फेरौं प्रश्न
समयसमयमा पढिरहन्छु- मिडियामा महिला सवालमा भएको बहस । यो उचालिँदै उचालिँदै बहसबाट दन्त बझान बन्न थालेको देख्छु । बीचमा एकदुईवटा अति विश्लेषणयुक्त गहन अध्ययनपछिका मूल्यवान् लेख पनि पढ्न पाएको छु ।यस्ता बहसले बोल्नलाई शब्दमात्र होइन, आँट पनि भरिदिन्छन् । उभिनलाई आँगन उपलब्ध गर्छन् । तर, हामी आँगनबाहिर जान सकेका छैनौं । मात्र सँघारको वरिपरि फोहोरका माझ केवल शब्दनृत्यको आयोजना गरिरहेका छौं । हुन त आआफ्नो सँघार सफा गरे संसारै सफा हुन्छ । आफ्नो घरअगाडिको बाटोमात्रै सफा गरे पनि पूरै बाटो सफा हुन्छ । तर, सफा गर्ने हतियार भने हामीसँग हुनुपर्छ । त्यसका लागि सबैभन्दा पहिला सोच हुनुपर्छ । सोच सवालले निर्माण गर्छ ।
हाम्रा मिडियामा प्राय: महिलाका क्रियाकलापलाई लिएर प्रश्न गरिन्छ जब कि पुरुषका उठाउनैपर्ने विषयमाथि पनि प्रश्न उठाइँदैन, किन ? यही दोधारे चरित्रले कुटुकुटु खाने गर्छ ।कत्ति संस्कार पुरुषद्वारा संरक्षित छन्, जस्तै- छाउगोठ । मिडिया किन पुरुषलाई प्रश्न गर्दैन- तपाईं छाउगोठ किन भत्काउनु हुन्न ? जीवनभरमा एकपटक भत्काउने कोसिस गर्नुभयो कि भएन ? सारा निर्णयमा मुख्य आदेश दिने पुरुषको मन त्यो गोठ भत्काउनेतिर किन जाँदैन ? बरु मिडिया महिलालाई भन्छ- नजानु नि छाउगोठ, किन जानुभएको ? विरोध गर्न सक्नुभएन ? आमालाई सोध्छ- किन पठाउनुभएको छोरीलाई छाउगोठमा ? मिडिया महिलालाई मात्र किन ज्यादा प्रश्न सोध्छ ?
अचेल नेपालका धेरै महिलाका लोग्ने वैदेशिक रोजगारमा छन् । मिडियामा दुई प्रकारका खबरले प्राथमिकता पाउँछन् । एक, विदेशमा मरेर फर्किएका शवको र अर्को, वैदेशिक रोजगारमा रहेका पुरुषका पत्नी परपुरुषसँग गएको । महिलाले घर बिगारे, समाज बिग्रियो, संस्कार बिग्रियो भनेर कोकोहोलो मच्चाइएको छ । विडम्बना ! मिडिया ती आइमाई बिगार्ने पुरुषलाई देख्दै देख्दैन । महिला बिग्रेकै हो भने त्यसमा पुरुषको हात हँदैन र ? कसको सहारामा भत्किएको हो त्यो घर ? मिडिया पुरुष चरित्र देख्दै देख्दैन । ती पुरुषलाई पनि 'अर्काकी स्वास्नीलाई नबहकाऊ' भनेर कार्यशाला सञ्चालन गरे हुने नि !
