै पछि एकआपसमा नबोलेको नाटक गर्दै कसैको कुनै कृति छाप्न पनि अग्रसर भएनन् र पैसा पनि झिक्न दिएनन् । जुन उद्देश्यले पैसा जम्मा भएको छ त्यो उद्देश्य पूर्तिका लागि मूल मान्छेले सम्पूर्ण जिम्मेवारी लिनुपर्ने रहेछ । दोस्रो व्यक्तिबाट त्यो उद्देश्य पूरा हुन्छ भनेर ठान्नु एकदमै गलत हुनेरहेछ । हाम्रो जस्तो देशको सन्दर्भमा यो सोचनीय छ ।
एउटा अर्को उदाहरण दिउँ, २०४६ सालको आन्दोलनपछि राजा वीरेन्द्रले सबै दलका नेतालाई नारायणहिटीमा बोलाएर आन्दोलनका प्रमुख कमान्डर लौहपुरुष गणेशमान सिंहलाई प्रधानमन्त्री बन्न अनुरोध गरेका थिए । गणेशमान सिंहले त्यो जिम्मेवारी आफूलाई भन्दा कृष्णप्रसाद भट्टराईलाई सुम्पनु उपयुक्त देखे । त्यसले गर्दा नेपालको इतिहास नै बदलियो । पछि भट्टराई र गणेशमान सिंहलाई पन्छाएर गिरिजाप्रसाद कोइरालाले पार्टी र सरकार माथि कब्जा गरे । यदि त्यहीबेला गणेशमान सिंहले प्रधानमन्त्री पद स्वीकार गरेका भए सायद मुलुकको इतिहास अर्कै हुन्थ्यो । आफूभन्दा अर्को व्यक्ति, जो मौकाको खोजीमा रहन्छ, लाई उपयुक्त देख्नु नै गलत रहेछ भन्ने शिक्षा यसबाट लिन सकिन्छ ।
अब म 'बुट पालिस' बारे केही बताउँदै यो अनुच्छेद नै बन्द गर्दैछु । तर, त्यसभन्दा अगाडि त्यस रात घटेको एउटा घटना नलेखे यो अपूरो हुन्छ भन्ने मलाई लाग्छ । करिब ६ बजे बुट पालिसको काम सकेर हामी उठ्यौं र सबै सामान काल्चे सार्कीलाई जिम्मा लगाएर अब घर फर्कौं भन्ने सोचमा थियौं । मद्यपानप्रेमी दुई साथीहरू कुमुद देवकोटा र मनु बाज्राकीले यसो अलिकति नास्ता खान जाऔं भने । भवानी दाइले पनि 'अँ अब सांस्कृतिक कार्यक्रम त गर्नैपर्यो' भनेर जोड दिन थाले । कविताराम रक्सी नखाए पनि हामीसँग छुट्टिन चाहेनन् । अनि हाम्रो समूह असन बालकुमारीतिर लाग्यो । त्यहाँ एउटा भट्टी पसल रहेछ । त्यो भट्टी पसलमा स्थानीय ठर्रा, छोयला, कचिला आदि नेवारी खाजाहरू पाइने प्राय: सबैलाई थाहै थियो ।
हाम्रो पछिपछि सादा पोसाकमा प्रहरीहरू पनि रहेछन् । हामीसँगै उनीहरू पनि पसलभित्र पसे । पसल बाहिर अलि सानै चोक थियो । साहुजीले ग्लासमा वासा, चिउरा र छोयला ल्याएका मात्र के थिए उनीहरूले सबै चोकमा फालिदिए र मलाई समातेर 'तैं होइनस् दिउँसो पालिस लगाउने ? ' भनेर मेरो मुखैमा एक घुस्सा बजाए । मैले यसो मुख हत्केलाले छोपेँ । दाँत नै भाँचियो कि जस्तो लाग्यो । हातमा हेरेँ रगत लागेको रहेछ । मलाई रिस र जोस उठ्यो । जुरुक्क उठेँ र त्यो मुक्का हान्नेलाई ट्याप्पै समातेर घुस्सी हान्दै चोकमा ल्याएर पछारेँ । उसको र मेरो लाप्पा सुरु भयो । कहिले त्यसले पछार्ने कहिले मैले । म यस्तो मामिलामा मरन्च्याँसे र दुब्लो खालको मानिस होइन । बालककालमा प्रशस्त व्यायाम र पोषिलो पहाडी खानाले गर्दा बलियो नै थिएँ ।
त्यो मानिसले मलाई साह्रै पेल्न भने सकेन । २७÷२८ वर्षको म फुर्तिलो र बलियो । त्यसलाई पछारेर यसो पसल तिर हेरेको अरू कुटाइ खाँदै बाहिर भागिसकेछन् । खाली भवानी घिमिरेमात्र मुख छोपेर साहुजीको अगाडि उभ्भिरहेको देखेँ । 'तपाईंलाई ठीक छ भवानी दाइ' भनेको भवानी घिमिरेले पिच्च बाहिर थुके । त्यो थुक रातो देखेर मलाई झन् रिस उठ्यो । फेरि सोधें - 'तपाईंलाई पनि यिनीहरूले हात छाडे ? ' 'अँ अलि अलि.... ' 'तपार्इंको मुखबाट रगत आइरहेछ नि त दाइ ? ' भनेर सोधेको उनले गजब उत्तर दिए - 'पान गोजीमा थियो र खाइहालें त्यसको रातो हो, रगत होइन ।'
मलाई छक्क लाग्यो । त्यसपछि लुरुलुरु हामी डिल्लीबजारतिर लाग्यौं मतलव धोबीधारातिर ।