अर्को लेनदेन

अर्को लेनदेन

सभामुख ओनसरी घर्तीले सामाजिक सञ्जालमार्फत नेताहरूलाई बधाइ दिनु भएको छ, फेरि अर्को सहमतिमार्फत संसद् अधिवेशन व्यवस्थित रूपमा अघि बढाउने निर्णयका लागि । संसद् अधिवेशन सुचारु गर्ने सहमतिसँगै सम्भवत:प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग उहाँले अवकाश ग्रहण गर्नुअघि फिर्ता लिने सहमति पनि भएको छ । यो समग्र प्रकरणमा एमाले नेतृत्वसँगै न्यायपालिका नेतृत्व या त्यसका तर्फबाट कुनै शक्ति ‘डिल’ मा सहभागी भएको आभास सबैले गरेका छन् । संसद् अधिवेशन सुचारु हुनु, जनताको करमा संसद् अवरोधमार्फत दाइँ हाल्ने परम्परा अन्त्य हुनु राम्रो हो । तर प्रश्न त्यहीं समाप्त हुँदैन । आउने दिनमा हरेक कथित राष्ट्रिय दलका नेताहरू र सभामुखसमक्ष एउटा प्रश्न सोधिनुपर्छ, आखिर संसद् अवरोध केका लागि थियो र त्यसलाई समाप्त गर्न भएको सहमतिबाट मुलुकले के पायो ?

सुशीला कार्कीविरुद्धको महाभियोग हटाउने माग राख्दै संसद् अवरोधमा लागेको एमाले नेतृत्वले जवाफ दिन सक्नुपर्छ कुन ‘डिल’ का आधारमा प्रस्ताव फिर्ता लिइँदैछ ? त्यति मात्र होइन, त्यसका प्रस्तावक माओवादी र नेपाली कांग्रेस नेतृत्वले जवाफ दिनुपर्छ संसदीय परम्परामा ब्रह्मास्त्र मानिने महाभियोगलाई के उनीहरूले केटाकेटीले चलाउने गुलेलीजसरी किन प्रयोग गरे ? त्यसको जवाफदेहिताबाट उम्कन उनीहरूलाई दिनु हुँदैन ।

महाभियोगसँगै सरकारले हालै दोस्रो चरणको निर्वाचन हुने क्षेत्रमा २२ नयाँ नगरपालिकाको स्थापना र वीरगन्ज तथा विराटनगरलाई उपमहानगरपालिकाको दर्जा दिने गरेको निर्णयलाई रद्द गर्ने माग पनि राखेको थियो । सर्वोच्च अदालतले त्यो मागलाई रद्द गरी एमालेलाई राजनीतिक लाभ प्रदान गरेको छ पक्कै पनि । न्यायपालिकामा दलीय ग्रहण लागेको र संवैधानिक हिसाबले भन्दा राजनीतिक हिसाबले सर्वोच्चका निर्णय आइरहँदा पछिल्लो आदेशबारे आश्चर्य नलाग्ला । तर यसले कार्यकारी निर्णय या अधिकार क्षेत्रमा न्यायपालिकाको स्वच्छन्द प्रवेश अब अपवाद हैन, नियमित व्यवहार नै बनेको प्रतीत हुन्छ ।

न्यायपालिका, संसद् र प्रमुख राजनीतिक दलहरूबीचको सहमति या लेनदेनलाई जनताको थाहा पाउने अधिकारबाट बाहिर राख्न मिल्दैन । संसद् र न्यायपालिकासहित लेनदेन र क्षणिक स्वार्थपूर्तिका संस्था बने भने त्यस्तो अवस्थामा राज्य नियम, कानुन र संविधानबाट चलेको मान्न सकिन्न । प्रायोजित न्याय, निहित स्वार्थबाट निर्देशित राजनीति र लेनदेनबाट संसद् चलाउने या अवरोध गर्ने नेताहरूको हातमा संविधान, राष्ट्रियता र स्वतन्त्रता सुरक्षित रहन सक्दैन । सभामुखले यी गहन विषय र कथित सहमतिलाई धन्यवादको विषय मात्र बनाउन मिल्दैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.