घर सम्हालेर, बच्चा पढाएर, करेसाबारीमा तरकारी फलाएर, खेती स्याहार गरेर, सौदापात एक्लै गरेर, हलोको अनौ समातेर, घरधुरी वा छानो छाएरसमेत पैसाको व्यवस्थापन गरेर, खाइ-नखाई बचत गरेर एक्लै व्यवहार धानिरहेका आइमाईको साहस थाङ्ने देख्छ मिडियाले । तर, यिनै काम गरिरहेका पुरुष भने वीर वा बलवान् ठानिन्छन् ।
यसको एउटै कारण हो- पुरुषलाई मात्र सिंगो समाज ठानिएको छ । मिडियासमेत त्यो चिन्तनबाट मुक्त हुन सकेको छैन । प्रश्न उठाउने ठाउँमै भएकाले पुरुष प्रश्नको घेराबाहिर छ । पुरुष जन्मँदै शक्तिसम्पन्न बनाइन्छ । उसकै सोचमा सामाजिक नियम बनेका छन् । उसकै स्वामित्वको आगो बालिएको छ । यही स्वामित्वको आगोमा समाज उज्यालो भएको हो भनेर पुरुष स्वयं हुँकार गर्छ । त्यो आगोमा जलेर बाँच्नु परेको छ महिलाले।
पुरुषलाई मात्र सिंगो समाज ठानिएको छ । मिडियासमेत त्यो चिन्तनबाट मुक्त हुन सकेको छैन । प्रश्न उठाउने ठाउँमै भएकाले पुरुष प्रश्नको घेराबाहिर छ ।
पुरुषको फोस्रो दायित्वको रोगले ग्रस्त मानसिकताको उपचार गर्ने प्रविधि पत्ता लगाउनु जरुरी भएको छ अब । अब भन्न जरुरी छैन- कहाँकहाँ के भइरहेको छ, कसरी भइरहेको छ । सब जानकार छन् । यो बितन्डा को गरिरहेको छ ? कोसँग डर छ महिलालाई बाटामा एक्लै हिँड्न ? टाउको उठाउन ? अब त प्रश्न उठ्नु जरुरी छ- के हुन्छ महिला चुप नलाग्दा ? महिला एक्लै बाँच्दा ? कसरी सक्षम हुन्छे ऊ आफ्नो बचाउ आफैं गर्न ?
विश्व स्वास्थ्य संगठन भन्छ- विश्वमा भएका महिला हत्यामध्ये ३८ प्रतिशत तिनका नजिकका पुरुष मित्रले गर्छन् । प्रत्येक तीनजना महिलामध्ये एकजना आफ्नै पुरुष साथीबाट शारीरिक, मानसिक या यौनिक हिंसामा परेको अनुसन्धानको नतिजा छ । पुरुष मानसिकताको परिवर्तनका लागि कोकोे जिम्मेवार छन् ? यसको अर्थ सबै पुरुषप्रति आक्षेप लगाउनु होइन ।
यस्ता हिंसाको मुख्य कारण प्राप्त भएको छ कमजोर शिक्षा- रक्सी सेवन र हिंस्रक प्रवृत्ति । फेरि पनि पुरुषले रक्सी खाएकोमा प्रश्न उठ्दैन । केही केही महिलाले खाँदा भने बबाल आतंक हुन्छ ।उपचारका हजार क्षेत्र छन्, त्यसभन्दा बढी रोगहरू छन् । म महिलाको उपचारमा केन्द्रित हुन्छु । पहिलो औषधि महिलाको आँट हो । यो आँटको खाँबो आत्मविश्वास हो जुन आर्थिक धरातलमा गाडिएको हुन्छ । हामीले छोरीलाई आत्मनिर्भर बनाउने बाबुआमा बढाउनु छ । तर अझै पनि जागिर छोरालाई मात्र हो भन्ने मान्यता जबरजस्त छ ।
अझ महिलाले कमाएको पैसाको मूल्य कम मानिन्छ । उक्लने सिँढी यहीँबाट छोटिन्छन् । सिँढीको थाप्लोमा पुरुष बसेको हुन्छ । उसले माथिबाटै धकेलिदिन्छ । यो मूलबाटो खोल्यौं भने आइमाईको जिब्रो उसकै इशारामा बोल्न थाल्छ । नत्र त हामीले उत्तर सुनिरहेकै छौं, खै उहाँले के भन्नुहुन्छ ? बाले के भन्नुहुन्छ ? दाजुले के भन्नुहुन्छ ? अनि छोराले के भन्छ ? खै पत्नीको मुख ? छोरीको बहिनीको आमाको मुख ? कसले थुनिदिएको छ ?
प्राय: महिला अधिकारको प्रसंग आउनासाथ केही प्रश्न लाम लागेर आउँछन् । बिहे गर्ने बेलामा आफूभन्दा ठूलो, धेरै कमाउने खोज्ने अहिले हेपिएँ भनेर अधिकारका कुरा गर्ने ? छोरीको लिंग पहिचान गरेर भ्रूण हत्या गर्ने आमा को हुन्- महिला कि पुरुष ? पति वा घरका अन्य सदस्यले छोरा पाउन दिएको दबाब विरुद्ध बोल्न नसक्नु, प्रतिकार गर्न नसक्नु, तिनलाई उजागर गर्न नसक्नु र स्वयं आमाहरूले नै छोरी जन्माउन नचाहनुका थुप्रै पक्ष छन् । हामीसँग यस्ता आमाको औषधि समाजको सकारात्मक परिवर्तनले गर्नसक्छ भन्ने झिनो आशा अझै बाँकी छ ।
जन्मिन पाएका छोरीको सन्दर्भमा भने मेरा केही आग्रहहरू छन् । आफैंतिर फर्केर हेरौं । अक्सर आमाहरू छोरीलाई नबोल्ने आदेश दिन्छन् । कति आमाले भन्लान् ? छोरी ! प्रतिकार गरेर आऊ, रोएर नआऊ बरु कुटेरै आऊ, जितेर आऊ । तर हामीले त भाग्न सिकाएका छौं । होइन भने घरको इज्जत जाने डर हुन्छ । फलानाकी छोरी त यस्तो पो भएको हो भनेर कहानी बन्छ । अनि छोराको सम्बन्धमा नि ? हामी कति ढुक्क छौं ? हामीले कहिल्यै छोरालाई भनेका छौं ? छोरा ! केटी नजिस्क्याउनु । तिनको सम्मान गर्नु, उपभोग नगर्नु ! बलात्कार नगर्नू । बरु कहिलेकाहीँ आफ्ना छोराले केटी जिस्क्याएको थाहा पायौं भने मुसुक्क हाँसेर टारिदिन्छौं।
एउटी किशोरी कस्मेटिकमा कति खर्च गर्छे र किताबमा कति खर्च गर्छे ? मुख्य त शृंगार किन गर्छे ? आफ्नो लागि कि अर्कैका लागि ? खर्चको के कुरा ? समय कति व्यतीत गर्छे शृंगारमा र पुस्तकालयमा ? डेटिङ जाँदा कतिपटक बिनाइच्छा यौन बाध्यतामा पर्छे ? त्यसको प्रतिकार गर्ने आँट छ कि छैन ? त्यो आँट कहाँबाट आउँछ ? त्यो आँट आउने एक स्रोत आमा पनि हुन् । त्यो घरेलु शिक्षाबाट पनि आँउछ । बल्लतल्ल माध्यमिक तहसम्म छोराछोरी बराबरी शिक्षाको अभ्यास देख्न थालेका छौं । त्यसपछि त अझै विभेद जारी छ । लगानी गरेर छोरी पढाउनुभन्दा पढेको कमाउने ज्वाइँ खोज्ने प्रवृत्ति बलियो छ ।
त्यसैले स्वार्थी हुनु छ भने आफ्नो आर्थिक ध्येयलाई ध्यानमा राखेर स्वार्थी बन्नु अब जरुरी भइसकेको छ । आफ्नो क्षमता ज्ञान र विश्लेषण गर्ने औकातको घेरा बलियो नपारे आफ्नो अधिकारबारे कहाँ थाहा हुन्छ ? विद्रोह गर्नुअघि बन्देजको घेरा थाहा पाउनु आधारभूत आवश्यकता हो । हामी त्यो बाटो हिँडेका छौं कि छैनौं ? अध्ययनमा गरेको लगानी र शृंगार सामग्रीमा गरेको लगानीमा कुन धेरै छ ? प्रश्न यसरी पनि गरौं । अन्याय सार्वजनिक गर्दा हुने खोक्रो बेइज्जतीको डरमा अस्तित्वको दाहसंस्कार नगरौं । चुप लागेर कमाउ हुने इज्जत हाम्रो कारागार हो । कायरता हो । .